सुलसुलेकृति लोकार्पण, रचनावाचन तथा सम्मान कार्यक्रम
विशेष गरी दिवङ्गत भएका स्रष्टाहरू धनवीर पुरी एवम् कमला राईप्रति श्रद्धा गरिएको हो भने तिनै दिवङ्गत स्रष्टाहरूको सम्झनामा लोकार्पित कृति ‘धनवीर पुरी एवम् कमला राई स्मृति विशेषाङ्क’ नामक पुस्तकलाई सार्वजनिकीकरण गरिएको हो ।

मिरिक-भारत, मार्च १९, २०२३ (तदनुसार चैत ६ २०७९) का दिन दार्जिलिङ जिल्लाको मिरिक नगरपालिकाअन्तर्गत “ साहित्य सुनौँ परिवार मिरिक” नामक साहित्यिक संस्थाद्वारा व्यावसायिक सङ्गठन भवन मिरिकको एउटा सभा हलमा एउटा विशेष साहित्यिक कार्यक्रम सम्पन्न भयो ।
विशेष गरी भारतीय भूगोलको पावनभूमिमा यस्ता सात्तिविक कार्यक्रमहरू बग्रेल्ती भैरहेकै हुन्छन् । एउटै शैय्या भएपछि गोडा लाग्नु र आवाजको आरोहअवरोह ठोकिनु नौलो भएन । त्यसैले सिर्जनशील गतिविधिहरू थाहा हुन सजिलो भएको हो । साहित्य सुनौँ परिवार मिरिकको यो अमर्त्य कर्मको यात्रा अनन्त चलोस् । अग्रज तथा अनुज पुस्ताका सहभागिता र ऊर्जामय कृयाकलाप भइरहनु र दिवङ्गत स्रष्टाहरूको पदचापमा वर्तमान स्रष्टाहरूको भक्तिमय लगानी खेर नजानु तथा नेपाली भाषा र स्रष्टाहरूको संरक्षण र संवर्द्धनमा अनवरत खटिरहनु यो संस्थाको विशेषता नै हो ।
यसै सन्दर्भमा मार्च १९ तारिक पनि सिर्जनशील व्यक्तिहरूका लागि खास रह्यो । कार्यक्रमको संरचनात्मक सेरोफेरो मिलाउन निक्कै मेहनत गरिएको कार्यक्रममा विशिष्ट स्रष्टा र द्रष्टाहरूको उपस्थिति गराई सम्पन्न गरिएको कार्यक्रममा रचनावाचन र स्रष्टा सम्मान पनि उत्तिकै प्रभावशाली रहेको पाइयो ।
यो कार्यक्रम विशेष गरी दिवङ्गत भएका स्रष्टाहरू धनवीर पुरी एवम् कमला राईप्रति श्रद्धा गरिएको हो भने तिनै दिवङ्गत स्रष्टाहरूको सम्झनामा लोकार्पित कृति ‘धनवीर पुरी एवम् कमला राई स्मृति विशेषाङ्क’ नामक पुस्तकलाई सार्वजनिकीकरण गरिएको हो ।
साहित्यकार राजबहादुर राईको अध्यक्षता, डा.साङ्मु लाप्चाको प्रमुख आतिथ्य, कृष्ण प्रधान संरक्षक, दधिराम घिमिरे , डीआर वंजन र एमएल दियाली आदिको विशिष्ट आतिथ्य, पीएल जोशी, रश्मी राई, शीला गुरुङ, श्याम वान्तवा, राधा रसाईली, एनडी राई, पुनम विव, अरुणचन्द्र कुलुङ, प्रमिला सुब्बा, लक्ष्मी राई, बुद्ध तामाङ, तीर्थ गुरुमा, अशोक रोक्का, अजय खड्का र मदन खड्कालगायतका स्रष्टाहरूको आतिथ्य रहेको थियो ।
मञ्चासिन अतिथिहरूबाट दीप प्रज्जवलन गरेर कार्यक्रमको घुम्टी उघारिएको थियो भने विशेषाङ्कमा समावेश स्रष्टाद्वय धनवीर पुरी एवम् कमला राई आदिको कृतिमा खादार्पण गर्दै अरू पनि दिवङ्गत स्रष्टाहरू- वसन्त सर, प्रताप सुब्बा र उदय सुब्बा गोर्खालगायतका आत्माशान्तिको निम्ति करिब दुई मिनट मौन धारण गरिएको थियो ।
कार्यक्रमको मध्य भागमा केही स्रष्टाहरूले रचनावाचन पनि गरेका थिए जसमा- नगिता लेप्चा राई, गोकुल रसाइली, अरुणचन्द्र कुलुङ, शरद राई, भूमिका राई, सञ्जीता तामाङ, पन्ना राई, अजय खड्का, शर्मिला प्रधान र देवीका मग्राती राई रहेका थिए ।
त्यसैगरी सम्मानित व्यक्तित्वहरूमा संस्थापक सदस्यहरू दीपमिलन प्रधान, बालकृष्ण शर्मा, पूणर् वान्तवा, वाईएन ढकाल, पराग शर्मा र थप स्रष्टाहरू राजबहादुर राई, कमला तामाङ, केसाङ लामा गोम्देन, अजम प्रधान, विष्णुकुमार बराइली, विनोद प्रसाईँ, रोशन दियाली, शुभेच्छा घतानी आदि । यो बिचमा आजका कार्यक्रमको विशिष्ट अतिथि साहित्यकार कृष्ण प्रधान र अध्यक्षको ओजस्वी मन्तव्य रहेको थियो ।
सचिव शीला लामाद्वारा उपस्थित महानुभावहरूलाई स्वागतार्थ स्वागत मन्तव्यसहितको औचित्य प्रस्तुत गरिएको कार्यक्रममा दीप प्रधान र विनोदसिँह खातीद्वारा सहजीकरण गरिएको संस्थाका सह-सचिव कथाकार दीप प्रधानले जानकारी दिएका हुन् ।
०००
फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई
Subscribe
Login
0 Comments
Oldest











































