डा. मुकेशकुमार चालिसेपाकाले काँतरपनको पिरलो हटाऔँ !
एकबारको मानव जीवनमा सकिन्छ अनमेल र असामान्य कुरा बदल्न कोशिस गरौँ, सकिन्न असल विचार गुनौँ र सुन्नेलाई सुनाऔँ । नसुन्ने पाषाण हृदयीलाई बदल्न किन लाग्नु ? के ज्यानै फालेर कोशिस गरेपनि ‘चरीको दुध आउँछ र ?
डा. मुकेश चालिसे :
जीवनमा दुःखकष्टका भूमरी भोगेर जतिसुकै हण्डरठक्करखाएको भए पनि पाको उमेरमा पुग्दा अब विपरित परिस्थिति आइलाग्यो भनेर डर त्राश र चिन्तामा परी मन काँतर बनाउनु हुन्न । उमेरिएका पाका मान्छेले त पुराना घटनाबाट पाठ सिकेर उस्तै परेमा त्यतिखेरको सबल कुराको सम्झना गर्दै बाटो बनाउनु पर्छ । धेरैजसो पाका मान्छे शारीरिक क्षमता घटेसँगै मानसिकरूपले आफूलाई ‘कमजोर, निरीह र उमेरिएको बबुरो’ भन्ठानेर जुनसुकै काममा पनि पछि हटछन् । यस खालको स्वभाव कमजोर मानसिकताको उपज हो र यसले शारीरिक अरु रोगको सङ्क्रमणलाई सघाउँछ । विचार गर्नुहोस् त जुनदिन बिहानदेखि तपाईंलाई अनावश्यक कुरा र झञ्झट बारेमा सोच्नुपर्ने बाध्यता आइलागेको हुन्छ, त्यो दिन घाम लागेको थाह पाउनु हुन्छ ? नियमित गरिने दैनिकी कतिखेर गरियो कि गरिएन हेक्का राख्न सक्नुहुन्छ ? सकिन्न ! किन होला ? किनकी तपाईंका सबै इन्द्रिय त्यो असामान्य स्थितिप्रति सचेत हुन्छन् अझ खासगरेर मस्तिष्कले समस्यामा समाधान र त्यसबाट उन्मुक्ति खोजिरहेको हुन्छ । पाका मान्छे विभिन्न स्रोतसाधनबाट विमूख भएको स्थिति हुनसक्छ, परिवारबाट बढी महत्व नदिएर अपहेलित लाग्न सक्छ, त्यसोभएमा पिरोलिएर बस्ने होइन बरू उपाय लगाउने हो ।
मनलाई चञ्चलता र डरबाट जोगाउन लागिपरेमा सजिलै कुरा हो, आखिर आफ्नै मन न हो, चित्त बुझाउन सकारात्मक भए पुगिहाल्छ नि ! हरेक नयाँ कुरालाई स्वभाविकरूपले सतर्क भएर ग्रहण गर्ने हो, तर हरेक सामान्य लाग्ने कुरा दिग्भ्रमित गर्ने पनि हुन सक्छन् । मनलाई स्थिर बनाउन समय लाग्नसक्छ र परम्परागत एकथरीको बानी छोड्न गाह्रो हुनसक्छ, तर त्यसमाथि जित हासिल गर्न धेरै उपाय पनि गर्नुपर्ने हुन्छ । हुर्काईदेखि लागेको डराउने बानी वयस्क हुँदा नदेखिए पनि शारीरिक कमजोरी लिएर आएको उमेरिने अवस्थामा पुन: देखा पर्न सक्छ, लामो अनुभवको कसीमा ज्ञानको ज्योतिले धपाउन सक्नु पर्छ, यस्तो काम मानिसले सक्छन् । तर कतिपयमा लागेको बानी वा डराउने मानसिक समस्याले पछिसम्म घर गरिरहेको हुन्छ ।
डराउने स्वभाव हटाउन आँट गर्नुपर्छ, हरेकलाई आफूलाई लागेको मात्र ध्रुवसत्य लाग्छ, त्यसो नहुन सक्छ, अझ उमेरिएका पाका मान्छे त आफ्नै अनुभवको पूर्वाग्रहले अति प्रभावित हुन्छन् । उहाँहरू विभिन्न काल्पनिक र वास्तविक सबै घटनाहरू एकै ठाउँ गज्याङ्गगुजुङ पारेर मनमा डरको कालो बादल थुपारिरहनु हुन्छ । त्यसको असर सामाजिक सम्बन्ध र मित्रतामा पनि परिरहेको हुन्छ, त्यसैले अति डराउने पाका मान्छे अलगथलग र एक्ला भएका हुन्छन् । उहाँहरू आफूलाई होच्याउन सक्ने डरले साथी बनाउन नसक्ने, मित्रता राखेमा अनावश्यक खति हुनसक्ने भनि टाढै रहेर एकल जीवन जिउने अवस्थामा हुन्छन् । यस्ता मान्छे कल्पनामा अनेक डर पालेर कुनै पनि ठाउँ वा चिजप्रति नकारात्मक भई सकेसम्म टाढै रहन खोज्छन् । टाढै हुँदा खासै डर नभएपनि डर मानेका कुराको सम्झनाले मात्र पनि जीउभरि काँडा उमार्छन्, जस्तो यातायातको घुइँचो सम्झेर साधन प्रयोग नगर्ने, भिडमा हराइने डरले हालहुलमा नजाने, चट्याङ पर्दा डरले लगलग काम्ने, नचिनेको वा फरक मानिस देख्दा डरले लुक्न जाने, मरिन्छ भन्ने डरले मन कुँढ्याउने, आदि । हुँदाहुँदा खराव सपना देखेर रुने, कराउने र सपनाको कुरामा पूर्ण विश्वासगरी शान्तिस्वोस्ती गरेर भए पनि दुर्भाग्य हटाउन उद्यत हुने पनि डरको परिचायक हो ।
डरले आक्रान्त पाका मान्छेका मुटुको चाल अनियमित र बढी चलेको पनि हुन्छ, केही पर्नासाथ उनीहरू ‘मेरो त मुटुनै ढक्क भयो, हल्लियो, हेर त’ भनि हाल्छन्, अर्थात् उनीहरूलाई सबै कुरा डरको घरनै हुन्छ । त्यस्ता मान्छे असामान्य कुरा र सामान्य फेरबदलमानै काम्न थाल्छन, कतिले ‘कस्तो चराको जस्तो मुटु भएको’ भनि जिस्क्याउन सक्छन् । डराएका त्यस्ता मान्छेलाई सामान्य घटनामा पनि दिउँसै तारा देख्ने, टाउको दुख्न थाल्ने, घरीघरी पिसाब लागेजस्तो हुने, श्वासप्रश्वासनै अड्केजस्तो हुने, खलखली पसिना आउने, हातगोडा चिसा हुने, मुख सुकेर प्याकप्याकी हुने र कोही त हनहनी ज्वरो आएर बेहोस हुने पनि हुन्छन् । कोही चाहीँ सामान्य समाचार सुने पनि आफुले सोचेजस्तो नभएकाले डरले खोरमा थुनेको बाघजस्तो एकोहोरो एकै ठाउँ ओहोरदोहोर गरिरहन्छन् । त्यसपछि आफ्नो ध्यान एकत्व गर्न र पूर्वअनुभवबाट शिक्षा लिन पनि बिर्सन्छन् । त्यस्ता मान्छे अनिद्राको शिकार हुँदै निद्रा लागे डरलाग्दा सपना देखेर बिचमै उठछन् र थप निदाउनै सक्दैनन् ।
डरछेरुवा र काँतर पाका मान्छेहरू विद्यमान सामाजिक बनावट, चालचलन, परिवारको भिन्न व्यवहारबाट बढी त्रसित हुन्छन् । उनीहरू ‘मान्छे एक दिन मर्छे’ भन्ने सत्यलाई भवितव्य भन्ठानेर आफु यस्तो परिस्थितिमा मर्छु भन्ने कल्पनाले पनि बढि डराएर, बाँचुञ्जेलको भन्दा मरेपछि मेरो के हालत होला भनि ग्लानीले साँघुरिन्छन र सबैसँग डराउँछन् । ठाडठाडै बोल्ने परिवार सदस्यनै उनीहरूका लागि ‘यमका दूत’ जस्ता लाग्न थाल्छन् र बोल्न, जवाफ फर्काउन तथा कुनै प्रसङ्गमा प्रतिक्रिया दिन समेत हच्कन्छन् । बडो कष्टकर, आफैँले निम्त्याएको डरको समस्याले हरेक चिजविज र सन्मुख कुरालाई ‘कालकोरूपमा’ शङ्का गर्दै नियमित दैनिकी समेत राम्ररी पुरा गर्दैनन् । उनीहरूमा डरले गाँज्दा नयाँ खालको विधिविधान जस्तो स्वभाव देखाउन थालेका हुन्छन्, जस्तो हात र गोडा धोइपखाली गरिरहने, बर्बराउने, हिँडदा एक्लै पनि कुरा गरिरहने, एकान्तमा पनि सन्मुख कोही भएझै अँ, अँ वा हो हो जस्ता शब्द भनिरहने हुन्छ । कैयौँ आफन्तकै जमघटमा पनि त्यस्ता स्वभावका मान्छे आफ्नो स्वभाव अनुसार डराएर कसैले नसोधे पनि त्यस्तो आवाज निकालेर हास्यका पात्र भएका पाइन्छन् ।
पाका मान्छेले यस अघिको उमेरमा विभिन्न प्रतिस्पर्धा विभिन्न उमेरसमुहमा गरेपनि उमेरिँदा आफ्नो सामाजिक र पारिवारिक हैसियत विचार गरेर अरुसँग तुलनात्मक क्रियाकलापमा नलाग्नु वेश हुन्छ । हो, उमेरसमूह एकै भए र पाका दौँतरीहरू बिच केही लहड गर्ने अवसर मिले अर्कै हो, त्यहीँ पनि कसैलाई चित्त नदुखाई र हेलाँ होचो नभएको परिस्थितिमा रमाइलै हुन्छ । हाम्रो उमेरले लडभिडविहीन, बिस्तारै र जुक्तिपूर्ण काममा प्रोत्साहित गर्छ, यसले गर्दा आफूले शान्ति र आरामदायी अवस्था सिर्जना गर्न मद्दत गर्न सकिन्छ । अनुभवसिद्ध ज्ञानलाई पाका मान्छेले बहुजनहितमा लगाउने अवसर आइरहन्छ, तुज्रुक, घमण्ड, फूर्ति देखाउने पनि होइन र अपमानबोधले ऊ तर्सिने, चिन्तीत हुने र डराएर लगलग काम्ने पनि होइन । उमेरिँदा धर्यवान्, मिलनसार र हँसमुख रही आवश्यक पर्दा आफ्नो जुक्तिपूर्ण सल्लाह सबैको सहमतिमा सार्वजनिक गर्ने हो, नमान्दा पनि हेपिएको अनुभव गरेर लघुताभाष त गर्नै हुन्न, बरू आफूलाई सन्तुलित राख्न केही क्रियाकलाप गर्नुपर्छ ।
नाकले लामो स्वासप्रश्वासः
कुनैपनि समस्याले पिरोल्ने अवस्था आएमा पहिला कहिल्यै नसोचेको र नगरेको भए पनि लामोलामो श्वासप्रश्वास एकछिन गरेर बस्ने गर्नुपर्छ । तपाईंले हेक्कानै नराखे पनि र गिन्ती नगरेपनि हाम्रो श्वासप्रश्वास सामान्यतया एक दिनमा बिस हजार भन्दा बढि पटक भइरहेको हुन्छ । अब तपाईं सचेतनातापूर्वक यसलाई बढाउन चाहनु भयो भने छिटोछिटो वा ढिलोढिलो पनि गर्न सक्नु हुन्छ । उद्देश्यमुलक तरिकाले लामो श्वास फेराईले तपाईंको मानसिक अवस्था आफ्नो नियन्त्रण राख्न मद्दत हुन्छ । यस प्रक्रियाले हामीलाई तत्काल शरीरमा धेरै मात्रामा प्राणवायु प्रविष्ट गराउने मौका हुन्छ र त्यस प्रक्रियामा ध्यान दिँदा समस्या बिर्सिएर मनलाई हलुङ्गो बनाउँछ । धेरै चलनचल्तीमा भनिने मन भनेको त हाम्रो स्नायुप्रणालीको समग्र घर मस्तिष्कनै हो, पीडारहित चिन्ता कम भएको मानिसको मगज संसारमा सबैभन्दा मूल्यवान अङ्ग हो । योगाशनका फाइदा भनेर प्रचारित धेरै कुरामा प्राणायाम वा अरु थरीका श्वासप्रश्वासका विधिलाई हेर्नोस् त सारमा यस्तै फाइदाको लागि होइन त ? यसले तपाईंका स्नायु प्रणालीलाई समग्रमा विश्राम र तनावमुक्त पार्न खोजेको हो नि !
केही बेर त्यसरी रहेपछि आफु तरोताजा भएको अनुभूति भएपछि आइपरेको समस्या सम्झी त्यसको गहिरो नालीबेली पत्तो लगाई आफूबाट समाधान हुनेजस्तो लाग्छ भने समाधान गर्न जुक्ति अठोट गर्ने र कोशिस गर्ने योजना बनाउनु राम्रो हुन्छ । बिर्सनु के हुँदैन भने, कुनैकुनै पहिले अनुभव नभएका घटना र अहिलेको परिवेशमा आइपरेका अनौंठा समस्यामा डराउने तथा चिन्तागर्ने बानी-व्यहोरा सबै जीवित प्राणीमा हुन्छ, यो पूर्णतया प्राकृतिक स्वभाव हो । तर हामीले एउटै कुरामा अडेर त्यसैले आकासै खसेको जस्तो भ्रममा रह्यौँ भने गलत सोचाईको चक्रमा बढी नकारात्मक कुरा आउँछन र स्वभावनै बिग्रन थाल्दछ । अनि त नेपाली उखानमा झैँ ‘मानिसलाई चिताले भन्दा चिन्ताले चाँडै खरानी बनाउँछ’ डरका पुरी काँतर मान्छे अरु उमेर समूहमा त राम्रो मानिदैनन् भने कमजोर हुँदै गएका पाका मान्छेलाई त के राम्रो गर्ला ?
हरेक नयाँ नौलो घटना र समस्यामा लगलग काम्ने काँतर स्वभावका मान्छेमा एकप्रकारको ‘असाम्भाव्य कुरामा पनि भइहाल्छ भन्ने डरयुक्त’ बानी रहेको हुन्छ, यो मनोवैज्ञानिक कमजोरीलाई रोगकै रूपमा लिइन्छ । कतिपय बेलामा सामान्य भाषामा यसलाई हाईपोकोण्ड्रीयल डिजीज भन्ने पनि गरिन्छ, यस्तो स्थिति भनेको ‘हुटिट्याउँले आकास खस्छ भनेर उल्टो उड्दै टक्क रहन्छ, बयर दुलो नजिक खसेर आवाज आउँदा खरायो आकाश खस्यो भनेर दौडेको’ भनेजस्तै काल्पनिक डरको परिणाम हो । त्यसैले सबैभन्दा बढी मस्तिष्क क्षमता भएको मानव प्रजातिमा पनि दशकौँ लामो अनुभव र ज्ञानयुक्त पाका मान्छे हरेक कुरामा काँतर बन्ने र आफुलाई कमजोर ठान्ने सोचाई आउनै दिनुहुन्न, नत्र मानसिक रोगले च्याप्न सक्छ । हरेक कुरामा शान्त भएर गाँठी कुरा र अड्केको कारण पत्तो लगाउनतिर लाग्ने क्रममा डराउने, काम्ने बानी नियन्त्रण गर्नुपर्छ । नाकले श्वासप्रश्वास गर्दा दुवै नाकका प्वालले गरेपछि केहीबेर एउटा प्वाल थुनेर श्वास फेर्ने, त्यसपछि थुनेको प्वालबाट गरी अर्को थुन्ने गरेमा नाकसमेत सफा हुनगई प्राणवायु यथेष्ठ प्रविष्ट गराउन मद्दत पुग्छ । प्राणवायु पर्याप्त शरीरभित्र पसेपछि स्वतः शारीरिक फूर्ति बढने हुन्छ, यसले समग्रतामा फाइदा पुगी मानसिकता समेत स्वक्ष भएर समस्या घटन सघाउँछ ।
पेट हल्लाउने श्वासप्रश्वासः
प्राय श्वास लिँदा फोक्सो फुल्ने र छोडदा फोक्सो खुम्चिने हुन्छ, विभिन्न कम परिश्रमयुक्त काम गर्दा थाहा नपाइकन बिस्तारै श्वास लिने गरिन्छ । सम्झेको बेला र सफा हावा भएको ठाउँमा सकेसम्म लामो लामो श्वास लिँदै छोड्ने गर्दा ताजा प्राणवायुको (अक्सिजन) मात्रा बढि भित्र पस्ने र छोड्दाभित्र जम्मा भएका प्रयोग भई कार्वन बढि भएको वायु पनि धेरै छोडिन्छ । त्यसरी बाहेक पेटमा बल पर्ने गरेर श्वासप्रश्वास गर्दा पेटको दबावमा मुटु फोक्सो छुट्ट्याउने पर्दा पनि हल्लने भई फोक्सो फुलाउने र खुम्च्याउने जोडका साथ हुन्छ । यस प्रक्रियाले धेरै श्वास लिन, प्रदुषित हावा छोड्न सजिलो पर्छ र हामीलाई स्फूर्ति अनुभव हुन थाल्छ । यसको मतलब तपाईंका मस्तिष्कमा अनुकुल सकारात्मक र सिर्जनात्मक सोच आउने सम्भावनामा बृद्धि भएको हो ।
पेट हल्लाउने श्वासप्रश्वास कोठा, कौशी, आँगन जता अनुकूल हुन्छ बसिबसी गर्न सकिन्छ । भुइँमा बसेर धेरैबेर त्यस्तो श्वास फेराई गर्न नसके वा मेचमा पनि अप्ठ्यारो लागे अनुकूल पातलो लम्पट ओच्छ्याएर कुनै दिशातिर सोझो, उत्तानो भएर पनि गर्न सकिन्छ । यस साधनामा त्यसपछि एउटा हातको हत्केला छातिको माथ्लो भागमा राख्नुहोस् र अर्को पेटको बिचमा राख्नु होस् । यसरी हात राखेपछि पेटका मांसपेशी आराम गरून् र नतन्की रहून्, अनि पेट फुल्न खोज्ने बेलासम्म बिस्तारै नाकले श्वासभित्र तान्नु होस् । त्यसपछि पेट उक्सिन थालेकै बेलादेखि ओठ थोरै खोलेर त्यतिनै गतिमा बिस्तारै श्वास बाहिर फाल्नु होस् । यसलाई अनुकूल समयसम्म निरन्तर गरिरहनु होस्, यसले मानसिकता सुदृढ बनाई काँतरपन हराउने हुनसक्छ ।
नियन्त्रित श्वासप्रश्वासः
डर, त्रासको बानीलाई पछार्न श्वासप्रश्वासका अरु विधिमा नियन्त्रित तवरले गरिने अभ्यासलाई बाकसे श्वासप्रश्वास पनि भनिन्छ । अर्थात् छातीलाई बाकस मान्ने हो भने श्वासप्रश्वास प्रक्रियामा त्यसको व्यायामको महत्व राख्छ र संलग्न हुने करङ, जोडिएको मांसपेशी तथा भित्रीभाग फुल्ने खुम्चने गर्दा बल गर्नु हो । त्यस किसिमको बल सम्बन्धित अङ्गलाई गराउन श्वास फाल्ने क्रममा सुविधाको लागि एक छिन मतापले चार गनुञ्जेल फोक्सोबाट उहीँ गतिमा फालि नै रहनुहोस् । फालिसकेपछि श्वास लिनुअघि चार गनुञ्जेल फोक्सो सकेसम्म जति खाली छ त्यतिमै राख्न कोशिस गर्नुहोस् । त्यसपछि बिस्तारै गतिमा चार गनुञ्जेल फोक्सो भरिने गरेर श्वास तान्नुहोस् । भरिएको फोक्सोलाई चार गनुञ्जेल रोकिराख्नु होस्, त्यसपछि उही गति र चालमा श्वास छोडने, खाली राख्ने, श्वास लिने, रोक्ने र छोडने प्रक्रिया दोहोर्याउनु होस् । सुरुमा एकदुई मिनेट सकिएला, त्यतिबाटै सुरु गर्नुहोस् त्यसपछि दैनिक बढाउँदै लगेर दश मिनेटको हाराहारीमा सम्पुर्ण प्रक्रिया पुर्याउन सके निकै लाभप्रद हुनेछ । यो कार्यक्रम गर्दा अरु व्यायाममाझैँ तपाईंको ध्यान श्वास फाल्ने, रोक्ने, लिने, रोक्ने र फाल्ने काममै एकचित्त हुनुपर्छ, त्यसले तपाईंको शरीरमा आएको परिवर्तन सहजै अनुभूत गर्न सक्नुहुनेछ । एउटा निश्चित समय यस अभ्यासकालागि पनि छुट्ट्याएर नियमित गर्न सके पाका मान्छेका डराउने प्रवृत्ति घट्दै जान्छ भने भित्र्याँसको सबै भागले पर्याप्त व्यायाम पाएर स्वस्थ रहन मद्दत हुनेछ ।
ध्यान र योगः
हिजोआज अप्राकृतिक, कृत्रिम र बेमौसमी वस्तु मानव जीवनकालागि हानिकारक हुन्छ भन्दै मानिसहरू जैविक उत्पादनमा आकृष्ट हुने, मौसमी चिजविज उपभोग गर्न रुचाउने तथा पाकृत ठाउँमा बस्ने वा घुम्ने प्रयास गर्दछन् । त्यस्तै कोरोनाकालमा नेपालमा पनि आधुनिक ओखति र सल्लाहमात्रै नभएर आयुर्वेदीय ओखति र परम्परागत जडिबुटीको प्रयोगमा व्यापक प्रचार भएको सन्दर्भमा केही विज्ञानसम्मत निरोपणलाई लागू गर्दा हानी नभएको थाह पाइएको थियो । उपयुक्त विधिबाट त्यस्ता ओखति भनिएका जडिबुटीको नेपालमा प्राप्यता भएकाले अनुसन्धान गरेर प्रमाणित भएमा लागुगर्न सकिन्छ । मनोविज्ञानलाई बलियो र लघुताभाष घटाउन यदि ध्यान, योग र सम्बन्धित व्यायाम तथा खानपान रोगनिरोधक विज्ञानसम्मत प्रमाणित भए व्यापक प्रचारप्रसार गरेर जनतामा सचेतना फैलाउनु ठिक होला ।
श्वासप्रश्वासको माथि भनिएका विधिहरू मानसिक स्वास्थ्य र दिमागको एकाग्रताका लागि योगमा पनि समावेश गरी व्यवहारमा लागुभएमा मानिसलाई फाइदै पुग्छ । अनुसन्धानले देखाएको छ, उमेरिएका मानिसमा हुनसक्ने उन्मादमात्र होइन जीवननै नष्ट गर्ने चिन्ता लाग्ने र विस्मृतिमा जाने रोगहरू पनि हटाउन, त्यस्तो संयुक्त अभ्यासले सम्भव देखिन थालेको छ । भारतीय थ्री इडियट भन्ने सिनेमामा समस्या पर्नासाथ नायकले ‘सबै ठिक हुन्छ, अल इज वेल’ र मानिसका बिचमा मतभिन्नता र रुष्टता देखापर्दा मुन्नाभाइ एमबिबिएसमा नायकले भन्ने ‘जादुकी झप्पी’ मानसिकतालाई नियन्त्रण गर्न सिकाउने यस्तै कुराको द्योतक हो । यस्तै योग साधनामा ओम् ध्वनि निकाल्ने, कान थुन्ने, नाक थुन्ने र विभिन्न तरिकाबाट जैविक क्रिया गर्ने क्रियाकलाप मस्तिष्कलाई एकचित्त भई विचलन कम ल्याउने प्रयासको उपमा हुनसक्छ । आफुभित्र उत्पन्न भएका विविध चिन्ता र डरका बादललाई दिमागको तनाव शिथिलतासँगै समाधानका उपायतिर जोड्न लगाउनुपर्छ । समस्या होलान्, तर त्यसबाट पार लाग्ने उपाय पनि खोज्न सक्ने बनाउन हाम्रो मस्तिष्क सक्षम छ, हामी शिष्टतापूर्वक निडर भएमा सन्तुष्टी पाउने सम्भावना बढ्छ । जहाँसम्म पारिवारिक पिरलो सहन सकुन्जेल वास्ता नगर्ने बानी गर्नु आफू र परिवारकै लागि उपयुक्त हुन्छ । परिवारनै समस्या भए आफूजस्तै परिवार पनि अस्थाई जीव भएको मान्ने गरौँ र सबैको अनुकूल व्यवस्था गरौँ, झञ्झट किन ?
हार्वाड मेडिकल स्कूलको डर र चिन्तामा विजय पाउने निर्देशिकाअनुसार मस्तिष्कलाई तनाव र चिन्तामुक्त पारेर पाका मान्छेमा डराउने बानीलाई निर्मूल गर्न सकिन्छ । सामान्य लाग्ने कुरामा मस्तिष्कलाई नियन्त्रित गर्ने र शरीरलाई स्वस्थ राख्ने व्यायामहरू दशदेखि बिस मिनेटमात्रै नियमित दैनिकीमा लागू गरेमा पाका मान्छेको अनावश्यक डरमान्ने स्वभावमा परिवर्तन ल्याउन सकिन्छ । अहिले संसारमा रहेका मानिसहरूमा औसतमा बिस प्रतिशत मानिस मानसिक रोगबाट पीडित भई सामान्य भन्दा बढि अनमेल सामाजिक परिस्थितिले काँतर हुने अवस्थामा छन् । यसले मृत्यु हुने पीडा दिन्छ तर भित्री मनदेखिनै स्विकार गर्नुपर्छ, हरेक जीव नाशवान् छ, आफु पनि एक कालखण्ड पछि जीवनबाट बिदा हुनुपर्छ, यो हरेकलाई लागू हुन्छ । किन डराउने ? अनावश्यक र दुस्साहसिक काम गर्न पो डराउने, अरुलाई हानीनोक्सानी गर्न पो डराउने, बाँचुञ्जेल राम्रो विचार, त्यसअनुसार काम गर्न किन डराउने ?
अन्त्यमा,
मानिसको सबैभन्दा विकसित मगज भएकाले उसले सामजिक, आर्थिक, राजनीतिक र आफ्नै परिवेशको मात्र होइन अरुको सन्दर्भमा पनि वास्ता गर्नसक्छ । आफुले गर्नसक्ने र तत्काल आवश्यक कुरामा ध्यान दिएमा मस्तिष्कलाई बाटो पहिल्याउन सजिलो हुन्छ अन्यथा समाजमा विद्यमान हजारौँथरीका समस्याको पछि लागेर भुटभुटिनु एकल मान्छेको सामर्थ्यभित्र हुँदैन । यस कुरामा एकत्व हुन नसक्दा प्राय मानिस आफू निरीह भएको ठानेर डराउन थाल्छ । पाको उमेरमा शारीरिक तुजुक घटेको बेला अनुभवको पूर्वाग्रह, भोगिएको विपरित विद्यमान अवस्था र आफन्तको दूर्व्यवहारले हुनसक्ने दुःखकष्टको कल्पनाले डर बढेको हुनसक्छ । पाको उमेर ‘डराएर पलपल मर्ने होइन जति सकिन्छ त्यति गरेर सन्तुष्ट र हँसमुख रहने बेला हो, विलौना गरेर वा आफूबाहेक सबैसँग डराएर काम्ने बेला होइन’ हिम्मत बढाउने बेला हो । परिस्थितिजन्य भोगाई बाध्यता हुनसक्छ, शिष्टतापूर्वक बदल्न सकिन्छ, बदल्ने कोशिस गरौँ, सकिन्न भने भएको असामान्य अवस्थालाई इन्कार गरौँ र आफू हुँदो बाटो लागौँ ।
कमी, अभाव र नराम्रा कुरा हाम्रोजस्तो समाजमा व्याप्त छन्, यसैको ‘रामनाम कति जप्ने ?’ त्यसबाट डर मानेर आफैँ किन मानसिक रोग उमार्ने ? एकबारको मानव जीवनमा सकिन्छ अनमेल र असामान्य कुरा बदल्न कोशिस गरौँ, सकिन्न असल विचार गुनौँ र सुन्नेलाई सुनाऔँ । नसुन्ने पाषाण हृदयीलाई बदल्न किन लाग्नु ? के ज्यानै फालेर कोशिस गरेपनि ‘चरीको दुध आउँछ र ?’ जति पढाए पनि कागले ‘गोपिकृष्ण कहो भन्छ र ?’ शालिग्राम जति पुजे पनि ‘ढुङ्गाबाट तेल निस्कन्छ र ?’ हामी जीवनको अन्तिम अध्यायमा छौँ, अब बहुजन हितमा सोच्ने, अनुभवको अशल भाग प्रचार गर्ने, खराब भागबाट आउँदो पुस्तालाई सतर्क गराउने र भएको अनमेल परिस्थिति बदल्ने प्रयास गर्ने हो । डरले आफैँ ‘डुहुरे मुसोजस्तो दूलोको फेदमा टाक्सिने होइन’ मानव समाजको अग्रपङ्क्तिमा नेतृत्व गर्न लागि पर्ने हो । पाका मान्छेको सचेत मार्गदर्शनले मात्र यो भाँडिएको, बजारमूखी र व्यक्तिवादी समाजलाई सही बाटोमा अघि बढाउन सक्छ । पाका मान्छेले समस्यालाई आफ्ना गहना सम्झी आफैँ निडर भई प्रतिरोध गर्न अघि बढेमा सामाजिक न्यायको उज्यालो घाम पृथ्विभरि फैलिन सक्नेछ ।
०००
चालिसे डाँडा, ललितपुर
Subscribe
Login
0 Comments
Oldest


































