साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मानिसको स्वास्थ्य सम्बन्धी हक

आर्थिक अवस्था कमजोर भएका तर शारीरिक अवस्थाले टाढा जान नसक्ने र स्थानिय स्वास्थ्य केन्द्रहरूमा उपचार हुन सक्ने जेष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो ।

Nepal Telecom ad

मन्जु कुमारी पौडेल :

“आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।” हाम्रो गाउँघरमा ६० वर्ष भन्दा माथिका मानिसहरूलाई बुढाबुढी वा वृद्धवृद्धा भनेर चिनिन्छ । आज आएर यी शब्दहरूमा केहि परिवर्तन भएर जेष्ठ नागरिक वा पाका मानिसहरू भनेर सम्बोधन गर्न थालिएको छ । वातावरण र ठाउँ अनुसार विश्वका हरेक कुनामा बसोबास गर्ने पाका मानिसहरूको अवस्था पनि फरक फरक खालका हुन्छन् । सबै मानिस उमेर वृद्धि सँगसँगै पाको हुँदै जान्छन् । उमेर सँगसँगै शारीरिक क्षमतामा ह्रास आउँछ । हाडजोर्नी कमजोर हुने, छाला चाहुरिने, आँखाको दृष्टि कमजोर हुँदै जाने, हिंडडुल गर्न असजिलो हुने, यौन क्षमतामा ह्रास आउने, स्मरण शक्ति कमजोर हुने र मुटु तथा फोक्सोमा समस्या देखा पर्ने हुँदै जान्छ ।

वर्तमान समयमा विश्वको जनसंख्याको उमेर संरचनालाई अध्ययन गर्ने हो भने वृद्ध जनसंख्या एउटा महत्वपूणर् अध्ययनको विषय बन्न पुगेको छ । यो जनसंख्यालाई आश्रित जनसंख्याको रुपमा लिने गरिएको छ । राज्यको लागि आर्थिक भार र परिवार र समुदायको लागी बोझको रुपमा लिने गरिन्छ । यदि यो जनसंख्यामा भएको ज्ञान, सीप, मेहनत र अनुभवलाई स-सम्मान सही ठाउँमा सदुपयोग गर्न सक्ने हो भने यिनीहरूलाई निस्क्रिय जनसंख्या मानि दुःखमनाउ गर्नुपर्ने अवस्था नै रहने थिएन । विकसित देशहरूको कुरा गर्ने हो भने त्यहाँको बढ्दो गुणस्तरीय जीवनले गर्दा मानिसहरूको बाँच्ने क्षमता पनि वृद्धि भएको छ । ती देशहरूको बढ्दो प्राविधिक विकास र अत्याधुनिक जीवनशैलीका कारण वृद्धहरूको संख्यामा दिनप्रतिदिन वृद्धि भइरहेको छ भने विकासोन्मुख राष्ट्रहरूमा बढ्दो औषधि, आधुनिक प्रविधि र स्वास्थ्य चेतनाले गर्दा औषत आयुमा लगातार वृद्धि हुँदै गइरहेको अवस्था छ ।

स्थान अनुसार पाका मानिसहरूका व्यथाहरू पनि फरक फरक छन् । जो दुरदराजमा बस्छन् उनीहरूको आफ्नै छुट्टै व्यथा छ भने शहरी र सुगम क्षेत्रमा बस्नेहरूको छुट्टै कहानी र व्यथा रहेको देखिन्छ । समाजमा रहेका धनी, गरिब, शिक्षित, अशिक्षित,सपाङ्ग, अपाङ्ग आदि पाका मानिसहरूको आ-आफ्नै समस्या रहेको पाइन्छ । यस्ता समस्या र व्यथाहरू बीचको एउटा ठुलो समस्या हो पाका मानिसहरूको स्वास्थ्य समस्या । बढ्दो उमेर सँगसँगै व्यक्ति शारीरिक रुपमा कमजोर हुनुको साथै उदासी र वैराग्यताको कारण सिथिल हुँदै जान्छन् र स्वास्थ्य स्थितिमा नकारात्मक परिवर्तनहरू आउन थाल्दछन् । शरीरमा उत्पन्न हुने यस्ता विविध परिवर्तनहरूले पाका व्यक्तिहरूमा मधुमेह, श्वासप्रश्वास, हाडजोर्नी सम्बन्धित रोगहरू, उच्च रक्तचाप डिमेन्सिया र अल्जाईमर जस्ता गम्भीर र दीर्घ रोगहरूको जोखिम बढि हुने गर्दछ । यसरी पाका मानिसहरूमा हुने गरेका सवै प्रकारका समस्याहरूलाई एउटै सोलीमा राखेर हेर्ने हो भने पाका मानिसहरूका स्वास्थ्य समस्याहरू मात्रलाई पनि विभिन्नताका आधारमा सम्वोधन गर्न गाह्रो देखिन्छ ।

अहिलेका प्रत्येक पाका मानिसहरूको आफ्नो पहिलो दायित्व भनेको घरबाट शुरु हुन्छ । घर परिवारमा पनि सर्वप्रथम त छोराछोरी, नातीनातिना दोश्रोमा परिवारको पालनपोषण, शिक्षादिक्षा र सामाजिक दायित्व अनि त्यसपछि सामाजिक दायित्व पुरा गर्दै राज्य प्रतिको समर्पण । जसका लागि पनि पाका मानिसहरू स्वस्थ रहनु जरुरी छ । पाका मानिसहरू शारीरिक, मानसिक र भावनात्मक रुपमा स्वस्थ रहनु भनेको एउटा परिवार मात्र नभएर सिङ्गो समाज र राष्ट्र नै स्वस्थ रहनु हो तर हामीले यिनीहरूका स्वास्थ्य समस्यालाई गम्भीर रुपमा लिएका छैनौं । उनीहरूका समस्यालाई बुढेसकालको समस्या हो, प्राकृतिक र जैविक रुपमा सबैमा हुन्छ भनि सहज रुपमा लिने गरेका छौं ।

सन् २०१३ देखि हेल्प एज ईन्टरनेशनल नामक एक गैरसरकारी संस्थाले पाको मानिसहरूको क्षेत्रमा काम गर्दै आएको छ । जसले पाका मानिसहरूको स्वास्थ्य स्थिति, सक्षमता, आम्दानी, सुरक्षा र पाका मानिसमैत्री वातावरण जस्ता ५ वटा पक्षहरूलाई समेटेर एक विशेष सूचाङ्क समेत प्रकाशन गर्ने गरेको छ । जसमा जेष्ठ नागरिक विशेष सूचक २०१८ अनुरुप विश्वभरका ९६ देशहरू मध्ये स्वीटजरल्याण्ड पहिलो स्थानमा र स्वास्थ्य अवस्थाको स्थितिमा नेपाल भने ७९ औं स्थानमा रहेको देखिन्छ । यसो हुनु भनेको हाम्रो अवस्था औषत भन्दा पनि निकै तल झरेको स्थिति हो भनि बुझ्न सकिन्छ ।

नेपालको संविधान २०७२ मा मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । जसमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्यसेवाबाट वञ्चित गरिने छैन । प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनि कानूनी व्यवस्था गरिएको छ । उल्लेखित सबै अधिकारहरू पाका मानिसहरूका समेत मौलिक अधिकार हुन तर कसैको पनि यसतर्फ गम्भीर ध्यानाकर्षण भएको देखिंदैन । यहाँ पाका मानिस आफैमा उपेक्षित भइरहेको अवस्था छ भने उनीहरूको हक अधिकारका साथै कानूनको बारेमा न्यून मात्रलाई चासो रहेको छ ।

जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ ले समेत स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले जेष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने र नेपाल सरकारले तोकेको संस्थाका जेष्ठ नागरिकले त्यस्तो संस्थामा उपचार गराउँदा लाग्ने शुल्कमा कम्तिमा ५० प्रतिशत छुटको व्यवस्था गर्नु पर्ने भनि उल्लेख गरेको छ ।

कानूनमा त व्यवस्था छ तर स्वास्थ्य जाँचको लागि उनीहरूलाई अस्पतालसम्म पहुँच पुर्‍याउन भने सकिएको छैन । यहाँ पाका मानिसको लागि कानून भनेको हर्ष न विस्मात भने झै भएको छ । कानूनले दिएर वा कानूनमा व्यवस्था भएर मात्र केहि हुँदैंन जबसम्म हामीले पाका मानिसहरूको स्वास्थ्य अवस्थालाई पनि बाल बच्चा र युवाहरूको स्वास्थ्य सरह मान्न सक्दैनौं । अझै पनि हाम्रो अधिकांश समुदायमा ठिक यसको विपरित खालको व्यवहार हुने गरेको पाइन्छ । आज पनि पाका मानिसहरूमा कुनै जटिल रोग लाग्यो वा उनीहरूलाई औषधि उपचार महँगो र शल्यक्रिया गर्नुपर्ने अवस्था आयो भने यो उमेरमा आएर के उपचार गर्नु, कतिन्जेल हो र अब जतिन्जेल बाँच्छन् त्यसैमा सन्तोष गर्नुपर्छ, एकदिन जानैपर्छ यहि रोगले जान लेखेको रहेछ भने कसको के लाग्छ र भन्ने गरेको देख्दै र सुन्दै आएका छौं । कतिपय पाका मानिसहरूलाई त आफूलाई कुन रोग लागेको छ अनि यसको उपचार कहाँ र कसरी हुन्छ भन्ने कुराको जानकारी समेत हुँदैन ।

अस्पताल र अस्पतालले प्रदान गर्ने छुटका लागि अस्पतालसम्म पुर्‍याउने अवस्था त परिवार वा समाजको दायित्व हो तर हामी यहि दायित्वबाट पनि पन्छिएका छौं । पाका मानिसहरूले आफ्नो स्वास्थ अवस्थावारे बुझ्न पाउनु र स्वास्थ्य उपचारको निणर्य गर्न पाउनु उनीहरूको अधिकार भएर पनि कतिपय पाका मानिसहरू आफ्नो स्वास्थ्य अवस्थाको वारेमा अनभिज्ञ नै देखिन्छन । जबसम्म हामी यी सोचहरूबाट बाहिर आउँदैनौं तबसम्म हामीले चाहेको उपलब्धि हासिल गर्न सक्दैनौं ।

अहिले पछिल्लो समयमा आएर नेपालमा पनि जेष्ठ नागरिहरूको स्वास्थ्यमा पनि केहि हदसम्म सुधार आएको मान्न सकिन्छ । प्रत्येक जिल्लामा स्वास्थ्य उपचारकोष खडा गरिएको छ । उक्त कोष सञ्चालनको लागि सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गरेर पाका मानिसहरूको हित सम्बन्धी सह्रानिय कार्य गरेको छ । हाल नेपालमा ७५ वर्ष भन्दा माथिका मुटु र मृगौलाका रोगी जेष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्ने व्यवस्था मिलाइएको छ । नेपाल सरकारले २०७२ सालमा ७ वटा सरकारी अस्पतालहरूमा जेरिआर्टिक वार्डको स्थापना गरी सुरुवात गरेसँगै हाल यसलाई हरेक जिल्लाका अस्पतालहरूमा समेत कम्तिमा पनि एउटा जेरिआर्टिक वार्ड हुनैपर्ने प्रावधान रहेको छ । यसरी व्यवस्था गरिएको भए तापनि देशमा दक्ष जनशक्तिको अभाव र आवश्यक उपचारका साधनहरूको अभावका कारणले गर्दा ती भएका जेरिआर्टिक वार्डहरू खासै उपयोगी भने सिद्ध भएका छैनन् । यसलाई सफल रुपमा कार्यान्वयनको पक्षमा ल्याउन नसक्नुमा राज्य सँगै हामी सबै उत्तिकै जिम्मेवार छौं ।

पाका मानिसहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राखी मुलुकका विभिन्न ठाउँमा पाका मानिस लक्षित विभिन्न खालका कार्यक्रमहरू हुने गरेका छन् । यसको मुख्य श्रेय एजिङ नेपाललाई नै जानेछ । यो संस्था नेपालमा बुढ्यौली जीवन, यसका विभिन्न पक्षका साथै बुढ्यौलीका समस्याहरू लगायतका विषयलाई समाजमा परिचित गराउँदै यसका पक्षहरूको वारेमा वकालत गर्ने पहिलो संस्थाको रुपमा रहेको छ । यसले समुदाय वा स्थानिय तह, राज्यका नीतिगत तह र कानून निर्माण गर्ने ठाउँसम्म पुगेर पाका मानिसहरूको हक हित र अधिकारलाई संरक्षण गर्नमा ठुलो योगदान पुर्‍याएको हुँदा आज राज्यले समेत पाका मानिसहरूलाई प्राथमिकतामा राखेको छ ।

यसपालीको बजेटमा पनि सरकारले काठमाडौंको गोठाटारमा ४५ बेडको अस्पताल निर्माण गर्ने भनि बजेट छुट्याएको छ । यो हाम्रो लागि धेरै राम्रो अवसर पनि हो भने यसबाट पाका मानिसहरूलाई पनि राज्यले प्राथमिकतामा राखेको छ भन्ने कुरा बुझ्न सकिन्छ । यिनीहरूको पनि समाजमा आफ्नो अस्तित्व छ भन्ने ज्ञानको विकास भएको छ ।

त्यसैगरी हालै काठमाडौं महानगरपालिका र छेत्रपाटी निःशुल्क चिकित्सालय बीच भएको सम्झौता बमोजिम काठमाडौं महानगरपालिकाका ३२ वटा वडा भित्रका वृध्दभत्ता प्राप्त गरेका जेष्ठ नागरिकहरूलाई छेत्रपाटी निःशुल्क चिकित्सालयमा उपलब्ध सम्पूणर् स्वास्थ्य सेवा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । यसैगरी अन्य विभिन्न संघ संस्थाहरूले पनि पाका मानिसहरूका लागि निःशुल्क स्वास्थ्य क्याम्पहरूको समेत आयोजना गर्दै आएको पाइन्छ ।

एजिङ नेपाल र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा भर्खरै पाका मानिसहरू निर्मित हस्तकलाका सामानहरूको एक दिने प्रदर्शनी समेत आयोजना गरेको थियो । उक्त कार्यक्रमको उदेश्य उनीहरूको सीप र कौशललाई बजारीकरण गरी उनीहरूको आर्थिक अवस्था सुदृढ गर्नुका साथै उनीहरूलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न सहयोग पुर्‍याउनु हो । यस्ता कार्यक्रमहरूले पनि अप्रत्यक्ष रुपमा जेष्ठ नागरिहरूलाई स्वस्थ रहन मद्दत पुर्‍याइरहेको हुन्छ । ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि राज्यले नै नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने अवस्था छ ।

पाका मानिसको स्वास्थ्यमा ख्याल राख्न सके मात्र हामी सबैको बुढ्यौली उमेरपनि सुखी, खुशी र सरल हुनेछ । समाजमा जनचेतनाको कमी, सामाजिक भेदभाव, राज्यको उदासिनता र पारिवारिक विखण्डनका कारण पाका मानिसहरूको अवस्था नाजुक बन्दै गइरहेको हुँदा राज्यले नै जनतामा जनचेतना जगाउने, स्वास्थ्य सुविधा दिएर स्वस्थ रहन मद्धत गर्ने, ठाउँठाउँमा व्यायामशाला खोल्नेलगायतका कार्य गर्नुपर्ने पर्ने देखिन्छ । एउटा सफल बुढ्यौली उमेरका लागि स्वस्थ, सकृय, सबल, स्वनिर्भर, सम्मानजनक, सुखी र खुसी हुनुपर्नेछ । त्यस्तो खालको वातावरण बनाउन व्यक्ति शारीरिक र मानसिक रुपमा स्वस्थ रहनुपर्ने, सामाजिक गतिविधिलाई बढाउनुपर्ने तथा घर, परिवार र समाजको सहयोग निरन्तर हुनु अत्यन्तै जरुरी छ ।

समग्रमा भन्नुपर्दा पाका मानिसहरू हाम्रा भगवान हुन् । उनीहरूलाई सम्मान गर्नु उनीहरूको भावना बुझ्नु हामी सबैको कर्तव्य हो । पाका मानिसहरूको शीघ्र स्वास्थ्योपचार हुनु अत्यन्त जरुरी छ । एउटा सम्पन्न परिवारले पाका मानिसहरूको स्वास्थ्य जाँच र उपचार समयमा नै गर्नु पर्दछ भने आर्थिक अवस्था कमजोर भएका तर शारीरिक अवस्थाले टाढा जान नसक्ने र स्थानिय स्वास्थ्य केन्द्रहरूमा उपचार हुन सक्ने जेष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो ।

आवश्यक हेरचाह नपाएका, परितत्यक्त रुपमा जीवनयापन गरिरहेका र कठिन स्वास्थ्य स्थितिबाट गुज्रेका असहाय र अस्वस्थ पाका मानिसहरूका लागि विभिन्न स्वास्थ्य उपचारका कार्यक्रम र स्वास्थ्य परीक्षण कार्यक्रम संचालन गर्नु आवश्यक छ । स्थानिय निकायले पनि जेष्ठ नागरिक लक्षित र उनीहरूको स्वास्थ्य सम्बन्धी जनचेतना वृद्धि गर्ने खालका कार्यक्रमहरू गर्नुपर्ने टड्कारो अवश्यकता रहेको छ ।

यसैगरी तिनै तहका सरकार र सबै संघ संस्थाले सबै प्रकारका कार्यक्रमहरूको उद्घाटन र समापनमा समाजमा उदाहरणिय रुपमा रहेका र समाजमा योगदान पुर्‍याएका पाका मानिसहरूबाट गराउने, पाका मानिसहरूको स्वास्थ्योपचार र स्याहारमा राम्रो योगदान पुर्‍याएका परिवारका सदस्यलाई समुदाय स्तरबाट सम्मान गर्ने र पाका मानिसहरूको स्वास्थ्यलाई ख्याल नगर्ने, उनीहरूलाई दुव्र्यवहार गर्ने र उपेक्षित गर्ने व्यक्तिहरूलाई सामाजिक बहिष्कारको साथै कानूनी प्रकृयामा ल्याई दण्ड र सजाय गर्ने हो भने पक्कै पनि पाका मानिसहरूको स्वास्थ्य सम्बन्धी कानूनी अधिकारलाई समाजमा बाहिर ल्याउन सहयोग पुग्ने देखिन्छ । यसका साथै ज्येष्ठ नागरिकलाई पराश्रित हुन्छन्, बोझिलो हुन्छन् भन्दै सामाजिक विभेद गर्ने परिपार्टी भएकाले त्यसको अन्त्यका लागि राज्यसँगै नागरिक समाज र घर परिवार पनि सचेष्ट भएर लाग्नुपर्ने आवश्यकता टड्कारो बन्दै गएको छ ।

०००
काठमाडौं
(लेखिका पौडेल अधिवक्ता हुनुहुन्छ ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कोख

कोख

मञ्जुकुमारी पाैडेल
कानूनमा जेष्ठ नागरिक

कानूनमा जेष्ठ नागरिक

मञ्जुकुमारी पाैडेल
जेष्ठ नागरिकको हक हितमा स्थानिय जेष्ठ नागरिक समिति

जेष्ठ नागरिकको हक हितमा...

मञ्जुकुमारी पाैडेल
बुढ्यौलीमा समानता

बुढ्यौलीमा समानता

मञ्जुकुमारी पाैडेल
0
Would love your thoughts, please comment.x
()
x