मञ्जुकुमारी पाैडेलकोख
आमा आँखामा आँसु बगाउँदै अनवरत रुपमा हाँस्दै भन्दैहुनुन्थ्यो, “धन्न भगवानले मेरो कोख भरेनन् नानी !"

अधिवक्ता मञ्जुकुमारी पौडेल :
“नखरमाउलीहरू ! घरमा भएको एउटा बुढो ससुरालाई घरको न घाटको बनाएर मारिछोड्यौ हैन ?” आफ्ना बच्चाहरूलाई पार्कमा खेल्न छोडेर अलि पर एक आपसमा इत्तरिरहेका महिलाहरूतिर आँखा तर्दै एक जना वयस्क आमाले भुतभताउँदै भन्दै थिइन् ।
म उनकै छेउमा गएर रहस्य बुझ्न थालें,
“आमा ! को हुन तिनीहरू ? हजुरले राम्ररी चिन्नुहुन्छ र ?”
“ती हत्याराहरूलाई किन नचिन्नु नानी ? ती दुईवटी नै अस्ति सात गते मरेका बुढा मान्छेका बुहारीहरू त हुन् नि ।” उहाँको आँखामा अझै आक्रोश झल्किरहेको थियो।
“के भएर मरेका रहेछन् बुढा, है आमा ?”
मेरो मन भित्रको कौतुहलता सेलाउन अर्को प्रश्न तेर्स्याएँ।
“सधैंजसो लौरो टेकेर यही पार्कमा ती बुढा आउँथे। घरमा बोल्ने कोही थिएनन् रे । स्वास्नीले पनि आठ वर्षअगाडि छोडेर गई भन्थे। पालो लगाईदिएको रे जेठो र कान्छोको।”
“खाना निल्न निकै गाहो हुन्छ, गला लाग्छ भन्दा ‘भोक लागे खानु नलागे त्यतिकै बस्नु’ भन्थे अरे।”
आमा कारुणिक भावमा सुनाउँदै हुनुहुन्थ्यो,
“खोलामा ढुङगा सम्म फुटाएको, भारी बोकेको, छोराहरूलाई खुवाएर कति रात बुढाबुढी भोकभोकै सुतेको, खालिखुट्टा हिँडेर पनि छोराहरूलाई बोर्डिङ स्कुल पठाएको थिएँ भनेर भन्थे बुढाले ।”
“सडकको मान्छे, निकै दुःख गरेर पढाएर एउटा छोरा अफिसर अर्को डाक्टर बनाएका थिए रे। तर बिचरालाई । मारिहाले नि ती अपराधीहरूले ।”
“अनि किन कसरी मारेका रहेछन् आमा?” मैले बिच्चैमा प्रश्न तेर्स्याएँ।
“कसले उपचार खर्च व्यहोर्ने भन्दाभन्दै ढिलो भैगएछ र हस्पिटल लाँदै गर्दा बाटामै सुइँकेछन् ।”
आमा आँखामा आँसु बगाउँदै अनवरत रुपमा हाँस्दै भन्दैहुनुन्थ्यो, “धन्न भगवानले मेरो कोख भरेनन् नानी !”
०००
कागेश्वरी मनोहरा-८, काठमाण्डौ
वृद्धाकाश (२०८१)
Subscribe
Login
0 Comments
Oldest





































