सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुढ्यौलीमा समानता

ज्येष्ठ नागरिकहरू भनेका हाम्रा अमूल्य निधि र सम्पदा हुन् । सहज वा जटिल सुख वा दुःख हरेक परिस्थितिमा उनीहरू पथप्रदर्शक बनेर सदैव हामीसँग साथ हिँडिरहेका हुन्छन् । त्यसैले उनीहरूलाई हामीले घृणा होइन आदर र सम्मान गर्ने गरौँ ।

Nepal Telecom ad

मन्जुकुमारी पौडेल :

बुढ्यौली मानव जीवन चक्रको अन्तिम अवस्था हो । यस धर्तीमा अवस्थित हरेक व्यक्तिको जीवनमा सबैभन्दा धेरै माया, आशा र साथ पाउने उमेर भनेको बाल्यअवस्था हो, व्यक्तिको स्वभाव उछृङखल हुने, चञ्चले हुने, धेरै मनोरञ्जन गर्ने, रमाउने र संसारै जितौंला झैं गर्ने उमेर किशोरावस्था हो भने आफ्नो परिवारको जिम्मेवारीको थैलो काखी च्यापी विभिन्न अवसर र जटिल परिस्थितिको सामना गर्दै सकि नसकी अनेक दुःख कष्टका साथ दौडिने उमेर युवावस्था नै हो । यसरी नै युवावस्थाको रोजाई र आफ्नो जीवनको भोगाईबाट खारिदैँ सबै मानिसहरू विस्तारै बुढ्यौली अवस्थामा पुग्दछन् ।

ज्येष्ठ नागरिकहरू आफ्ना अनुभवले खारिँदै र जीवनका विभिन्न कठिनाई, आरोह, अवरोह पार गर्दै वृद्धावस्थामा पुगेको हुनाले जीवन र जगतका हरेक अप्ठयारा खुड्किलाहरू पार गर्दै आएका हुन्छन् जसका कारण कस्तो परिस्थितिलाई कसरी सामना गर्ने र चुनौतीहरूसँग कसरी लड्ने भन्ने क्षमता ज्येष्ठ नागरिकमा हुन्छ भन्ने हेक्का हामी सबैले ख्याल राख्नु पर्दछ । जो कोहि पनि काम गर्न सकुन्जेल सबैका प्रिय हुने र कमजोर भई काम गर्न नसकेको अवस्थामा पुगेपछि अपहेलित हुनु ठुलो दुर्भाग्य हो । अहिलेका युवा पिंढिले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपको उच्च मूल्याङ्कन गर्दै सम्मान गर्नुपर्दछ किनकी हामीलाई आज यो अवस्थामा ल्याईपुर्‍याउनुमा उनीहरूको ठुलो लगानी, त्याग र समर्पण रहेको छ । हाम्रो देशमा जेष्ठ नागरिकहरू विभिन्न समस्या भोग्न बाध्य भएका छन् । यतिबेला हाम्रो समाजमा भन्ने गरिएको एउटा भनाई छ कि, “एउटी आमाले आफ्ना १० जना सन्तानहरूलाई एक्लै संहाल्न सक्छिन् तर १० जना सन्तान भए पनि उनीहरूले आफ्ना बाबु आमालाई राम्रोसँग संहाल्न सक्दैनन् ।” हाल समाजमा यस्तो परिस्थितिको श्रृजना हुनु भनेको अहिलेका सन्तानहरू व्यक्तिवादी र अवसरवादी बन्दै जानुको परिणाम हो भन्दा अत्युक्ति नहोला ।

पहिला पहिला हाम्रो समाजमा ज्येष्ठ नागरिकहरूको स्थान नै महत्वपूणर् स्थान हुन्थ्यो । उनीहरूकै रेखदेख र आधिपत्यमा समाजमा संयुक्त परिवार स्वचालित हुन्थ्यो । संयुक्त परिवार भएकै कारण परिवारका सवै सदस्यहरूमा सदभाव र मेलमिलाप कायम रहन्थ्यो । साथै समाजमा पनि जेष्ठ नागरिकको मान-सम्मान र आदर सत्कार हुने गर्दथ्यो । उनीहरूले आफ्ना जीवनकालमा आर्जन गरेका क्षमता, ज्ञान, सीप र अनुभव नै पछिल्लो पुस्ताको लागि मार्गदर्शन बन्ने भएकाले समाजमा स्वच्छ परम्परा, शुद्ध व्यवहार, राम्रो र मिलनसार सामाजिक सदभाव एवं सौर्हाद्रतापूणर् वातावरण, मर्यादित आचरण एवं अनुशासनको पालनाले सबैको जीवन सन्तुलित ढंगले अघि बढ्नुको साथै सुन्दर, शान्त र स्वच्छ समाजको निर्माण भएको हुन्थ्यो । समाजमा हुने गरेका कुनै पनि सामाजिक कार्य लगायत विशेष सभा सम्मेलनहरूमा पनि उनीहरूको अनिवार्य उपस्थिति रहने भएकाले जेष्ठ नागरिकको दिनचर्या पनि सक्रिय रुपमा चलिरहेको हुन्थ्यो तर आज आएर समाज ठिक यसको विपरित भएको छ ।

आफ्नो घर, परिवार, समाज, विभिन्न सेवा प्रदायक संघ संस्थाहरू, अस्पताल, यातायात आदी सबै स्थानहरूमा जेष्ठ नागरिकहरू माथि विभेद हुनुको साथै उनीहरू उपेक्षित हुनु परिरहेको अवस्था छ । ज्येष्ठ नागरिकको दिनचर्यालाई सक्रिय, स्वस्थ र आत्मनिर्भर बनाउन उनीहरूको शारीरिक, मानसिक तन्दुरुस्ती राख्न, जेष्ठ नागरिकमैत्री समाज बनाउन उनीहरूले आफ्नो अवस्था अनुकुलको बालबालिका हेर्ने, खाना बनाउने, कृषि कर्ममा लगाउने, सामाजिक कार्यमा सहभागी हुने तथा व्यापार व्यवसायमा सक्रिय हुनका लागि पहल गर्नुपर्दछ । यो उनीहरूको आफ्नो अधिकार हो ।

जेष्ठ नागरिकको अधिकार विशुद्ध रुपमा मानव अधिकार हो । जेष्ठ नागरिकका लागि व्यवस्था गरिएका अधिकारहरू नै जेष्ठ नागरिकका अधिकारहरू हुन् । अन्य नागरिक सरह जेष्ठ नागरिकका लागि पनि राज्यले मौलिक हकको व्यवस्था गरेको छ । हरेक राष्ट्रका मानिसले सोही राज्यको नागरिक भएकै कारणबाट राज्यद्वारा प्राप्त गर्ने अधिकारलाई मौलिक अधिकार भनिन्छ । यस्ता मौलिक अधिकार मानव अधिकारको सिद्धान्तसँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् । मौलिक अधिकारका सम्बन्धमा मानव अधिकारको विश्वयव्यापी घोषणापत्रले पनि परिभाषित गरेको छ । मौलिक हक कसैका लागि बढी र कसैका लागि कम भन्ने नभई यो सबै नागरिकका लागि बराबर रूपमा लागू हुने गर्छ तर जेष्ठ नागरिकका लागि भने यी अधिकारहरू विशिष्ट अधिकार हुनु पर्दछ । जसलाई राज्यले पनि विशेष रुपमा सम्बोधन गर्नुपर्ने देखिन्छ । अझै भनौं भने अपाङ्गता भएका र पिछडिएका वर्गका जेष्ठ नागरिकहरू सम्बन्धित अधिकारलाई अझै प्राथमिकतामा राखेर हेरिनु वा व्यवहारिक रुपमा ल्याउनु टड्कारो आवश्यकता रहेको छ । राज्यभित्र बसोबास गरेका जुनसुकै उमेर लिङ्ग, जाती, धर्म सम्प्रदाय, अशक्त, अपाङ्ग वा अन्य जस्तोसुकै अवस्थाको भए पनि जेष्ठ नागरिकलाई बिना भेदभाव समाजमा बाँच्न पाउने अधिकार सुनिश्चित गरिनु पर्दछ भने आफ्नो ईज्जत, विश्वास, गोपनियता, आफ्नो जीवनको हेरचाह तथा गुणस्तरियता बारे निर्णय गर्ने अधिकारमा पूर्ण समानता हुनुपर्ने एवं कुनै पनि आवास, हेरचाह वा अन्य कुराहरूमा मानव अधिकार तथा मौलिक स्वतन्त्रताको उपयोगमा पनि समानता हुनुको साथै समाजमा भएका शैक्षिक, सांस्कृतिक, आध्यात्मिक तथा मनोरञ्जनका श्रोत र साधनको उपयोगमा समेत समानता हुनु आजको आवश्यकता रहेको छ ।

नेपालको संविधान, २०७२ मा मौलिक हक अन्तर्गत ३२ वटा धाराहरू रहेका छन् । जसमध्ये धारा १८ मा समानताको हक अन्तर्गत सामान्य कानुनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन भनि उल्लेख गरेको छ । यस अर्थमा भन्नुपर्दा कानूनको नजरमा सबै मानिस समान हुन्छन् र कुनै पनि बहानामा राज्यले कसैलाई काखा र कसैलाई पाखा गरी भेदभाव गर्नु हुँदैन । एउटै राज्यभित्र बसोबास गर्ने वा रहने त्यस राज्यका नागरिकलाई कानुनद्वारा एक वर्गलाई एउटा कानून र अर्को वर्गलाई अर्को कानुन अर्थात कानूनलाई व्यक्तिवादी बनाएर फरक फरक अधिकार दिने, फरक फरक व्यवहार गर्ने गर्न पाइँदैन । यस्तो कार्य राज्यको संविधान, प्राकृतिक न्यायको सिद्धान्त र मानव अधिकारको सिद्धान्त भन्दा विपरीत हुने हुँदा बुढ्यौलिकै कारणले गर्दा जेष्ठ नागरिकहरू नै किन हरेक क्षेत्रमा उपेक्षित भइरहनु परेको छ त ? किन जेष्ठ नागरिकहरू यस अधिकारबाट बञ्चित हुन पुगेका छन ? हामी सबैले यी प्रश्नको उत्तर खोज्नु आवश्यक भएकाले यस तर्फ हामी सबैको ध्यान जानु पर्ने देखिन्छ ।

विशेषतः कानुनका दृष्टिमा सबै नागरिक समान हुन्छन् भन्ने बित्तिकै सबै नागरिक समान हुनुपर्छ भन्ने मानव अधिकारको प्राकृतिक न्यायको सिद्धान्त भएको अवस्थामा भने हाम्रो समाजमा मानिसले बुढ्यौलीसँगै शारीरिक र मानसिक अवस्था कमजोर हुँदै गएको आधारमा गर्ने पारिवारीक र सामाजिक विभेद किन अझै कायमै रहेको छ ? यी कुराहरू अत्यन्तै विचारणिय र गम्भीर छन् । कानूनले यस्तो विभेदलाई निरुत्साहित गर्दै आएको भए तापनि ती सबै लिखित कानूनका रुपमा मात्र सिमित भएका छन् । सामाजिक र व्यवहारिक रुपमा हेर्दा समाजभित्र हुने यस किसिमका विभेद आज आएर एक किसिमले सांस्कृतिक, परम्परागत र प्रथाकै रुपमा कायम रहेको देखिन्छ ।

अझै भनौं जेष्ठ नागरिक भित्र पनि खासगरी अपाङ्ता भएका जेष्ठ नागरिकहरूलाई अपाङ्गता भएकै कारणबाट हाम्रो समाजमा विभेद गर्ने गरिएको छ । उनीहरूलाई परिवारले बोझको रुपमा लिने, बेवास्ता गर्ने, कतै घुमफिरमा, पारिवारिक जमघटमा होस् वा कुनै सामाजिक र वाहिरी वातावरणमा लान चाहँदैनन् । जसको कारण जेष्ठ नागरिकहरू घरमै थुनिन बाध्य छन् । यसरी बाहिरी वातावरणमा निस्किन नपाउँदा उनीहरू प्राकृतिक वातावरणमा रमाउन, परिवारिक तथा समाजिक सद्भाव, साथ र सहयोगबाट बञ्चित हुनु परिरहेको छ । उनीहरू माथि विभिन्न प्रकारका दुर्व्यवहार समेत भइरहँदा निरिह भएर बाच्नुको विकल्प छैन । यस प्रकारका कुनै पनि विभेद नहुन् भन्ने मनसायले संविधान लगायत जेष्ठ नागरिक ऐनमा अपाङ्ता भएका व्यक्तिहरूको सवाल समेत समेटिएको हो । कुनै पनि अपाङ्गता भएका जेष्ठ नागरिकलाई अपाङ्गता भएकै आधारमा विभेद वा वहिष्करणमा पार्न पाइने छैन भने जेष्ठ नागरिकका सवालमा त झनै गम्भीर रहेको छ तर पनि कसैले यस किसिमको व्यवहार गरेको रहेछ भने त्यसका विरुद्ध न्यायिक निकाय अदालत वा अन्य अर्द्धन्यायिक निकायमा पिडित व्यक्तिका छर छिमेकी वा विभेदमा पर्ने व्यक्ति स्वयंले न्यायका लागि आफूमाथि भइरहेको अन्याय विरुद्ध उजुरी गर्न सक्ने व्यवस्था भएर पनि समाजमा यस प्रकारका घटनाहरूलाई दबाएर राख्ने परिपाटी कायमै रहेको छ ।

जेष्ठ नागरिक ऐन पहिलो संशोधन २०७९ मा व्यवस्था गरिए बमोजिम जेष्ठ नागरिक प्रतिको कर्तव्यको पालना सन्तान वा परिवारको सदस्य वा हकवालाले नगरेमा यस अन्तर्गतको मुद्दा हेर्ने अधिकार सम्बन्धित स्थानिय तहको न्यायिक समितिलाई हुने र यदि कसैले यस प्रकारको कसूर गरेको पाईएमा तीन लाख रुपैयासम्म जरिवानाको व्यवस्था छ तर समाजमा अनगिन्ति यस्ता बुवाआमाहरू छन् जो सन्तान वा परिवारबाट नै परित्याग भइरहेका छन् । कतिपय सन्तानको साथ भएर पनि माया, ममता र स्याहार सम्भार नपाई एक्लिन बाध्य छन् । बुढ्यौलीकै कारणले गर्दा विभेदमा परेका छन् ।

यसैगरि कसैले पनि जेष्ठ नागरिकलाई परिवारबाट अलग बस्न बाध्य पारेमा, भिक्षा माग्न लगाएमा, जबरजस्ती भिक्षु वा फकिर बनाएमा तथा हेरचाह केन्द्र, दिवा केन्द्र वा सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकहरूका सम्बन्धमा हेरचाह केन्द्र, दिवा केन्द्र वा सेवा केन्द्रका प्रमुख, संचालक, कर्मचारी वा पदाधिकारी वा अन्य कुनै व्यक्तिले जेष्ठ नागरिकको सम्पति लिने बदनियतले कुनै काम गरे वा गराएमा यस अन्तर्गतको कसुरको शुरु कारवाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ र यस्ता कसूर सम्बन्धी मुद्दाहरू सरकारवादी हुनेछन् भने यसको कसूरको गाम्भिर्यता हेरी पाँच वर्षसम्म कैद र पाँच लाख रुपैयाँ जरिवाना समेत हुनेछ भनि कानूनमा व्यवस्था गरिएको भए तापनि आज समाजमा यस्तै प्रकारका कति घटनाहरू भइरहेका छन्, कति बुवा आमा आफ्नै सम्पतिबाट बञ्चित भइरहेका छन् । घरबाट निकालिएका छन् । सडकमा मागेर खान बाध्य भएका छन् ।

आफ्ना बुवा आमालाई मान्छे नगन्ने, बुवा आमाको सम्पति छोरा छोरीले झुक्यानमा पारी बैंकमा जमानत राख्ने र त्यहि जग्गा बैंकले जफत गरेर बेघर भएको अवस्थामा मात्र बुवा आमाले थाहा पाउने गरेका यस्ता उदाहरणहरू त बग्रेल्ती छन् तर हामी सबै मौन छौं । उल्टै कस्तो कुलङ्घार सन्तान रहेछ बिचरा बुढाबुढीको बिल्लिबाठ भयो, सन्तान भएर पनि सुख रहेनछ भनि देखेर पनि दृष्टिविहिन भएको नाटक गर्छौं । यसको सट्टा हामीले दोषीलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा कार्वाही चलाउने र पीडितलाई न्याय दिलाउन मद्दत गर्ने हो भने भोलिदेखि कुनै पनि अपराध गर्नुअघि अपराधी पनि धेरै पटक सोच्न बाध्य हुनेछ र यस्ता घटनाहरू समाजबाट स्वतः घटेर जानेछ । त्यसैले अब हामीले यस्ता विकृतिहरूको ज्वरो निमिट्यान्न पार्नु पर्छ । यी सबै व्यवस्था कानूनी किताबको पानामा सजिएर रहनुको विकल्प देखिँदैन, जबसम्म समाजबाट यस प्रकारका विभेदहरूलाई उजागर गरिँदैन, बाहिर ल्याइँदैन तबसम्म यस्तो प्रथाले जरो गाडेर बस्नेछ, अझै धेरै मौलाउँदै जानेछ । जसले गर्दा हरेक क्षेत्रमा हुँदै आइरहेको यस्तो विभेदको विरुद्धमा हामी सबैले चासो दिएर अघि बढ्नु  पर्ने समय आइसकेको छ ।

यसैगरी विभिन्न गैरसरकारी संस्थामार्फत जेष्ठ नागरिकका हक, हित र अधिकार सम्बन्धमा काम गर्ने ज्येष्ठ नागरिक समूह तथा क्लब गठन र दिवा सेवा केन्द्र सञ्चालन गर्न प्रोत्साहन गरिने, हिंसापीडित, परित्यक्त, शारीरिक एवम् मानसिक रूपले अशक्त भएका र विशेष जोखिममा रहेका ज्येष्ठ नागरिकका लागि लक्षित गरी विशेष राहत तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिनु पर्दछ । विभिन्न सेवा प्रदायक संघ संस्था, अस्पताल, यातायात, सामुहिक जमघट घर, परिवार, समाज सवैतिर भइरहेका विभेदहरूलाई सम्बन्धित सबैले अनुगमन र नियन्त्रण गर्नु पर्छ । हालसम्म भएका सबै वृद्धाश्रम तथा दिवा सेवा केन्द्रहरूको नियमन र अनुगमनलाई अझै प्रभावकारी बनाइनु पर्दछ । समाजका ज्येष्ठ नागरिकप्रति सम्मान अभिवृद्धि गर्न समुदाय स्तरसम्म सचेतनाका कार्यक्रम सञ्चालन गरिनु पर्दछ । यसैगरी पूर्वीय दर्शन अनुसार बाबुआमा लगायत ज्येष्ठ सदस्यको हेरचाह तथा पालन पोषण गर्ने परिवारका सदस्य र यस्ता संघ संस्थालाई सम्मान गर्नुपर्छ । जुनसुकै व्यक्तिले मरणोपरान्त आफ्नो सम्पत्ति आफ्नो इच्छा अनुसार हस्तान्तरण गर्न पाउने इच्छापत्रको व्यवस्था गर्ने जस्ता कानुनी व्यवस्था गरिनुको साथै यसै अनुरुपका कार्यनीतिहरू निर्माण गरी ईमान्दारितापूर्वक व्यवहारमा लागु गर्ने हो भने जेष्ठ नागरिकप्रति अहिलेको सन्ततीले हेर्ने दृष्टिकोणमा परिवर्तन आउने देखिन्छ ।

राज्यले (संघ, प्रदेश, स्थानिय सरकार) ज्येष्ठ नागरिकलाई प्रत्याभूति गर्नुपर्ने सामाजिक सुरक्षाका कार्यक्रमहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्नु र समाजमा ज्येष्ठ नागरिकहरूप्रति गरिने व्यवहार, राज्यले प्रदान गरेको सेवा सुविधाहरूमा घरपरिवारका अन्य सदस्यहरूको हस्तक्षेपलाई निराकरण गर्नका लागि सचेतनामुलक कार्यक्रम र स्थलगत अनुगमन हुनु नितान्त आवश्यक रहेको छ ।

घर परिवार, समाज, राष्ट्रमा ज्येष्ठ नागरिक मैत्री वातावरण बन्नु आजको आवश्यकता हो । कोहि जेष्ठ नागरिकले आफू जेष्ठ नागरिक भएका कारणले कुनै पनि सेवा प्रदायक संस्था, अस्पताल, बाटोघाटो, सार्वजनिक स्थान, सभा, सम्मेलन आदि कतै पनि विभेद हुन नपरोस् । यसका लागि सबै पक्षको ध्यान जानु आवश्यक छ । ज्येष्ठ नागरिकहरूलाई शारीरिक, मानसिक र आर्थिक रुपमा सक्षम र सुदृढ गराई उनीहरूको दुख, पीडा र हिनताबोध कम गर्दे लैजानु र मनोरञ्जनात्मक एव् सन्तुष्टि दिने खालका कार्यक्रमहरू सहज र समान रुपमा स्थापित गर्दे लैजानु त्यतिकै आवश्यक छ । ज्येष्ठ नागरिकहरूको हक हित र सुरक्षाको लागि यस क्षेत्रमा कार्यरत सरोकारवाला निकाय बीच समन्वयात्मक वातावरणको विकास जरुरी रहेको छ । यस अघिका ज्येष्ठ नागरिकहरूको हक अधिकार सुनिश्चित गर्न बनेका ऐन, कानून, नियमावलीको कार्यान्वयन फितलो रहेको थियो भने हाल संशोधित ऐनमा भने केहि आशा गर्ने ठाउँ भने पक्कै रहेको छ । यस्ता ऐन कानूनलाई समयानुसार परिमार्जन वा सशोधन गर्दै प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको छ ।

अतः जेष्ठ नागरिकका अधिकार रक्षाका लागि सामान्य व्यवस्थाहरू पर्याप्त नहुन सक्छन् । जेष्ठ नागरिकका सुरक्षाको लागि विशेष नीति तथा कार्यक्रमहरू तर्जुमा गरि कार्यान्वयन गर्नु पर्ने हुन्छ । यस प्रकारका प्रयासबाट समाजमा ज्येष्ठ नागरिक प्रतिको सम्मानको भावना जागृत गराई उनीहरूको आत्मबल बढाउन सहयोग पुग्ने देखिन्छ । ज्येष्ठ नागरिकमा उत्पन्न हुने समस्याको समाधान आफ्नो घरपरिवारबाट मात्रै सम्भव हुने भएकाले प्रत्येक घरपरिवारका सदस्यहरूमा आफ्नो कर्तव्य र जिम्मेवारीको बोध हुनु जरुरी छ ता कि घर परिवारबाट गरिएको आदर, सम्मान र समान सहभगिताले समाजमा पनि त्यहि परिपाटीको विकास गर्न सकोस् किन कि ज्येष्ठ नागरिक भनेका आचरण र ज्ञानका खानी अनि हाम्रो बुद्धि तथा विवेकका स्रोत हुन् भन्ने भावना प्रत्येक परिवार, समुदाय तथा राज्यमा गुञ्जायमान हुन आवश्यक छ ।

हामी सबै चेतनशील नागरिकले यति गर्न सकेमा मात्र ज्येष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित, सम्मानित र सुनिश्चित बनाउन सक्दछौंं । यसका लागि हामी प्रत्येक व्यक्ति, परिवार, समुदाय र राज्य समेतको दायित्व उत्तिकै महत्वपूर्ण छ । ज्येष्ठ नागरिकहरू भनेका हाम्रा अमूल्य निधि र सम्पदा हुन् । सहज वा जटिल सुख वा दुःख हरेक परिस्थितिमा उनीहरू पथप्रदर्शक बनेर सदैव हामीसँग साथ हिँडिरहेका हुन्छन् । त्यसैले उनीहरूलाई हामीले घृणा होइन आदर र सम्मान गर्ने गरौँ । जेष्ठ नागरिकलाई विभेद हैन उच्च सम्मानका साथ पहिलो प्राथमिकतामा राखी समान सहभागिता गराउन पहल गरौं । आउनुहोस् यस्ता विभेदका विरुद्धमा हामी सबै हातेमालो गरि अघि बढौँ ।

०००
पङ्क्तिकार पौडेल उप प्राध्यापक एवम् अधिवक्ता हुनुहुन्छ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे