साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

अहिलेका नाम चलेका स्वास्थ्य प्रतिष्ठानहरू र पाका मान्छेका मस्तिष्क ह्रासमा काम गरिरहेका विज्ञचिकित्सकहरूले अप्रत्यक्ष प्रयासले पनि असाध्य रोगलाई पछि पार्न सकिने निर्क्याैल निकालेका छन् ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

मान्छेहरूमा उमेर सँगसँगै बौद्धिक क्षमता वृद्धि हुँदै जान्छ र वयस्क होउञ्जेल अनुभवबाहेक मगजले सबै कुरा प्राप्त गरिसकेको हुन्छ । वयस्क पछिको कालखण्डमा मान्छे तिन बिसको पाको हुन थालेपछि पनि धेरैको मस्तिष्क तिक्ष्णनै रहेको हुन्छ भने मगजको क्षमता घटेमा बिस्तारै पुराना कुरा बिर्सने समस्या आउन सक्छ । कतिपय मानिसमा मस्तिष्क क्षमता उल्टोपाल्टो हुने पनि हुनसक्छ, भर्खरका कुरा बिर्सने र पुराना सम्झने, वा पुराना सबै बिर्सने र नयाँ मात्र सम्झने हुन सक्छ । हरेक मानिसमा हुनसक्ने यस्ता समस्या विभिन्न तरिकाले भएका हुनसक्छन, कसैमा सन्दर्भ घटना र कुराको अभावमा बिर्सने, कसैमा संस्मरण पटाक्षेप गर्ने मगजको क्षमता घटेको, कसैमा भावनात्मक आघातले पुराना कुरा बिर्सने भएको र कसैमा संस्मरणमा सहयोगी मस्तिष्कका कोशिकाहरूनै विभिन्न कारणले निस्कृय भएकोले हुनसक्छ ।

उमेर बढदै जाँदा हरेक उमेरसमूहमा भएका घटना तथा कुराहरू तत्कालमा सबैभन्दा प्रिय र नियमित भएको लागेपनि सन्दर्भ सकिएकाले नयाँ घरव्यवहारको खातले बिर्साउँदै गएको हुनसक्छ । बहुत कम मानिसले मात्र आफू दुईअढाई वर्षको हुँदाको घटना सम्झन सक्छन्, धेरैले बिर्सन्छन् वा हेक्का राखिरहन सक्तैनन् । कसैले विशेषगरी आमाबाले त्यसबेलादेखिनै दोहोर्‍याएर नियमित भनिरहेमा कोहीकोही त्यतिखेरको घटना सम्झेझैँ भन्न पनि सक्छन्, तर यो पछि सिकेको पनि हुनसक्छ । नाटककार बालकृष्ण समले भन्ने गरेको ‘न्वारन पछि धाईआमाले तेल लगाउँदा खस्रा हातले बेस्सरी लगाएकाले रोएको’ संस्मरण यस्तै नियमित भनाईको अनुभूति हो । धेरै मानिस आफू एक कक्षामा भर्ना हुन विद्यालय जाँदा के, कसरी, कस्तो लुगा लगाएर गएको भन्न सक्तैनन् भने अहिलेका पाका मान्छे सायद धेरैले एसएलसी परीक्षाको पहिलो दिन कुन विषयको जाँच भएको थियो र पहिलो प्रश्न के थियो भन्न नसक्लान । केटाकेटीदेखि बाआमाको भरमा धेरै डुलफिर गर्न पाएका मानिसले घुमेका ठाउँको वर्णन गर्दा पछि धेरै मिसमास गरेको पनि संस्मरणलाई वर्गीकृत गर्न नसकेरनै हो ।

मस्तिष्कमा सङ्ग्रह हुने संस्मरण त्यसैले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हुन्छ भनेर धेरै आनीबानी विज्ञले मान्दछन् र त्यसैलेनै हो, पछि नियमित प्रयोग नभएका सन्दर्भ बिस्तारै बिर्सन सकिन्छ । पाको उमेरमा हुने बिर्सने समस्या अनुभवको खातले पुरिएर अद्यावधिक नभएकाले पनि हुनसक्छ । मस्तिष्कका कोशिकाहरू उमेर धेरै हुँदा क्षय हुन सक्छन र त्यससँगै बिर्सने समस्या भएको हो भने चाहिँ यो ठूलै समस्या हो । यो विकसित हुँदै गएमा उन्माद र अल्ज्हाईमर भनिने सिर्जनशिलता विहीन अल्झाउने रोगमा परिणत हुन्छ । यस्ता समस्याबाट अति पीडित पाका मान्छेको आयु दशक नघाउन मुस्किल पर्छ तर उचित व्यवस्थापन गरेमा ओखतीनै नभएको यो रोगमा पीडितको स्वास्थ्य राम्रो कायम गर्न र आयु लम्ब्याउन सकिन्छ । त्यस्तो रोग लागेका पीडितलाई गरिने दैनिक केही व्यवहार र क्रियाकलापले थप मस्तिष्क क्षमतामा आउने ह्रासलाई कम गराउने उपाय भनि हार्वाड मेडिकल स्कूलका अनुसन्धाताहरूको रहेको छ ।

मस्तिष्क ह्रासका कारणः
संस्मरण हराउने अथवा बिर्सन शुरुहुने स्नायु प्रणाली सम्बन्धी कारणमा मस्तिष्क कोशिकाहरू नष्ट हुन थालेको, सोच्ने, सङ्गाल्ने र चाहिँदा आफ्ना प्रतिक्रिया देखाउन सक्ने मगजको क्षमतामा बाधा परेकोबाट हुन थाल्छ । त्यस्तो क्षमता हराउन थालेमा मानिसले पहिला भएको कुरा नसम्झने, अरुले भनेको कुरामा ध्यान एकाग्र गर्न नसक्ने, जानेकै कुरा दोहोर्‍याउन नसक्ने, समस्या आएमा समाधान खोज्न नसक्ने साथै रोगले अति च्यापेमा अरुले भनेको नबुझ्ने हुन्छ । परिस्थितिजन्य कुनै प्रतिक्रियानै उस्को मस्तिष्कले देखाउन सक्तैन, आगोले पोल्ने हेक्का नगर्नेमात्र होइन, नियमित गरिने व्यक्तिगत काम पनि गर्न सक्तैन । मस्तिष्क ह्रास वा क्षयका लागि स्नायुप्रणालीका साथै मनोवैज्ञानिक विभिन्न कारणले हुनसक्ने हार्वाडका विज्ञहरू औँल्याउँछन्ः-
१. मादक पदार्थको विषाक्तता (दिमागनै शून्यभएझैँ संस्मरण र सिर्जनशिलतालाई अल्पकालीन निषेध गरी होस गुमाउन सक्छ भने दीर्घकालीन असर रहेमा मस्तिष्क क्षमतामा ह्रास आउँछ),
२. अल्ज्हाईमर रोगको आक्रमण शुरु भएमा,
. मगजमा ताजा रगत लैजाने शिराहरू सुन्निनु,
४. मस्तिष्कको गिर्खो (अबुर्दरोगको गाँठो (ट्युमर) वा रोगविहीन गाँठोमात्र),
५. मस्तिष्कमा प्राणवायु (अक्सिजन)को कमी हुने (यसले गर्ने मगजको नोक्सानी),
६. लागुपदार्थ, अति ओखती (विशेषगरी लट्ठ्याउने खालका दुखाई, पिर र तनाव घटाउने र बेहोस गराउने ओखतीको अति प्रयोग),
७. छारेरोग र कान पछाडी रहेको मस्तिष्कको दोस्रो ठूलो भागको समस्या,
८. मगजको अग्रभाग र ठिक पछाडिको भाग बिग्रेर हुने उन्माद,
९. मस्तिष्क आघात र दुर्घटनामा बेहोस हुने चोटपटक,
१०. मेरुदण्ड र नशाभित्रको भिषण सङ्क्रमण (ईन्सेफलाइटिस, जनैखटिरो, दादुरा र त्यस्तै खालका अतिशूक्ष्म जिवाणुबाट हुने), ११. मस्तिष्क क्षय हुने अरु रोगहरू जस्तै पार्किन्सन रोग, आत्मरक्षा प्रणाली कमजोर हुँदा मगजको घात, विग्रहहरू,
१२. विषालु असर गर्ने कार्बन मोनोक्साईड तथा गह्रौँ धातुका विषाक्त खराबीको असर,
१३. क्षणिक मगजको शून्यतामा बृद्धि (अचानक सोच्नै नसक्ने अवस्था),
१४. वेर्निके कोर्साकोफ रोगको लक्षणसमूह (भिटामिन बि १ को अतिकमी सँगसँगै लामो समय रक्सी उपयोगले हुने असामान्य अवस्था) ।

मनोवैज्ञानिकरूपले स्मृति हराउने, बिर्सने समस्या वा संस्मरण क्षयको पनि विभिन्न कारणले गर्दा भएको पाइन्छ । मानसिक स्वास्थ्यका समस्यासँगै स्मृति हराउने समस्या जोडिएको देखिन्छ । उदाहरणको लागि, असम्बन्धित विभिन्न घटनालाई जोडेर वास्तविकताभन्दा बढी आँकलन गर्ने बानी, छरपष्ट सोचाईबाट पीडित र ठूलो उत्पीडनको दुर्घटनापछि देखापर्ने असामान्य छटपटीको स्वभावले उत्पन्न समस्याहरू हुन । खप्न गाह्रो हुने मानसिक, भावनात्मक र भौतिक घटनाले अन्य कुरा बिर्सने रोग लाग्न सक्छ । विज्ञहरूले यसैकारण वा यस्तै घटनाले हुन्छ भन्न नसकेता पनि मस्तिष्कले थप नोक्सानी हुनबाट बचाउन प्राकृतिक रक्षाका लागि सोच्ने क्षमतालाई घटाएको हुन सक्ने भन्दछन् ।

उपायहरूः
अल्ज्हाईमर, डिमेन्सीया, फरगेटफूलनेस आदि भनिने विभिन्न रोगहरू बिर्सने रोग, उन्माद, अल्झाउने, शूद्धि हराउने, मस्तिष्क क्षमता ह्रासका हुन । यस्ता रोगहरू लागेपछि प्राय निको हुन गाह्रो हुने गर्छ भने कतिपयमा यस्तै रोगहरूका कारण उमेर अति पाको नहुँदै कीर्तिशेष हुन पुग्छन् । यस्ता रोगहरूका अनुसन्धाता तथा वैज्ञानिकहरूले केही बाह्य सरसहयोगले रोगलागेका पाका मान्छेका आयु लम्ब्याउने उपायहरू हुनसक्ने तथ्य अघि सारेका छन् ।

व्यायामः
सबै खालका उमेरसमूहको शारीरिक स्वस्थताका लागि दैनिक व्यायामले मद्दत गर्दछ भने मस्तिष्क क्षमता ह्रास भएकाको लागि पनि प्रभावकारी फाईदा गर्ने क्रियाकलापमा पर्दछ । मान्छेको शरीर सक्रिय र चुस्तदुरुस्त हुँदा मगजलाई स्वस्थ राख्न मदतमात्र गर्दैन बरु पाको उमेरमा लाग्नसक्ने अरु रोगहरू पनि न्युन गराउन सघाउँछ । जस्तैः मुटुका रोगहरू, मधुमेह टाईप २, उच्च रक्तचाप, ठूलो आन्द्राको अबुर्दरोग, स्तन अर्बुद रोग आदि व्यायामले नलाग्न र घटाउन मद्दत गरेको पाइन्छ । नियमित व्यायामले पाका मान्छेमा अनिद्रा, चिन्ता लाग्ने बानी, वितृष्णा आदि उमेरजन्य रोगहरूबाट छुटकारा पाउन मदत गर्छ भने असाध्य रोग मस्तिष्क क्षमताको ह्रास र शूद्धि हराउने रोग पनि घटाउन सहयोगी भएको प्रमाणित भएको छ । केही अनुसन्धानको नतिजा अनुसार नियमित खासखास व्यायामको कार्यतालिका व्यवहारमा ल्याएका पाका मान्छेहरूमा बिर्सने तथा संस्मरण सम्बन्धी समस्या भइसकेको भए पनि मस्तिष्कको क्रियाशिलतामा प्रगति भएको देखिएको छ । पुस्तान्तरण हुने एपिओई ४ वंशाणु भएका मानिसमा अल्ज्हाईमर रोग आउन सहायक भएको भएपनि त्यस्ता मानिसले नियमित व्यायाम गर्दा स्वास्थ्यमा फाइदाजनक परिणाम आएको भेटिएको छ ।

खानपानका वस्तुहरूः
खानपानको छनौटले रोग कमलाग्ने साथै आन्तरिक प्रतिरक्षा प्रणाली बलियो बनाउने खानाले धेरै मानिसमा स्वास्थ्य समस्या घटाएकाले समाधान गर्ने उपायकोरुपमा सर्बत्र बुझिन्छ । छाती र भित्र्याँसको स्वास्थ्य राम्रो बनाउने भनिएका कतिपय खानाले केहि अर्बुदरोग र मस्तिष्क ह्रासलाई घटाउने सङ्केत देखाएको छ । त्यस्ता खानाले उमेरभन्दा बढी चिन्ता गर्ने र विभिन्न कारणले क्षणिक विस्मृतिमा जाने मानिसलाई ठिक बनाउन पनि मदत गरेको पाइएको छ भने बिर्सने रोग लागेका मान्छेको रोग ढिलो पार्न पनि सकेको थाहा भएको छ । त्यस्ता खानाका वस्तुहरूमाः ताजा फलफूल, मौसमी तरकारी, दानेदार खाद्यान्न (सिङ्गो), गेडागुडी (दुईदलीय), बियाँ (तरकारी तथा फलफूलका), काष्ठफल (मशलाजन्य), जैतुनको तेल, माछा, कुखुराको मासु र दुग्ध उत्पादन (पनिर, दुध, दही र थोरै घिऊ) को उचित मात्रामा नियमित खानपानले रोगव्याधसँग लड्न सघाउँछ र भएको समस्या घटाउन मदत गरेको पाइएको छ । पाइयो भनेर पाका मान्छेले पनि गरिष्ट खानेकुरामा लोभ गर्नु हुन्न र आफ्नो स्वास्थ्यमा दखल पर्ने गरेर खानपिनमा लुब्ध नहुन पाका मान्छे आफैँ पनि जान्नु हुन्छ ।

मदिरा सेवनः
पुराना लेखरचना तथा भनाई हेर्ने हो भने हरेक दिन एकै किसिमको मादक पदार्थ औसत थोरै मात्रामा सेवन गर्नेलाई बिर्सने रोग लाग्ने सम्भावना कम हुनसक्छ । तर अहिले विज्ञहरू मस्तिष्क ह्रासमा मादक पदार्थ सेवनले कुनै घटाउने काम गर्दैन भन्नेमा एक मतमा छन् । बानीनै परेका पाका मान्छेले चाडपर्व र सामाजिक जमघटमा सिमित मात्रामा कहिलेकाहीँ मादक पदार्थ पिउँदा धेरै हानी नहुने पनि विज्ञहरूले मतवालीहरूलाई सल्लाह दिन्छन् । मादक पदार्थका लग्गु भएर दिनको चार मात्रा वा हप्ताको १४ मात्रा पिउने पुरुष र दिनको तिन मात्रा वा हप्ताको सात मात्रा सेवन गर्ने महिलामा मादक पदार्थ सेवन नगर्नेहरूमा भन्दा २२ प्रतिशतभन्दा बढी अल्ज्हाईमर हुने खतरा बढेको पाइन्छ भन्ने अध्ययनले देखाएको छ । नशा र मस्तिष्क सम्बन्धी रोग लागेकाले तिनै अङ्ग लट्ठ्याउने वस्तु प्रयोग नगर्नुनै राम्रो हुन्छ, पक्षघात भई विस्मृति भएका एक बिरामीले साथीको उक्साहटमा सूर्ति सेवनगर्दा बान्ता गरेर मरणान्त भएको एक पाकाले सुनाउँथे ।

निद्राः
हरेक जीवित प्राणीलाई स्वस्थ हुन दैनिक आराम र मस्त निद्रा हुनु आवश्यक हुन्छ । पर्याप्त आरामी नभएमा हरेक जीवमा विविध शारीरिक मानसिक समस्या आउन सक्छ र विशेषगरी मस्तिष्क सम्बन्धी क्रियाकलापमा असामान्यता देखापर्न थाल्दछ । हरेक चौबिस घण्टामा सात वा आठ घण्टा आराम गरी मस्त ननिदाउने मान्छेमा मानसिक क्षमतामा ह्रास भएको परिक्षणबाट देखिएको छ । पाका मान्छेमा यो असर घटदो शारीरिक र मानसिक श्रमको कारण अझ बढी हुनसक्ने भनाई धेरै विषयगत विज्ञहरूको रहेको छ । मनोविज्ञान तथा पाका मान्छेका अनुसन्धाताहरूका अनुसार निदाउने समयमानै भइरहेका घटना, सिकाई र संस्मरणलाई मगजमा एकीकृत सूचनाकोरुपमा जम्माहुने काम त्यस्तो आरामीको समयमानै भएको हुन्छ । यसो हुन पाएमा नै मानिसले पूर्वघटित र चाख रहेका सूचनालाई त्यसपछि संस्मरण गर्न, अभिव्यक्त गर्न र प्रयोग गर्न सक्नेहुन्छ । त्यसैले हरेक मानिसलाई दैनिक र नियमित उचित मात्राको आरामी र मस्त निद्रा मस्तिष्क स्वस्थताका लागि आवश्यक हुन्छ ।

मानसिक प्रोत्साहनः
हरेक मानिसलाई स्वस्थरही सक्रिय बनाइरहन हरेक उमेरसमूहमा मानसिकरुपले प्रोत्साहित हुने अवसर भइरहनु पर्दछ । मानिस अरुको प्रोत्साहनबाट अझ बढी उत्साहित भएर गरिरहेका राम्रा काम थप्दै जानसक्छ, त्यसैले कतिपय बेला छनौटमा पहिलो पङ्क्तिमा नपरे पनि प्रोत्साहन पुरस्कार तथा सम्मानपत्र दिएर अघि बढाउन खोजिन्छ । यस्तो व्यवहारले मानिसलाई प्रोत्साहन हुन्छ र मानसिकरूपले सक्रिय रहन जोश जाँगर थपिन्छ । हार्वाड लगायत मनोविज्ञान र मस्तिष्क क्षमताका अध्येताहरूले विश्वास गरेका छन, पढाइलेखाईको स्तरले भन्दा मस्तिष्क स्वस्थ कायम राख्न उमेरअनुसार मस्तिष्क सक्रिय राख्ने मान्छेले सफल भएको पाइएको छ । क्षमतालाई कायम राख्न, मगजका कोशलाई जीवित राख्न र ह्रास हुन नदिन पढ्ने, लेख्ने, कोठेपदको खेलमा जुक्ति लगाउने, बाघचाल खेल्ने, झुक्याउने खेलखेल्ने, शब्द बनाई खेल, सङ्गीत साधना, क्यारमबोर्ड, चेस, घरभित्रका अरु सकिने खेल खेल्ने र समुहगत छलफलमा भाग लिनाले पाको उमेरमा पनि मानसिक स्वास्थ्य बलियो बनाउन सकिन्छ । मानसिकरूपले सक्रिय हुन रुचाउने सत्तरी असी वर्षका पाका मानिसभन्दा दिमागलाई बोझपर्छ भनी पाको उमेरमा निष्क्रिय बस्ने मानिसको मस्तिष्कको क्षमता तुलनात्मक हिसाबले आधाभन्दा बढिमा मस्तिष्कको न्यूनता भएको पाइएको छ ।

सामाजिक सम्बन्धः
सामाजिक सम्बन्ध हरेक सामाजिक प्राणीका लागि रमाइलोसँग जीवन जिउने बलियो मानसिक आधार हो भने आयु लम्ब्याउन अकल्पनीय प्रभावपारी मदत पुग्ने तथ्य अचेल पश्चिमतिरका विज्ञले पत्ता लगाएका छन् । हाम्रोतिर निकै पहिलादेखि पाका-पाकी जम्मा हुने, छलफल गर्ने, दुःखसुख बाँडचुँड गर्ने, भेला हुने पाटीपौवा, चौतारो, भजनमण्डल, आदि बनेका थिए । अझै पनि कतिपय पुराना शहरबजारतिर बहाल, विहार र खाली पाटीहरू बनेका पाइन्छन्, सेवानिवृत्त र उमेर पाको भएका मान्छे त्यस्ता ठाउँमा घाम ताप्न वा शितल खान जम्माभएका पाइन्छन् । अचेल पाका मान्छेका चौतारी, आश्रम, मञ्च र समाजका नाममा नेपालमा पाका मान्छे भेलाहुने, प्रतिभाअनुसार क्रियाकलाप गर्ने तथा भेटघाट गरेका पाइन्छन् । वास्तवमा बलियो र नियमित सामाजिक सम्बन्ध एउटा मानिसकालागि स्वस्थ्य खाना र शारीरिक व्यायाम जत्तिकै महत्वपूर्ण रहेका प्रमाणहरू फेलापरेका छन् ।

धेरै थरीका अनुसन्धानले देखाएको छ, सामाजिक गतिविधिमा सुमधुर सक्रिय सम्बन्ध भएका मान्छेहरूमा तुलनात्मक हिसाबले एकल, एकलकाँटे र थन्क्याइएका पाका मान्छेभन्दा बढी मस्तिष्क क्षमता हुन्छ । मस्तिष्क ह्रासका समस्या अलगअलग पारिएका पाका-पाकीमा बढी हुन्छ साथै बिर्सने, उन्माद र एल्ज्हाईमरका समस्या छिटै आउन सक्छ । सामाजिक गतिविधिले मानिसलाई विविध क्रियाकलापमा ध्यान आकृष्ट गर्न खोज्छ र मानसिकरूपले धेरै प्रक्रिया हेर्न, सुन्न र बोल्न उक्साउँछ, यसले मगजलाई सकृय बनाई क्षमता तरोताजा राख्न मद्दत गर्दछ । नियमित मस्तिष्क सक्रिय हुँदा स्नायुप्रणालीका सञ्जाललाई सुदृढ बनाउन सक्छ साथै उमेरजन्य सामान्य मस्तिष्क ह्रास प्राकृतिकरुपमा भरीएर मानसिक स्वस्थ रहने अवसर मिल्छ । यसरीनै संस्मरणका भण्डारमा अनुकुल प्रभाव पारेर बिर्सने र अल्ज्हाईमर जस्ता रोग लाग्न ढिलाई गराउन सक्छ ।

सामाजिक सम्बन्धका अप्रत्यक्ष फाइदा त पाका मान्छेका लागि कति कति ? सम्बन्ध राखिएकामध्ये सबै स्वार्थी र लोभी मात्र त हुँदैनन्, दयालु र सहयोगी पनि हुन्छन् । पाका मान्छेलाई अभर हुँदा सम्झिएर बोलाए खुशीखुशी सहयोग गर्न आउन सक्छन्, चाडपर्वका बेला एक्लै परेकालाई रमाइलो होस् भनि सँगै बसेर मनाउन आउन सक्छन् । यस्तो व्यवहारले पाका महिला र पुरुषका मस्तिष्क ह्रास हुने मौका पाउने छैन भने एकान्तपनले हुने उन्माद पनि हराउने छ । कैयौँ एकल भएकालाई घरमा बोलाउन अथवा भेटन जान पनि सम्बन्धित मान्छे उत्सुक भएमा बिर्सने र चिन्ताग्रस्त हुने समस्यामात्र होइन एल्ज्हाईमर पनि पछि घच्याड्न मदत पुगेको देखिएको छ ।

अन्त्यमा,
ओखती विज्ञानको विकास मानवहितमा प्रशस्त हुँदै गइरहेको छ । पहिला मुसा, खरायो, घोडामा गरिने अनुसन्धानले उपयोगी ठानिएका नयाँ औषधि मानिससँग शारीरिक र मानसिक क्षमता नजिकरहेको बाँदरमा फापफाप परीक्षण गरिन लागिएको छ । अहिलेको यसै प्रगतिले गर्दा विविध खालका अर्बुद रोगका पनि खोप तयार भइरहेका छन् भने अतिसुक्ष्मजीवाणुबाट हुने विभिन्न रोगहरूका पनि खोप तयार भएका छन् । त्यसैले त कोरोना लगायत विभिन्न रोगव्याधका खोप तयार भए भने परहेज गरिने विधि र समन गर्ने सहायक ओखती बनेका छन् । यसै क्रममा हिजोसम्म ‘ओखती छैन, आखिर दु:ख पाई चाँडै बेवारिस भई मर्ने रोग’ ठानिएको बिर्सने रोग, उन्माद, एल्ज्हाईमर र पार्कीन्सन जस्ता रोगलाई कमगर्ने, लाग्नबाट पछि घच्याडने र लागिहालेमा पीडितलाई सहज बनाई धेरै वर्ष बाँच्न सघाउने विधि र तरिका पत्ता लागेका छन् ।

मस्तिष्क ह्रासले विशेषगरी पाका महिला र पुरुषलाई जिउँदो लाससरह मानेर जथाभावी व्यवहार गर्ने परम्परा अब छोड्नु पर्छ । हो, अरुले भनेकोमा तुरुन्त प्रतिक्रिया दिन नसके पनि एउटा जिउँदो मानिसमा बाँकी रहेको मगज र स्नायु प्रणालीको सञ्जालले केही न केही काम गरिरहेको हुन्छ । त्यस्ता समस्या भएकालाई उत्तरसहितका प्रश्नहरू गरेर मस्तिष्कको व्यायाम गराऔँ र समस्याबाट थप क्षति नपुर्‍याउन हेरविचार गर्ने र आफन्तले गम्भीरतापूर्वक विचार गरौँ । ‘मलाई चिन्नु भयो ?, यो चिज के भन्नुहोस्’ भन्नुभन्दा ‘म फलानाको छोरा वा छोरी, मेरो नाम यो, सम्झनोस् त, यो खानेकुरा भात हो, साग हो रोटी हो’ भनी त्यस्ता समस्या भएका बिरामीलाई सम्झन सघाउनोस् । अलिकति सम्झे पनि बिरामीको मस्तिष्कले काम गरेकाले सोध्नेले थप उत्तर भनेर बिरामीलाई अझैँ सम्झन सक्छु भनेर खुशी हुने मौका दिनुहोस् । यस्तो व्यवहार गर्दा पीडितको दिमागको व्यायाम भई स्नायु प्रणाली सक्रिय हुन सघाउँछ र ग्लानीसँगै निष्क्रिय बन्नबाट सहुलियत पाउन सकिन्छ । अहिलेका नाम चलेका स्वास्थ्य प्रतिष्ठानहरू र पाका मान्छेका मस्तिष्क ह्रासमा काम गरिरहेका विज्ञचिकित्सकहरूले अप्रत्यक्ष प्रयासले पनि असाध्य रोगलाई पछि पार्न सकिने निर्क्याैल निकालेका छन् । हामी पनि प्रयास गरौँ, हाम्रा अभिभावक धेरै बाँचून् ।

०००
चालिसे डाँडा, ललितपुर
चैत्र १६, २०८०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x