साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिर्सने बानी

यहाँ कति लाहुर ग'का लाहुरेहरूले गाउँघर नै बिर्सन्छन्, कतिले स्वास्नी ल्याएपछि जन्म दिने आमाबाबु नै बिर्सन्छन् । कतिले अलि पढेर केही कमायो भने आफ्नो घरपरिवार र गाउँ समाज नै बिर्सन्छन् ।

Nepal Telecom ad

विनाेद खनाल :

संसारका हरेक मानिससँग धेरै बानीहरू हुन्छन्। कसैको के बानी, कसैको के बानी। यसैले भनिएको छ, बानी सप्रे रानी हुन्छ, बानी बिग्रिए खरानी हुन्छ’ भनेर। तर यो भनाइ चैं महिला जाति तह लाउन पुरुषले बनाएका उखान हो जस्तो मलाई लाग्छ किनभने रानी र खरानीसँग जोड्दा। कसैको नानीदेखि लागेको नराम्रो बानी, जतिसुकै साबुन, खरानीपानी हालेर पुराना लुगा पकाए जत्तिकै पकाउँदा पनि जाँदैन। सबैका आ-आफ्नै बानी हुन्छन्।

कसैको आत्तिने, कसैको मात्तिने, कसैको फुर्किने, कसैको घुर्किने, कसैको हँसाउने, कसैको फँसाउने, कसैको सन्किने, कसैको फन्किने, कसैको हानें, कसैको टार्ने, कसैको मार्ने, कसैको बार्ने, कसैको पढ्ने, कसैको सड्ने, कसैको पूजा गर्ने, कसैको भुजा गर्ने, कसैको चोर्ने, कसैको फोर्ने, कसैको चाट्ने, कसैको काट्ने, कसैको पिउने, कसैको सिउने, कसैको माग्ने, कसैको भाग्ने, कसैको मात्ने, कसैको तात्ने, कसैको हाँस्ने, कसैको मास्ने, कसैको गाँस्ने, कसैको टाँस्ने, कसैको खेल्ने, कसैको पेल्ने । यस्ता बानीहरूको लिस्ट बनाउनु हो भने आजका प्राध्यापकहरूले बोक्ने नोटबुकभन्दा ठूलो हुँदो हो। अब यसबाटै बुझ्नुहोस् कि मानिसहरूका बानी कति हुन्छन् भन्ने कुरा।

बिर्सने बानी पनि अहिले त अम्मल जत्तिकै भइसकेको छ। बरु मान्छेले भात पानी बिर्सन्छ तर अम्मल बिर्सिदैन भने जस्तै हाम्रा देशका नेताहरू विकास गर्न बिर्सिन्छन् तर कमिसन खान भने बिर्सिंदैनन् भन्नु एकै हो। कसै-कसैको त बिर्सने बानी पनि फेसन जत्तिकै भइसकेको छ। नबिर्से पनि बिर्सिएको भान पारी पान खाँदै बिर्सिए जस्तो गर्नु आजका भद्रभलाद्‌मीको बानी नै हो। देशका ठूला नेतादेखि लिएर गाउँका मूला नेताहरूसम्म सब बिर्सुवा, मन्त्रालयका सचिवदेखि लिएर गाउँपञ्चायतका पिउनसम्म सब बिर्सुवा । यस्ता बिर्सुवाहरूलाई चै सरकारले टि.ए.डि.ए. सियो, पिओ सबको व्यवस्था मिलाइदिएको हुन्छ। यी भए सरकारी बिर्सुवाहरू । यिनीहरूले सर्वसाधारणको काम एकदिन दुईदिन मात्र होइन, महिनादिन, मौका परेमा वर्ष दिन नै बिर्सन्छन् । यिनीहरूले जति नै बिर्सिए पनि यिनीहरूको खर्चको व्यवस्था चै सरकारले गरिदिएको हुन्छ । तर यी बाहेकका तरकारी बिर्सुवाहरूले चै सबै आफ्नै गोजीबाट खर्च गर्नुपर्छ।

तपाईंलाई खुल्दुली परिसक्यो होला सरकारी बिर्सुवा भनेको त कुरो बुझियो तर तरकारी बिर्सुवा भनेको चै के होला भनेर। तरकारी बिर्सुवा भनेको श्रीमतीले तरकारी किन्न पठाएको पैसा भट्टीमा पसेर रक्सी धोकेर घरमा तरकारी ल्याउन बिर्सने बिर्सुवाहरूलाई तरकारी बिर्सुवाको संज्ञा दिन सकिन्छ। यतिले मात्र चै तरकारी बिर्सुवाको परिभाषा पुग्दैन नि, कुनै पनि शास्त्रको बीस पच्चीसओटा परिभाषा रट्नु परेजस्तै बिर्सुवा शास्त्रका दुई/चार परिभाषा त अवश्य नै छन्। सम्झदै जानुहोस् हाम्रो समाजमा कति प्रकारका बिर्सुवाहरू छन्। भान्सेले तरकारी वा दालमा नून हाल्न बिर्सिन्छन् । कतिपय लोग्ने मानिसहरू बाहिरफेर चहार्दै चहार्दै घरकी स्वास्नी र परिवार नै बिर्सन्छन् । भट्टीमा पसेर खान थालेपछि आफ्नो औकात नै बिर्सन्छन् कतिपयले। पुरेत बा पढ्न जाँदा किताब नै बिर्सन्छन् । विद्यार्थीहरू घरको काम गर्न र किताब बोक्न नै बिर्सन्छन्, शिक्षकहरू क्लासमा जाँदा चक डस्टर नै बिर्सिन्छन्। धेरै कमाएपछि कतिले आफ्नो नाता गोता नै बिर्सिन्छन्, हली खेतमा जाँदा हलो बिर्सिन्छन् ।

यसैले होला हाम्रो नेपाली भाषामा उखान बनेको होला, ‘हग्न जाने कोनि के बिर्सिने’ भनेर। कोही पैचो लगेको दाल, चामल तिर्न बिर्सिन्छन् त कोही सापटी लगेको पैसा तिर्न बिर्सिन्छन्। कोही रिन तिर्न बिर्सिन्छन्, कोही पढ्न लगेको पुस्तक फिर्ता गर्न बिर्सिन्छन् । संसारभर यस्ता र यति धेरै बिर्सुवाहरू हुँदाहुँदै पनि वैज्ञानिकहरूले किन बिर्सनेलाई सम्झनेको औषधीको बनाउन सकेनन् ? यो बिर्सुवाशास्त्रभित्रको एक महत्त्वपूर्ण र जटिल प्रश्न हो, जसको उत्तर दिन जस्तै मै हुँ भन्ने बिर्सुवाले पनि सक्तैन ।

बिर्सने एउटा बानी मात्र नभएर हामी नेपालीहरूको परम्परा जत्तिकै बनेको छ। छोराले बिर्सियो, बाबुले बिर्सियो, हजुरबाले बिर्सिए, बुढाहजुरबाले बिर्सिए, कुप्राहजुरबाले बिर्सिए, जिजुबाले बिर्सिए, च्याब्जुले बिर्सिए। यसै हुनाले बिर्सने बानी नभएर परम्परा नै हो जस्तो लाग्छ मलाई चैं। भोटका बेला बोलीले आकाश पाताल देखाउँदै हिँड्ने नेताहरूले भोट जितेका भोलिपल्टदेखि आफ्ना जनतालाई बिर्सिए जस्तै न्यायाधीशहरू कानुन नै बिर्सिन्छन्, कर्मचारीहरू कर्तव्य बिर्सन्छन्, ब्रह्मचारीहरू प्रतिज्ञा बिर्सन्छन् । नेताहरू सपथ बिर्सन्छन्, शिक्षकहरू पढाउन बिर्सन्छन्, पुरेतहरू कर्मकाण्ड बिर्सन्छन्, पण्डितहरू आदर्श बिर्सन्छन् भने यो हाम्रो मानव समाज नै बिर्सुवाहरूको सङ्गठन हो, नेपालमा भएका वर्गीय स‌ङ्गठनहरू जस्तै ।

यस्ता बिर्सुवाहरूमा अझै बढी चैं वैज्ञानिकहरू पनि हुन्छन् भनेर मलाई मेरा साथी बिर्सुवाप्रसादले सुनाएका थिए। हुन त उनको नाम बिश्वप्रसाद हो तर नेपालीहरू जस्तै राम्रो नाम पनि बिगारेर नराम्रो बनाउन सिपालु भएकाले उनलाई पनि बिर्सुवाप्रसाद भन्थे। एकपटक अल्बर्ट आइन्स्टाइनले आफ्नो नाम नै बिर्सिएका थिए रे, अर्का एकोहोरा वैज्ञानिक आइज्याक न्यूटनलाई बिर्सुवाहरूको गुरु नै भन्न सकिन्छ। उनका बारेमा यस्तो सुनेको थिएँ। उनका पिताले उनलाई एउटा अण्डा र घडी दिँदै भनेछन्- “लु यो अण्डा पाँच मिनेट उसिनेर लिएर आइज’ । न्यूटन घडी र अण्डा लिएर चुलामा गए, दश मिनेट बितिसक्यो, छोरो आउँदैन के गर्छ भनेर हेर्न जाँदा त घडी चै पानीमा भकभकी उम्लिरहेको रहेछ, अण्डा चैं हेरेर बसिरहेका रहेछन् अरे। बिर्सिएपछि यस्तो पनि हुँदोर’छ।

यो खिस्साले कति विद्यार्थीहरूलाई प्रेरणा प्रदान गर्दो हो। ए ! बिर्संदा त वैज्ञानिक पो भइनेरहेछ भनेर पढेका कुराहरू सबै बिर्सिदिने। त्यसै त अहिलेका विद्यार्थीहरू परीक्षामा फेल हुन्छन् र पासका लागि दलाली गर्छन् अनि भन्छन्- “सर मैले सबै जानेको थिएँ कि लेख्ने बेलामा चै सबै बिर्सिएँ” भनेर। बिर्सने बानीका बारेमा कुराहरू कति छन् कति, लेख्नै थाल्नु हो भने उन्नाइसौँ महापुराण नै बन्न सक्छ। तर त्यो जिम्मा चै बिर्सुवाहरूको महागुरु नै छोडौँ। एउटा मात्र घटना यहाँ राख्न चाहन्छु।

एकचोटि मेरो छोरो कक्षा चारमा पढ्थ्याे । बिहान उफ्री उफ्री वर्डमिनिङ पढ्छ, छोराले पढेकामा निकै खुशी भएँ। राम्ररी सुनेको त ‘god’ गुड, गुड माने राम्रो भन्छ, बेस्सरी झाँटेको त रुन खोज्दै उसले भन्यो- “सरले यस्तै लेखिदिएको छ”, भन्दै उसले खाता देखायो, नभन्दै सरकै हेण्डराइटिङले त्यस्तै लेखिदिएको रहेछ। दिउँसो स्कुल गएर सरलाई भने, सरले हाँस्दै भने, “ए एउटा ‘ओ’ त लेख्नै बिर्सिएछ।” बिर्सिएपछि यस्तो पनि हुँदोरहेछ। बिर्सने बानी, र बिर्सुवाहरूका बारेमा लेख्दा एउटा घटना सम्झिएँ । एकपटक हाम्रा बाले हामी केटाकेटीहरूलाई खूब कराउनु भो, मेरो चस्मा हराइदिए भनेर। सबै लागेर धुइँपत्ताल चस्मा खोज्यौं, बा पनि खोज्न थाल्नुभयो, भरे भाइले पो देखेछ, चस्मा त बाले लाइराख्नुभाको र’छ । बिर्सेपछि यस्तो पनि हुँदोरहेछ।

यसरी हेर्दा यो बिर्सने बानी आजको दैनिकीमा अनिवार्य कार्यक्रम बनेको छ। यता हेर्यो बिर्सुवा, उता हेर्यो बिर्सुवा । समाज नै बिर्सुवाहरूको छ, देश नै बिसुवाहरूको छ, विश्व नै बिर्सुवाहरूको छ। यहाँ कति लाहुर ग’का लाहुरेहरूले गाउँघर नै बिर्सन्छन्, कतिले स्वास्नी ल्याएपछि जन्म दिने आमाबाबु नै बिर्सन्छन् । कतिले अलि पढेर केही कमायो भने आफ्नो घरपरिवार र गाउँ समाज नै बिर्सन्छन् ।

त्यसकारण अहिलेको समय बिर्सुवाहरूको समय हो भन्दा कसैले मुद्दा त हाल्दैन होला नि, नत्र त अचेलभरि त गाउँका स्वस्थानी पूजाको जाग्राममा गीत गाएर नाच्यो भने पनि कम्निष्ट भनेर मुद्दा चलाउन थालेका छन् पञ्चहरूले। बाटोमा संयोगले कुनै केटीको पछि परियो र एकछिन हिंडियो भने “लौ मलाई त फलानाले पछ्‌यायो” भनेर महिला स‌ङ्गठनमा मुद्दा लाउँछन् आजकल केटीहरूले । बोल्न पनि पो डरमर्दो छ आजकल त। यसरी बिर्संदा-बिर्सदै कुन बेला हाम्रो दिमागले पनि सोच्नै बिर्सेला कि !  दिमागले सोच्न बिर्संदा त ठिकै होला तर फोक्सोले सास फेर्न नबिर्सियोस्, मुटुले चल्न नबिर्सियोस्, पृथ्वीले घुम्न र हावाले डुल्न नबिर्सियोस् ।

जय बिर्सने बानी ! जय बिर्सुवा समाज !!

०००
रचनाकाल : लुते संक्रान्ति २०४१, झापा
तिताे मिठाे (२०७७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

विनाेद खनाल
हाउडी पुराण : एक संक्षिप्त चर्चा

हाउडी पुराण : एक...

विनाेद खनाल
जय बुढी

जय बुढी

विनाेद खनाल
गाईजात्रे सरकार !

गाईजात्रे सरकार !

विनाेद खनाल
केही विज्ञापनहरू

केही विज्ञापनहरू

विनाेद खनाल
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x