सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाकाको चाहिँदो एकाग्रता जोगाऔँ !

सधैँ आफ्नै गनगन र अप्ठ्यारो सुनाउन अभ्यस्त पाका मान्छेबाट अरु सबै उमेरसमुहका मानिस अझ पाका हुन बाँकी मानिस त टाढिन मात्र खोज्छन् । पाका मानिस सबै उमेरसमूहका लागि मानिला, गुनिला र नजिक पार्न मनलाग्ने हुनुपर्छ, नाक खुम्च्याउँदै परपर भाग्ने त हुनु भएन नि !

Nepal Telecom ad

डा. मुकेश चालिसे :

छ दशकभन्दा लामो अनुभवले पाका मान्छेका मनमा हजारौँ कुराहरू सङ्कलित भएका हुन्छन्, थप पढाइलेखाईको सारले ठाउँ लिएको हुन्छ र वंशानुगत प्राकृतिक गुणहरू कहाँ पोखियौँ भनि हरेक प्रसङ्गमा सल्बलाइरहेका हुन्छन् । पाका मानिसले यसबेला विवेचना गर्दा जीवनका उकालीमा कष्टसाथ चढदै प्रगतिका केही चरण अठोटे अनुसार अघि बढाएको र कहिले आफ्नै बुद्धिले, कहिले नजिककाको दपेट्याइँमा परेर ओरालीतिर खुर्मुरिएको तीतो अनुभव सङ्गालेका छन् । घरको तत्कालको अवस्थानुसार सकेको विद्या आर्जन गरी त्यतिखेरको आवश्यकतामा कतै आयमूखि सेवामा करधक्त भएर लागेका होलान् भने कतिपय निमूखाले घरव्यवहार राम्ररी धानेर परिवार र सन्तानको हित नै आफ्नो भविष्य चहकिलो हुने आशामा घोटिएका होलान् । व्यक्तिगतभन्दा समुहको हितमा ध्यान गएकाले नै खप्न सकिने दुःखकष्ट सिन्को जती नठानी भोगे होलान र सुखका कुरामा आफू पछि रहेर परिवारका अरुको हाँसोमा आनन्द माने होलान् । यतिखेरका पाका मान्छेले भोगेका जीवनका विविध आयाम, आफ्नो समाजको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणको उचनीच सबै भोग्ने भाग्यमानी न पहिले भए न पछिकाले भोग्ने छन् ।

पाका मान्छेमा विभिन्न शारीरिक, मानसिक कारण तथा उमेरजन्य पूर्वाग्रहले अरुका कुरामा ध्यान कम दिने वा एकाग्रताको अभाव भएको धेरै युवा-वयस्क उमेरका महिला-पुरुषले अनुभूत गर्न सक्छन् । मनोवैज्ञानिक कारणले वा मस्तिष्क सम्बन्धि रोग लागेर हुने बाहेक अरु खालका शारीरिक रोगव्याध र असामान्य अवस्था निम्तिँदा पनि त्यसो हुनसक्छ । पाका मान्छेमा उमेरिँदा सिमित परिवेशले एकाग्रता नहुने वा गर्न खोजे पनि मन तुलबुलिने र त्यसैको कारणले संस्मरणमा बाधा परिरहेको अवस्था रहेको हुनसक्छ । अनुभवका सागरबाट चाहिने कुरामात्र अघिसार्न छनौट प्रक्रियाको ढिलाई र समयक्रममा ओझेलमा परेका कुराहरू खप्टिएर मिसिई तलमाथि लागेर संस्मरण बिग्रेर पनि एकाग्रतामा असर परेको हुनसक्छ । पाको उमेरमा हुने अनुभूति उमेरले लिई आउने विशेष अवस्थाको उपज भएकालेनै अरु उमेरसमुहको ठम्याई र विवेचनाको परिधिमा नआएको भटिन्छ ।

उमेरिँदा पाका मान्छेलाई बेलाबेला बाधा दिई अल्झाउने केहि पारिवारीक कारणहरू पनि छन्ः निसन्तान हुनु, आफन्त कम हुनु, भएका सन्तान र आफन्त समृद्धिको नाममा एक बारको जीवनमा भन्दै सुख सुविधाकोलागि रैथाने ठाउँमा नहुनु आदि । आफ्ना नभएका पाका मान्छे एक्लो नभएर हाम्रोजस्तो सामाजिक दायीत्व नबोक्ने व्यवस्थामा कहाँ सरसहयोग र सामुहिक हितको आशा गर्नु त् ? प्राय असम्भवनै हुन्छ । त्यसैले पाका मान्छे एक्लै पर्दा आफूलाई हुने समस्याबाट पर हुन के, कसोरी गरे अलि राहत होला भन्ने बारे यसो पर्गेल्न प्रयाश गरौँ त, तिनले पो बिगारेका हुन कि ?

आफूले जानेकोभन्दा पृथकजस्तो परिस्थिति लागेर तपाईंलाई उमेरिँदा चाहिने वस्तु र सूचनाहरूमा आफ्नो ध्यान केन्द्रीत गर्न गाह्राे भएको छ भने सोच्दै नसोचेको कुनै समस्या आएको पनि हुन सक्छ । मानिसमा सामान्य उमेरिँदै जाने समयसँगै सोच्ने क्षमता र संस्मरण गर्ने सिपमा पनि परिवर्तन आइरहेको हुन्छ । वास्तवमा मस्तिष्क सम्बन्धि धेरै अनुसन्धानहरूले करिब ४५ वर्षको हाराहारीदेखिनै मानिसमा संस्मरण हराउने प्रक्रिया हुनसक्ने जनाएका छन् । यो उमेरमा भोगेका सूचनाहरू प्रशोधन हुन बेरलाग्ने भएर अल्पकालिन अवधिकालागि जम्मा भएका संस्मरणहरूमा थप सोचविचार र संयोजन हुननसकी गाँठो पर्छ । यसले पछि परन्तुसम्म कामलाग्ने गरेर स्थाई संस्मरणमा घटना र विषयवस्तुलाई मगजमा टङ्कण गर्न नसकि मस्तिष्कबाट विलुप्त हुन थाल्छन् । अहिलेका अनुसन्धान र हार्वाडका स्नायुप्रणाली अनुसन्धाताले ध्यान केन्द्रीत नहुने र संस्मरण हराउने क्षमतामा सुधारगर्न सकिने तथ्यहरू अघि सारेका छन् । मन तुलबुलिएर जतिखेर पनि छटपटिने र विषयवस्तुमा ध्यान नजाने र सम्झनै गाह्रो हुने अवस्थामा तपशिलका चार तरिकाहरूबाट सतर्कहुन जानेमा त्यस्तो लक्षण घटाई दैनिकी सुध्रने विश्वास गरेका छन् ।

१. तपाईंसग कोही नजिकै आएर कुरा गरिरहेको छ भने उसको अनुहारमा हेरेर उस्का कुरा सुन्न एकाग्र ध्यान दिनुहोस् । गफ गर्ने क्रममा कुनै कुरा बुझ्नुभएन वा सुन्नुभएन भने कुरा राख्नेलाई दोहोर्‍याउन, प्रष्ट्याउन वा बिस्तारै बोल्न भन्नुहोस् । तपाईं कुरागर्ने बाहेक अरुतिर ध्यान नदिनु होस् र बाधा परेमा बोल्नेको नजिकै जान र सुन्न काननै उतै तेर्स्याउनु होस् ।

२. तपाईंले सुनेका कुरा सम्झनयोग्य छन र भविष्यमा काम लाग्ने छन भने भनेको आफूले बुझिँ कि बुझिन जाँच्न उसैका अगाडी दोहोर्‍याउनु होस् । यसले हरेक कुरालाई भन्नेले भनेको वा सुनाउनेले सुनाएको जस्तो छ त्यस्तै सूचना संस्मरणमा राख्न सजिलो पर्छ । जस्तोः कसैले ‘राष्ट्रिय नाचघरमा १२.३० बजे नेपाली सिनेमा र राष्ट्रिय सभागृहमा १२.४५बजे चिनियाँ सिनेमा हेर्न सक्छौँ’ भन्यो भने, तपाईंले ‘कुन ठिक लाग्छ नाचघरको १२.३० कि सभागृहको १२.४५’, भनि प्रतिक्रिया दिनुपर्छ ।

३. तपाईंले कुरा गर्दा वा सुन्दा बेलबेला ध्यान वा कुराकानीनै बिथोलिने परिस्थिति छ भने सम्बन्धित मानिसलाई अलि शान्त वातावरण हुनसक्ने ठाउँतिर जान आग्रह गर्नुहोस् । जस्तोः बजार वा पसलको भिडभाडमा भेटिएकासँग कुरा गर्नुपर्ने भए बजार पर खुल्ला ठाउँ वा पसल बाहिर आई कुरागर्न खोज्नु होस् । भोजनालय र चमेनागृहमा कुराकानी गर्नुपर्ने अवस्था छ भने सकेसम्म अरुतिर कम देखिने भित्तातिरको बस्ने ठाउँ रोज्नुहोस् । मेला र सार्वजनिक हुलहाल हुने ठाउँमा कुरागर्न अप्ठ्यारो भए कुरा गरिनेको सल्लाहमा उसको वा आफ्नो घरमा बोलाउन सकिन्छ कि भनि जीकिर गर्नुहोस् । आफ्नो घरमा आउँदा वा उस्को घरमा जाँदा विषयको गाम्भिर्यता हेरेर परिवारले आई क्रमभङ्ग्ता गर्ने नपार्न अलग कोठा वा ठाउँमा कुराकानी गर्ने प्रयास गर्नुहोस् ।

४. दश ओटा कुरा सोचेर वा दशथरिको काममा एकै पटक हात नहाल्नुहोस्, त्यही अनुसार एक पटकमा एउटा काम बारेमा सोच्ने र अठोटेको फत्ते गर्ने सोच्नु होस् । सबै तत्काल चाहिने र पछि भएपनि हुने काम मिसमास नगर्नुहोस् बरू तत्कालमा गरिनु पर्ने काममा पनि प्राथमिकताको आधारमा पैट्याउँदै जानुहोस् । एकाग्र बन्न र अठोटेको कामबारेमा पुरै जानकारी लागुगर्न हरेक पटक एक काम गर्ने बानीलाई निरन्तरता दिनुहोस् । आफूले काम सुरु गरिसके पछि परिवारमा आकष्मिक पर्ने काम बाहेक अरु आग्रहमा आफ्नो काम सकेपछि गर्ने बचन दिनुहोस् । अरुलाई पनि काम गरिरहेको बखत बिचबिचमा टोकसीरहने बानी नगर्नु होस्, यस्तो व्यवहारले अरुलाई पनि बाधा पर्छ भन्ने बुझ्नुहोस् । आफन्त र साथीभाइको स्वास्थ्य अवस्थाबारेमा जानकारी राख्नुहोस्, भवितव्य हुनेबाहेक अरु बेला फोनका घण्टीमा ध्यान नदिनु होस् बरु गरिरहेकै काममा एकाग्र हुनुहोस् । हिजोआज फोनबाटै सम्चार पठाउने चलन पनि छ, फोन नउठाएमा फोन गर्नेले जरुरी भए सम्चार लेखेर पठाउन सकिहाल्छन्, के के न भनि फोन उठाउने उत्सुकता र हडबडी नगर्नु होस् ।

अरु कारणहरूः
पाका मान्छेलाई छटपटि गराउने मानसिक रोगजन्य कारणहरू बाहेक अरु शारीरिक कारण सामान्य लागे पनि अतिनै पीडादिने खालका केही पाइन्छन् । महिला र पुरुष दुवै पाका उमेरका मानिसलाई तपशिलका समस्याले थलै नपारे पनि कष्ट गराउँदै ध्यान बिथोल्न र पिरलोले अरु संस्मरण प्रति वेवास्ता भएको अवस्था सिर्जना गराई दिन्छन् । लामो अनुसन्धान र अनुभवले सिकाएका यी तथ्यहरू हार्वाड मेडिकल स्कूलका स्नायु र मस्तिष्कविज्ञ चिकित्सकहरूको रहेको छ ।

छाती पोल्नेः
मानिसको मुख र पेटको बीचमा झण्डै घाँटीको मुनिपट्टि पेटमाथि खाना नलीमा मांसपेशीको एउटा गोलाकार चुराजस्तो भाग हुन्छ र यसलाई पेटको भित्र जाने ढोका भन्न पनि हुन्छ । यो कमानीजस्तो मांसपेशी मुखबाट केही चिज तल जाँदा पेटमा जान खुल्छ नत्र कक्रेर साँघुरो हुन्छ । यो कसिलो हुन खोज्दा पेटमा गएको खानेकुरा र त्यहाँ निक्लेको अम्ल फर्केर घाँटीतिर जान रोक्छ, त्यसैले बल गरेर वान्ता गर्न खोज्दा पेटभन्दा माथितिर दुख्ने गर्छ । प्रायः अमिलो पानी मुखमा फर्किएर घाँटीसम्म पोलेको अनुभव हुँदा त्यो माँसपेशी बन्दहुने बेला खुल्ने वा बन्दहुँदा कस्सिलो भई बन्द नभएको हुनाले हो ।

सामान्य भाषामा छाती पोल्ने भनिने यो समस्याले धेरैलाई पिडा दिएको हुन्छ भने कतिले खानपानको परहेजले यसलाई तह लगाएका पनि छन् । यस रोगले दुख पाएकाहरू छटपटिएर कैयौँ घण्टा बेचैनीले रहेका र निमन गर्न धेरै खर्च गरेको कुरा गर्छन तर पनि आक्रान्त भईरहेकै पाईन्छन् । यो समस्या गरिब देखि धनि कहलिएका राष्ट्रका सबै खालका जनतामा पाईएको छ । हार्वाड मेडिकल स्कूलले त्यसैले छाती पोल्ने कारण, उपचार र नियन्त्रणका उपायबारेमा दिशानिर्देश गर्न पुस्तिकानै निकालेको छ । वास्तवमा त्यो पेटमाथिको माँसपेशीको कमानीलाई धेरै किसिमका स्नायुहरू र जैविकरस (हर्मोन)ले नियन्त्रण र प्रभावित पारिरहेको हुन्छ । त्यसैले खानाको प्रकार, ओखतिको प्रतिक्रिया, भावनात्मक अवस्थाको कारणले साथै चिन्ता, रिस र झञ्झट आइलाग्दा त्यो कमानीको काम असामान्य बनाइदिने हुन्छ । त्यस अवस्थामा त्यस ढोकेकमानीको काम उपयुक्त किसिमले हुँदैन र पेटको अमिलो फर्किएर झनबढि पोल्ने हुन्छ । यस समस्याले पाका मान्छेलाई अल्झाएर एकाग्रहुन दिँदैन, यसको निराकरणका लागि तपाईं हामीले केही गर्न सकिने उपाए व्यवहारमा ल्याएमा यसलाई सधैँको लागि नियन्त्रण पनि गर्न सकिन्छ ।

खानेकुराः
१. अमिलो पानी हुलुकहुलुक आउने र छाती पोलेको अनुभव हुनेले कफि, चिया, कोक, क्याफिन मिसिएका र ग्यास भएका पेय पदार्थ पिउनु हुन्न । तिनले त्यो अमिलो फर्कन रोक्ने ढोका कमजोर बनाई दिन्छन् र पेटमा अमिलो पनि बढी उत्पादन गर्न उत्तेजित पार्छन् । खानापछि प्राय मिठाई, चकलेट र सित्तलगेडी खाने चलन प्राय भोजनालयको प्रचलनलाई घरघरमा पनि नक्कल गरेर अचेल गुलिया बरफ तथा केकहरू खाने गरिन्छ । यस्तो थप खाने कुराले त्यो पेटमाथिको ढोके मांसपेशी खुकुलो बनाईरहन सघाई अमिलो पानी फर्किननै मद्दत गर्छ र छाती पोल्न बढाउँछ । खानेकुरामा, भूटेका, तारेका र बोसो बढि भएका आकर्षक, चखिला पकवानले त शरीरलाई फाईदाभन्दा यस्तो समस्या बढाउन सघाउँछ । कतिजनालाई प्याज, लसुन, मसला र खोर्सानी बढिभएको खाना खानेलाई अमिलो पानी आउने र छाती पोल्ने बढि हुन्छ भन्ने अनुभव भन्छन् । कतिजनालाई अमिला जातका फलहरू, पुरानो अचार, गोलभेँडा खाँदा र बजारमा पाईने लेदो (सस) खानेकुरामा मिसाउँदा पनि त्यस्तो समस्या आएको भन्छन् । त्यस्ता खानेकुराले खाना नलीको भित्री भागलाई उत्तेजित पार्ने र त्यहाँको खाना घच्याडने मसिना चलायमान माँसपेशी समेतलाई बिगार्न मात्र लगाउँछ ।

२. खानाखाने तरिकाः
खाना के कस्तो खाने भनेजस्तै कसरी कति पटक खानु पर्छ भन्ने पनि महत्वपूर्ण हुन्छ । कतिजना ‘दिउँसो खाना खानै छ’ भनि बिहान लामै समय खाली पेटमा काम गर्ने गर्दछन् भने कतिजना ‘बेलुका खानै छ वा विशेष खाना खानु छ’ भनि दिनभरी निलार वा हल्का खाएर लामो समय भोकै बसी एकैचोटी धेरै खान्छन् । यसले पेटमा दबाव बढ्छ र कतिजना बान्ता गर्ने स्थितिमा पुग्छन भने कतिजना ढ्याउढ्याउ गर्दै अमिलो पानी आयो, छाती पोल्यो भन्दै गुनासो गर्छन् । कतिजना बेस्सरी खाएर पल्ट्यो भने पाचन राम्रो हुन्छ, जीऊ लाग्छ भन्दै ‘ढाडिएको जुको जस्तो’ खानासाथ पुर्लुक्क पल्टन्छन र घुर्न थाल्छन । यस्ता बानीहरू सबै छाती पोल्ने, अमिलो पानी आउने र अपचहुने बिभिन्न समस्याका कारक बन्न सक्छन् ।

३. धुमपानः
धुमपानमा विभिन्न थरिका चुरोट र बिँडीहरू तान्ने बानीले श्वाशप्रश्वास प्रणालीमा मात्र होइन पाचन प्रणालीमा पनि असर गरिरहेको हुन्छ । मुखले तान्दा बलेर तिनबाट निस्केका निकोटिन तथा पहेँलो कसले ओठ, दाँत, जिब्रो र घाँटी मज्जैले खराब गरिरहेको हुन्छ भने अरु चिज खाँदा यी अङ्गबाट धुमपानका खराब तत्वहरू पाचनप्रणालीमा तलतिर जान्छन् । यस्तो अवस्थाले पुरै प्रणालीमा असर गरिरहेको हुन्छ र धेरै धुमपानले धुवाँ सँगसँगै हावा पनि फोक्सो र पेटतिर जान्छ । यस प्रक्रियामा फोक्सो खराब हुने त छँदैछ, पेटमा दबाव परिरहेको हुन्छ र पेट माथिको नियन्त्रणगर्ने कमानी मांसपेशीमा असर भई खुकुलो हुन्छ । हो, यही कारणले अमिलो पानी आउने र छाती पोल्ने प्राय सबै धुमपान गर्नेले भन्ने ‘गनगन’ हुन भने ‘बच्चैदेखि तान्ने गरेको अब मर्ने बेला यही त एउटा मन भूलाउने साथी छ’ भन्ने पाका मान्छेको त दैनिक औडाह यसैले हो । चुरोटबिँडीको कस कति हुन्छ भन्ने त मुट्ठी पारेर सेवन गर्नेका हात होर्नोस त कस्तो पहेँलो राँटा हुन्छ ? अनि दाँत, ओठको कुरुपता स्वासको गन्ध कसलाई मनपर्ला ? दैनिक काँचो पात वा सूर्ति गिजामा च्याप्ने अम्बल प्रेमीहरूले त अप्रत्यक्ष फोक्सोलाई असर गरे पनि पाचन प्रणालीमा त सोझै खराब असर पारेकै हुन्छन् । धुमपानका अम्बलीलाई जे खाने कुरा पनि बेस्वादका लाग्ने कारणबाट त्यसको असर पाचन र स्वास प्रणालीमा कति होला सहजै अनुमान गर्न सकिन्छ ।

४. मोटोपनः
‘डम्मको ज्यान, घ्याम्पोजस्तो पेट, हेर्दै हाकिमजस्तो’ भन्ने जमाना अब रहेन, त्यस्तो शरीरलाई उचाईअनुसार तौल बढी भए मोटोपन वा मोटापा भनि ‘धनीको दरिद्र शरीर’ भनिन्छ । यस्तो शरीर धेरै रोगहरूको घर हो भने पाचन प्रणालीको प्रक्रिया बिगार्ने त छँदैछ, छाती पोल्ने पनि यस्तो मान्छेलाई सजिलै हुन्छ । मानिसको तौल चाहिनेभन्दा जति बढदै जान्छ उति अन्य प्रणालीमा नकारात्मक असर गर्छ र पाचन प्रणाली बिग्रने तथा छाती पोल्ने दैनिकी बन्दछ । धेरै खाना खाने पाका मान्छेका त खानाको दबावका कारण पेटमाथिको ढोकेकमानी कमजोर भई मुखतिर खाना उल्टाउने सामान्य हुन्छ । अनि दिनभरि पाका मान्छे यसै विषयमा दिक्क मान्दै केबल छाती पोलेको, छटपटी भएको भन्दै नयाँ कुरा र पुराना संस्मरण बिर्सन थाल्छन् ।

५. केही ओखतिः
बिभिन्न रोगहरूमा रामवाण साबित भएका दुखाई कम गर्ने र परजीवि प्रतिरोधि (एण्टिबायोटिक) ओखति धेरै कडा हुने भएकाले प्रयोग पछि लगत्तै अम्लविरोधि ओखति पनि खान चिकित्सकले सल्लाह दिन्छन् । महिलाहरूको परिवार नियोजनका खाने ओखति, रजोनिबृत्त पछि जैविकरस नियमित गर्न दिइने प्रोजेष्टेरोन जस्ता ओखति आवश्यकता अनुसार प्रयोग गर्नै पर्ने भए पनि तिनले छाती पोल्ने र अमिलो पानी फर्किने लक्षण देखाउँछन् । ज्वरो, औडाहा र दुखाईमा सामान्यतया प्रयोग हुने एस्पीरीन, ब्रुफेन, नाप्रोक्सेनले पेटको भित्री रुमाले र चिप्लो सतहमा असरगरी उत्तेजित गराई रगत निस्कन सक्छ भने हाड खिइने बिरुद्धको ओखतिले घाँटीमुनिको खाद्यनलीलाई उत्साई घाउ गराउन सक्छ । चिन्ताविरोधि, निद्रा लगाउने र शरीर शिथिल गराउने ओखतिले पेटमाथिको ढोकेकमानी लुलो बनाई फर्किन सक्ने अम्लीय पदार्थ घाँटीतिर आउन रोक्नै सक्दैन । त्यसपछि छाती पोल्ने र अमिलो पानी हुल्कने भएर पाका मान्छे एकाग्र हुनुको साटो छटपटिने र त्यसैमा पिरलोगरी पुराना कुरा बिर्सने हुन थाल्छन् । उनीहरू ‘रोग जाला भन्यो झन बल्झीबल्झी पो आउँछ, जे खाए पनि भएन, के हिरा खानु अब ?’ भन्दै मनचित्त खाली पिरलोमा लगाई सारा अनुभव बेकामे बनाउँछन् ।

मुत्र प्रणालीका समस्याः
पाका माहिला र पुरुषको केहि अरु शारीरिक समस्या नभएपनि उमेरिँदा मुत्र समस्या नभएका विरलै पाइन्छन् । कतिपयलाई मधुमेह र अरु रोगका किटाणु संक्रमणका कारण पिसाब फेरिरहनु पर्ने, ननिख्रने, चुहिने, पोल्ने र प्रणालीमा नै असर भएर विविध समस्या भएकाले जति खेर पनि पिसाबकै चिन्ता गर्दै बित्छ । पिसाब थैली दुखेर अनियन्त्रित भएर थाहै नपाई चुहिने, फेर्दा पोल्ने, सिद्धियो भनि उठ्दा थोपा चुहिने र तुरुरु हुने पनि हुन्छ । घरमा त भएदेखि भित्री कपडा फेर्न सहज हुन्छ, बाटोघाटो र सभासमारोहमा पिसाब लाग्दा फेरेर उठदा धारा लागि बाहिरी कपडामै देखिने हुन्छ । राति पनि बारम्बार निद्रा खल्बलिने गरि पिसाब फेर्न उठिरहनु पर्ने भएर पाका मान्छे मानसिक तनावमा पर्ने त छँदैछ, निद्राको धङधगीले शौँचालयमा लडन बेर लगाउन्नन् । त्यसैले पाका मान्छे सार्वजनिक ठाउँमा जान र आफ्नो घरबाहेक अन्यत्र बास बस्न रुचाउन्नन् । त्यस प्रकारको समस्याले पाका मान्छे त्यहीमा मात्र केन्द्रीत भई मनोदशानै बिग्रने अवस्थामा पुग्छन भने घुमफिर गर्ने आँट गरेपनि पिसाबको अनियन्त्रणले लुगामा एक प्रकारको हरक आएर लज्जाबोध भई ग्लानीमा पर्छन । अहिले बिज्ञ चिकित्सकहरूले ओखति र पिसाब फेर्ने तरिका र तालिका पच्छ्याउन सिकाउने कुरा हार्वाडको विशेष स्वास्थ्य प्रतिबेदनमा उल्लेख गरेका छन् ।

अमेरिका मात्र करिब ३२० लाख मानिसमा पिसाबका समस्या देखिएको प्रतिवेदन छ भने जनस्वास्थ्यमा त्यति सहज व्यवस्था नभएका मुलुकका जनतामा कति समस्या होला ? हिजोआज ओखतिको नियमित सेवन बाहेक प्राकृतिकरुपमै पिसाब थैली र मुत्र नलीलाई बलियो बनाउने तरिका बारेमा विभिन्न अभ्यास गराउने गरिन्छ । त्यसमध्ये पिसाब फेर्ने समय तालिका प्रयोग भई कम्मरको व्यायामले पाका मान्छेले धेरै मात्रामा राहत पाई र आफ्नो ध्यान सिर्जनात्मक काममा लगाएका छन् । मुत्रथैली र नलीको तालिम क्रमैसँग निम्नलिखित गर्दा समस्यामा राहतहुने र रोग निकोहुने साथै पाका मान्छेका एकाग्रता तथा संस्मरण प्रक्रियामा ध्यान केन्द्रीत गर्न सहज हुने अनुभवीहरूको रहेको छ ।

अभ्यासः
दिनभरिमा कति पानी पिइयो भन्ने कुरा पिसाबका समस्या भएका हरेक पाका मान्छेले लिखतको एउटा भौचर बनाएर राखौँ । त्यसपछि बिहानदेखि कुनकुन समयमा पिसाब फेर्न मनलाग्यो र फेरी सकेपछि निख्रियो भनेर उठ्दा कति पटक कति मात्रामा चुहियो भनेर प्रष्ट लेखौँ । दिनमा कति समयको अन्तरालमा कति पटक पिसाब भयो र दुई पटक बिचमा कति समयको औसत दुरी रह्यो ? समय हिसाब गरौँ । औसत समय निर्धारण भएपछि त्यो समयलाई मानक बनाउँ र त्यसमा १५ मिनेट थपेर मुत्रथैलीको सहन क्षमता बढाउन कोशिस गर्नुहोस् । अर्थार्त एकएक घण्टामा पिसाब लागेको छ भने अब एक घण्ट पन्ध्र मिनेटमा फेर्न जान कोशिस गर्नुपर्‍यो ।

तपाईंको अभ्यास सुरु भएको दिनमा बिहान पिसाब निख्रने गरी गरिसके पछि अब तपाईं आफ्नो तोकेको सबाघण्टाको समय भएपछि मात्र जानुहोस् । पहिलापहिला तोकेको समय नपुग्दै पिसाब लागेमा र जानैपर्ने भएमात्र जानुहोस्, सकेसम्म रोक्नुहोस्, पहिलो पल्टको फेर्ने दबाव मुत्रथैली नभरिँदै भएको हुन सक्छ । तपाईंले मन कतै भूलाएर भएपनि पिसाब लागेको दबावलाई बेवास्तागर्न कोशिसगरेमा मुत्र प्रणालीका माँसपेशी कसिलै रहन सक्छन र पिसाब रोकिन सक्छ । यस बिचमा कम्मर वरपरको माँसपेशी र फिला हललाउने व्यायाम गर्ने कोशिस गर्नुहोस् । त्यतिगर्दा पनि पिसाब चुहिनै खोज्यो भने नहतारिकन बिस्तारै शौँचालय जाने बानी गर्नुहोस्, यसले तपाईंको पिसाब जम्मागरी राख्ने मुत्रथैलीमा क्षमता बढछ ।

उपरोक्त क्रमबद्ध व्यायामले पिसाब रोक्ने र नियन्त्रणगरी आफ्नो अनुकुलमा शौँचगर्ने बानी लाग्दै गएमा हरेक दिन पिसाब फेर्ने समयान्तर पन्ध्र मिनेट थप्दै जानुहोस् । हफ्तौँको यस्तो व्यायामको अभ्यासले तपाईंको दुई पिसाबको बिचमा समयान्तर निकै बढने छ, यो मुत्र प्रणालीको मजबुतीको सकारात्मक लक्षण हो । पहिले अभ्यास सुरुगर्दा र अहिलेको पिसाब फेर्न मनलाग्ने समयको अब तुलना गर्नुहोस्, पक्कै पनि समयान्तर बढेको र अन्य समस्या घटेको पाउनु हुनेछ ।

अन्त्यमा,
पाका मान्छेमा उमेरजन्य कारणले पनि विभिन्न शारीरिक प्रणाली कमजोर भएका हुन सक्छन् । उमेरिँदा रोगव्याधले सङ्क्रमण गरेको पनि हुनसक्छ । पाको उमेरमा आफ्नो अनुभव, ज्ञान र सिपको भरपुर प्रयोगगरी बहुजनहितमा सर्वसाधारणलाई फाइदा पुग्ने काममा लाग्नुपर्नेमा आफ्नै सामान्य समस्याले एकाग्रता भङ्ग भएर नीजि अनुभवसम्म बिर्सने अवस्था ल्याउनु हुन्न । सधैँ आफ्नै गनगन र अप्ठ्यारो सुनाउन अभ्यस्त पाका मान्छेबाट अरु सबै उमेरसमुहका मानिस अझ पाका हुन बाँकी मानिस त टाढिन मात्र खोज्छन् । पाका मानिस सबै उमेरसमूहका लागि मानिला, गुनिला र नजिक पार्न मनलाग्ने हुनुपर्छ, नाक खुम्च्याउँदै परपर भाग्ने त हुनु भएन नि ! त्यस्तो भएमा पाका मान्छेमा एक्लोपनले गाँजेर संस्मरण हराउने बिर्सने रोगले ठाउँ पाउँछ, अनि ज्ञान र सिपको पुस्तान्तरण कसरी होला ? मानव समाज पाका मान्छेलाई अलग्याएर अघि बढ्दैन भन्ने सबैलाई थाह छ र यस काममा अरुले मात्र आदरपूणर् व्यवहार गरेर हुँदैन पाका मान्छे आफैँ पनि सचेत र जागरुक हुनुपर्छ, है !

०००
३ वैशाख, २०८१
चालिसे डाँडा, ललितपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिँदा हिँड्ने र लड्ने समस्या !

उमेरिँदा हिँड्ने र लड्ने...

डा. मुकेशकुमार चालिसे
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे