राम्रो म
कपाल फुल्दैमा, दाँत खस्दैमा, लठ्ठी टेक्दैमा बुढो भइन्छ ? बुढो भनेर हेप्न पाइन्छ भन्या ? लौ आओस् जवान हुँ भन्नेले आफ्नो तागत देखाओस् । एक पाथी रक्सीसित एक धार्नी मासु एक्लै पचाओस् । मै हुँ भन्ने पठ्ठी नचाओस् ।
रामप्रसाद पन्थी :
“राम्रो म ।” याद आयो बाल्यकालको कखरा पढाइ । मलाई सबैभन्दा ‘म’ नै प्यारो लाग्छ । ‘म’नै राम्रो लाग्छ । ‘राम्रो म’ सिकाउने सरको चलाखी पनि मलाई मन पर्छ ।
केटाकेटीदेखि नै आफूलाई राम्रो भन्ने बानी परेको मान्छेलाई कसैले नराम्रो भन्यो तपाईंलाई कस्तो लाग्छ ? मेरो त कन्सिरी तातेर आउँछ । रनक्क रन्किन्छु । सनक्क सन्किन्छु । मुसो मार्न सक्दिनँ । अनि थन्किन्छु ।
यो संसारमा म जस्तो अरु कोही छैन । म राम्रो छु । असल छु । चरित्रवान छु । बफादार छु । रूपवान छु । गुणवान् छु । कसैले फूर्ती लगाउन पर्दैन । म तेत्तीस लक्षणले युक्त छु । बत्तीसका कुरा त सबैले गर्छन् ।
जसले जे गर्छ उसलाई लाग्छ मैले राम्रै गरेको छु । चोर्नु, ठग्नु, छल्नु, ढाँट्नु, लुट्नु, कुट्नु नराम्रो लागेको भए कस्तो हुन्थ्यो ? शरावीलाई शराव नराम्रो लागेको भए खान्थ्यो ? खाँदैनथ्यो ।
आफूले गरेको काम सबैलाई राम्रो लाग्छ । त्यसैले मनुवाले यी सब गर्छन् । मनुवाले जे गर्छन् म पनि त्यहीँ गर्छु । किनभने म पनि मनुवा हो । अर्काले जेसुकै भनोस् । लाज शरम पचाउनु पर्छ । लाजलाई पनि लाज नलागेपछि मलाई पनि के को लाज ?
मैले कलेज नपढे त के भो ? राजनीतिमा मलाई कसले भेट्छ ? पढ्न थालेको भए सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति भइन्थ्यो ? खोई कुरा बुझेको ?
नेताले कुरा मात्रै गर्यो भनेर हुन्छ ? काम गरेको छैन ? छोरा, छोरी, दाइ, भाइ, बुहारी, साली, सासू, सम्धी, ससुरा सबैलाई जिम्मेवारी दिएकै छु । नातवाद भयो भन्ने हो ? पृथ्वी सबैको साझा घर हो भन्ने थाहा छैन ? त्यसै डाहाले पाहा पछारेर हुन्छ ? पृथ्वी नै साझा घर भएपछि सबै परिवार भित्रका त भए । कसरी ल्याउने परिवार बाहिरको ?
पद, पैसा, पावरको धम्की कसैले नदेखाए हुन्छ । म यस्ता नाथे कुरामा अल्झिने मान्छे होइन । चेपागाँडा र माछा राम्ररी चिन्दछु । समाते ठूलै माछा समातिन्छ । सेल्फी खिचिन्छ । भुरामा भुलेर के काम ?
कसको तागत छ मेरो जति ? जाबा क्विन्टल सुनमा बिक्ने मान्छे होइन म । टनभन्दा कममा के आँखा लगाउनु ? आना, धुर र कठ्ठाले हुन्छ ? हान्नै परे रोपनी हानिन्छ । बिगाहा तानिन्छ । थाहा छैन कि कसो ? मह काढ्नेले हात चाट्छ । हुतिहाराले राल काढ्छ ।
हेर्नुहोस् मैले हिम्मत नगरको भए, बन्दुक नसमाएको भए गणतन्त्र आउथ्यो ? परिवर्तनका क्रममा दुई चार हजार शहीद हुनु कुन चाहिँ ठूलो कुरा हो ? म र मैले नेतृत्व गरेको पार्टीकै कारण आज नेपाल शहीदहरूको देश भनेर चिनिएको छ । हावा कुरा गरेर मात्रै बेलुन त फुक्दैन होला ?
मैले जति त्याग कसले गरेको छ ? कसको कति बलिदान छ यहाँ ? म जेल बसेको होइन ? जंगल पसेको होइन ? दरबारमा फसेको होइन ? देशमा भएका ठूला परिवर्तनमा कसको योगदान छ ? यी सब कुरा मैले नै फलाक्नु पर्ने हो र ?
कपाल फुल्दैमा, दाँत खस्दैमा, लठ्ठी टेक्दैमा बुढो भइन्छ ? बुढो भनेर हेप्न पाइन्छ भन्या ? लौ आओस् जवान हुँ भन्नेले आफ्नो तागत देखाओस् । एक पाथी रक्सीसित एक धार्नी मासु एक्लै पचाओस् । मै हुँ भन्ने पठ्ठी नचाओस् । दुईचार जनालाई एक्लै थकाओस् ? छ कसैको दम ?
अर्थ न सर्थ गोविन्दी गाई । लाटीले बैरासित कुरा लाई भनेको यहीँ हो । मलाई राम्रोसँग याद छ । मैले वणर्माला सबै वणर् बिर्सिए पनि ‘म’ बिर्सिएको छैन । ‘क’ देखि ‘ज्ञ’ को ग्यारेन्टी भने छैन है । गहुँगोरो वणर्को मलाई ‘म’वणर्प्रति गहिरो प्रेम छ ।
०००
रेसुङ्गा, गुल्मी