साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाउडी पुराण : एक संक्षिप्त चर्चा

मर्त्यलोकमा आनन्दपूर्वक भोग गरि अमत्र्य लोकमा पनि भूतसँग मित्रता गाँसेर डाकिनी, साकिनी, बोक्सीसँग रमण गर्दै बिताउन पाइन्छ भन्ने कथा सविस्तारमा वर्णन गरिएको छ ।

Nepal Telecom ad

विनोद खनाल :

नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा कोमलप्रसाद पोखरेल एक सुपरिचित नाम हो । वि सं १९९९ असार ३ गते इलाम जिल्लाको तोरीबारीमा जन्मिएका पोखरेल पेशाका हिसाबले शिक्षक र प्राध्यापक हुन् । कनकाई मा वि र कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा, झापामा शिक्षण र प्राध्यापन गरी हाल अवकाश प्राप्त जीवन बिताइरहेका छन् । उनी कविता, कथा, निबन्ध र समालोचना क्षेत्रमा सिद्धहस्त साहित्यकार हुन् । यसका अतिरिक्त उनी अनुवाद कलामा पनि निपुण देखिन्छन् । यद्यपि उनी पछिल्लो समयमा हास्यव्यङ्ग्य कविका रुपमा चर्चित छन् । उनी मोफसलमा बसेर पनि देशका चर्चित साहित्यकारहरुका सूचीमा उभिन सक्ने कवि हुन् ।

यहाँ उनको हास्यव्यङ्य निबन्धसङ्ग्रह “हाउडी पुराण” को सामान्य चर्चा गरेर पर्चा छर्ने प्रयत्न गरिएको छ । कृतिको सामान्य परिचयः- हाउडी पुराण ( हास्यव्यङ्ग्य सङ्गालो) वि.सं २०५२ सालमा कनकाई प्रतिभाबाट पहिलोपटक प्रकाशित भएको पाइन्छ । जननी मीनरुपा पोखरेलमा समर्पण गरिएको यो कृतिको मूल्य हास्यव्यङ्ग्य मन पराउनेलाई रु तीस र अरुलाई चारसय बीस राखिएको छ । शशी शाहद्वारा आवरण चित्र बनाइएको यो कृति ९९९० भागा १० प्रति छापिएको छ । यस कृतिमा आफ्ना अक्षर कुदाएर साक्षी बसेका छन्, भट्टराई धरावासी र चूडामणि रेग्मी । पुराणको महात्म्य लेखक स्वयंले लेखेका छन् । यसको प्रकाशन गरेको छ, कनकाई प्रतिभा प्रतिष्ठान, सुरुङ्गा झापाले । यस कितापमा ०२५ सालको भेलबाडीदेखिका हास्यव्यङ्ग्य निबन्धहरु रहेका छन् । यस किताबमा शुद्ध हास्यव्यङ्ग्य निबन्धहरूको सङ्ख्या एघार रहेको छ । त्यसकारण यो हाउडी पुराणलाई एकादशी पुराण भने पनि होला कि ।

अब पसौँ कृतिभित्र । यो कृति उल्टो छ हाम्रो देश र समय जस्तै ! कसरी ? भन्नुहोला तपाईंहरू ! विषय सूचीमा रहेको सुरुको लेख पुस्तकको अन्तिममा छ । “रोएर नै जीवन बिताउन सकिँदैन” धरावासी, “हाउडी पुराणबारे अहाउडी भूमिका” चूडामणि रेग्मी, प्रकाशकीय बुद्धदेवप्रसाद घिमिरे बाहेकका सप्पै रचना हाउडी पुराणका रचयिता कोमल प्रसाद पोख्रेलकै हुन् । पोखरेलले यस पुस्तकमा हास्य पोखेर व्यङ्ग्यको रेलो लगाएका छन् । अर्को शब्दमा भन्दा पोखरेलले यस पुस्तकमा हास्य र व्यङ्ग्यको रँइदालो गरेका छन् ।

हाउडी पुराण महात्म्यमबाट आफ्नू भनाइ (मण्डप पूजा) सुरु गरेका पोखरेलले आफ्नो पाँच पुस्ते विवरण खोली पाठकहरूका लागि राजीनामा (सङ्कल्प) तमसुक गरिदिएका छन् । यति भएपछि सुरु हुन्छ हाउडी पुराण । एघार अध्याय रहेको यो हाउडी पुराणको पहिलो शीर्षक “हाउडी पुराण” रहेको छ । यस शीर्षकमा रचयिताले राजनीति, धर्म, पुराण, सामाजिक विकृतिका काण्डहरूको भण्डाफोर गरेका छन् । दोस्रो अध्याय “धूम्रपान” अध्याय रहेको छ । लेखकले यस अद्देमा धेर जसो गद्देमा लेखे पनि पद्देलाई पनि अलिकति छिराएका छन्, हेरौं यो अद्देमा भको पद्देको यो उदाहरणलाई
“सबै द्यौता मिली सभासद गरेछन्, खानेकुरामा कुन ठूलो हो भनेछन्
चतुर्भुज ब्रम्हा जुरुक्कै उठेछन,तमाखु,तमाखु,तमाखु भनेछन् !!”

तेस्रो अद्देमा आधुनिक “कन्यादान सङ्कल्प” रहेको छ । यस अद्देमा पनि पोखरेलले हास्य पोखेर व्यङ्ग्यको रेलो लाएका छन् । यस अद्देको महत्वपूर्ण अंश कन्यादान अत्याधुनिक महासङ्कल्प हो, जजसका छोरी, नातिनी, भाञ्जी, भदैको बिहे गर्नु छ तुरुन्त पोखरेल गुरुसँग मगाएर राख्नु होला, नत्र आधुनिक जमानामा थोत्रे सङ्कल्पले काम चलाउनु पर्ला ! समयमै बुद्धि पुर्‍याएर ढुक्क हुनुहोस् । चौथौ अद्देमा चैँ थेगोको चर्चा गरिएको छ । थेगोलाई ठिक ठाउँमा प्रयोग गर्न नजान्दा कुटाइसम्म खानु पर्ने स्थिति आउन सक्ने स्थिति बताइएको छ । वि.सं २०२६ सालमा प्रकाशित यो निबन्धमा चैँ लेखकले कविता छिराउन भने भ्याएनछन् । पाँचौं अद्दे “कान्छाबा” हो । यो अद्दे अरु अद्दे जत्तिको लामु छैन । यो अद्देमा मान्छेको सद्दे पुर्खाको वणर्न गरिएको छ । अर्को अद्दे छ “ओखती” यो पनि अलिक लामै अद्देमा पर्छ । यो अद्दे यजुर्वेदबाट निकालिएको जस्तो लाग्छ ।

वि सं २०२६ सालमै लेखिएको यस अद्देमा मुखाले स्वास्नीको सद्दे चित्रण छ । पढे थाहा पाउनु होला, नपढे के थाहा पाउनु ! किताबको पन्ना पल्टाएर आँखैमा टाँसिदिँदा त नपढ्ने अहिलेका पाठकले के थाहा पाउनु ! अर्को सातौं अद्देको शीर्षक नै लामो छ, पिएचडि गर्दाको शोधपत्र जत्तिकै ।” ऐनाभित्रको बिहे, भुन्टीकी आमाको जय” । हाउडी पुराणभित्रको सबैभन्दा लामु अद्दे नै यही हो । यो अद्दे सुन्दा सुनाउँदा चैँ कुनै गोष्ठी र कार्यक्रममा जस्तै भक्तहरूलाई बसेकै ठाउँमा एक एक थाल पुरी सब्जी र पण्डितजीहरूलाई एक एक केजी फलफुल र एक एक डबका दूध ज्युनार गराउनु पर्छ । सपनाको कुरै नगरी रचनाकार बाबैले सपनाको बिहेको कुरा गरेर ठग्नु ठगेको पाइन्छ यस अद्देमा, पण्डितले भक्त ठगे जत्तिकै गरेर । अर्को “सभ्यता” अद्दे पनि अलिक लामै अद्दे हो । यसमा फिस्स हाँसो र कसिलो बेङ्गे रहेको छ ।

नवौँ अद्देको “तीन औतारी” त वेद जत्तिकै पो र छ, गाँठे हो, हिसाब पनि । जोतिस पनि, कृषिप्रधान देशमा जोत्नै छोडेको बेलामा यस्तो जोतिस कस्ले पढ्ने ? नेपाली हास्यव्यङ्ग्य क्षेत्रका तीन शिखर पुरुषहरू वासुदेव लुँइटेल, केशवराज पिँडाली र भैरव अर्यालका नाम थरलाई गणितीय रुपमा जोड, घटाउ, गुणा, भाग गरेर जोतिषीय रुपमा प्रस्तुत गरिएको यस लेखले जोसुकै पाठकको पनि दिमाग रिङ्गाउने देखिन्छ । यो अद्दे छिचोल्न चैँ पोखरेल जोतिषिसँग तीन महिना ट्युसन नै पढ्नु पर्ने देखिन्छ ।

यस अद्देमा पनि लेखकले अन्तिमतिर पद्दे छिराएका छन्, अहिलेका विद्वानले नेपालीमा अङ्ग्रेजी छिराए जसरी संस्कृतमा नेपाली मिसाएर । अझ गजब त के छ भने भैरव अर्याल, केशवराज पिँडाली र बासुदेव लुइँटेलका व्यङ्ग्य कविता साभार गरेर त्यहाँ राखेपछि त झन् के ! खोर्सानीको अचारमा पिरो हाले जत्तिकै स्वादिलो भएको छ।यो अद्दे निकै जटिल र टेसिलो अद्दे हो,यस पुराणको ! दसौँ अद्दे छ, “जनता र तेल, नेताको खेल” । यस अद्देमा अहिलेका चिप्ले नेताले निरीह जनताप्रति गरेको ढाँट खेलको चर्चा गरिएको छ । नेताको चैँ गुप्ताङ्गसम्म जनताले तेल लगाइ दिनु पर्ने तर नेताले चैँ जनता पेलेर आचीसम्म निकालिदिने कुराको चर्चा पनि यस अद्देमा सद्दे लेखकले गद्देमा गरेको पाइन्छ।यस पुराणको अन्तिम अद्दे चैँ “सुकेनाश” हो । यस अद्देमा पुराण रचयिताले भूत, प्रेत, पिशाच पूजाविधिको बारेमा राम्ररी दर्शाएका छन् । यहाँ लेखिएका विधिविधान बमोजिम भूतप्रेत, पिशाच, डाकिनी, साकिनी, बोक्सीको पूजा गरेमा कसैले पनि भूतप्रेतबाट दुःख पाउनु पर्दैन र मर्त्यलोकमा आनन्दपूर्वक भोग गरि अमर्त्य लोकमा पनि भूतसँग मित्रता गाँसेर डाकिनी, साकिनी, बोक्सीसँग रमण गर्दै बिताउन पाइन्छ भन्ने कथा सविस्तारमा वर्णन गरिएको छ । भूत, प्रेत, पिसाचको पूजा गरेर खुशी पार्ने हो भने पोखरेल बासँग किताब मगाएर घरमा शान्ति भित्राउनु होस् !!

आजलाई “हाउडी पुराण” चर्चा यति नै । यो त सारांश मात्र हो, यस पुराण बारे अरु जान्नु बुझ्नु छ भने कोमल पण्डितसँग मगाएर पढ्नु होला ! तपाईंको टोल, गाउँ विकास गर्नुछ भने, भट्टी पसल खोल्न, टट्टीखान् बनाउने फट्टी मान्छेका लागि यही पुराण लटठी साबित हुनेछ । तपाईंले पनि यही पुराण लाउनु होला, तपाईंका एघार पुस्ता अघिका र दस पुस्ता पछिका सबै पितृहरू मोक्ष हुनुका साथै गाउँ टोल पनि विकासले हराभरा हुनेछन् !!
इति ! अस्तु !!

०००
धुलाबारी, झापा

फित्काैली, पूर्णाङ्क ४२, २०८१-असार/साउन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

विनाेद खनाल
बिर्सने बानी

बिर्सने बानी

विनाेद खनाल
जय बुढी

जय बुढी

विनाेद खनाल
गाईजात्रे सरकार !

गाईजात्रे सरकार !

विनाेद खनाल
केही विज्ञापनहरू

केही विज्ञापनहरू

विनाेद खनाल
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x