घनश्याम रेग्मीपाकाहरूबाट सिकौँ (काव्यांश- १)
हाम्रो शिष्ट परम्परा र यसका राम्रो जगेर्ना गरी नेपाली पन बाँच्न भन्छ उसले यो देश सर्वोपरि पाका हिम्मतका चढेर गिरिमा संसार हाँक्थे अघि मौकामा जुन काम गर्न छ भलो निर्दिष्ट गर्छन् कसी ।

घनश्याम रेग्मी
भाषा भाव रसादि छन्द लयका आदर्श बाटो दिने
प्यारा हार्दिक भावसाथ हिँड लौ जिम्मा लगाई दिने
पाका मानिस चाहिने किन सधैँ प्रश्नादि आए भन
पाका गीत सिकाउँछन् लय झिकी भाका मिठा गाउन ।१
•••
भाषा संस्कृतिको सुरक्षण गरी हामी हिँडौँ आग्रह
हाम्रासाथ विशाल वैभव धरा छन् , छोड पुर्वाग्रह
ज्ञानीका पदसाथ चल्न सकिए एक्लो कहाँ को हुने
पाका अग्रज स्रोत शिक्षक कला सद्भाव फैलाउने ।२
•••
पाका मानिसका कुरा गहकिला कर्तव्य राम्रो गर
राम्रा कर्म गरेर पन्थ सजिला खारेर हिँड्छन् नर
के आवेग घमण्डले जन सुखी होला र सम्झाउँछन्
आफू को र कहाँ छ काम कुन के प्रश्नादि तेर्स्याउँछन् ।३
•••
हाम्रा यी अनमोल औषधि बुटी छोडी हिँडेका किन
हाम्रा जीवन दायिनी तरु लता वृक्षादि गिँड्छौ किन
हामीले नव सिर्जना दिन सकौँ आधार धर्ती यही
माटो मुछ्न सिकाउने कवि कला आस्वाद भर्ने बही ।४
•••
खेती याम हुँदा कहाँ कुन कुरा रोप्ने नयाँ पद्धति
के कस्ता बिउ लाउँदा प्रकृतिमा हुर्की हुने उन्नति
बाँझो जोत्न लगाउँछन् समयका डल्ला फुटाईकन
धर्ती वैभव हो र कोर्न सकिए फल्नेछ लाखौँ धन ।५
•••
हाम्रो शिष्ट परम्परा र यसका राम्रो जगेर्ना गरी
नेपाली पन बाँच्न भन्छ उसले यो देश सर्वोपरि
पाका हिम्मतका चढेर गिरिमा संसार हाँक्थे अघि
मौकामा जुन काम गर्न छ भलो निर्दिष्ट गर्छन् कसी ।६
क्रमशः
०००
विकास चोक , भरतपुर ५, चितवन
Subscribe
Login
0 Comments
Oldest






































