बन्दुकहरू
बन्दुकहरू सपनीमा अझै आउँछन् कहिले बाढीझैँ हाँस्छन् कहिले पहिरोझैँ नाच्छन् । म मेरो अपाङ्गतालाई वितण्डाका झण्डा भन्दै सरापिरहन्छु सुकुमबासी वर्तमान झेल्दै भँगालोमा डुब्दै गएको देश देखिरहन्छु ।
प्रदीपरत्न शाक्य :
बन्दुकहरू
सपनीमा अझैँ आउँछन् ।
कोही के
कोही के भेषमा कराउँछन्
स्वतन्त्रताको सूत्र बन्दै
के-के कुन्नि पढाउँछन् ।
कहिले के जाति
कहिले के जाति
प्रकृतिका भाषा-संस्कृति भन्दै
राष्ट्रियता सिकाउँछन्
चेतना भई बग्नुपर्ने कर्तव्य पढाउँछन् ।
म बारुदले छेदन गरेको
धरतीजस्तै रुन्छु
हितैषीले
धुजाधुजा पारेको
गाउँ-शहरजस्तै बौलाउँछु,
चिच्याउँछु ।
आमाका हँसिया
बन्दै आएका ती पलहरू
बाउका कोदाला
भन्दै हाँसेका ती क्षणहरू
मस्तिष्कमा काँडा भई
अझै खेलिरहेका छन् ।
बन्दुकहरू
सपनीमा अझै आउँछन्
कहिले बाढीझैँ हाँस्छन्
कहिले पहिरोझैँ नाच्छन् ।
म मेरो अपाङ्गतालाई
वितण्डाका झण्डा भन्दै सरापिरहन्छु
सुकुमबासी वर्तमान झेल्दै
भँगालोमा डुब्दै गएको देश देखिरहन्छु ।
०००
काठमाडौं
‘म सडकको प्रतिविम्ब’ (२०८०)
Subscribe
Login
0 Comments
Oldest