मञ्जुकुमारी पाैडेलपाका मानिसको स्वास्थ्य सम्बन्धी हक
आर्थिक अवस्था कमजोर भएका तर शारीरिक अवस्थाले टाढा जान नसक्ने र स्थानिय स्वास्थ्य केन्द्रहरूमा उपचार हुन सक्ने जेष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो ।

मन्जु कुमारी पौडेल :
“आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।” हाम्रो गाउँघरमा ६० वर्ष भन्दा माथिका मानिसहरूलाई बुढाबुढी वा वृद्धवृद्धा भनेर चिनिन्छ । आज आएर यी शब्दहरूमा केहि परिवर्तन भएर जेष्ठ नागरिक वा पाका मानिसहरू भनेर सम्बोधन गर्न थालिएको छ । वातावरण र ठाउँ अनुसार विश्वका हरेक कुनामा बसोबास गर्ने पाका मानिसहरूको अवस्था पनि फरक फरक खालका हुन्छन् । सबै मानिस उमेर वृद्धि सँगसँगै पाको हुँदै जान्छन् । उमेर सँगसँगै शारीरिक क्षमतामा ह्रास आउँछ । हाडजोर्नी कमजोर हुने, छाला चाहुरिने, आँखाको दृष्टि कमजोर हुँदै जाने, हिंडडुल गर्न असजिलो हुने, यौन क्षमतामा ह्रास आउने, स्मरण शक्ति कमजोर हुने र मुटु तथा फोक्सोमा समस्या देखा पर्ने हुँदै जान्छ ।
वर्तमान समयमा विश्वको जनसंख्याको उमेर संरचनालाई अध्ययन गर्ने हो भने वृद्ध जनसंख्या एउटा महत्वपूणर् अध्ययनको विषय बन्न पुगेको छ । यो जनसंख्यालाई आश्रित जनसंख्याको रुपमा लिने गरिएको छ । राज्यको लागि आर्थिक भार र परिवार र समुदायको लागी बोझको रुपमा लिने गरिन्छ । यदि यो जनसंख्यामा भएको ज्ञान, सीप, मेहनत र अनुभवलाई स-सम्मान सही ठाउँमा सदुपयोग गर्न सक्ने हो भने यिनीहरूलाई निस्क्रिय जनसंख्या मानि दुःखमनाउ गर्नुपर्ने अवस्था नै रहने थिएन । विकसित देशहरूको कुरा गर्ने हो भने त्यहाँको बढ्दो गुणस्तरीय जीवनले गर्दा मानिसहरूको बाँच्ने क्षमता पनि वृद्धि भएको छ । ती देशहरूको बढ्दो प्राविधिक विकास र अत्याधुनिक जीवनशैलीका कारण वृद्धहरूको संख्यामा दिनप्रतिदिन वृद्धि भइरहेको छ भने विकासोन्मुख राष्ट्रहरूमा बढ्दो औषधि, आधुनिक प्रविधि र स्वास्थ्य चेतनाले गर्दा औषत आयुमा लगातार वृद्धि हुँदै गइरहेको अवस्था छ ।
स्थान अनुसार पाका मानिसहरूका व्यथाहरू पनि फरक फरक छन् । जो दुरदराजमा बस्छन् उनीहरूको आफ्नै छुट्टै व्यथा छ भने शहरी र सुगम क्षेत्रमा बस्नेहरूको छुट्टै कहानी र व्यथा रहेको देखिन्छ । समाजमा रहेका धनी, गरिब, शिक्षित, अशिक्षित,सपाङ्ग, अपाङ्ग आदि पाका मानिसहरूको आ-आफ्नै समस्या रहेको पाइन्छ । यस्ता समस्या र व्यथाहरू बीचको एउटा ठुलो समस्या हो पाका मानिसहरूको स्वास्थ्य समस्या । बढ्दो उमेर सँगसँगै व्यक्ति शारीरिक रुपमा कमजोर हुनुको साथै उदासी र वैराग्यताको कारण सिथिल हुँदै जान्छन् र स्वास्थ्य स्थितिमा नकारात्मक परिवर्तनहरू आउन थाल्दछन् । शरीरमा उत्पन्न हुने यस्ता विविध परिवर्तनहरूले पाका व्यक्तिहरूमा मधुमेह, श्वासप्रश्वास, हाडजोर्नी सम्बन्धित रोगहरू, उच्च रक्तचाप डिमेन्सिया र अल्जाईमर जस्ता गम्भीर र दीर्घ रोगहरूको जोखिम बढि हुने गर्दछ । यसरी पाका मानिसहरूमा हुने गरेका सवै प्रकारका समस्याहरूलाई एउटै सोलीमा राखेर हेर्ने हो भने पाका मानिसहरूका स्वास्थ्य समस्याहरू मात्रलाई पनि विभिन्नताका आधारमा सम्वोधन गर्न गाह्रो देखिन्छ ।
अहिलेका प्रत्येक पाका मानिसहरूको आफ्नो पहिलो दायित्व भनेको घरबाट शुरु हुन्छ । घर परिवारमा पनि सर्वप्रथम त छोराछोरी, नातीनातिना दोश्रोमा परिवारको पालनपोषण, शिक्षादिक्षा र सामाजिक दायित्व अनि त्यसपछि सामाजिक दायित्व पुरा गर्दै राज्य प्रतिको समर्पण । जसका लागि पनि पाका मानिसहरू स्वस्थ रहनु जरुरी छ । पाका मानिसहरू शारीरिक, मानसिक र भावनात्मक रुपमा स्वस्थ रहनु भनेको एउटा परिवार मात्र नभएर सिङ्गो समाज र राष्ट्र नै स्वस्थ रहनु हो तर हामीले यिनीहरूका स्वास्थ्य समस्यालाई गम्भीर रुपमा लिएका छैनौं । उनीहरूका समस्यालाई बुढेसकालको समस्या हो, प्राकृतिक र जैविक रुपमा सबैमा हुन्छ भनि सहज रुपमा लिने गरेका छौं ।
सन् २०१३ देखि हेल्प एज ईन्टरनेशनल नामक एक गैरसरकारी संस्थाले पाको मानिसहरूको क्षेत्रमा काम गर्दै आएको छ । जसले पाका मानिसहरूको स्वास्थ्य स्थिति, सक्षमता, आम्दानी, सुरक्षा र पाका मानिसमैत्री वातावरण जस्ता ५ वटा पक्षहरूलाई समेटेर एक विशेष सूचाङ्क समेत प्रकाशन गर्ने गरेको छ । जसमा जेष्ठ नागरिक विशेष सूचक २०१८ अनुरुप विश्वभरका ९६ देशहरू मध्ये स्वीटजरल्याण्ड पहिलो स्थानमा र स्वास्थ्य अवस्थाको स्थितिमा नेपाल भने ७९ औं स्थानमा रहेको देखिन्छ । यसो हुनु भनेको हाम्रो अवस्था औषत भन्दा पनि निकै तल झरेको स्थिति हो भनि बुझ्न सकिन्छ ।
नेपालको संविधान २०७२ मा मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । जसमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्यसेवाबाट वञ्चित गरिने छैन । प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनि कानूनी व्यवस्था गरिएको छ । उल्लेखित सबै अधिकारहरू पाका मानिसहरूका समेत मौलिक अधिकार हुन तर कसैको पनि यसतर्फ गम्भीर ध्यानाकर्षण भएको देखिंदैन । यहाँ पाका मानिस आफैमा उपेक्षित भइरहेको अवस्था छ भने उनीहरूको हक अधिकारका साथै कानूनको बारेमा न्यून मात्रलाई चासो रहेको छ ।
जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ ले समेत स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले जेष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने र नेपाल सरकारले तोकेको संस्थाका जेष्ठ नागरिकले त्यस्तो संस्थामा उपचार गराउँदा लाग्ने शुल्कमा कम्तिमा ५० प्रतिशत छुटको व्यवस्था गर्नु पर्ने भनि उल्लेख गरेको छ ।
कानूनमा त व्यवस्था छ तर स्वास्थ्य जाँचको लागि उनीहरूलाई अस्पतालसम्म पहुँच पुर्याउन भने सकिएको छैन । यहाँ पाका मानिसको लागि कानून भनेको हर्ष न विस्मात भने झै भएको छ । कानूनले दिएर वा कानूनमा व्यवस्था भएर मात्र केहि हुँदैंन जबसम्म हामीले पाका मानिसहरूको स्वास्थ्य अवस्थालाई पनि बाल बच्चा र युवाहरूको स्वास्थ्य सरह मान्न सक्दैनौं । अझै पनि हाम्रो अधिकांश समुदायमा ठिक यसको विपरित खालको व्यवहार हुने गरेको पाइन्छ । आज पनि पाका मानिसहरूमा कुनै जटिल रोग लाग्यो वा उनीहरूलाई औषधि उपचार महँगो र शल्यक्रिया गर्नुपर्ने अवस्था आयो भने यो उमेरमा आएर के उपचार गर्नु, कतिन्जेल हो र अब जतिन्जेल बाँच्छन् त्यसैमा सन्तोष गर्नुपर्छ, एकदिन जानैपर्छ यहि रोगले जान लेखेको रहेछ भने कसको के लाग्छ र भन्ने गरेको देख्दै र सुन्दै आएका छौं । कतिपय पाका मानिसहरूलाई त आफूलाई कुन रोग लागेको छ अनि यसको उपचार कहाँ र कसरी हुन्छ भन्ने कुराको जानकारी समेत हुँदैन ।
अस्पताल र अस्पतालले प्रदान गर्ने छुटका लागि अस्पतालसम्म पुर्याउने अवस्था त परिवार वा समाजको दायित्व हो तर हामी यहि दायित्वबाट पनि पन्छिएका छौं । पाका मानिसहरूले आफ्नो स्वास्थ अवस्थावारे बुझ्न पाउनु र स्वास्थ्य उपचारको निणर्य गर्न पाउनु उनीहरूको अधिकार भएर पनि कतिपय पाका मानिसहरू आफ्नो स्वास्थ्य अवस्थाको वारेमा अनभिज्ञ नै देखिन्छन । जबसम्म हामी यी सोचहरूबाट बाहिर आउँदैनौं तबसम्म हामीले चाहेको उपलब्धि हासिल गर्न सक्दैनौं ।
अहिले पछिल्लो समयमा आएर नेपालमा पनि जेष्ठ नागरिहरूको स्वास्थ्यमा पनि केहि हदसम्म सुधार आएको मान्न सकिन्छ । प्रत्येक जिल्लामा स्वास्थ्य उपचारकोष खडा गरिएको छ । उक्त कोष सञ्चालनको लागि सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गरेर पाका मानिसहरूको हित सम्बन्धी सह्रानिय कार्य गरेको छ । हाल नेपालमा ७५ वर्ष भन्दा माथिका मुटु र मृगौलाका रोगी जेष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्ने व्यवस्था मिलाइएको छ । नेपाल सरकारले २०७२ सालमा ७ वटा सरकारी अस्पतालहरूमा जेरिआर्टिक वार्डको स्थापना गरी सुरुवात गरेसँगै हाल यसलाई हरेक जिल्लाका अस्पतालहरूमा समेत कम्तिमा पनि एउटा जेरिआर्टिक वार्ड हुनैपर्ने प्रावधान रहेको छ । यसरी व्यवस्था गरिएको भए तापनि देशमा दक्ष जनशक्तिको अभाव र आवश्यक उपचारका साधनहरूको अभावका कारणले गर्दा ती भएका जेरिआर्टिक वार्डहरू खासै उपयोगी भने सिद्ध भएका छैनन् । यसलाई सफल रुपमा कार्यान्वयनको पक्षमा ल्याउन नसक्नुमा राज्य सँगै हामी सबै उत्तिकै जिम्मेवार छौं ।
पाका मानिसहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राखी मुलुकका विभिन्न ठाउँमा पाका मानिस लक्षित विभिन्न खालका कार्यक्रमहरू हुने गरेका छन् । यसको मुख्य श्रेय एजिङ नेपाललाई नै जानेछ । यो संस्था नेपालमा बुढ्यौली जीवन, यसका विभिन्न पक्षका साथै बुढ्यौलीका समस्याहरू लगायतका विषयलाई समाजमा परिचित गराउँदै यसका पक्षहरूको वारेमा वकालत गर्ने पहिलो संस्थाको रुपमा रहेको छ । यसले समुदाय वा स्थानिय तह, राज्यका नीतिगत तह र कानून निर्माण गर्ने ठाउँसम्म पुगेर पाका मानिसहरूको हक हित र अधिकारलाई संरक्षण गर्नमा ठुलो योगदान पुर्याएको हुँदा आज राज्यले समेत पाका मानिसहरूलाई प्राथमिकतामा राखेको छ ।
यसपालीको बजेटमा पनि सरकारले काठमाडौंको गोठाटारमा ४५ बेडको अस्पताल निर्माण गर्ने भनि बजेट छुट्याएको छ । यो हाम्रो लागि धेरै राम्रो अवसर पनि हो भने यसबाट पाका मानिसहरूलाई पनि राज्यले प्राथमिकतामा राखेको छ भन्ने कुरा बुझ्न सकिन्छ । यिनीहरूको पनि समाजमा आफ्नो अस्तित्व छ भन्ने ज्ञानको विकास भएको छ ।
त्यसैगरी हालै काठमाडौं महानगरपालिका र छेत्रपाटी निःशुल्क चिकित्सालय बीच भएको सम्झौता बमोजिम काठमाडौं महानगरपालिकाका ३२ वटा वडा भित्रका वृध्दभत्ता प्राप्त गरेका जेष्ठ नागरिकहरूलाई छेत्रपाटी निःशुल्क चिकित्सालयमा उपलब्ध सम्पूणर् स्वास्थ्य सेवा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । यसैगरी अन्य विभिन्न संघ संस्थाहरूले पनि पाका मानिसहरूका लागि निःशुल्क स्वास्थ्य क्याम्पहरूको समेत आयोजना गर्दै आएको पाइन्छ ।
एजिङ नेपाल र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा भर्खरै पाका मानिसहरू निर्मित हस्तकलाका सामानहरूको एक दिने प्रदर्शनी समेत आयोजना गरेको थियो । उक्त कार्यक्रमको उदेश्य उनीहरूको सीप र कौशललाई बजारीकरण गरी उनीहरूको आर्थिक अवस्था सुदृढ गर्नुका साथै उनीहरूलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न सहयोग पुर्याउनु हो । यस्ता कार्यक्रमहरूले पनि अप्रत्यक्ष रुपमा जेष्ठ नागरिहरूलाई स्वस्थ रहन मद्दत पुर्याइरहेको हुन्छ । ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि राज्यले नै नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने अवस्था छ ।
पाका मानिसको स्वास्थ्यमा ख्याल राख्न सके मात्र हामी सबैको बुढ्यौली उमेरपनि सुखी, खुशी र सरल हुनेछ । समाजमा जनचेतनाको कमी, सामाजिक भेदभाव, राज्यको उदासिनता र पारिवारिक विखण्डनका कारण पाका मानिसहरूको अवस्था नाजुक बन्दै गइरहेको हुँदा राज्यले नै जनतामा जनचेतना जगाउने, स्वास्थ्य सुविधा दिएर स्वस्थ रहन मद्धत गर्ने, ठाउँठाउँमा व्यायामशाला खोल्नेलगायतका कार्य गर्नुपर्ने पर्ने देखिन्छ । एउटा सफल बुढ्यौली उमेरका लागि स्वस्थ, सकृय, सबल, स्वनिर्भर, सम्मानजनक, सुखी र खुसी हुनुपर्नेछ । त्यस्तो खालको वातावरण बनाउन व्यक्ति शारीरिक र मानसिक रुपमा स्वस्थ रहनुपर्ने, सामाजिक गतिविधिलाई बढाउनुपर्ने तथा घर, परिवार र समाजको सहयोग निरन्तर हुनु अत्यन्तै जरुरी छ ।
समग्रमा भन्नुपर्दा पाका मानिसहरू हाम्रा भगवान हुन् । उनीहरूलाई सम्मान गर्नु उनीहरूको भावना बुझ्नु हामी सबैको कर्तव्य हो । पाका मानिसहरूको शीघ्र स्वास्थ्योपचार हुनु अत्यन्त जरुरी छ । एउटा सम्पन्न परिवारले पाका मानिसहरूको स्वास्थ्य जाँच र उपचार समयमा नै गर्नु पर्दछ भने आर्थिक अवस्था कमजोर भएका तर शारीरिक अवस्थाले टाढा जान नसक्ने र स्थानिय स्वास्थ्य केन्द्रहरूमा उपचार हुन सक्ने जेष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो ।
आवश्यक हेरचाह नपाएका, परितत्यक्त रुपमा जीवनयापन गरिरहेका र कठिन स्वास्थ्य स्थितिबाट गुज्रेका असहाय र अस्वस्थ पाका मानिसहरूका लागि विभिन्न स्वास्थ्य उपचारका कार्यक्रम र स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गर्नु आवश्यक छ । स्थानिय निकायले पनि जेष्ठ नागरिक लक्षित र उनीहरूको स्वास्थ्य सम्बन्धी जनचेतना वृद्धि गर्ने खालका कार्यक्रमहरू गर्नुपर्ने टड्कारो अवश्यकता रहेको छ ।
यसैगरी तिनै तहका सरकार र सबै संघ संस्थाले सबै प्रकारका कार्यक्रमहरूको उद्घाटन र समापनमा समाजमा उदाहरणिय रुपमा रहेका र समाजमा योगदान पुर्याएका पाका मानिसहरूबाट गराउने, पाका मानिसहरूको स्वास्थ्योपचार र स्याहारमा राम्रो योगदान पुर्याएका परिवारका सदस्यलाई समुदाय स्तरबाट सम्मान गर्ने र पाका मानिसहरूको स्वास्थ्यलाई ख्याल नगर्ने, उनीहरूलाई दुव्र्यवहार गर्ने र उपेक्षित गर्ने व्यक्तिहरूलाई सामाजिक बहिष्कारको साथै कानूनी प्रकृयामा ल्याई दण्ड र सजाय गर्ने हो भने पक्कै पनि पाका मानिसहरूको स्वास्थ्य सम्बन्धी कानूनी अधिकारलाई समाजमा बाहिर ल्याउन सहयोग पुग्ने देखिन्छ । यसका साथै ज्येष्ठ नागरिकलाई पराश्रित हुन्छन्, बोझिलो हुन्छन् भन्दै सामाजिक विभेद गर्ने परिपार्टी भएकाले त्यसको अन्त्यका लागि राज्यसँगै नागरिक समाज र घर परिवार पनि सचेष्ट भएर लाग्नुपर्ने आवश्यकता टड्कारो बन्दै गएको छ ।
०००
काठमाडौं
(लेखिका पौडेल अधिवक्ता हुनुहुन्छ ।)
Subscribe
Login
0 Comments
Oldest




































