साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विद्यालय भर्ना अभियान

म परेँ शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्छ भन्ने मान्छे । यहाँ पनि कुरा त्यहीँ नै आउँछ । शिक्षा सम्बन्धी मौलिक हकको कुरा - आधारभूत तहसम्म अनिवार्य र निशुल्क, माध्यमिक तहसम्म निशुल्क ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

‘जब पर्‍यो राति तब बुढी ताती’ भनेझैँ पैसठ्ठी काटेपछि मलाई पनि विद्यालयमा भर्ना हुने रहरले ठहरै पार्‍यो । मेरो रहरलाई मलजल गर्‍यो एस.इ.इ. परीक्षाले । खाने मुखलाई जुँगाले छेक्दैन भनेको त्यसै रहेनछ । एस.इ.इ. परीक्षामा ६२ वर्षीय विद्यार्थी सहभागी भएको सुनिएन मात्रै आफ्नै आँखाले देखियो ।

कति काम रहरले गरिन्छ । कति करले गरिन्छ । विद्यालय भर्ना मेरा लागि रहर र कर दुवै थियो । पैँसठ्ठी कटेको मान्छे आधारभूत तहको कक्षा ५ मा भर्ना भएर भाइरल बन्ने रहर मनमा पलाएको कुरा किन पो लुकाउनु पर्‍यो र ? कक्षा ५ मा भर्ना हुनुको अर्को पनि फाइदा छ । त्यो हो दिवा खाजा । सरकारी विद्यालयमा भर्ना भएपछि दिउँसोको नास्ताको पनि टन्टो भएन । दिनभर भट्टीमा भुलेर टट्टीमा पल्टिनु भन्दा विद्यालयमा भर्ना भएपछि नाति पनि हेरिने मुख पनि फेरिने । भएन त दुवै हातमा लड्डु ? कम्ती बाठो छु म !

रहरसँग जोडिएको अर्को कुरा पनि भन्दिछु मैले । एक दिन संविधान पल्टाएर हेरको त माध्यमिक तह सम्मको शिक्षा त निशुल्क रहेछ । फिरिमा पढ्न पाइने भएपछि किन नपढ्ने त ? गणतन्त्रको फाइदा पनि त उठाउनु पर्‍यो नि ! आफू त राजनीतिको विद्यार्थी पनि परियो । आधारभूत तहको शिक्षा प्राप्त नगरेमा आगामी २०८५ वैशाख १ गतेबाट न्यूनतम सेवा सुविधाबाट वञ्चित भइने खवरले पनि एक अर्थमा झसङ्ग बनाएको थियो ।

सरकारको विद्यालय भर्ना अभियानको “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” आदर्श वाक्यले पनि तरङ्गित गराएकै हो । तर यस वाक्यको आशय बुझ्न सकेको छैन । युवा जति विदेश पठाउने, बच्चा जन्माउन नखोज्ने, बसाइँसराई गरेर शहर पसिहाल्ने अनि बालबालिकाको विद्यालयमा सहभागिता खोज्ने ? विद्यालय भवन ठूलाठूला छन् । कक्षाकोठा रित्तै । विद्यार्थीभन्दा शिक्षक धेरै तलब खान्छन् सित्तै । बरू बुढापाकालाई जम्मा पारेर विद्यालय चलाए टाइम पास पनि हुने । बुढापाकामा एक्लोपनको महसुस नहुने भएकोले पनि बुढापाका भर्ना अभियान आजको आवश्यकता हो । त्यसैले म भर्ना अभियानमा कसिएर उदाहरण बन्न खोजेको हो । कसैलाई मेरो अभियानमा खसखस लागेको भए मैलाई भन्नुहोला ।

ज्ञान कहिल्यै पुरानाे र नयाँ भन्ने हुँदैन । सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो । आधारभूत तहमा भर्ना भएपछि बुढो भन्नेका मुखमा पनि त बुझो लगाउन पाइन्छ । आफूलाई पनि बुढोपनको फिलिङ्ग हराउने भयो नि । पोशाक लगायो, झोला भिर्न पर्‍यो, स्कुल गयो । सबैसित हेलमेल हुन पाइने । राजनीति गर्न कार्यकर्ता बनाउन पनि पाइने । एउटा मट्याङ्ग्राले दुईवटा सिकार ।

दुईचार दिनको मेरो व्यस्तता र बेचैनी देखेपछि बुढियाले खाना खाने मौकामा मुख फोरिन्- “हैन के को रन्कोमा हुनुहुन्छ अचेल ? खालि भौतारिएर हिड्नु भएको छ ।” घुमाउरो भाषामा जवाफ फर्काएँ- “सरकारले भर्ना अभियान चलाएको छ । नातिलाई भर्ना गर्ने बेला भयो । कुन स्कुलमा भर्ना गर्ने भनेर बुझ्दै छु ।” बुढियाको झटारो आइहाल्यो – “अहिले सम्म पाँच / सातवटा स्कुलका मास्टरहरू घरमै धाइसके । पल्लाघरे साइलीको भुँडी देखेर बच्चा जन्मिए पछि हाम्रो शिशु स्याहार केन्द्रमा राख्नु पर्छ है भनेर नम्बर लिएर गएका छन् । तपाईं स्कुल खोज्दै हिड्नु भएको छ ?”

आफ्नै बुढियालाई नबताएर कसलाई बताउने ? सबै कुरा खुलस्त पारिदिएँ । उनलाई मनाउन पनि निकै कसरत गर्नु पर्‍यो । बुढियालाई मनाउन सफल भएकोमा मेरो मन पनि शान्त भयो । अनि लागेँ धम्मरधुस लाएर स्कुल खोज्न । दसतिर धाउँदा पनि चित्तबुझ्दो कुरा कतैबाट भएन । केटाकेटी भए पो घरघरै डुलेर हत्तुहैरान पार्दा रहेछन् म त परें केटाकेटीको हजुरबा । त्यसकारण भर्नाका लागि मैले नै धाउनु परेको थियो । मुख बाउनु परेको र जुता फटाउनु परेको थियो ।

मैले विद्यालयमा भर्ना पाउने कुरा फलाम चपाएझैँ भयो । मेरै भाग्य खोटी हो कि ? परार छोराको बिहे गर्दा यस्तै भयो । आग्राको कुरा गाग्रामा मिसायो भन्नू होला । कुरा के थियो भने नि ? बाहिर हेर्दा केटीको थुप्रो छ । केटाभन्दा केटी धेरै छन् । कुरा बुझ्दै जाँदा फाल्टु भेटाउन मुस्किल । देख्नमा राम्रा अर्कैका हाम्रा बनिसक्दा रहेछन् । ठिक्कैकाले माथि माथि पढेका हुँदा रहेछन् । लेबल नमिल्दो रहेछ । नराम्रा आफैलाई चित्त नबुझ्दो रहेछ । आफू परियो सोझो मान्छे । सोझो औँलाले घिउ आउँदैन भनेर खरिबोटे खडानन्दले ठिकै भनेका रहेछन् । यसो आइडिया लाएर डाँडा पारि गएर अमेरिकी भिसा लाएको केटो भनी हल्ला पिटाएपछि केटी पाइयो । बुहारी ल्याइयो । अब त कुरा बुझ्नु भए होला नि ! कि मैले नै बुझाइदिनु पर्‍यो ? लौ सुन्नुहोस् उसो भए । किराना पसलझैँ गाउँ गाउँमा यति धेरै स्कुलले सटर थापेर बसेका छन् । पसलवालाले ग्राहक नपाएझैँ केटाकेटी नपाएका यतिविधि स्कुल छन् । तर मलाई भर्ना गर्न कोही तयार भएनन् ।

बेलुकी भाग बस्यो बुढियाले घोच्न थाल्छिन् “भर्ना पायौ त बुढा ?” खाँदा खाँदैको गाँस छाडेर बिस्तारामा पल्टेर विचार गर्छु । भर्ना अभियानका कुरा । धेरै बेर विचार गर्दा मैले भर्ना नपाउनुका कारणहरू पत्ता लगाएँ –
– स्कुल सरकारी सामुदायिक । पढाउने भाषाको माध्यम अङ्ग्रेजी । आफू परियो शुद्ध नेपाली । त्यसमाथि उमेरमा बुढो । कुरामा टेढो । ऐन ,कानुन र संविधानका कुरा गर्ने । माध्यमका नाममा सरकारी स्कुलले शुल्क उठाउन पाइँदैन भन्ने ।
– कतिपय स्कुलमा आफै व्यवस्थापन समितिको अध्यक्ष भइसकेको मान्छे । मैले चिनेका मास्टर, मास्टरले चिनेको म । कहाँ भर्ना हुनु ? कहाँ भर्ना पाउनु ? पानीको चाल पाएपछि किन खोली धाउनु ? भन्नुहोला, संस्थागत विद्यालयमा गए त भैहाल्यो । म परेँ शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्छ भन्ने मान्छे । यहाँ पनि कुरा त्यहीँ नै आउँछ । शिक्षा सम्बन्धि मौलिक हकको कुरा – आधारभूत तह सम्म अनिवार्य र निशुल्क, माध्यमिक तहसम्म निशुल्क ।

के सामुदायिक के सरकारी ? संविधानको मर्म एकै हो । बुझाइ एउटै छ मेरो । संविधानमा लेखिएका कुरा नागरिकले निसर्त पाउनु पर्छ ।

तै पचास काटेका बुढ्यौलीको ढिकढाक लागेका हेडमास्टरसँग मलाई भर्ना गरेपछि हुने फाइदाका बारेमा बताएर जसोतसो कुरा मिलाएँ । खुसियालीमा हेड मास्टरलाई दारु पिलाएँ । तात्तातै सूचीकारकोमा गई पोशाक सिलाएँ ।
म मेरो तर्फबाट विद्यालय भर्ना अभियानमा जोडिन पाएकोमा गौरवान्वित छु । हुने होइन त भर्ना अभियानमा सहभागी ? के छ विचार बताउनुहोला !

०००
रेसुङ्गा न पा २, गुल्मी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Parabata Kunwar
Parabata Kunwar
1 year ago

मार्मिक मात्र होइन सान्दर्भिक

Nepal Telecom ad
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
1
0
Would love your thoughts, please comment.x
()
x