विनाेद खनालजय बुढी
अब बुढीहरूले बुढाबाट उत्पीडित बुढी सङ्घ” खोल्ने अरे भनेको सुन्दैछु, अब बुढाहरूले पनि “बुढीबाट उत्पीडित बुढा सङ्घ” खोल्नुपर्छ र दर्ता गरेर एन जि ओ मा प्रोपोजल हालेर डलर तानी हाल्नुपर्छ ।

विनोद खनाल :
नरनाथ लुइँटेल सरले म्यासेन्जरमा “स्थगनपछिको फित्कौलीमा सरको के हाल्ने ? शीघ्र पाउँ । वैशाखको पहिलो हप्तामै निकाल्ने घनघोर तयारी । फेसबुकमा टाँसेको र अरुतिर सिउँरेको चैँ हाल्न नपाई” भनेपछि मलाई उपर्तलीले छोपिहाल्यो । उपर्तली पनि कस्तो भने माघको जाडोमा पनि कुनै केटीले सडकमा छोटा लुगा लगाएर हिँड्दा असी बर्षका बुढालाई पनि काउकुती लागे जस्तै उपर्तली पो भो त । अहिलेको जमानामा अरुले नछोएको र नछामेको माल पाउनै मुस्किल छ । अब के लेख्ने होला ! निकै बेर विचार मग्न भएँ, कुनै मन्त्रीको पिएले मन्त्रीका लागि लेखिदिने भाषणका लागि सोचे जत्तिकै सोच्न थालेँ । हैन कति धेरै जन्मेका हौ यी हास्यव्यङ्ग्य कवि, लेखकहरू ! नेपालका राजनैतिक दल जत्तिकै ! हामीलाई त लेख्ने विषय नै पो राखिदिएनन् त । कोक्राबाट निस्केका तोते बालकदेखि दाँत फुक्लेका थोते बुढासम्मले लेखेपछि नेपालमा कवि लेखकको सङ्ख्या पनि नेपालमा बढेका बोडिङ स्कुलका सङ्ख्या जत्तिकै बढेको छ । यस्तै चिन्तन मनन गर्दै नेपाली हास्यव्यङ्ग्यकारहरूले लेखेका हास्यव्यङ्ग्यका शीर्षकहरू सम्झदै गएँ । धेरै शीर्षक सम्झिएपछि भैरव अर्यालले लेखेको जयभुँडी सम्झन पुगेँ, परीक्षाका बेला दिनभरि मोबाइलमा झुण्डिने र लेख्ने बेलामा सरस्वतीलाई सम्झने विद्यार्थी जस्तै । भैरव अर्यालको जयभुँडी, पिँडालीको खै खै, पाँडेको सञ्चै छ ? आदि आदि । धन्न अर्यालले जयभुँडी लेखेछन्, जय बुढी चैँ लेखेनछन् अब यही बिषयमा लेख्नु पर्यो भनेर कलम उठाएँ ।
अहिलेको समयमा भुँडीको भन्दा बुढीको महत्त्व बढी छ । पहिलाका समयमा बुढीको भन्दा भुँडीकै बढी महत्त्व थियो किनभने बुढी त जति पनि पाइन्थे तर भुँडी (खान) पेटभरि पाइँदैनथ्यो । वर्षभरी दलिएर काम गर्यो त उब्जिएको जति सबै साहुलाई बुझाउनु परेपछि भुँडीको महत्त्व कति थियो त ! बुढी त कतिले आफ्ना मालिकलाई जिम्मा लाउँथे, कतिले जुवामा हार्थे, कतिले मेलामा गीत गाएरै बुढी भेला पार्थे भने त्यतिखेर बुढी फालाफाल नै थिए । अहिले जस्तो सानातिनालाई लाग्ने कानुन पनि त्यसबेला थिएन । आफ्नु भुँडी नबढे पनि बुढीका भुँडी बढाउन चैँ सिपालु थिए त्यसबेलाका मान्छेहरू ! न छेक्ने साधन थियो न ओखती नै ! अहिले पो जतिवटीसँग पल्किए पनि जतिवटीसँग सल्किए पनि दसी प्रमाण केही भेटिने होइन ।
खोइ, कुरो पनि कतातिर पो गुजुल्टी पर्यो हौ नेताजीको भाषण जस्तै । बुढीको कुरो लेख्न खोजेको भुँडीमा गएर पो ठोक्कियो । हुन त बुढी र भुँडी उस्तै उस्तै पनि हुन् है, भुँडीमा अलिक कडा कुरो पर्यो भने भुँडीले पचाउँदैन भने बुढीले पनि अलिक कडा कुरो पचाउन गाह्रै हुन्छ । यी दुई शब्दको तालमेल पनि काँग्रेस र माओवादीको जस्तै छ । यी दुई शब्द पर्यायवाची हो कि विपरीतार्थक हो नेपाली पढाउने शिक्षकका लागि साँच्चिकै टाउको दुखाइको विषय हुन्छ । साँची बुढीका बारेमा कति कवि लेखकहरूले लेखे त्यसका बारेमा खासै अनुसन्धान भएको छैन कि क्याहो आफूसँग दिनरात जोडिने बुढीहरूका बारेमा लेख, कविता नलेखिनु चैँ सरासर अन्याय हो । यसका लागि सबैका बुढीहरूले एकजुट भएर आन्दोलन गर्नु पर्छ ।
हाम्रा पुर्खाहरूले उखान पनि बनाएकै हुन् “छोराछोरी आफ्ना राम्रा, स्वास्नी अर्काका राम्रा” भनेर । “बुढाबुढीको उखान ढुङ्गाको अक्षर” भन्छन् साँच्चै हो कि क्याहो ! कतिलाई अर्काकी बुढी राम्रा लागेका छन्, कतिले अर्काकी बुढी लिएर भागेका छन् । सामाजिक सञ्जाल हेर्नुहोस् त खाली कसको बुढीको सित सुती, कसकी बुढीले कसको कति पैसा धुती, कसकी बुढीले कसको भुँडी बोकी, कसकी बुढी कोसँग चम्पट ठोकी ? यस्तै कुरा मात्र आउँछ । हुन चैँ अर्काकी बुढी राम्री देख्ने चलन आजको मात्र होइन नि ! हाम्रा पवित्र पुराणहरूमा पनि देवताका राजा ईन्द्रले त गौतम ऋषिकी पत्नी अहिल्या राम्री देखेर टाँसिएर बस्न जाँदा शरीरभरि योनी नै योनी भएको कुरा त तपाईं हामीले सुनेका र पढेकै छौँ । त्यस्तै जालन्दरकी पत्नी वृन्दासँग रासलीला गर्न गएका भगवान विष्णुलाई जालन्दरले रङ्गे हात पक्राउ गरेर सराप दिएको पनि हामीले पढेको सुनेकै विषय हो । तिनै देवतालाई पूज्ने र तिनैको पर्साद खाएर आशीर्वाद लिने हामी भक्तहरूलाई अरुकी बुढीसँग लाग्ने मति किन नआओस् त ! त्यही भएर निम्नवर्गदेखि उच्च वर्गसम्मका हाकिम, सचिव, मन्त्री, सांसद, सभामुख सबैले अर्काकै स्वास्नी ताकेका र चाखेका होइनन् त !
मानिसको जिन्दगीमा एउटा न एउटा बुढी चैँ हुन्छन् हुन्छन् । बुढी नहुने भनेको कि नपुङ्सक हुन् कि ब्रम्हचारी हुन् । हुन त आजकलका मालसामान जस्तै ब्रम्हचारी पनि नक्कली भइसकेका छन् । बाहिर बाहिर जोगीभित्र गएपछि भोगी भने जस्तै बाहिर बाहिर ब्रम्हचारी, भित्र भित्र व्यभिचारी भएका घटनाहरू पनि नजानेको र नसुनेको होइनन् । कस्ताकस्ता महाराज भनेर कहलिएका महात्माहरूको त शीरपोसमा कण्डम भेटिन्छ भने अरूको त कुरै छोडौं न ! उहिलेका बुढीहरू बुढाबाट पिडित हुन्थ्ये भने अहिलेका बुढाहरू बुढीबाट पीडित छन् । त्यसमा पनि माइतबाट अलेली दाइजो र सम्पत्ति पनि ल्याएका छन् भने त झन् खपिसक्नुका हुदैनन् । लोग्नेलाई उठ् भन्दा उठ्, बस् भन्दा बस्, हिँड् भन्दा हिँड्, सुत् भन्दा सुत् बनाउँछन् अहिलेका बुढीहरूले । अब बुढीहरूले बुढाबाट उत्पीडित बुढी सङ्घ” खोल्ने अरे भनेको सुन्दैछु, अब बुढाहरूले पनि “बुढीबाट उत्पीडित बुढा सङ्घ” खोल्नुपर्छ र दर्ता गरेर एन जि ओ मा प्रोपोजल हालेर डलर तानी हाल्नुपर्छ । यसो गर्यो भने मात्र बुढीले पनि माया गर्छन्, अनि मात्र बुढीभन्दा माथि परिन्छ, नत्र त गाह्रो छ है गाह्रो ! ढिलो नगरौँ, बुढाले पनि खोलौँ, बुढीले पनि खोलौँ अनि सुरु गरिहालौँ !
जय बुढी !!! जय बुढीवाद !!!
०००
धुलाबारी, झापा
मो नं ९८४२७१५५३२









































गुदी र शुद्धि भए नभएका सबै थरी बुढीको बयान रसिलो छ पाराले भएको छ तर विष्णुलाई सराप्ने जालन्धर नभएर जालन्धरकी बुढी वृन्दा हुन् भन्ने कुरा भने स्पष्ट पार्न जरुरी छ।