दुर्गाकिरण तिवारीबगर आफ्नो पराइ छुट्याउँदैन
के छ त्यसमा अस्तित्व ? आखिर बगरमै गएर मिसिन्छ शान्त हुनेछन् आँधीहुरीहरू आडम्बरभित्रका तब बुझ्नेछन् जीवन र अन्ततः मौन रहेरै बगरझैँ ।

मौनताभित्रका आधिहुरीहरू हो !
भत्काइदेओ पर्खाल
उडाइदेओ स्वार्थका थैलाहरू
हुत्याएर फालिदेओ सबैलाई
समुद्रका किनाराहरूमा
र बिस्तारै मिसिऊन् सागरमा
ता कि साझा होऊन्
खुसी, सुख र दुःख अनि विचलन
परास्त होस् स्वार्थ
हेर्न र महसुस गर्न नजिकै रहेर बगरलाई
मौन रहेरै गर्नु छ बोध सकुनको
सागरको किनारमा बनेर ।
ऊ पनि जिइरहेको छ
मौनतामै निष्प्राणहरूलाई अँगालोमा कसेर !
निष्प्राणहरूको हृदय कस्तो छ
छाम्नु छ- धड्किन्छ धड्किदैन
हो, बगर च्याखे थाप्दैन स्वार्थमा
धक्क्याए पनि सुनामीले
बगरले गुनासो गर्दैन
बरु चुपचाप मिसिदिन्छ, फिस्लिदिन्छ
आफ्नै अस्तित्व मेट्दै सागरमै ।
बगर
सहजै स्विकार्छ ऊ
आडम्बरी अनि मौन पात्रहरूलाई
बुझेको छ आडम्बर छोडेर आएका छ्न्
किमार्थ ऊ छुट्याउदैन ठूलो-सानो धनी-गरिब
रूप- विरूप, स्वार्थी- निःस्वार्थी
आफ्नै सिद्धन्तमा अडिग छ
किनकि आखिर ऊ
सागरकै समीप सागर जस्तै
त्यसैले त
सबैको भित्रको गुदी र अस्तित्व एकै मान्छ
मौनतामै लम्पसार भएर ।
प्राण-निष्प्राणहरू
उसकै समीप भएर रहन चाहन्छन्
सागरमा छालहरू लय खोज्दै जीवनको
खोल्न चाहन्छन्
मानवताभित्रको आडम्बर र अहम्का पोकाहरू खोल्न
के छ त्यसमा अस्तित्व ?
आखिर बगरमै गएर मिसिन्छ
शान्त हुनेछन् आँधीहुरीहरू आडम्बरभित्रका
तब बुझ्नेछन्
जीवन र अन्ततः मौन रहेरै बगरझैँ ।
०००
कास्की, पोखरा, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































