साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय बुढी

अब बुढीहरूले बुढाबाट उत्पीडित बुढी सङ्घ” खोल्ने अरे भनेको सुन्दैछु, अब बुढाहरूले पनि “बुढीबाट उत्पीडित बुढा सङ्घ” खोल्नुपर्छ र दर्ता गरेर एन जि ओ मा प्रोपोजल हालेर डलर तानी हाल्नुपर्छ ।

Nepal Telecom ad

विनोद खनाल :

नरनाथ लुइँटेल सरले म्यासेन्जरमा “स्थगनपछिको फित्कौलीमा सरको के हाल्ने ? शीघ्र पाउँ । वैशाखको पहिलो हप्तामै निकाल्ने घनघोर तयारी । फेसबुकमा टाँसेको र अरुतिर सिउँरेको चैँ हाल्न नपाई” भनेपछि मलाई उपर्तलीले छोपिहाल्यो । उपर्तली पनि कस्तो भने माघको जाडोमा पनि कुनै केटीले सडकमा छोटा लुगा लगाएर हिँड्दा असी बर्षका बुढालाई पनि काउकुती लागे जस्तै उपर्तली पो भो त । अहिलेको जमानामा अरुले नछोएको र नछामेको माल पाउनै मुस्किल छ । अब के लेख्ने होला ! निकै बेर विचार मग्न भएँ, कुनै मन्त्रीको पिएले मन्त्रीका लागि लेखिदिने भाषणका लागि सोचे जत्तिकै सोच्न थालेँ । हैन कति धेरै जन्मेका हौ यी हास्यव्यङ्ग्य कवि, लेखकहरू ! नेपालका राजनैतिक दल जत्तिकै ! हामीलाई त लेख्ने विषय नै पो राखिदिएनन् त । कोक्राबाट निस्केका तोते बालकदेखि दाँत फुक्लेका थोते बुढासम्मले लेखेपछि नेपालमा कवि लेखकको सङ्ख्या पनि नेपालमा बढेका बोडिङ स्कुलका सङ्ख्या जत्तिकै बढेको छ । यस्तै चिन्तन मनन गर्दै नेपाली हास्यव्यङ्ग्यकारहरूले लेखेका हास्यव्यङ्ग्यका शीर्षकहरू सम्झदै गएँ । धेरै शीर्षक सम्झिएपछि भैरव अर्यालले लेखेको जयभुँडी सम्झन पुगेँ, परीक्षाका बेला दिनभरि मोबाइलमा झुण्डिने र लेख्ने बेलामा सरस्वतीलाई सम्झने विद्यार्थी जस्तै । भैरव अर्यालको जयभुँडी, पिँडालीको खै खै, पाँडेको सञ्चै छ ? आदि आदि । धन्न अर्यालले जयभुँडी लेखेछन्, जय बुढी चैँ लेखेनछन् अब यही बिषयमा लेख्नु पर्‍यो भनेर कलम उठाएँ ।

अहिलेको समयमा भुँडीको भन्दा बुढीको महत्त्व बढी छ । पहिलाका समयमा बुढीको भन्दा भुँडीकै बढी महत्त्व थियो किनभने बुढी त जति पनि पाइन्थे तर भुँडी (खान) पेटभरि पाइँदैनथ्यो । वर्षभरी दलिएर काम गर्‍यो त उब्जिएको जति सबै साहुलाई बुझाउनु परेपछि भुँडीको महत्त्व कति थियो त ! बुढी त कतिले आफ्ना मालिकलाई जिम्मा लाउँथे, कतिले जुवामा हार्थे, कतिले मेलामा गीत गाएरै बुढी भेला पार्थे भने त्यतिखेर बुढी फालाफाल नै थिए । अहिले जस्तो सानातिनालाई लाग्ने कानुन पनि त्यसबेला थिएन । आफ्नु भुँडी नबढे पनि बुढीका भुँडी बढाउन चैँ सिपालु थिए त्यसबेलाका मान्छेहरू ! न छेक्ने साधन थियो न ओखती नै ! अहिले पो जतिवटीसँग पल्किए पनि जतिवटीसँग सल्किए पनि दसी प्रमाण केही भेटिने होइन ।

खोइ, कुरो पनि कतातिर पो गुजुल्टी पर्‍यो हौ नेताजीको भाषण जस्तै । बुढीको कुरो लेख्न खोजेको भुँडीमा गएर पो ठोक्कियो । हुन त बुढी र भुँडी उस्तै उस्तै पनि हुन् है, भुँडीमा अलिक कडा कुरो पर्‍यो भने भुँडीले पचाउँदैन भने बुढीले पनि अलिक कडा कुरो पचाउन गाह्रै हुन्छ । यी दुई शब्दको तालमेल पनि काँग्रेस र माओवादीको जस्तै छ । यी दुई शब्द पर्यायवाची हो कि विपरीतार्थक हो नेपाली पढाउने शिक्षकका लागि साँच्चिकै टाउको दुखाइको विषय हुन्छ । साँची बुढीका बारेमा कति कवि लेखकहरूले लेखे त्यसका बारेमा खासै अनुसन्धान भएको छैन कि क्याहो आफूसँग दिनरात जोडिने बुढीहरूका बारेमा लेख, कविता नलेखिनु चैँ सरासर अन्याय हो । यसका लागि सबैका बुढीहरूले एकजुट भएर आन्दोलन गर्नु पर्छ ।

हाम्रा पुर्खाहरूले उखान पनि बनाएकै हुन् “छोराछोरी आफ्ना राम्रा, स्वास्नी अर्काका राम्रा” भनेर । “बुढाबुढीको उखान ढुङ्गाको अक्षर” भन्छन् साँच्चै हो कि क्याहो ! कतिलाई अर्काकी बुढी राम्रा लागेका छन्, कतिले अर्काकी बुढी लिएर भागेका छन् । सामाजिक सञ्जाल हेर्नुहोस् त खाली कसको बुढीको सित सुती, कसकी बुढीले कसको कति पैसा धुती, कसकी बुढीले कसको भुँडी बोकी, कसकी बुढी कोसँग चम्पट ठोकी ? यस्तै कुरा मात्र आउँछ । हुन चैँ अर्काकी बुढी राम्री देख्ने चलन आजको मात्र होइन नि ! हाम्रा पवित्र पुराणहरूमा पनि देवताका राजा ईन्द्रले त गौतम ऋषिकी पत्नी अहिल्या राम्री देखेर टाँसिएर बस्न जाँदा शरीरभरि योनी नै योनी भएको कुरा त तपाईं हामीले सुनेका र पढेकै छौँ । त्यस्तै जालन्दरकी पत्नी वृन्दासँग रासलीला गर्न गएका भगवान विष्णुलाई जालन्दरले रङ्गे हात पक्राउ गरेर सराप दिएको पनि हामीले पढेको सुनेकै विषय हो । तिनै देवतालाई पूज्ने र तिनैको पर्साद खाएर आशीर्वाद लिने हामी भक्तहरूलाई अरुकी बुढीसँग लाग्ने मति किन नआओस् त ! त्यही भएर निम्नवर्गदेखि उच्च वर्गसम्मका हाकिम, सचिव, मन्त्री, सांसद, सभामुख सबैले अर्काकै स्वास्नी ताकेका र चाखेका होइनन् त !

मानिसको जिन्दगीमा एउटा न एउटा बुढी चैँ हुन्छन् हुन्छन् । बुढी नहुने भनेको कि नपुङ्सक हुन् कि ब्रम्हचारी हुन् । हुन त आजकलका मालसामान जस्तै ब्रम्हचारी पनि नक्कली भइसकेका छन् । बाहिर बाहिर जोगीभित्र गएपछि भोगी भने जस्तै बाहिर बाहिर ब्रम्हचारी, भित्र भित्र व्यभिचारी भएका घटनाहरू पनि नजानेको र नसुनेको होइनन् । कस्ताकस्ता महाराज भनेर कहलिएका महात्माहरूको त शीरपोसमा कण्डम भेटिन्छ भने अरूको त कुरै छोडौं न ! उहिलेका बुढीहरू बुढाबाट पिडित हुन्थ्ये भने अहिलेका बुढाहरू बुढीबाट पीडित छन् । त्यसमा पनि माइतबाट अलेली दाइजो र सम्पत्ति पनि ल्याएका छन् भने त झन् खपिसक्नुका हुदैनन् । लोग्नेलाई उठ् भन्दा उठ्, बस् भन्दा बस्, हिँड् भन्दा हिँड्, सुत् भन्दा सुत् बनाउँछन् अहिलेका बुढीहरूले । अब बुढीहरूले बुढाबाट उत्पीडित बुढी सङ्घ” खोल्ने अरे भनेको सुन्दैछु, अब बुढाहरूले पनि “बुढीबाट उत्पीडित बुढा सङ्घ” खोल्नुपर्छ र दर्ता गरेर एन जि ओ मा प्रोपोजल हालेर डलर तानी हाल्नुपर्छ । यसो गर्‍यो भने मात्र बुढीले पनि माया गर्छन्, अनि मात्र बुढीभन्दा माथि परिन्छ, नत्र त गाह्रो छ है गाह्रो ! ढिलो नगरौँ, बुढाले पनि खोलौँ, बुढीले पनि खोलौँ अनि सुरु गरिहालौँ !
जय बुढी !!! जय बुढीवाद !!!

०००
धुलाबारी, झापा
मो नं ९८४२७१५५३२

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
1 year ago

गुदी र शुद्धि भए नभएका सबै थरी बुढीको बयान रसिलो छ पाराले भएको छ तर विष्णुलाई सराप्ने जालन्धर नभएर जालन्धरकी बुढी वृन्दा हुन् भन्ने कुरा भने स्पष्ट पार्न जरुरी छ।

Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

विनाेद खनाल
बिर्सने बानी

बिर्सने बानी

विनाेद खनाल
हाउडी पुराण : एक संक्षिप्त चर्चा

हाउडी पुराण : एक...

विनाेद खनाल
गाईजात्रे सरकार !

गाईजात्रे सरकार !

विनाेद खनाल
केही विज्ञापनहरू

केही विज्ञापनहरू

विनाेद खनाल
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x