मञ्जुकुमारी पाैडेलजेष्ठ नागरिकः प्रकार, अवस्था र कानूनी पाटो
खाउँ हामी सबै मिलि जेष्ठ नागरिकको कानून, हक, हित र अधिकारको बारेमा हरेक परिवार, समाज र स्थानिय निकाय सम्म जनचेतना जगाउन र कानूनको कार्यान्वयन गर्न तर्फ वचनवद्धता गरौँ, जेष्ठ नागरिकको सवालमा उनीहरूको आवाज बनेर अघि बढौँ ।

मन्जुकुमारी पौडेल :
वर्तमान युगमा विज्ञान र प्रविधिको विकासको गतिसँगै विश्वकै जनसङ्ख्याको संरचनामा पनि परिवर्तन भइरहेको अवस्थामा ज्येष्ठ नागरिकहरूको केवल विज्ञान र आविष्कारको चमत्कारसँग मात्र नभई सारा संसारकै द्वन्द्व रूपान्तरणको प्रकृयामा समेत घनिष्ठ सम्बन्ध रहेको पाइन्छ । विश्वमा नै मानिसहरूको औसत आयुमा क्रमिक सुधार हुँदै आएको छ । औषत आयुमा आएको सुधारसँगै हरेक मुलुकमा ज्येष्ठ नागरिकको सङ्ख्या पनि तीव्र रूपले बढिरहेको अवस्था छ । पृथ्वीमा भएको जनसङख्याको गतिशिलताको कारण यसको संरचनामा हुने परिवर्तनले पार्ने विकासको प्रभाव सँगसँगै ज्येष्ठ नागरिकको हरेक सवाल पनि विकसित, अविकसित र विकासोन्मुख सबै प्रकारका मुलुकमा उत्तिकै परिरहेको पाइन्छ ।
विश्वमै आजको परिवेशलाई नियाल्ने हो भने ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकको सङ्ख्या १० लाख भन्दा बढि रहेको अवस्थामा लगभग १ लाख त उमेरले ८० को नेटो काटेकाहरू मात्रै छन् तर पनि यसको बाबजुद यदाकदा मात्र जेष्ठ नागरिकहरूका सुख-दुःख, पीडा, यातना, दुर्व्यवहार आदि जस्ता विषय सामाजिक मुद्दाका विषय बन्ने गरेका छन् । अन्यथा ज्ञानका भण्डार, अनुभवका खानी, क्षमताका शक्तिवान र बुद्धिमता भएर पनि जेष्ठ नागरिकहरू अझै पनि समाजमा ओझेल नै परिहेको अवस्था छ । यसै सन्दर्भमा रहेर ज्येष्ठ नागरिकहरूका प्रकार उनीहरूको अवस्था र थोरै मात्र कानूनी पाटोलाई यस आलेखमा चर्चा गर्न खोजिएको छ ।
जेष्ठ नागरिकको प्रकारकै बारेमा भन्नुपर्दा त यसको कुनै खास परिभाषा भने पाइँदैन तैपनि जेष्ठ नागरिकलाई राज्यद्वारा प्रदत्त सामाजिक भत्ता उपलब्ध गराउने प्रयोजनार्थ भने जेष्ठ नागरिक, असहाय जेष्ठ नागरिक र अशक्त जेष्ठ नागरिक भनि ३ भागमा वर्गीकरण गरिएको देखिन्छ । जस अन्तर्गत जेष्ठ नागरिकहरूमध्ये पनि ६० वर्ष उमेर पुरा भएकाहरूलाई जेष्ठ नागरिक र ७० वर्ष उमेर पुरा गरेकाहरूलाई वरिष्ठ जेष्ठ नागरिक भनि २ वर्गमा राखेर परिभाषा गरेको पाइन्छ। यसैगरी असहाय जेष्ठ नागरिक अन्तर्गत जीवनयापन गर्ने कुनै आधार नभएका, आयश्रोत वा सम्पति नभएका, पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका र भए पनि निजले पालनपोषण नगरी अपहेलित वा उपेक्षित भई जीवनयापन गरिरहेका जेष्ठ नागरिकलाई लिएको छ भने अशक्त जेष्ठ नागरिक भन्नाले शारीरिक वा मानसिक रूपले असक्षम रहेको जेष्ठ नागरिकलाई बुझाउँछ ।
जेष्ठ नागरिक भन्ने बित्तिकै आश्रित जनसङ्ख्या मात्र बुझ्नु गलत कुरा हो । उनीहरू आश्रित मात्र हुँदैनन् क्षमतावान र क्रियाशील पनि उत्तिकै हुन्छन । प्रायः उमेरले जति नेटो काट्दै जान्छ, उति नै जेष्ठ नागरिकलाई आफ्ना साथीभाइ, इष्टमित्र वा आफ्नो परिवारका सदस्यहरूको साथ र सहयोगको पनि खाँचो हुन्छ, जहाँ उनीहरूले शारीरिक, मानसिक वा भावनात्मक सहयोग खोजिरहेका हुन्छन् । यसको विपरितार्थ जुनसुकै वर्गका ज्येष्ठ नागरिकको सवालमा हाम्रो परिवार तथा समाजमा एक प्रकारको संक्रमणकालीन अवस्था रहेको देख्न सकिन्छ ।
हालसालै केहि महिना अघि मात्र घटेको एउटा घटनाको स्मरण गर्न मन लाग्यो, जहाँ एक जना ८२ वर्षको बुवा हुनुहुन्थ्यो । आज भन्दा २ वर्ष अगाडि उहाँकी श्रीमतीको स्वर्गवास भएपछि आफ्ना सबै चल अचल सम्पती छोराहरूलाई राजिनामा पास गरी हस्तान्तरण गर्नुभएको थियो भने सो पश्चात उहाँको अवस्था एकदमै दयनिय हुँदै गएको थियो । जसलाई एक गाँस अन्नका लागि आफ्नै छोरा-छोरीहरूको घरमा आलोपालो खान कुर्नुपर्ने बाध्यताले गर्दा आजको छाक कस्को घरमा खाने ? कति बेला खाने ? के खाने ? सम्म पनि टुङ्गो रहेनछ । यसरी आलोपालो गर्दागर्दै एकदिन विरामी हुनुभएछ अनि समयमा नै उपचारको लागि नलगि कस्ले लाने ? कहाँ लाने ? कति पैसा लाग्छ ? भर्ना गरे अस्पतालमा कुरुवा को बस्ने ? आदि जस्ता कुराहरूको बारेमा छलफल हुँदाहुँदै धेरै दिन बित्छ। यता बिरामीको हालत सिकिस्त भइसक्दा पनि जुरुक्क उठाएर समयमा अस्पताल पुर्याउने कोहि हुँदैनन्, जब समाजमा लोकाचारकै लागि भए पनि अस्पताल लगिन्छ तब धेरै ढिला भइसकेको हुन्छ र अन्ततः उहाँको निधन हुन्छ ।
त्यसपछि परिवारका सदस्यहरूको कोलाहल रुवाबासी सुरु हुन्छ । बाचुन्जेल तिरस्कार र दुर्व्यवहार गरी एक छाक मिठो मसिनो खान नदिने, स्वास्थ्य अवस्थाको बारेमा एक वचन नसोध्नेले मरेपछि क्रिया बसी पिण्डदान गर्नुको कुनै औचित्य हुन्छ र ? यो र यस्ता अन्य घटनाले आज पनि हामीलाई झस्काइरहेको छ । हरेक समाजमा यस्ता धेरै पात्रहरू छन् । यस प्रकारका घटनाहरू परिवारभित्र नै लुकाइने भएकाले छिमेकी, आफन्त वा सहयोगकर्तासम्म आइपुग्दा धेरै ढिला भइसकेको हुन्छ अन्ततः चाहेर पनि सहयोग गर्न सक्ने परिस्थिति हुँदैन । न त पीडकहरूलाई कानूनी कार्वाही गर्न सक्ने दरिलो प्रमाण नै । यो त एउटा समाजको सानो उदाहरण मात्र हो । अझै यस्ता अन्य घटनाहरू हामीले समाज बाहिर ल्याउन सक्ने हो भने पक्कैपनि कानूनी उपचार मार्फत पीडितलाई स-सम्मान व्यवस्थापन गरी पीडकलाई दण्डित गराउन सकिन्छ साथै बिरामीको समयमा नै स्वास्थ्य उपचार गरी मृत्युबाट पनि जोगाउन सकिन्छ ।
कतिपय यस्ता सन्तानहरू छन् जसले आफ्ना आमाबुबाको नाउँमा रहेको चल अचल सम्पत्तिमा टिकेको गिद्धेनजरको कारणले गर्दा आफ्नै घरभित्रै राखेका आमाबुवालाई नजानिँदो किसिमले घेराबन्दीमा पारेर स्वार्थ पूरा गर्ने र स्वार्थ पूरा भएपछि घर न घाटको बनाएर वृद्धाआश्रमदेखि सडकसम्मको बासमा पुर्याएका छन् । आज पनि कैयौँ जेष्ठ नागरिकहरू कोही आफन्तहरूकोमा त कोही विभिन्न मन्दिर र पाटीपौवातिर भौँतारिएर हिँडिरहेको हामीले देखिरहेका छौँ । यस्ता खालका संवेदनशील र करुणामयी अवस्था हेर्दा हामी जो सुकैको पनि आँखा भरिएर आउँछ तर पनि धेरैजसो आफ्नै छोरा-बुहारी, छोरी-ज्वाई या नातिनातिनाबाट पनि उत्तिकै तिरस्कृत भएका हुन्छन् । यो गर्दा न त उनीहरूको मन कुँडिन्छ न त हात नै काप्ने गर्छ । यसैले बाटोमा अलपत्र परेका र वन जंगलमा अझै पनि एक्लै भौतारिएर हिँडिरहेका दुर्व्यवहारित जेष्ठ नागरिकहरूलाई आज पनि मानव सेवा लगायत अन्य विभिन्न संस्थाहरूले उद्धार गरेका धेरै उदाहरणहरू हामीले देखिरहेका छौँ । आखिर किन आइरहेको छ यस्तो अवस्था ? के हामीले यसबारे सोच्नु पर्ने हैन र ? यसो हुनुमा अन्य कारणहरू सँगै फितलो कानूनी व्यवस्था र कानून बारेको अनभिज्ञता नहोला भन्न सकिने अवस्था पनि छैन ।
परापूर्व कालमा पिता नै परिवारको कानून र पिता नै न्याय हुन्थे । हाम्रा विभिन्न धार्मिक ग्रन्थ, पुराण तथा भागवतहरूले आफ्नो बुवालाई परिवारको रक्षक र पालनकर्ताको रुपमा मान्दै आएको छ । हामी सानो छँदा हजुरबुवाले भन्ने गर्नुहुन्थ्यो “दस उपाध्यायहरू भन्दा माथि एकजना आचार्य हुन्छन् भने सय जना आचार्यहरू भन्दा पनि माथि एक जना बुवा हुन्छन, अनि हजार जना बुवाहरू भन्दा अझै माथि आमा हुन्छिन्”, तर खै त यस्ता विचारहरू हामी आफैँलाई प्रश्न गरौँन के हामीमा यस प्रकारको सोच छ त ? यसको उत्तर के हुन्छ हामी आफैँले मनन गरिसकेका छौँ ।
यसैगरी हाम्रो धार्मिक ग्रन्थ महाभारतमा बुबालाई आकाशभन्दा माथि र आमालाई पृथ्वीभन्दा भारी भनि उल्लेख गरेको पाइन्छ । अझै भनौँ आमा तीर्थ हुन् र बुवा सम्पूर्ण देवताको स्वरूप हुन अर्थात आमाबुवा भनेको सिङ्गो ब्रमाण्ड हो भनेर हामीले भगवानद्वय गणेश र कुमारमा को ठुलो ? कस्को पुजा पहिला गर्ने ? भनि भएको विवादका क्रममा कुमार मयूर चढी ब्रम्हाण्ड सयर गर्ने क्रममा हिँडेको बेला गणेश भगवानले मेरो ब्रम्हाण्ड मेरा मातापिता हुन् भनि शिव-पार्वतीलाई गरेको परिक्रमाका कथाहरू सुन्दै आएका छौँ । यहीँबाट पनि भगवान र आफ्ना पिता पुर्खाले आफ्ना बुवा आमा माथि गरेको श्रद्धा र सद्भाव बुझ्न सकिन्छ । सन्तानका लागी कानून, अड्डा अदालत सबै मातापिता हुन्थे, परिवारका बुज्रुक हुन्थे । मातापिताले बोले पछि त्यहि कानून हुन्थ्यो त्यसैले समाजमा संस्कार थियो, आदर, सद्भभाव, इज्जत थियो तर आज आएर संयुक्त परिवारमा बस्ने र बाबुआमा आफैँसँग राख्ने सामाजिक मान्यता पनि बिस्तारै खण्डित हुँदै गएको अवस्था छ । संयुक्त परिवारबाट पूर्ण रुपमा एकलमा रुपान्तरण भइसकेको छ । अझै भनौँ भने नाति नातिना सम्मले पनि हजुरवुवा हजुरआमालाई भिडियो कल र फोटोहरूबाट मात्र चिन्ने समय आइसकेको छ ।
परिवारमा अहिलेका पछिल्ला पिँढीलाई अर्ती उपदेश दिने, ज्ञानगुनका कुरा सुनाउने र अनुशासन तथा नैतिकताको पाठ पढाउने कोही हुँदैनन् । बुवाआमा काममा व्यस्त रहेका कारण बच्चाहरू मोबाइल र इन्टरनेटमा नै अल्मलिने हुँदा समाजबाट अनुशासन, नैतिकता र मानवता जस्ता कुराहरू हराउँदै गइरहेका छन् । ठुलालाई आदर सम्मान, सानालाई माया ममता र दिनदुःखीलाई सहयोग गर्नु पर्छ भन्ने भावना नै नयाँ पुस्ताबाट हराइसकेको छ । जसका कारण दिनदिनै समाज विकृत हुँदै गइरहेको छ । समाजमा विभिन्न प्रकारका अप्रिय घटनाहरू घटिरहेको कारण समाजका लागि अपूरणीय क्षति पुगिरहेको छ तर यसतर्फ हामी कसैले पनि ध्यान दिन सकेका छैनौँ । हिजोका दिनमा तिनै आमाबाबुले १० जना सन्तान जन्माउँदा पनि आफू खाइ नखाई हुर्काई पढाई लायक बनाउँछन तर पछि तिनका कुनै सन्तानले पनि आफ्ना आमाबुवा पाल्न नसक्ने असमर्थता प्रकट गर्नु यस समाजको लागि यो भन्दा लज्जास्पद र दुःखद विषय अर्को केहि हुनै सक्दैन । हाम्रो समाजमा एउटा भनाइ छ नि ! ‘बाह्र छोरा, तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि’ भने झै यो अवस्था प्रासङ्गिक भइरहेको छ ।
समाजको अर्को पाटो केलाएर हेर्दा हाम्रो जस्तो विकासोन्मुख देशमा कृषिमा आधारित अर्थतन्त्रको स्वरूप फेरिनुको मार खासगरी जेष्ठ नागरिकहरूमा परेको छ । वर्तमान परिवेशलाई हेर्दा हाम्रो समाजमा हरेक घरको कोही न कोही सदस्य विदेश जाने नै छन् भने स्वदेशमै केहि गर्छु भनेर बसेकाहरू पनि आफ्नो सन्तानको भविष्य सुनिश्चित गर्नका लागि भनि राम्रो शिक्षादीक्षाको लोभमा शहर केन्द्रित हुने परिपाटीले गाउँमा जेष्ठ नागरिकहरू एक्लिएका छन् । हाम्रो देशको कतिपय गाउँमा त लास उठाएर घाटसम्म लैजाने जनशक्ति पनि नरहेको अवस्था देखिन्छ ।
यसरी आफ्ना छोराछोरी बाटो लागेपछि र साथी सर्कलहरू छुटेपछि एक्लै पर्ने जेष्ठ नागरिकलाई सहयोगी हात, संवेगात्मक र भावनात्मक सम्बन्धको खाँचो हुन्छ । उनीहरूलाई समन्वयका मानिसहरूसँग जमघट गराउनका लागि र भलाकुसारी गर्ने अवसर प्रदान गर्नका लागि स्थानीय सरकारले प्रत्येक वडामा एक एकवटा मिलन केन्द्र बनाउन सक्ने हो भने जसको माध्यमबाट जेष्ठ नागरिकका यस्ता भेटघाट तथा कुराकानी, अनुभव, ज्ञान, सीप तथा क्षमतालाई अभिलेखीकरण गरी पुस्तान्तरण गर्न सकिन्छ, जसलाई सबै तहका सरोकारवालाहरूले मनन गर्नु पर्ने अवस्था आएको छ । यसतर्फ उचित कदम पहली गरी यसलाई कार्यान्वयनमा ल्याउन पहल गर्नु हामी सबैको दायित्व हो ।
जेष्ठ नागरिकहरू परिवार, समाज र राज्यबाट पनि उपेक्षित भएका छन् भन्दा अनुपयुक्त नहोला किनकि जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा वापत वृद्धभत्ता प्रदान गर्ने बाहेक उनीहरूप्रति राज्यको अरु कुनै चासो देखिँदैन । आजको दिनमा आइपुग्दा भने यदाकदा जेष्ठ नागरिकहरूका विषयहरूका वारेमा थोरै भए पनि सम्बोधन गरिएको पाइन्छ । हिजोभन्दा आज केही सुधारात्मक अवस्था भने नदेखिएको होइन । यदाकदा केही स्थानहरूमा विशेष अवसरका रुपमा जेष्ठ नागरिक लक्षित कार्यक्रमहरू पनि हुने गरेका छन, जसलाई जेष्ठ नागरिकहरू प्रतिको माया, सद्भाव, सम्मान, चासो, स्याहार र सामाजिक सुरक्षाका दृष्टिले भन्दा पनि यसलाई हामीले देशको राजनैतिक गतिविधिका रुपमा लिन सक्छौँ । यो परिपाटिलाई हेर्दा जेष्ठ नागरिकको कल्याणका लागि भन्दा पनि विभिन्न सरकारी, गैरसरकारी, राजनैतिक सङ्घ सङ्गठन चलाउने अस्त्र वा चुनावी माहोलका लागि भोटको राजनीतिले आफुतिर आकर्षित पारेको पो हो कि भन्ने भान हुन पुग्छ । राज्यले मात्र पनि जेष्ठ नागरिकहरूलाई उनीहरूको ज्ञान, सीप र क्षमता प्रयोग गर्ने अवसर दिने हो भने यस्ता दुर्व्यवहार, घृणा र तिरस्कार आफैं कम हुदै जानेछ ।
अहिले आएर संशोधित कानूनमा जेष्ठ नागरिकको हित, सुरक्षा र उनीहरूको कल्याणको लागि धेरै राम्रा राम्रा व्यवस्था गरिएका छन् तर त्यसको समुचित र प्रभावकारी कार्यान्वयन भने भएको पाइँदैन । जेष्ठ नागरिक कानूनलाई हरेक गाउँ टोलमा पुर्याउन सकिएको छैन । यसको वारेमा जानकारी दिन सकिएको छैन । राष्ट्रिय समावेशी आयोगले गरेको ‘ज्येष्ठ नागरिक सम्बन्धमा नेपालमा भएको कानूनी व्यवस्था र त्यसको कार्यान्वयनको अवस्था सम्बन्धी अनुसन्धान प्रतिवेदन, २०७८ अनुसार पनि ज्येष्ठ नागरिकहरू अपहेलित हुने क्रम बढ्दै गइरहेको छ भने हाम्रो समाजमा हाम्रै वरिपरि पनि परित्यक्त जेष्ठ नागरिकहरू प्रसस्त भेटिने गरेका छन् ।
देशका हरेक प्रदेश, स्थानिय सरकार, हरेक पालिका वा वडाले आ-आफ्नो क्षेत्रमा विभिन्न कारणबाट एक्लिएका वा उपेक्षित भएका जेष्ठ नागरिकहरूलाई खोजि गरी कारण तथा सत्यतथ्य पत्ता लगाई उनीहरूको कसूर बमोजिम त्यस्ता परिवारलाई हदै सम्मको कानूनी कारवाही गरी जेष्ठ नागरिकहरूलाई स-सम्मान आफ्नो परिवारमा पुनःस्थापना गराउने, आफ्नो क्षेत्रमा जेष्ठ नागरिकका अधिकार र कानूनका विषयमा कक्षाहरू सञ्चालन गर्ने, स्थानिय तहबाट लागु गरिएको पुस्तकमा जेष्ठ नागरिकका विषयलाई प्राथमिकताका साथ राखी अध्ययन अध्यापन गराउने र जेष्ठ नागरिकलाई पनि उनीहरूको कानूनी अधिकारको बारेमा जानकारी गराई अगाडि बढ्न प्रोत्साहन गर्ने जस्ता कार्यहरू गर्नु आजको अपरिहार्य आवश्यकता रहेको छ ।
अब नेपाल सरकारले हरेक स्थानिय तहमा ज्येष्ठ नागरिकको गुनासो सुन्ने प्रहरी वा प्रशासनिक डेस्क राख्न जरुरी छ भने सामाजिक सुरक्षाको मोडलमै पनि पुनर्विचार गर्नुपर्ने खाँचो छ । उमेरले ९० को नेटो काटेका र शारीरिक वा मानसिक रूपमा अशक्त भएका जेष्ठनागरिकका लागि सरकारी स्तरबाटै स्याहार-सुसारको व्यवस्था मिलाउन सक्नुपर्छ । जेष्ठनागरिकका शारीरिक तथा मानसिक स्वास्थ्य तथा उपचारका निम्ति देशमा अझै छुट्टै र प्रयाप्त मात्रामा व्यवस्थित जेरियाट्रिक अस्पतालको व्यवस्था हुनुपर्छ । उनीहरूका लागि विशेष डाक्टर तथा नर्सको व्यवस्था सहितको अस्पताल खोलिनुपर्छ। अहिले भएकाहरू पनि अव्यवस्थित र त्यति प्रभावकारी भएको देखिँदैन त्यसैले यिनै भएकाहरूलाई पनि सुधार गर्नुपर्ने देखिन्छ ।
निकट भविष्यमा नै देशमा ज्येष्ठ नागरिकको सङ्ख्यामा तीव्र वृद्धि हुने हुँदा केही समयपछि नै वृद्धआश्रित जनसङ्ख्याको चाप अत्यधिक मात्रामा पुग्ने देखिन्छ । जसका लागि हामीले आजैदेखि जेष्ठ नागरिकको संरक्षणका लागि यथोचित योजना तथा कार्यक्रम अघि बढाउनु आवश्यक छ । जेष्ठ नागरिक सम्बन्धी नीति निर्माणमा संलग्नकर्ताहरूले हामी पनि भोलिका जेष्ठ नागरिक हौँ भन्ने कुरा मनमा थाँती राखि नीति निर्माण गर्न सक्नुपर्दछ । देशको राजनैतिक अस्थिरता, चरम गरिबी र बढ्दो बेरोजगारीका कारण हरेक घरका युवा वैदेशिक रोजगारीमा जाने क्रम दिनप्रतिदिन बढ्दो छ । जसका कारण जेष्ठ नागरिकहरू मध्ये कोही घर कुरुवा त कोही बेसहारा बन्ने अवस्था विध्यमान रहेको हुनाले राज्यले हरेक ज्येष्ठ नागरिकहरूको हक हितमा ठोस नीति तथा कार्यक्रमको साथ अगाडि बढाउन धेरै ढिलाइ गर्नु हुन्न ।
यसमा हामी सबैले जोडतोडका साथ हातेमालो गरेर अगाडि बढ्नु पर्ने समय आइसकेको छ । आउँ हामी सबै मिलि जेष्ठ नागरिकको कानून, हक, हित र अधिकारको बारेमा हरेक परिवार, समाज र स्थानिय निकायसम्म जनचेतना जगाउन र कानूनको कार्यान्वयन गर्न तर्फ वचनवद्धता गरौँ, जेष्ठ नागरिकको सवालमा उनीहरूको आवाज बनेर अघि बढौँ । यति गर्न सक्यौँ भने भोलिका दिनमा कोहि जेष्ठ नागरिकहरूको पालन पोषण केवल उनीहरूको सम्पती हत्याउनका लागि मात्र नभई हरेक सन्तानले आफ्ना आमाबाबु आफ्नो जिम्मेवारी र दायित्वको रुपमा लिनेछन् । आज जेष्ठ नागरिकको संरक्षण गर्नु, उनीहरूलाई व्यवस्थित गर्नु र यस बारेको कानूनलाई व्यापक रुपमा प्रयोग गर्नु नै भोलि हाम्रो पनि बुढ्यौली सुरक्षित हुनु हो ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































