दुर्गाकिरण तिवारीहोडबाजी !
अहिले लागेको छ भीषण युद्धको आगो अब बेलाबेला जहाँतहीँ भुसमा सल्किएझैं सल्किदै गर्छ निभ्दै ननिभ्नेगरि तर तिमी विवश छौ महाशय ! टुलटुलु हेर्न तिम्रो मृत्युको सन्निकट भयानकता ।

दुर्गाकिरण तिवारी :
(प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव (२०८२) मा वाचित अतिथि कविता)
अन्तहीन दौडमा उत्रेर गाइएको भीषण
बाजी आज आफैं हारेको छ
हो, आत्मसात् गर्न निकै गाह्रो छ
होडबाजी आज निराधार भएको छ
आफंैले आफैंलाई भुलेको दौडको
होडबाजीमा आफै आफैं पछारिएको छ
तिमीले देखेका दुःस्वप्नको प्रलयले
शान्ति छाएको छ
साँच्चिकै शून्य र मौन बनेको छ
मेटिँदैछन् होडका दिग्भ्रमहरू
दोस्रोलाई परास्त गर्दा गर्दै ।
होडबाजीको उन्मादले
आफन्त बिर्सायो, शान्ति बिर्सायो
नैतिकता बिर्सायो, संवेदना बिर्सायो
संस्कार, संस्कृति सब बिर्सायो
साँच्चिकै भनूँ भने
मान्छे स्वयंलाई बिर्सायो
त्यसैले होडबाजीको दौड
आज निराधार बनेको छ ।
धाँजा फाटेर च्यातिका छन् होडहरू
क्षीण हुँदै जादै छ उत्ताउलो प्रकाशको शक्ति
सृष्टिले नियालिरहेछ नजिकबाट
तिम्रा अनुपम जितहरूलाई
तिमीले कोरेका लक्ष्मण रेखाहरू
फेरि तिमीलाई चेतावनी दिइरहेछन्
तिम्रो अहङ्कारको होडबाजीलाई ।
अहिले देखिँदैन कतै खुसी
बेहाल छन् अनुपम निर्वाणहरू
थाकेका पैतालामा मार्ग रोकिएको छ
थाकेको मन, थाकेको आत्मबल
किञ्चित् विघ्नले किच्दा
निद हराएको छ
बिथोलिएको छ मनमस्तिष्क
काँध गलेका छन् उठाउन नसकेर आफैंलाई
स्विकार्न गाह्रो भैरहेको छ हार ।
फेरि कसरी उत्रेला खै होडबाजी
दोस्रोलाई परास्त गर्न ?
तिम्रो दौडको मैदान च्यातिएर
चिराचिरा परेको छ
स्वयंबाट परस्त भै भत्किएको छ
तिम्रो उच्च महत्त्वाकांक्षा ।
तिमीले सुरु गरेको होडबाजीमा
प्रकृतिका विरुद्धको अभियानकै विरोधमा
अहिले लागेको छ भीषण युद्धको आगो
अब बेलाबेला जहाँतहीँ
भुसमा सल्किएझैं सल्किदै गर्छ
निभ्दै ननिभ्नेगरि
तर तिमी विवश छौ महाशय !
टुलटुलु हेर्न
तिम्रो मृत्युको सन्निकट भयानकता ।
०००
काठमाडाैं








































राम्रो