सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उमेरिँदा हिँड्ने र लड्ने समस्या !

एउटा लौरो लिएर हिँँड्दा बदमासी गर्ने छोडुवा कुकुर र वस्तुभाउको डर पनि भएन भने आफ्नो ज्यानको सुरक्षा त छँदैछ । पाका मान्छेको लागि अपरिहार्य भनेर त टेक्ने लट्ठीलाई यतिविधि बखान गरिएको छ, ‘यो मेरो टेक्ने यो मेरो छेक्ने, परिआएमा पुर्पुरो सेक्ने ।’

Nepal Telecom ad

डा. मुकेश चालिसे :

Dr Mukesh Kumar Chalishe

मानिसहरू जन्मिँदा करिब करिब सबै गतिविधिमा परनिर्भर हुन्छन् प्रायजसो आमाको रेखदेखमा रहन्छन् । परिवारको अवस्था अनुकूल आर्थिक अवस्था राम्रो हुँदा, आमाको स्वास्थ्यले नसक्दा र बच्चाको रेखदेख गर्नैपर्ने भएमा दधा वा धाई आमाको व्यवस्था पनि गरिएको हुन्छ । प्राय छआठ महिनापछि बालबालिका बामे सर्दै हिँड्न अभ्यास गर्छन भने बिस्तारै दुई खुट्टाको भरले हिँड्न लाग्छन । यो बेला बालबालिकाले पछ्याएर हजुरबाआमासँग डोर्‍याएर त जत्ती हिँडेको रहरलाग्दो दृश्य धेरैका जीवनका उल्लेखनीय घटना पनि बनेको हुन्छ । हिँड्न सिक्ता र सानै उमेरमा गोडा दह्रा नभएर र शरीरको सन्तुलन राख्न सिकी नसकेको उमेरमा साथै अलि ठूलो हुँदा खेलकुद प्रतिस्पर्धामा उनीहरू लड्न सक्छन् । यस्ता उमेर समूहमा रहेका सबैजसो लडेमा आफूलाई सम्हाल्ने हुनाले चोटपटक पनि कम लाग्नसक्छ र सक्ने चाहीँ उठेर धुलो टकटक्याई हिँड्न सक्छन् ।

शरीरका अङ्गहरू जन्मदेखि काम गरेका, उमेर अनुसार सशक्त भएका र पछि विकसित भएका पनि हुन्छन् । पछि विकसित भएका एक समय पछि बिस्तारै निष्क्रिय हुन्छन् भने जन्मजात प्रणाली पनि त निरन्तरको कामले थाकेर पहिलाजस्ता रहँदैनन् नि । वास्तवमा उमेरिँदा शरीरमा आएका परिवर्तनलाई समयसापेक्ष पाका मान्छेले बुझ्नु पर्छ । यस्तो बेलामा वयस्क हुँदाको जस्तो शारीरिक अवस्था नहुनेले मानसिक अवस्था पनि खस्केको हेक्का राख्नै पर्छ । मानसिक रूपले आँट, जोश, जाँगर र सतर्कता हराउन थालेको छ भने शारीरिक रूपले कमजोरी भएको होला, आफ्नै अनुभवले पनि बुझ्नै पर्छ । पाका मान्छे हिँडडुल गर्दा थोरै असजिलोमा पनि लड्न सक्छन भने भर्‍याङ उक्लँदा घुँडा दुखेर ठसठस गर्नु र ओर्लँदा खुरमुरिएर ‘कति चाँडै तल पुगेँ’ भन्दै हात, गोडा र टाउकोमा गहिरो चोट देखाउन सक्छन । कति जना नुहाउन जाँदा वा शौचालयमा पानी पोखिएको भए जुत्ता चिप्लेर चोटपटक लाग्ने वा मस्तिष्क श्राव भई सदाका लागि पक्षघात वा मृत्यु भई परिवारलाई शोकमा पार्न सक्छन् ।

हिँडडुलका समस्या पाका मान्छे उमेरिँदा बढ्दै गएको हुनसक्छ र विभिन्न क्रियाकलापबाट देख्न सकिन्छ । हिँडडुलका समस्या भएमा बाँकी बचेको जीवनका सामाजिक सम्पर्कको पक्ष कमजोर बनेर जीवनयापनको स्तरमानै प्रभावित गरिरहेको हुन्छ । सबैमा एकै प्रकारका समस्या नभई चलखेलमा बाधा पार्ने कारण व्यक्तिपिच्छेका अलगअलग क्षमताका हुनसक्छन् । फटाफट हिँडन नसक्ने, हिँडदा शरीर असन्तुलित हुने, टाढाबाट हेर्दा मापसे गरेको जस्तो जिउडालको गतिविधि हुने, मण्टो, हात र गोडा काम्ने, आँटअनुसार अठोटे जति शरीरका अङ्ग र प्रणालीले काम नगर्ने आदि हुनसक्छन् । यस्ता लक्षणहरू वयस्क उमेरपछि बेलाबखत झस्काउने गरेर देखापर्न थालेछन् भने बेलैमा उचित औषधोपचार पहिल्याई व्यवस्थापन गर्न र गतिविधि सुधार्न विज्ञको सहयोग खोज्नै पर्छ ।

थप लक्षणहरूः
पाको उमेरमा हिँडडुल मात्र होइन ओच्छ्यानमै ओर्कीफर्की गर्न समस्या भएमा शरीर निष्क्रिय भएर बाँकी जीवन निरस भई विरहलाग्दो हुँदै जान्छ । हेर्दा हातगोडा सग्ला भए पनि विभिन्न रोग व्याध र असामान्य शारीरिक प्रणालीका कारण पाइलो सार्न गाह्रो हुने पाका महिला र पुरुष बिस्तारै परनिर्भर भई परिवारकै बोझ बन्न लाग्छन् । हिँड्न सक्दा पनि नियमित उस्तै चाल र गति नहुने, कुर्ची र सोफामा बसेर उठ्न खोज्दा जिउ नउठ्ने, अथवा एक्कासी झटका लागेझैँ पछारिने, हातगोडाका मांसपेशी कमजोर भई कैँडा लाग्ने, फर्किने, घुँडा जोर्नी दुख्ने र स्नायुप्रणालीनै बिग्रेकाहरूको त थप अरु समस्या पनि देखिन्छन् । कुनै पाका मान्छेमा समस्याहरूको विविधताले एकैपल्ट सबै प्रणालीमा प्रभाव परेर एकपछि अर्को लक्षण देखिने वा एकैपल्टमा शरीरको सबैतिर झम्टाई परेर गतिविधि विहीन एकै डल्लो पर्ने अवस्था आउनसक्छ ।

शरीरको कमजोरी र जोर्नीहरूको समस्या प्राय पाका मान्छे उमेरिँदा हुन्छ नै, यसैकारण उमेरिँदा उहाँहरू सामान्य अवस्थामा सानोतिनो अल्झोले पनि बङलङ्ग लड्नु स्वभाविक लाग्न सक्छ । पाको उमेरमा लड्नु भनेको जिउ थाम्न नसकेर पछारिनु हो, त्यसबेला एकातर्फ गहिरो घाउचोट लागेर दुःख पाउनु हुन्छ भने पाको ज्यानमा चाँडै निको नहुने पनि हुनसक्छ । अर्को तर्फ यदि लड्दा टाउको ठोकियो भने मस्तिष्क श्राव हुने खतरा हुन्छ भने दिमागमा गहिरो चोट परेर विचेत अवस्थामा धेरै दिन बित्न सक्छ । होस फक्र्यो नै भने प्राय पक्षाघात हुने खतरा उत्तिकै हुन्छ भने त्यसको घातले बिरामी धेरैजसो विस्मृत्ति र उन्मादमा जाने खतरा पनि त्यतिकै रहन्छ । लड्दा अझ कति पाका मान्छेको कम्मरको हाड र जोर्नी भाच्चिएर निको हुन ढिला भएर पाङ्ग्रे कुर्सीको सहाराले गतिविधि गर्ने बनाउन सक्छ ।

चिकित्सकले प्राय मुटु, कलेजो, मिर्गौला र फोक्सो जाँच्न त अघि सर्छन तर कतिको हिँडडुल गर्नुहुन्छ भनेर पाका मान्छेलाई सोध्दैनन् । सामान्य कुर्सीमा उठबस गरेर गोडा र कम्मर कत्तिको स्वस्थ्य छ हेर्न सकिन्छ भने हिँडाईमा लरबरिने खतरा भएको करिब दश फिटजती सोझो हिँड्न लगाएर जाँच्न सकिन्छ । यस्तो अभ्यास आफैँले गरेर पनि पाका उमेरिएका मानिसले शारीरिक स्वजाँच गर्न सकिहाल्नु हुन्छ । एक सेकेण्डमा तिन फिटभन्दा बढी हिँडे वा पाइला चाले गोडा र कम्मर ठिक भएकाले हिँडाई ठिक भनिन्छ तर कम हिँडेमा समस्या भएको अनुमान हुन्छ । अलावामा विश्वविद्यालयका अनुसन्धाताको सल्लाहमा हिँडाईमा समस्या साधारण दुईवटा प्रश्नावली सोधेर थाहा पाउन सकिन्छ । दश खुड्किला उक्लँदा र ओर्लँदा घुँडा दुख्ने वा हुत्तिने हुन्छ कि हुन्न ? लगातार दुईतिन हजार पाईला एकै चालमा हिँड्न सकिन्छ कि सकिन्न ? यदि यी दुवै प्रश्नमा सकिने भन्ने छ भने समस्या आइसकेको छैन, होइन भने समस्या आइसकेको वा आउन लागेको जानकारी पाइन्छ ।

हिँडडुल गर्ने र पछारिनबाट जोगिनेः
उमेरिँदा शारीरिक र मानसिक कमजोरी सबैजसो आर्थिक स्तर भएका मानव समुदायमा प्राकृतिकरूपलेनै भएको पाइन्छ । यस उमेरसमूहमा पुग्दा थाकेका शारीरिक प्रणालीका कारण हिँड्न लरबरिनु र सामान्य अल्झोले पनि लड्नु सामान्य हुन्छ । त्यसबाट पाका मान्छेलाई बचाउनु उहाँहरूको स्वास्थ्यको लागि मात्र होइन परिवारको जिम्मेवारी र कर्तव्य भित्रनै पर्दछ ।

सक्रिय दैनिकीः
पाका मान्छे उमेरिँदा मानसिक वा शारीरिकरूपमा हरेक दिन सक्रिय रहने कोशिश गर्नैपर्छ । जति धेरै गतिविधि गर्‍यो, त्यति धेरै शारीरिक-मानसिक अभ्यास बढ्छ र उमेरिँदा तरोताजा रहने बानी लाग्दछ । धेरै व्यायाम नगर्ने वा गर्नु नपर्ने उमेरमा सामान्य जिउ तन्कने व्यायाम गर्नु राम्रो हुन्छ भने शरीरका सबै अङ्ग र प्रणाली हल्लिने वा सक्रिय हुने अवसर हिँडेर भएपनि दिनै पर्छ । यसले शरीरका जोर्नी र मांसपेशीलाई खुकुलो बनाउन मद्दत गर्दछ भने गतिविधिको क्रममा भेटिएका भद्र जनहरूसँगको कुराकानीले उमेरिँदा अनुभव आदानप्रदान भई फाइदा नै पुग्दछ । नियमित हिँड्ने बानीले बिग्रन लागेको शारीरिक सन्तुलन र लरबरिने प्रक्रियामा सुधार भएर उमेरिँदा धेरै दुःख पाउनु पर्ने छैन ।

ठिक्क तौल र खानाः
उमेरिएका पाका मान्छेले आफ्नो शारीरिक तौल चिकित्सकले उमेर अनुसार हुने भनिएको जतिनै कायम राख्नु पर्छ । सकेसम्म भनिएको भन्दा अलिअलि कम तौलले हानी कम होला तर बढी त बनाउनै हुन्न, अछन्द्याईलो पेट भुक्क र बोसोको खात जिउमा लगाउने नै होइन । यस्तो उमेरको मोटोपन रोगको मुहान नै बन्न सक्छ, समयमै होश गर्नुपर्छ । पाका मान्छेलाई ‘अब कति बाँची हाल्लान् र ? कति खुवाउन पाइएला र ?’ भन्ने भावकासाथ मानमनितो हुने र जतासुकै भेटघाटमा विभिन्न तेलजन्य र मिष्टान्न खाना खुवाउन हौसिने चलन छ । त्यस्ता व्यवहार गरी हामीले पाका मान्छेको हित गरिरहेका हुँदैनौँ भने पाका मान्छे आफैँ पनि ‘मानगरेर, मायागरेर, झुराएर दिए’ भनि अपवितो खान लाग्नु हुन्न । ‘यसले फाइदा गर्दैन वा पचाउन सक्दिन’ भनी मन राख्न एकदम थोरै गरिष्ट कुरा लिए पनि सकेसम्म सादा खानेकुरा रोज्नु पर्छ । खाना जथाभावी नभएपछि अतिरिक्त बोसो लाग्न पाउँदैन र शरीर बढी तौलको नभए हिँडडुलमा सहज हुन्छ । पाको उमेरमा हात्ती लस्के जसरी होइन मृग दौडेझैँ दौडने फूर्ती भएमा निरोगी हुन सघाउँछ भने कम तौलको बोझ शरीरका जोर्नी र हाडलाई भार नभई खपालु हुनसक्छन् । बढी तौलकै कारणले कतिपय पाका मान्छेमा घुँडा र जोर्नी दुख्ने समस्या हुन्छ र हिँडाई बिग्रन्छ ।

ओखतीको प्रभाव हेरौँः
ओखतीको मात्रा शरीरको तौल र स्वास्थ्य अवस्था हेरेर निर्धारित भएको हुन्छ । पाका मान्छे आफू खुशी वा चिकित्सककै सल्लाहमा उमेरजन्य देखा परिरहेका विभिन्न रोगका ओखती सेवन गरिरहेका हुन्छन् । कहिलेकाहीँ ओखतीले छोएन भनेर बढि मात्रा सेवन गरिएको हुनसक्छ भने कहिले पाको उमेरमा दिइने ओखती बढी असरदार भई लट्ठ्याउने, झुम्म पार्ने र शिथिल बनाउने हुनसक्छ । त्यस्ता ओखती सेवनगर्नेले असर बाँकी रहँदै गतिविधि गरिहाल्नु हुन्न । अनिद्रा, बिर्सने र उन्मादको ओखती बेलुका खानेले सखारै धेरै क्रियाकलाप नगर्न सक्छन, फेरी धन्मनाउँदै काम गर्न लगाउनु वा खोज्नु पाका मान्छेको हितमा पनि हुन्न ।

काम गर्न करगरे गर्न त सकिएला तर बङलङ्ग लडेमा त खतरा बढी हुनसक्छ, नगर्नु राम्रो । आफूले प्रयोग गर्ने ओखतीले खाएपछि बारम्बार त्यस्तै असर गर्छ भने चिकित्सकले मात्रा घटाइदिन सक्छन । एकजना पाका मान्छे बोसो नबढाउने, मिर्गौला बचाउने र दुबी हटाउने ओखती हप्तामा एकफेर खाने र असरले खाएसँगै दुईदिन पेट फुलेर सुत्थे । चिकित्सकलाई भनेर मात्रा वा ओखतीनै घटाउने सल्लाह दिँदा ‘ओखती त खान छोडदिन फेरी डाइलाइसिस गर्नुपर्छ, मिर्गौला फेर्नुपर्छ, कस्ले मिर्गौला दिन्छ, बरु खाना कम खान्छु’ भनी डराउँथे । आखिरमा कलेजो बिग्रिएर पानी भरिएर पेट फुलेर देहावसान भए, बेलैमा परामर्श लिएको भए भर्खर पाको उमेर लागेका उनी बाँच्न सक्थे होलान् ।

अल्झो हटाऊँः
पाका मान्छे लरबरिने वस्तु छरपस्ट भई हिँड्दा अल्झाउन सक्ने भएमा हटाउनु कल्याण हुन्छ, सामान्य अल्झोले ज्याननै बेमाख हुनसक्छ । पाका मान्छेले प्रयोग गर्ने शौँचालय र हिँडडुल गर्ने भर्‍याङमा रबडका खस्रा लम्पट ओच्छ्याई दिएमा खुट्टा चिप्लने सम्भावना कम हुन्छ । शौचालयमा शौच गर्न बस्ने र स्नानगारमा स्नान गर्ने आसन घुँडालाई बल कम पर्ने अग्लोखालको हुनुपर्छ भने हातले समात्न भ्याइने ठाउँमा बलिया टल्कने फलामे डण्डी जडान गरेको हुनुपर्छ । पाका मान्छेले प्रयोग गर्ने चोटा कोठामा कार्पेट खुकुला, भुवा आएर धागिएका र तारहरू खुला नसङ्लिएको अवस्थामा राखिनु हुन्न । रातमा सजिलै प्रयोग गर्न मिल्नेगरी सुत्नेकोठा, शौचालय र आवश्यक भागमा प्रष्ट उज्यालो पारिनु पर्छ, पाका मान्छेलाई छामछाम-छुमछुम गर्ने अवस्था आउने घरमा चाँडैनै दुर्घटना हुन्छ भनेर जाने हुन्छ । राति गल्तीले बाआमाले बिजुलीको प्वालमा हात हाले के होला ?

हिँड्ने सहयोगीः
सकेमा पाका मान्छेको हिँडडुलमा सहयोगी बलियो मान्छेनै राखिनु राम्रो हुन्छ, निर्जिव लौरोको तुलनामा जीवित मान्छेको मायालु हात कति न्यानो र आत्मिय सम्वेदनशीलता दिने हुन्छ ? सबैलाई थाह छ । कोही सहयोगी मान्छे नभए चिकित्सकको सल्लाहमा पाका मान्छेले हिँड्न सजिलो हुने सहायक सामाग्रीबारे सोधपुछ गर्नुपर्छ । शरीरको सन्तुलनको अवस्था र गोडाको जिउ थाम्ने बल हेरेर विज्ञले हिँडडुल गर्न एकखुट्टेदेखि चारखुट्टे लौरो वा कम्मरदेखि मुनी चलायमान नभए पाङ्ग्रे मेचको सल्लाह दिएका हुन्छन् । पक्षघात भएका मानिससमेत उपयुक्त सहायक सामग्रीको भरमा हिँडडुल गरिरहेका धेरै पाइन्छन् । शरीरको तौल र उचाई अनुसार सहायक सामग्रीको व्यवस्थाहुनु पाका मान्छेलाई हिँडडुलमा मद्दत गर्नु र कुँजिनुबाट जोगाउनु हो ।

आँखा कान स्वस्थ्यः
पाको उमेरमा आँखा कानका समस्याले पनि हिँडडुलमा कठिनाई भएको हुनसक्छ । आँखा कमजोर हुँदा अग्लोहोचो छुट्ट्याउन गाह्रो हुने हुन्छ भने त्यसैअनुसार मानसिकता भई गोडाको चाल बन्छ । कोठाकै चिजविज प्रष्ट नदेखेर अलमलिने हुन्छ भने बजारमा विभिन्न लेखिएका अङ्क र अक्षर नचिनेर व्यवहार गर्न मुस्किल पर्छ । आँखाकै कारण टाढा र नजिक छुट्ट्याइने हुँदा मोटरसवारी चल्ने ठाउँका पाका मान्छेलाई त आफ्नो गन्तव्यको सवारी खोज्न मात्र होइन दुर्घटनाबाट बच्न पनि आँखाको उचित दृष्टिशक्ति राख्नु आवश्यक बन्छ ।

कानको मन्द सुनाई वा नसुनाईले पाका मान्छे र वयस्कलाई पनि एकसुरे बनाईदिन सक्छ, अझ कानभित्र रहेको दमकमानीजस्तो शरीरको सन्तुलन राख्ने कोकलिया भनिने अङ्ग कमजोर वा बिग्रेमा त जोसुकै मानिसको हिँडाई धनमनिएको जस्तो हुन जान्छ । अरु उमेरसमूहलाई शारीरिक कमजोरी कम भएकाले त्यति दुर्घटना नहुन पनि सक्छ तर पाका मान्छेको त्यो हविगतमा साह्रै समस्यानै हुनजान्छ । आँखाकानका लागि विभिन्न स्तरका चस्मा र सुन्न मद्दत गर्ने कानमा लगाउने सामग्री अचेल प्रशस्त पाइन्छन, दमडी सङ्गालेर राखेको भए पाका मान्छे आफैँ विज्ञ कहाँ गएर जँचाई लिन सकिन्छ ।

उचित जुत्ताः
पाका मान्छेलाई हिँडडुलनै समस्या भएपछि जमिनमा जमोट गरेर टाँस्सिने दाँते तलुवा भएका नरम र सजिला जुत्ता चाहिन्छ भने धरमराउन थालेपछि त यस्तै जुत्ताबाहेक अरु लगाउने गर्नु हुन्न । अग्ला कुर्कुच्चे, चिप्ला र धेरै बेर तुना बाँध्न लाग्ने जुत्ता हुँदै हुन्न, सकेसम्म खुट्टा हुल्ने काने जुत्ता अलिकति खुकुलो नै गोडालाई ठिक हुन्छ । घरभित्र र बाहिर, ठाउँ र बाटो अनुसार सहयोगी हुने जुत्ता पाका मान्छेलाई व्यवस्था गरे लड्नेबाट जोगाउन धेरै मद्दत मिल्ने छ । मौसमअनुसार पनि पाका मान्छेलाई जुत्ता चाहिन्छ भने घरभित्रको दुर्घटना रोक्न शौँचालयमा नचिप्लने मोटा चट्टी राखिदिनु सुरक्षित हुन्छ । उमेर पाको हुँदै गएपछि गोडाका औँलाले अचेँटेर वा पाइतालाको बलले राख्नुपर्ने जुत्ता काम लाग्दैन, उल्टै औँलामै अल्झेर उमेरिएकालाई लडाइदिने पासो बन्न सक्छ । सकेसम्म लामो हिँडाईमा पाका मान्छेले नरम र धेरै नकस्सिने मोजा लगाउनु पनि मनासिव हुन्छ ।

सामाजिक होऔँः
पाका मान्छे उमेरिँदै जाँदा झन् बढी आफ्नै उमेरसमूहका बीच सामाजिक हुँदै जानु पर्छ । यसो हुँदा निहुँपिउँले घुमफिर गर्ने, भेटघाट हुने हुँदा पाका मान्छेका शारीरिक र मानसिक अवस्था सक्रिय हुन जान्छ र एकैठाउँ थुप्रिएर बिग्रेको हिँडाई सप्रिन थाल्छ । अचेल वडावडामा विविध कार्यक्रम हुन्छन् घरमा विरह गाएर बस्नु भन्दा खाईपिई त्यता गए नौला कुरा थाह पाइन्छ भने त्यही कारण हिँडडुल हुने र समान उमेरसमूहसँग अनुभव साटफेर हुने मौका मिल्छ । ज्येष्ठ नागरिकका लागि गरिएको कार्यक्रम त छोड्नै भएन, त्यसमाथि त्यस्ता कार्यक्रममा कहिलेकाहीँ सामूहिक व्यायाम, जलपान, भोजन, वनभोज, भ्रमण आदिको व्यवस्था गरेको हुन्छ । मौका परे र ज्यानले सके त्यस्ता सामाजिक होइन कार्यक्रम नछोड्दा पाका मान्छेलाई धेरै किसिमका शारीरिक र मानसिक फाइदा पुग्छ ।

आफूमा आइलागेका आफ्नै परिवारको हैरानी र पिरलो थाम्न नसकेर चिन्तित र उन्मादमा जानेजस्तो भएर हिँडाई बिग्रेका पाका मान्छेले विभिन्न ध्यान र विपश्यना केन्द्रमा मन एकोहोर्‍याउन जानु राम्रो हुन्छ । ध्यान एकाग्र हुँदा हिँडाईको तरिका र लरबराउने स्वभावमा परिवर्तन आई सुधार हुन्छ । पाका मान्छेका लागि गरिने स्वास्थ्य शिविरबारे पनि चनाखो हुनु उमेरिएका मान्छेका लागि फाइदा पुग्ने हुन्छ भने कतिपय त्यस्ता शिविरमा सहयोगी सामाग्री प्रदान गरिने पनि गरिन्छ ।

प्रष्ट हुनुहोस्ः
‘उमेर खाएको पाको भएपछि धरमराउनु स्वभाविक हो’ नभन्नु होस्, कुनै रोगको कैफियत हुनसक्छ । शरीरमा बाथ छ कि, बाथ पनि बढ्ने नबढ्ने हुन्छ, निको हुने नहुने हुन्छ भने खानपिन अनुसार र मौसमअनुसार च्याप्ने छोड्ने हुन्छ । आफ्नो हिँडाई र सन्तुलन बिग्रिएपछि विज्ञलाई देखाएर कारणको टुङ्गोगरी ओखती, हिँडाई तरिका र सहयोगी सामग्री चाहिने भए प्रयोग गर्न थाली हाल्नोस् । निको नहुने वा कम नहुने बिग्रेको हिँडाई भएको हो भने सहयोगी उपयुक्त लौरो लिएर हिँड्न लाज नमान्नोस्, लाज मानेर पट्ठोनै छु भनेर लौरो अप्ठ्यारो मान्ने एक पाका मान्छे पदयात्री हिँड्ने बाटोमा दुई पटक उत्तानो टाङ्ग लगाइसके, त्यसैले अचेल घरका एकजना साथ नलिई हिँड्ने गरेका छैनन् । धन्य, उनको घुँडाबाहेक छाती, टाउको र कम्मरतिर चोटपटक लागेन, नत्र मस्तिष्क घात हुन के बेर पाको उमेरमा ?

अन्त्यमा,
पाको उमेरमा वयस्कमाझैँ ठमठमी हिँडन गाह्रो हुनसक्छ, यो उमेरजन्य स्वभाविक प्रक्रिया भनेर उमेरिएकाले विशेष बुझ्नै पर्छ । कोही बलिया धनु भएका मानिस जति उमेरिँदा पनि कुप्रो पनि नपरेका र लौरो पनि टेक्न नपरेका हुनसक्छन्, यो बेग्लै कुरा भयो । अचानक उमेर नपुग्दै भवितव्यमा निधन हुने बाहेक सबैले लौरो टेक्ने उमेर आउने गर्छ, यसमा अप्ठ्यारो वा लाज मान्ने के कुरा भयो र ? अझ एउटा लौरो लिएर हिँँड्दा बदमासी गर्ने छोडुवा कुकुर र वस्तुभाउको डर पनि भएन भने आफ्नो ज्यानको सुरक्षा त छँदैछ । पाका मान्छेको लागि अपरिहार्य भनेर त टेक्ने लट्ठीलाई यतिविधि बखान गरिएको छ, ‘यो मेरो टेक्ने यो मेरो छेक्ने, परिआएमा पुर्पुरो सेक्ने ।’

०००
चैत्र २, २०८०
चालिसे डाँडा, ललितपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे