सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाका मान्छेमा घुर्ने समस्या !

वास्तवमा घुर्ने काम कसैले पनि नाक बन्द हुँदा, उमेर, वंशानुगत गुण, श्वासप्रश्वास प्रणालीका अङ्गहरूको असामान्यता र श्वासप्रश्वासमा भएको व्यवधानका आधारमा भएको हुन्छ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

मान्छेहरू आराम गर्न निदाउँदा श्वासप्रश्वास भित्रिने र निस्कँदा कसैले एक प्रकारको र कसैले फरकफरक आवाज निकाली श्वास फेरिरहेका हुन्छन् । सामान्यतया नेपालमा यसलाई घुर्ने भन्छन्, तराईतिर ‘ट्वँटा बजाइना’ भनिन्छ । घुर्ने काम कुनै नकुनै कुराले श्वासप्रश्वास प्रणालीमा बाधा लिएकाले हुन्छ भने खुलस्त भएको प्रणालीमा आवाज निकाल्ने अवस्थानै आउँदैन । पिनासको समस्या भएका वा मौसमी पराग र प्राकृतिक कणको प्रतिक्रिया हुने मान्छेलाई नाकको हावा जानेआउने नलीमा अवरोध भएमा श्वास लिँदा आवाज निस्कन्छ । नाकमा रहेका दुई प्वाल छुट्ट्याउने पर्दा बाङ्गोटिङ्गो र नाथ्रीको ग्रन्थीले हावालाई छेक्दा पनि आवाज निस्कन सक्छ । घाँटी, किलकिले र जिब्रोको मांसपेशी कमजोर प्रकृतिको हुँदा एकातिर लत्रक्क परेर रहँदा श्वासको हावा फोक्सोतिर जाँदा बाधा अडकाउ गराएमा पनि मानिसले घुर्न सक्छन् । अति मोटो मानिसमा घाँटीका मांसपेशी भ्यात्तपरी घाँटीको हावा छिर्ने प्वालमा बाधा भएर पनि कतिपय मोटा मान्छे मात्र होईन मोटा शिशुले समेत घुरेको सुनिन्छ । रुद्रघण्टी र जिब्रो भनिने मुखभित्रका अङ्ग ठूलो वा लुत्रुक्क पर्ने खालको भएमा हावा जाँदाआउँदा थर्किएर तालुतिर गई आवाज निकाल्न सक्छन् ।

मादक पदार्थ सेवन गर्ने वा मांसपेशी शिथिल गराउने ओखती खानेहरूको जिब्रो र घाँटीको मांसपेशी लुलो भएर पछाडी थुप्रिएर हावा आवागमनमा बाधा परी घुराई शुरु हुन्छ । उत्तानो सुत्नेले प्राय घुरेको सुनिन्छ भने ओल्टोकोल्टो सुत्दा र तकियाको मोटाई फरक पार्दा पनि घुराई हुने नहुने हुन्छ । अनिद्राको कारण घाँटीका मांसपेशी थाकेर तुन्द्रुङ्ग झोलियो भने पनि मान्छेले घुरेको सुनिन्छ । घुर्नु आफैँमा ठूलो समस्या र रोगनै हो भन्न सकिन्न, बरू कुनै रोगका कारणले घुर्ने हुनसक्छ भन्ने शङ्का गर्ने ठाउँ दिन्छ । यसको सबैभन्दा ठूलो समस्या घुर्ने मान्छेलाई भन्दा पनि सँगै सुत्ने साथी वा एकै कोठाका साथीलाई पर्ने असजिलो हो । धेरैजसो मानिस घुरेको सुन्दा आफू सुत्न सक्दैनन् र जाग्राममा पर्छन, नियमित यस्तो बाधाले निद्रा कचमचिएका मान्छेमा निद्राको धङधङ्गतीले बिगार गर्छ । त्यसैले नेपालीमा ‘एक रातको निद्राले सात रात पिर्छ’ भन्ने उखान त्यसै चलेको होईन निद्राबारे खास र गहन अध्ययनको फल हो भन्न सकिन्छ । घुर्नु हानिकारक त्यति नदेखिए पनि पर्याप्त निद्राको अभावमा दैनिकी अस्तव्यस्त हुनसक्छ भने चिन्ता बढने, स्वभावमा झर्को फर्को आउने र रिसले शारीरिक प्रणालीमा असर गरेर थप समस्या आउनसक्छ । त्यसैले घुरान गर्ने स्वभाव आफैँमा रोग नभएपनि रोग निकालिदिने कारक बन्नसक्छ, नियन्त्रणको उपाय गर्नु आफू र आफ्ना सहजीवन साथीकालागि सहयोगी कुरा हो ।

घुर्ने मात्रा र ध्वनि:
डा. मार्क कयेमका अनुसार घुर्ने आवाज र ध्वनीको मात्रा फरक मान्छेमा फरकफरक हुन्छ । सामान्य आवाजमा घुर्ने मान्छेले ५० देखि ८० डेसिवल (ध्वनी नाप्ने ईकाइ) ध्वनी निकालेको हुन्छ भने यो आवाज मानिसहरू बिच वादविवाद गरेजत्तिकै मात्राको सुनिन्छ । कसैको घुर्ने ठूलो आवाजमा हुन्छ, कोठामा धुलो सफागर्ने मेसिन (भ्याकुम क्लिनर) जस्तै कर्कश र नजीक भएकालाई एकछिनमा काननै टट्टाउने हुन्छ । धुर्ने आवाज ठूलोमात्र होइन फरक स्वर र तालमा कर्कश आवाज निकाल्नेले त कम उचाईमा उडेको हवाईजहाजको जस्तो १११ डेसिवल भन्दा बढि आवाज निकालेको पाइन्छ । कहिले सानो अनि कहिले ठूलो ध्वनीमा विविध आवाजमा घुर्दा एकै कोठाका मात्र होइन सँगै कोठाकाले पनि सुत्न नसकेर दुःख पाएको थुप्रै कथा नेपालमा पनि प्रशस्त सुनिन्छन् ।

घुर्ने अवस्था नाकको प्वाल बन्द हुँदा सबै मानिसहरूमा भएकै हुन्छ, तर पनि उमेरिँदा बिस्तारै मान्छेका यी प्वाल साँघुरिने हुँदा पाका मान्छे बढिी घुर्छन । मादक पदार्थ सेवन गर्ने र विभिन्न प्रणाली बढी उत्तेजित भई दुःख पाएकाले शिथिल बनाउने ओखती खानाले पनि मुख, नाक, जिब्रो र घाँटीका मांसपेशी शिथिल गराउने हुनाले घुर्ने हुन्छन् । मोटो गर्धन, जिब्रो लामो र रुद्रघण्टी ठूलो हुने मान्छे साथै खाना र श्वासको नली छुट्ट्याउने ढकनी भद्दा हुनेले पनि घुर्ने गरेको पाईन्छ । जन्मने समय पुरुष लिङ्ग निर्धारण भएका, वंशानुगत चरित्र, चिसोको प्रकोप भइरहने, पिनासका समस्या भएका, गर्भवति महिला, महिनावारी सुकेका महिला, अति मोटा मान्छेहरू सामान्यतया घुर्छन् । नाक बन्दहुँदा ससाना बालबालिकासमेत घुरेको सुनिन्छ । घुर्ने तरिका र उत्पत्ति विषयमा अनुसन्धान भएकाले बिभिन्न घुरानका प्रकार छुट्ट्याउन सकिन्छ । त्यसै अनुसार अहिले नाकको घुराई, मुखको घुराई, जिब्रोको घुराई र घाँटीको घुराई ठम्म्याएर तिनको नियन्त्रणका उपायहरू अघि बढाउन सकिन्छ । हुन त घाँटी पछाडी रहेको नरम तालुको कारण घुर्ने स्वभाव पलाएको भए पनि अरु भागको मद्दतले घुर्ने काममा बढोत्तरी भई शारीरिक समस्या हुने भनाई धेरै विज्ञहरू लगायत हार्वाड मेडिकल स्कुलको छ ।

नाकको घुराईः
नाकको प्वाल छुट्ट्याउने कुडकुडे हाड र माथिल्लो भित्तो कुनै कारण बाङ्गोटिङ्गो वा श्वासफेर्दा हावा रोक्ने खालको पर्‍यो भने नाकको नियमिततामा बाधा भई आवाज निस्कन सक्छ, यही हो विभिन्न मात्राको घुराई । शारीरिक कारणबाहेक सिँगान भरिएर नाक बन्द हुनु, चिसोले नाक भरिनु, धुलो अडकिएर नाक बन्द हुनु, ओखतीको कारणले नाक बन्द हुनु साथै विभिन्न प्रतिक्रिया भएर नाकबाट हावा भित्रबाहिर गर्न समस्या हुँदा बल परेर घुर्ने हुन्छ । मान्छे सुतेको बेला हरेक प्रणाली शिथिल (आराम) अवस्थामा रहेको जस्तै नाकका मांसपेशीहरू र नाथ्री पनि आरामीमा भएकोमा श्वासप्रश्वास हुँदा हावाको मात्रा, मांसपेशीको थर्कन र मानिसको मोटाई अनुसार हावानलीमा कम्पन गराउँछ । त्यसै विविधता मुताविक कसैको परेवा घुरेको जस्तो, कसैको सुशेलेको जस्तो, कसैको सिट्ठी बजाए जस्तो, कसैको बिरालो घुरेको जस्तो त कसैको चितुवानै डुक्रेको जस्तो घुरेको आवाज आउँछ । एकोहोरो घुराई त सह्य होला, निद्रा पर्ला तर आवाजको विविधतासँगै लयको उतारचढाव सबैभन्दा बाधा दिने र निद्रा कचमच्याउने खतरनाक हुन्छ । कोरोना महामारीको बेला नाक बन्द भएर रातरातभर सुत्न नसकेका थुप्रै मान्छेले पछि नाक खोल्ने ओखतीले पार पाएका धेरै घटना धेरैलाई थाहै छ । नाक खोल्ने झोल आयुर्वेदमा मृगमदासब र षडबिन्दु तेल त्यसबखत धेरैले चर्चागरेको ओखती थियो भने घरायसी तोरीको तेलले पनि कतिले नाक खुला पारेको कथा अझै सुनिन्छ ।

निराकरणको प्रयाशः
घुर्ने बानी वा घुरानको बानी भईसकेकालाई क्षणिक कुनै ओखतीले कम गराए पनि पूर्णतया रोक्न भने मुस्किल पर्छ । नाकको भित्री भाग टेढोमेढो भएको, मांसपेशी बढेको र हावा जाने प्वाल सानोभएको भए शल्यक्रिया गरेर मिलाउन सकिन्छ । यदि विविध वस्तुका गन्ध, मसिना कण वा रासायनिक पदार्थ निस्कासनले हो भने आफू बस्ने घर र कार्यालय त्यस्ता वस्तुबाट मुक्त गर्नै पर्छ । नाक बन्द हुनबाट जोगाउन नाक सफाई कागज, आर्द्रता  बनाउने मलहम वा नाकमा हाल्ने छुसछुसे ओखती, खसखसलाग्न रोक्ने ओखती र बस्ने कोठामा पर्याप्त आद्रता निकाल्ने यन्त्रप्रयोग गर्नैपर्छ । यस्तो भएमा नाक सुखाहुने वा धुलो र अवाञ्छित तत्वले घरीघरी बन्द गराउने हुँदैन र राती पनि घुर्ने अवस्था नआउन सक्छ ।

मुखको घुराई
मुखले श्वास फेर्ने बानी भएकाको दिउँसो त्यति थाह हुन्न तर राती निदाउँदा मुखले श्वासफेर्दा नाकबाट हावा नगएर मुखबाट भित्र बाहिर गर्नेभएकाले आवाज निस्कन्छ । मुखबाट निस्कने आवाज बढेको किलकिले र कमजोर तालुको मांसपेशीले गर्दा हुन्छ, त्यसैलाई घुरेको भन्छौँ । नाकबाट घुर्ने मान्छे केहीगरी नाक बन्द भएमा, रुघालागेमा, मुखले श्वास फेर्न थालेमा सुत्दा मुखको घुराई हुन थाल्छ । नाकले श्वास फेर्दा पाकृतिक रूपमा हावा छानिएर अतिसुक्ष्म जीवाणु र परजीवि किटाणु शरीरभित्र जान पाउँदैन भने मुखले श्वास फेर्दा सुतेर उठदा मुखको पुरा भाग सुकेर जिब्रो अखरक्क पर्दछ । सुकेको मुखले बिउँझेपछि श्वास फेर्न गाह्रो हुन्छ र बल गरेमा नाकमा जोड परेर घुरेको जस्तै हुनसक्छ वा सानो आवाजमा नाक बजेको सुन्न सकिन्छ । मुखले श्वास फेर्ने मान्छे बिउँझेपछि टाउको भारी भएको अनुभवगर्न सक्छन भने बोल्न अप्ठ्यारो पर्ने र कतिको मुख गन्हाउने हुनसक्छ ।

उपचार कसरीः
मुखले श्वास फेर्न रोक्नलाई नरमखालको टाँस्सिने टेपले बेलुका सुत्नेबेला मुखटाल्नु ठिक हुन्छ भने नाक मनतातो पानीले सफा पारेर श्वास फेर्न सजिलो हुने पार्नुपर्छ । प्राय उत्तानो सुत्ने बानी लागेकाको निदाउँदा मुख आँ हुनु सामान्य हो भने तकिया होचो प्रयोग गरी टाउको शरीर बराबर धरातल बनाउने मान्छेमा पनि यसो हुनसक्छ । मिलेमा तकिया अलिकति अग्लो, करिब छ ईन्च जति मोटो प्रयोग गरे मुख बाउँने बानी हटी मुखको घुरान रोक्न सकिन्छ । देब्रे दाहिने ओल्टोकोल्टो परेर सुताईको आसन परिवर्तनगर्ने बानी गरेमा मुख चिम्मभई नाकबाट श्वास फेर्न सजिलो हुन्छ र मुखको घुराई कम हुन जान्छ । उत्तानो सुत्ने र घुर्ने बानी परेकाले हटाउन परेमा घुच्चुकमा केही नरम कुरा डल्लोपारी बाँधेर सुत्ने गरे राती झुक्किएर उत्तानो पर्दा गर्धनको वस्तुले असजिलो बनाई कोल्टो सुत्न थाल्छन । सुत्दा आफ्नो नाक खुल्लाहुन मद्दत पुग्ने खालको वस्तु नाकमा लगाउने, हावा भित्र बाहिर गर्न सजिलो हुने वस्तु हाल्ने र नाक सफा रहने उपाय विचार गरी निदाएमा मुखको घुर्ने रोक्न धेरै सजिलो हुन्छ ।

जिब्रोले घुराईः
जिब्रोको कारणले हुने घुराई सुत्दा जिब्रो अति लुत्रुक्क परेर आरामगर्नाले भएको हुन्छ । जिब्रोको फेद पछाडी हुन्छ र टुप्पो अगाडी भएकाले मुख चिम्म गरेर सुत्दा र जिब्रोको काम नहुँदा पछाडि सरेर बसेको हुन्छ । निदाउने बेला जिब्रो किलकिलेतिर सरेर बसेको हुँदा ठूलो र मोटो जिब्रोले श्वास नलिबाट नियमित सजिलै हावा फोक्सोतिर आउनजान बाधापार्न सक्छ । उत्तानो परेर सुत्दा धेरै मानिसले घुरेको हो भन्ने विज्ञहरूको भनाई यसै भएर वास्तविकताको नजिक छ । यस्तो बाहेक मुख बाउँदानै थोरै मात्र च्यापु फाट्टिने मान्छेको स्वभाविक मुखको ओडार सानो हुन्छ, त्यस्तो बनावटमा यदि तालु (माथिल्लो च्यापुको भाग) होचो, बाक्लो र नरम छ भने श्वास लिँदा र फाल्दा थर्किएर घुराई उत्पन्न हुन्छ । अति मोटो मान्छेमा गर्धन पनि मोटो भएकाले घाँटी पनि मोटीएर श्वासप्रश्वासमा व्यवधान भई घुर्ने काम हुन्छ । मादक पदार्थ सेवन गर्ने मान्छेको नशा लागेपछि शरीरका प्रणाली र अङ्गहरू शिथिल हुने हुनाले निदायो भने जिब्रो पनि शिथिल भई घुर्ने काम गर्न थाल्छ । निद्रा लाग्ने ओखती नियमित खाने पनि शरीर शिथिल बनाउन मद्दत गर्ने हुनाले घुर्ने बानी परेको हुनसक्छ । यस्तो जिब्रोको घुराई गर्ने मान्छेले निकाल्ने आवाज अनियमित तर अतिउच्च र तिखो ध्वनीको कर्कश हुने हुनाले एकाकोठाको मान्छेलाई सुत्न निदाउन साह्रै गाह्रो हुन्छ ।

उपचार तरिकाः
जिब्रोको घुराई आवाजको विविधता र ध्वनीको उतारचढावले घुर्ने बाहेक सँगै सुतेका अरुलाई साह्रै कष्टदायक हुन्छ । यस्तो घुराई हटाउनका लागि मुखमानै राख्ने केही चिजविज राखिनु पर्छ वा मुखरक्षक लगाउनु पर्छ यसले मुखमा तल्लो च्यापु र जिब्रो अघिल्तिर पुर्‍याउन मद्दत गर्छ । घुर्न रोक्ने तकिया र सुत्दा उत्तानो पर्न बाधा पार्ने ढाडमा राख्ने पोकाहरू बजारमा पाइन्छन्, यस्तो प्रयोगले कोल्टो सुत्ने गरेर घुर्नबाट रोक्न सकिन्छ । सामान्यतया तकिया अल्गो प्रयोग गर्दा पनि टाउको बाँकि शरीरभन्दा अग्लिएको अवस्थामा सुत्दा घुर्ने सम्भावना कम रहन्छ ।

शरीरको उचाई र उमेरअनुसार तौल हुनुपर्नेमा जोड गरौँ र अधिक मोटोपन घटाउनाले पनि घुर्ने अवस्था आउँदैन । जिब्रोलाई सिथिल बनाउने मादक पदार्थ सेवनलाई घटाउँदै हटाउने कोसिश गरौँ घुर्न हराउँदै जान्छ । स्वास्थ्यलाई ध्यान दिँदै उचित खानपान र व्यायामलाई निरन्तरता दिऔँ, घाँटी, जिब्रो र श्वास नलीमा खराबी गर्ने काम रोकौँ, घुर्न कम भइहाल्छ ।

घाँटीको घुराईः
घाँटीको घुराई सबैभन्दा बढी ठूलो आवाजमा घुर्ने भएकाले सबै घुराइ मध्ये अति खराब मानिन्छ । यो घुराई हुनको पछाडी निदाएको बेलामा श्वासप्रश्वास प्रक्रिया अल्पावधिलाई रोकिएर हुन्छ, र यस्तो रोकावट रातभरिमा धेरै पटक हुन्छ । त्यसैले बेला बेलामा श्वासप्रश्वास रोकिएर एक्कासी निसास्सिएको श्वास लिँदा आवाज ठूलो आएर यो घुर्ने प्रक्रिया साह्रै कर्कश र विष्फोटक जस्तो सुनिन्छ । घाँटीका मांसपेशीहरू र नरम तन्तुहरू अतिसय शिथिल हुँदा, तिनै मांसपेशी किलकिलेमा थुप्रिई फोक्सोमा हावा आईजाई गर्न रोक्न पुग्छन र निदाउनेलाई अक्सिजनको कमी हुनथाल्छ । त्यस अवस्थामा एक्कैपटक धेरै हावा तान्न र फ्याल्न फोक्सो र करङ क्रियाशील हुँदा श्वासप्रश्वास प्रक्रिया अपर्झट भई घाँटी, नाक र किलकिले बज्न जान्छ । यो घुराई एक्कासी भएकाले कुकुर घुकेको वा केही सर्किएर खोकेको जस्तो विविध ध्वनी र गहिराईको हुन्छ र वरपर थर्कमान गराउने पनि हुनसक्छ ।

उत्तानो, घोप्टो र कोल्टो जुनसुकै तरिकाले सुते पनि त्यस्तो घुर्ने काम रोकिँदैन साथै घुर्ने कुनै लययुक्त नियमितता नभई विविध आवाज हुनसक्छ । त्यस्ता मान्छे सुतेको कोठासँगैको कोठामा सुत्ने मान्छे पनि आवाजको कर्कशपनले निदाउन नसक्ने धेरै घटना र कथाहरू नेपालमा सुनिन्छ । करिब पच्चिस वर्षअघि मेलम्ची खानेपानी आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन गर्न गएको टोलीमा टोलीप्रमुख यस्तै घुर्ने स्वभावले गर्दा नाकोटे बजारको मुकाममा अरु विज्ञहरू उनी सुतेको घरनै छोडेर आधारातमा सहायकहरूले लिएको दुई घर परेको निवासमा रात काटन शरण लिन पुगेका थिए । यस्तो घुर्ने अवस्था निदाउँदाको अल्पकालीन श्वासप्रश्वास रोकावट भनिने रोग लागेका पाका मान्छेमा झन् बढी भेटिन्छ । यस्ता मान्छे अक्सिजनको कमीले बेलाबेला राती निद्रा कचमचिएर उठने र केही नभए पिसाब फेर्न गइरहने हुन्छन् । यसो हुनुमा शारीरिक मोटोपन, मधुमेह, उच्च रक्तचाप र हृदयघातका बिरामी वा लक्षण भएका मानिस पहिलो श्रेणीमा परेको पाईन्छ । यस्तो घुराई भएका मान्छे प्रायः बिहानैदेखि टाउको दुखेको गुनासो गर्ने, मुख सुक्छ भन्ने र दिउँसो खाना पछि उँघ्न लागेको देखिन्छ ।

न्यून पार्ने प्रयास
डा. मार्क कयेमका अनुसार निद्रामा श्वासप्रश्वास अडकिएर कर्कश आवाजमा घुर्ने मान्छेले मुख, जिब्रो र घाँटी विज्ञको सल्लाहमा ओखती सेवन गर्न थालि हाल्नु पर्छ, अन्यथा जीवन खतरामा पर्ने दुर्घटना हुनसक्छ । नाक सफा राख्न हरेक साँझ मनतातो पानी तानेर सिँसिँ गर्ने, सुताईको तरिका फेरबदल गरिरहने, तकिया अलि अल्गो प्रयोग गर्ने, नशालु पदार्थ सेवन नगर्ने, मादक पदार्थ सेवन गरेको तिन घण्टा पछि मात्र सुत्न तयारी गर्ने, प्रतिक्रिया विरोधि ओखती फाप्ने हेरेर सेवन गर्ने, नाकभित्र वा बाहिर अतिरिक्त वस्तु टाँसेर प्वाल खुला र ठूलो बनाउने साथै विज्ञको सल्लाहमा मुख उघारो राख्ने, जिब्रो नलत्रने उपकरण प्रयोग गर्नेगरेमा समस्या न्यून पार्न सकिन्छ ।

जति गर्दा पनि घुराई नरोकिई श्वासप्रश्वासमा समेत व्यवधान भएको र हरेक रात निद्रा कचमचिएर अन्य रोगसमेत लाग्ने सम्भावना बढेमा शल्यक्रिया गर्न विज्ञ चिकित्सकसँग सम्पर्क गरिहाल्नु पर्छ । मुखको तालु बाक्लो भएको छ भने र त्यहीँ नै घुर्ने कारण हो भने लेजरएसिस्टेड युभुलोप्लेटोप्लाष्टी विधिबाट अतिसुक्ष्म विकिरणमार्फत पातलो बनाईन्छ । एब्लेसन थेरापी भनिने सुक्ष्म रेडियोधर्मी उर्जा मार्फत् तालु र जिब्रो पातलो बनाउने कामले पनि घुर्न घटाउन सक्छ । सेप्टोप्लाष्टी भनिने नाथ्रीको हाड काटेर फराकिलो बनाउने विधिबाट घुर्न सघाउने बाक्लो कुडकुडे हाड र नाकको डाँडी अनुकुल बनाएर घुर्न घटाउन सकिन्छ । किलकिले र रुद्रघण्टीमा मासु बढी भएकाको बढी मांसपेशी खुर्कने विधिबाट नाकको भित्रीभाग र घाँटीको भागमा पातलो बनाई घुर्न रोक्न सकिन्छ ।

अन्त्यमा,
सामान्यतया निदाउँदा घुर्नु मानिसको लागि अनौठो होइन, कतिपय बेला अन्य जीव पनि श्वासप्रश्वास प्रणाली र सम्बन्धित अङ्गको समस्याले घुर्ने गरेको देखिन्छ । सानो आवाजको घुराई कतिपय मानव समुदायमा पुरुषजन्य लक्षण भनिन्छ भने नघुर्नु महिलाजन्य लक्षण भन्ने पाइन्छ । वास्तवमा घुर्ने काम कसैले पनि नाक बन्द हुँदा, उमेर, वंशानुगत गुण, श्वासप्रश्वास प्रणालीका अङ्गहरूको असामान्यता र श्वासप्रश्वासमा भएको व्यवधानका आधारमा भएको हुन्छ । लगातारको अति कर्कश आवाजको घुराईले रगतमा अक्सिजनको कमी, एकाग्रताको अभाव, दिनभरी थकान अनुभव, हृदयघातको सम्भावना, उच्च रक्तचाप हुने, अरु किसिमका आन्तरिक घात र टाइप२ स्तरको मधुमेहको खतरा रहेकाले बेलैमा औषधोपचार गर्नु राम्रो हुन्छ ।

०००
चालिसे डाँडा, ललितपुर
चैत्र ९, २०८०

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे
उमेरिँदा हिँड्ने र लड्ने समस्या !

उमेरिँदा हिँड्ने र लड्ने...

डा. मुकेशकुमार चालिसे
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे