विनाेद खनालकेही विज्ञापनहरू
अखण्ड सङ्गीतमय पुराण नेपाल माविको रेस्टरुम निर्माणार्थ तथा शैक्षिक गुणस्तर कायम गरी एसईईमा सबै विद्यार्थीहरूलाई फेल बनाई प्लस टुलाई माइनस थ्रीमा झार्ने योजना राखिएको हुँदा सो पुराणमा बिहान झिसमिसेदेखि नै भोड्का, रम, ह्विस्की, बियर सेवन गरी नाच्न सहभागी हुनुहोला !

विनोद खनाल :
अहिलेको जमाना नै विज्ञापनको जमाना हो । अझ टिभी, रेडियो र पत्रपत्रिकाको त सास नै हो । अहिले त युट्युवेहरूले पनि विज्ञापन स्वात्त छिराएर दिक्क पार्छन् । विज्ञापनले नुनलाई सुन र सुनलाई घुन बनाउन सक्छ भन्ने कुरो तपाईं हामीले बुझेकै छौँ । कुनै दुई पन्ने पत्रिका तपाईं हेर्नुहोस्, एक पेजमा समाचार र अण्टसण्ट लेखिएको हुन्छ, अरु तीन पेज सब विज्ञापन ! अहिलेको खानेकुरा, भोग्ने कुरादेखि लिएर साहित्य, संस्कृति, कला, गला सबै क्षेत्रमा विज्ञापनको बढो महत्त्व रहेको हुन्छ । भनौं न समय र आम्दानीको ५०% भन्दा बढी रकम विज्ञापनमा खर्च गरिन्छ । हुँदा हुँदा अब त पाइलट बन्न पढ्नै पर्दैन, दुईचार बट्टा हर्लिक्स खानुहोस् तपाईं सिधै पाइलट बन्न सक्नुहुन्छ भन्ने विज्ञापन पनि आउन थाल्यो, यस्तै हर्लिक्स खाएर पाइलट बनेकाहरूले नै नेपालमा दिनैपिच्छे हवाइजहाज दुर्घटना गराएका होलान् । यस्तै थर्ड डिभिजनवाला आरक्षण कोटामा परेर डाक्टर पढेर मान्छे मारे जस्तै । रेडियो, टिभी सुन्नुहोस्, आधा घण्टाको समाचारमा बीस मिनेट त विज्ञापन नै हुन्छ, अनि यो विज्ञापनको जमाना होइन त ! यसकारण मैले पनि एउटा विज्ञापन एजेन्जी खोलेर रातारात धनी हुन निम्न अनुसार विज्ञापनहरू प्रकाशित गरेको इच्छुक उमेरदारहरूले चाँडै सम्पर्क गर्नुहोला !
विज्ञापन नं. १
मर्त्यलोकमा सम्पूर्ण ठाउँहरूमा घडेरी पल्टिङ् भइसकेको हुँदा सम्पूणर् हिन्दुहरूको चाहनालाई ध्यानमा राखी नेपालीहरूलाई विशेष सहुलियत दरमा स्वर्गलोक अलकापुरी नजिकै धमाधम घडेरी बिक्री गरिँदै छ । फिक्री नगरी आफ्नो प्लट सुरक्षित गर्नुहोला । घडेरी खरेडीमा मकै, बदाम र भटमास भुट्न र बर्खामा माछा पाल्ने प्रयोजनका लागि उत्तम छ । चाँडै स्वर्ग जान चाहनेले तलको फोनमा सम्पर्क राख्नु होला । फोन छ जिरो, छैन पिरो, छेउमा कीरो ।
विज्ञापन नं २
बेरोजगार उत्पादन कलेजको केटाकेटी भर्ना सम्बन्धी सूचना !!
यस बेरोजगार उत्पादन कलेजले विगत वर्षहरूमा झैं यस वर्ष पनि शत प्रतिशत बेरोजगारहरूको उत्पादन गर्न सफल भएको र आगामी वर्ष पनि अझ बढी बेरोजगार उत्पादन गर्ने लक्ष्य सहित केटाकेटी भर्ना खुलिसकेको जानकारी गराइन्छ । यस कलेजले हुटेल म्यानेजमेन्टतर्फ सबैलाई भाँडा माझ्न र गिलास पखाल्न र टुरिजमतर्फ भारी बोक्न सक्षम बनाउने लक्ष्य राखेको हुँदा सबै डिक्टिसन श्रेणीमा पास हुने केटाकेटीले चाँडै फारम भर्नु होला । सिट थोरै छ, खाँदाखाँद गरेर बस्नु पर्ला ! बेलैमा बुद्धि फुराउनु होला !
प्राचार्य
डुकुलठ्क प्रसाद आचार्य
बेरोजगार उत्पादन कलेज, पेनाल फाउन्डेसन
विज्ञापन नं ३
पर्धानमन्त्री बन्ने सुवर्ण अवसर !!
नेपालमा सबै दलहरूको सरकार दलदलमा फँसेर निस्किन नसकेको हुँदा अब दलमा नफँसेका सोतन्त्र वेक्तिलाई पर्धानमन्त्री बनाउने नेपाली जनताको इच्छा भएको हुनाले विश्वको जुनसुकै देशमा बस्ने नागरिकले पनि नेपालको पर्धानमन्त्री बन्न पाउने भन्न अम्रिकाले भारतलाई लगाएको हुनाले नेपाल लगायत विश्वका जुनसुकै देशका स्वतन्त्र नागरिकले कुकुर बिराला संसद सचिवालय, स्याल दरवार, काठमन्डूमा निवेदन दिनु होला ! निवेदन मोबिल, ईन्टरनेट, म्यासेन्जर, फेसबुकबाट पनि पठाउन सकिन्छ । आजै सम्पर्क राख्नुहोस् र पर्धानमन्त्री हुने मौकाको सदुपयोग गर्नुहोस् !!!
विज्ञापन नं ४
खुल्यो ! खुल्यो !! खुल्यो !!!
हाम्रै गाउँदेखि १० कि मि नजिकै मेनका चोकमा तपाईंहरूकै सेवामा “उर्वशी” रेस्ट टु रेन्ट एण्ड लाज खुल्यो ! बोकाको घ्यू र परेवाको दुधबाट बनेको झिङ्गा सहित चिल्लो रहित अमलेट र माछाको निरामिस खानाको साथै साङ्लाको फ्राइ, भुसुनाको चट्नी र गड्यालाको सुपका साथै नयाँ नयाँ खानाका परिकारहरू पनि पाइन्छ । बास बस्नु पर्ने भए उर्वशी, मेनका, तिलोत्तमा जस्ता सुन्दरीहरूसँग रमण गर्न पाइने बेवास्ता पनि गरिएको छ ।
प्रो. उर्वशी रेस्ट टु रेन्ट ठेलमठेल चोक
विज्ञापन नं. ५
आउनुहोस् ! आउनुहोस् !! आउनुहोस् !!! माँ पुराणमा नाच्नुहोस् !!!
नेपालमा पाँच वर्षमा एसईई पास गर्न नसकेर ख्याती कमाएका भारतको वृन्दवनबाट दुई वर्षमै भागवताचार्य, सर्वदर्शनाचार्य र संगीताचार्य समेतको उपाधि लिन सफल महाराज खण्ड खण्ड प्रसाद सठाचार्यद्वारा मौका परे एकैदिनमा सप्ताह ज्ञान महायज्ञ समापन गर्न सक्ने विलक्षण प्रतिभाशाली श्री श्री श्री एक करोड आठ महाराजज्यूका मुखारविन्दबाट अखण्ड सङ्गीतमय पुराण नेपाल माविको रेस्टरुम निर्माणार्थ तथा शैक्षिक गुणस्तर कायम गरी एसईईमा सबै विद्यार्थीहरूलाई फेल बनाई प्लस टुलाई माइनस थ्रीमा झार्ने योजना राखिएको हुँदा सो पुराणमा बिहान झिसमिसेदेखि नै भोड्का, रम, ह्विस्की, बियर सेवन गरी नाच्न सहभागी हुनुहोला ! भक्तजनको इच्छालाई मध्यनजर राख्दै पाँच मिनेट कथा भनेपछि आधा घण्टा प्यारोडी भजनको बेवास्ता गरिएको छ !
विनीत
पुराण बेवास्तापन समिति, नेपाल मा वि
०००
झापा
Subscribe
Login
0 Comments
Oldest








































