साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाको एक्लोपन पनि उत्पादनशील !

एक्लोपन कसैको लागि पनि नराम्रो होइन अझ पाका मान्छेको लागि त जीवनभरिको अनुभव सङ्गाल्ने र बहुजनहितमा काम लाग्ने कुरालाई सञ्चय गरेर प्रकाशमा ल्याउने सुवर्ण अवसर हो ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

सबै उमेरसमूहका मान्छे प्राय धेरैजसो समूहमा नै घुलमिल भई केही न केही काम वा हाँसखेल गरिरहेका नै पाईन्छन् तर पाका मान्छे एक्लै पनि रमाउन सक्छन्, एकान्तप्रिय हुन्छन् । पाका मान्छे उस्तै परेमा घण्टौँ-घण्टा वा कैयौँ दिनसम्म अरुसँग नबोली आफैँ मस्त रहेर बसिरहेका पनि भेटिन्छन् । त्यस्ता मान्छे शारीरिकरूपले सक्षम भए निर्जन ठाउँका पहाड, कन्दरा र वनहरूमा एक्लै घुमफिर गर्न र ध्यानमा बिताउने भनि गएका हुन सक्छन् । पहिलेका काल्पनिक कथाका पात्रहरू एक्लै गुफामा वा प्रचण्ड गर्मी र हिमाली चिसोमा दशकौँ वर्ष बसेका कथा पाका मान्छेको यस्तै दृढ मनोविज्ञान र सक्षमताको उदाहरण होला ! मानिस जतिधेरै बुझक्की बन्छ त्यति धेरै आत्मकेन्द्रित र आफ्नो मस्तिष्कको ऊर्जाले हरेक अवस्थामा व्यवहार पूणर् हुने भएर पनि ऊ सबै परिस्थितिमा आफुलाई ढाल्न सक्छ । त्यसैले मानव समाजमा पाको उमेरका मान्छेले उमेरिदा विलक्षण स्वभाव देखाउने र त्यसलाई कार्यान्वयन गर्न अनौठो आँटका साथ एकल निर्णय पनि गर्न सक्छन् ।

मानिसको यस्तो स्वभाव बारेमा आध्यात्मिक, भावनात्मक र दार्शनिक विधामा संसारका प्रतिष्ठानमा धेरै अनुसन्धान र अध्ययन भएका छन । ती सबै अध्ययनले मानिसले दैनिक चलनचल्तीका महाभारत त्याग्दै मस्तिष्कलाई जञ्जालबाट मुक्त राखेर सादा मनोधारणायुक्त बनाएमा नै मानिसको स्वास्थ्य स्थिर हुने, बुद्धिको तिक्ष्णता बढने र व्यक्तिगत समुन्नति हुने निक्र्योल निकालेका छन् । तथाकथित आजको आधुनिक समाजले दुई नाउँमा सवारी चलाएको भान हुन्छ, एकातिर अहिले बेकामे बन्नु भनेको समय नष्टगर्नु, अल्छीपन, उद्देश्यविहीन, दिक्कलाग्दो र समय नबुझ्ने भनि चित्रित गर्छ अर्कोतिर बढदो सचेत जनसङ्ख्यालाई व्यवस्थित गर्न र योग्यतानुसार काम दिन सक्तैन । मानव प्रजातिको समुल प्रगतिको लागि व्यवस्थित खानपान, कामकाज र समय मिलाएर यथेष्ठ आराम हुनुपर्छ भन्ने कुरा यान्त्रिकीकरणमा लागेको अहिलेको समाजले बुझ्न चाहँदैन् । पश्चिमाहरूले देखाएझैँ खाँदै हिँड्नु, कहिँ नपुगे पनि दौडिरहनु, समस्याले छोपिएकाले हरेक समय कामको खोजमा बेफुर्सदी बनाउनु, मानवीय मूल्यभन्दा कमाएको आर्थिक मूद्रामा भर गर्नु आदि कुराले वास्तवमा समाजको चिन्तन प्रणालीलाई नै भ्रष्ट बनाई मानिसको स्थिर समग्र विकासमा विश्वासघात गरिरहेछ । सचेत मस्तिष्क भएको मानिसले केही नगरी चिन्तन गरेर बस्नु पनि काम हो ।

त्यस्तै, भौतिक उत्पादनसँग जोडेर निष्काम, मगनमस्त र शारीरिक परिश्रम नगरी चिन्तनमा बाँच्न रुचाउनेलाई अनुत्पादक व्यक्तित्व भनेर उत्पादकत्वलाई अदुरदर्शी भई हेरिने भएर हो । वास्तवमा सिर्जनात्मकता र आविष्कारका लागि केही नगरी बस्नु अत्यावश्यक भएको मनोवैज्ञानिक अनुसन्धानहरूले पुष्ट्याउँछ । कुनै व्यक्ति केही काम नगरी बसिरहेको र चलफिरसमेत नगरेको देखिए पनि उसभित्र रहेको संसारमा उच्च मानिएको मानव मस्तिष्कले नयाँ अवधारणा, उम्दा विचार, आविष्कार, धुन र सिर्जनात्मक रचना गरिरहेको हुनसक्छ । वास्तवमा हरेक मानिसका प्राज्ञिक क्षमताको अभिवृद्धिका लागि मस्तिष्कलाई पर्याप्त आरामी चाहिन्छ, त्यसो भए मात्र विश्वको सबै प्राणीभन्दा मस्तिष्क क्षमता बढी भएकाले नयाँ विचारहरू अङ्कुरण गराउन सकिन्छ । सधैँ दौडादौड गर्ने मानिसभन्दा बेला-बेला आरामगरी संयमसाथ गरिएको कामबारे चिन्तन गर्ने र ठिक बेठिक निरोपण गरी अघि बढ्ने मानिसले थप नयाँ विचार तथा प्रगतिको काम गर्न सक्छ । त्यसैले सचेत मानिसले केही देखिने काम नगरेजस्तो लागे पनि त्यस्ता मानिस हुनु नै उनले मानव प्रजातिको भलाईमा केही चिन्तन भइरहेको बोध अरुले गर्नुपर्छ । तर सावधान, परिस्थितिजन्य कारणबाट हुने निराशाको एक्लोपन र चिन्तनशील भएर बहुजनहितमा नयाँ विचारका लागि आउने एकान्तप्रियता फरक स्वभाव हो, होइन त ?

निवर्तमान अमेरिकी शल्यचिकित्सक प्रमुख डा. विवेक मुर्ती भन्छन, उनको सेवा अवधिमा सबैभन्दा सामान्य रोगको रूपमा मुटुरोग र मधुमेहको तुलनामा एक्लोपन बढी मानिसमा प्रकोप जस्तै देखिएको अनुभव छ । निरन्तरको एक्लोपन कसैकसैको भनाइमा करिब १५ वटा चुरोट सेवन गरेको बराबर हुन्छ, यस्तोले गर्दा मोटोपनबाट हुने मृत्युको आँकडालाई पनि जित्छ । एक्लोपन अहिले सामान्य समुदायको चासोमा पर्ने जनस्वास्थ्य समस्या बनेको छ र करिब महामारीकै रूपमा धेरै जनामा सल्किएको छ । त्यसैले जनस्वास्थ्य क्षेत्रमा काम गरिरहेका सम्बन्धित मानिसहरू यसको बृहत्तर कारण र समाधान पत्तोलगाउन कोशिस गरिरहेका छन् ।

युरोपमा सत्रौँ शताब्दी पछि सुखद, रोमान्सले भरिएका रचना प्रकाशित भएका कालमा कविहरूले एकान्तप्रिय भएका काव्य साधना कसरी गरे होलान ? त्यस्तो साहित्यिक ऐतिहासिकता युक्त किताब लेख्ने क्रममा एकान्त अवस्था सापेक्षतामा नयाँ विचार हो र भएमा सजिलै नियमन गर्न सकिन्छ भन्ने बेलायती पत्रकार जो एडेन्तुजीले पत्तो लगाइन् । बरू हिजोआज एकान्त, एक्लोपनको विचार नै परिवर्तन भई जटिल अभिव्यक्ति सुनिएकाले त्यसको नराम्रो पक्षको उपचार खोज्न गाह्रो भएको छ । पृथ्वीको उत्पत्ति बारेमा विज्ञानसम्मत बाहेक अनेक कथा-उपकथा हरेक मानव समुदायमा विभिन्न कालखण्डमा फरक-फरक भएझैँ एकान्त, एक्लोपन र एकान्तप्रिय हुने व्यवहारको अर्थ अहिलेको आधुनिक भनिएको समयमा फरक छ । त्यस्तो अवस्थाले यसको नकारात्मक असर र हुनसक्ने नोक्सानीबारेमा समाज, समुदाय र स्तर अनुसार सम्बोधन गर्नुपर्ने भएको छ । एक्लोपन बारेमा ऐतिहासिक सोचाई र विकास हेर्दा सबैतिर एकै खालको ठम्याई नभएकाले एकै प्रकारको व्यवहार, प्रयास र ओखतीले अहिलेको आधुनिक समस्या हल हुन नसकिरहेको वास्तविकता प्रष्ट देखिन्छ ।

एक्लोपनको स्थितिः
एक्लोपन अनुभव गर्ने वा एकान्तप्रिय हुन चाहने स्वभाव समयको ख्याल नभएको विश्वव्यापी अनुभवजस्तो लाग्छ । यस्तो प्रवृत्ति सोह्रौँ शताब्दीको अन्त्यतिर उत्पत्ति भई प्रचलनमा आएको देखिन्छ, त्यतिखेर मानिस टाढाटाढाका ठाउँमा घुमफिर गर्न र नयाँ कुरा पत्ता लगाउन मानिस बस्तीबाट टाढा निर्जन ठाउँमा जाने हिम्मत गर्न थाले । त्यस्ता भ्रमण उद्देश्यमूलक र समूहमा हुन्थ्यो भने सरकारी सहयोग र प्रोत्साहन पनि मानिलो रहन्थ्यो । अहिले जतासुकै मानिस रहेपनि फेरी मानिस नै किन एक्लो अनुभूत गर्छ ? किन चिन्ता र उन्मादमा रहेर विस्मृतिको शिकार बन्दै गइरहेछ ? द वाल स्ट्रिट जर्नलले डिसेम्बर सन् २०१८ मा अहिलेको पुस्तालाई ‘सबैभन्दा एकलकाँटे पुस्ता’ भनेर सचित्र समाचारमुलक लेख छापेको थियो । स्वास्थ्यका प्रविधिहरूको विकासले त्यसअघि ‘शिशुहरूको हुल’ हुने गरेर बालबालिका पैदा भएका थिए, तिनै केटाकेटी पछि उमेरिँदै जाँदा सबै पाका मान्छे हुने परिस्थितिमा जनस्वास्थ्यको क्षेत्रमा एकैपटक ठूलो खतरा आउन सक्छ ।

मर्मस्पर्शी कुरा चाहीँ एक्लोपनको व्यवहारले निरस बनेको समाजमा अहिले विद्युतीय र दुरभाषका साधनमार्फत् चाहेमा मानिस मानिसका बिचमा एकिकृत शहरीकरणले भौगोलिक दुरी घटेको छ । अहिले कोही कसैसँग भेटन आतुर देखिँदैनन्, के भएको होला साँच्ची ? मान्छेले मान्छेसँग भेटघाट र सुखदुख बाँड्नै नपर्ने होकि ? व्यक्तिव्यक्तिमा भएका समस्या शायद भेटघाटको कुराकानीले घटाउन र हटाउन सघाउँथ्यो कि ? एक्लाएक्लै पिरोलिएको अवस्था थप बिग्रने र अरुलाई मनका कुरा साटफेर गर्न नपाएर एक्लो परेर कोक्किएकोबाट मुक्तहुन सकिन्थ्यो कि ? किन यस्तो अवशर अचेल घटेको होला ? वास्तवमा भौतिक विकासको नाममा आवश्यकतानुसार कामको मात्रा र आयआर्जन नभएर अचेल एकान्तप्रिय बनेर नयाँ विचार प्रस्फुटन गराउने मौकाभन्दा भौतिक एक्लोपनको पीडाले मनोवैज्ञानिक पृथकतामा बाँच्नु पर्ने बाध्यताले पो बढी पीडा दिएको छ । त्यसैले अब एक्लो आनन्द र एकान्तप्रिय भइरहने भन्दा किन मानिसलाई नै हैरानीमा पुर्‍याउने यस्तो अवस्था भयो भनि विचार गर्नैपर्छ । विश्वभरि कसरी एक्लोपन र एकान्तप्रियता विकास हुँदै अहिलेको डरलाग्दो एक्लोपन मानिसमा भयो भनि खोतलौँ है त !

१. छिमेकीबाट टाढाः
परापूर्वकालदेखि एकान्तप्रिय हुनु वा एक्लो हुनुलाई सामाजिक भन्दा छरछिमेकबाट टाढा रहनु भन्ने अर्थमा बुझिन्थ्यो । मनको उत्सुकता मेट्न, नयाँ ठाउँ पत्ता लगाउन र हुर्किबढेको ठाउँ छोडेर अन्यत्र जानु डरमर्दोरूपमा चित्रण गरिन्थ्यो । तर मानिसहरू एक्लै बस्न र लागेको कुरामा एकाग्र बन्न एक्लिएकाहरू नै ठूला मान्छेमा गनिएका छन्, भगवान गराइएका बुद्धदेखि लिएर केही शताब्दी अघिदेखि विज्ञानमा अमिट नाम भएका ग्यालिलियो, लेमार्क (पहिलो विकासवादको धारणा राख्ने), डार्बिन, वालेक, हेगेलसम्म र सामाजिक विज्ञानमा माक्र्सदेखि च्ये गुभेरासम्म आफ्ना सुरुवाती अवस्थामा एक्ला नै थिए, आफ्नो परिवेशको जञ्जालबाट मुक्त भई नयाँ खोज अनुसन्धानमा दत्तचित्त, फगत एक्ला मान्छे । सबै आदरणीय महापुरुषहरूले पछिल्लो वयस्क उमेर वा पाको उमेरमानै सबै उल्लेखनीय काम गरेका हुन् भने विज्ञान जगतकी अद्वितिय म्याडम क्युरी पहिलो महिला जस्ले दुई नोबेल पुरस्कार दुई क्षेत्रमा पाएकी थिइन् । त्यस बाहेक संसारका उच्चतम एघार बढी सम्मान पनि त्यस्तै उमेरमा पाएकी थिइन्, त्यसैले विचारमा निमग्न एक्लोपन त उत्पादनशील पो हुने रहेछ है ।

२. नयाँ ठाउँका एक्लाः
संसारमा विचरण सुरु भएपछि मानिसहरू आफ्नो परिधि नाघेर टाढाटाढा यात्रा गर्न थाले । आफू र आफ्नो मुलुकबाहेक संसारमा केही छैन भन्ठान्नेहरू (अहिले पनि अमेरिका लगायत धेरै ठाउँका स्थिर रहेका मान्छे त्यस्तै छन्) नयाँ ठाउँमा अनौठा मानिस र वनजङ्गलका विचित्रका डरलाग्दा पशुपंक्षी हुने कल्पना गर्दै डुल्थे । त्यस्तो खासै फरक नभएर रूपरङ, चालचलन मात्र फरक भएका मानिस र हावापानी अनुसारका केही फरक जीव देखेपछि आफ्ना साँघुरा कल्पना भएको अनुभव गर्थे र कैयौँ त नयाँ ठाउँको हावापानीमा अभ्यस्त नभएर सखाप भए । नेपालमा ‘तराईमा भँगेरा जत्रा लामखुट्टे र एक रुपियाँको चामल खाई नसक्दै मरिने औलो रोग’ भन्ने उखान जस्तै युरोपियन मुलुकका बासिन्दाका लागि अफ्रिका र उत्तरदक्षिण अमेरिका रह्यो । अलि अनुकुल नभएका ठाउँ र मानिसलाई सबैले ‘खप्नै नसकिने अलगथलग रहेको ठाउँ र मान्छे’ को रूपमा एकान्त र निर्जन भनि वणर्न गरे । ति सबै ठाउँमा मानव तथा जीवहरूको विकास सँगसँगै तर मौलिक स्थानविशेष किसिमले भएकै थियो ।

३. विकटमा सुगम सञ्जालः
हिजोसम्म निर्जन, वनजङ्गल, वनैया प्राणीको संसार जहाँ रोगव्याध र असभ्यता मात्र झल्किन्छ भनिएका ठाउँहरू नयाँ आएका मानिसहरूको आकर्षणले अस्थायी हुँदै स्थायी बसोबास स्थल हुनपुग्यो । व्यापार र आयमूलक कामका लागि जातेआते गरिएका तेस्रो बिश्वमा जङ्गली भनिएका क्षेत्र र मानिस सखापै पारेर पनि युरोपियनहरू आफु अनुकूल बसोबासको प्रवन्ध गर्न थाले । नेपालमा औलिया बेँसी र रमाइलो पहाड भनी छुट्याइएका ठाउँमा भौतिक सुविधाको पउलले बेँसि गुलजार भयो भने झाडी र वनको विनाशले अब ‘औलोको काल, काला पानी’ सबै अनुकुल ठाउँका बासिन्दाको राजधानी हुन थाल्यो । अब न काठमाडौं आउँदा राहदानी चाहियो न मधेश जाँदा डराउनुपर्ने रोगव्याध, झाडी र वन भेटिने सम्भावना रह्यो । त्यसैले हिजोको अनौठो एक्लोपनमा बाँचेका अलगथलग कोही भएनन् भने सबैतिर मानिस समूह पनि छ्यासमिस भएको अवस्था हुनगयो ।

निख्खर प्रजाति र समुदाय भन्दापनि अब संसारमा ‘ब्रोईलर प्रजाति’ मानिसले उपभोग गर्ने जीवनिर्जीवमा मात्र होइन मानव प्रजाति समेत प्रभावित भयो र अब सबैतिर प्राकृतिक बासस्थान र रैथाने प्रजातिभन्दा कृत्रिमको बजार रह्यो । यसले मानव समुदायसमेत लेखक डा. वोस्र्लेले भनेजस्तै परम्परागत एक्लोपन होइन ‘आधुनिक एक्लोपन’मा बाँच्न बाध्य भयो । भौतिकरूपले अलगथलग होइन एकै ठाउँमा हुलका हुल भए पनि भावनात्मक हिसावले अरु होइन मानिसमात्र एक्लो बनिरहेको छ । यो सब बिसौँ शताब्दीको मानव निर्मित यन्त्रविज्ञानको बढोत्तरी र सञ्चारको सञ्जालको अधिक उपयोग नै हो भन्ने धेरैको ठम्याई छ । हिजो सम्मका चार कोशे झाडी हराएझैँ मौलिक पहिचानसहितका जीवनिर्जीव वस्तु फेरिएका छन्, डरलाग्दा भनिएका जीव, कथानक पात्र फेरिएका छन् भने झन् डरलाग्दा ‘आधुनिक ब्वाँसाहरू’ थपिएका छन् ।

सरकार र संस्थानले हरेक नीजि कुराको जानकारी लिएर सूचनाको हक र प्रजातन्त्रको नाममा तपाईंको व्यक्तिगत स्वतन्त्रता हरण भएको छ । आफ्नो प्रतिकूल चल्न नदिन र अँठ्याईरहन नियमकानुनको माखेसाङलोमा तपाईंलाई फँसाएको छ, त्यसैले त तपाईं आफ्नो पैतृक सम्पति र मिहेनतमा पनि कर तिर्न अभिशप्त हुनुहुन्छ । ज्ञान आर्जनदेखि लिएर कडा मिहेनतले पसिना चुहाएर आर्जित सम्पति तपाईं पुरा खान पाउनु हुन्न र समूहका हितमा बलिदानीहरू शहीदका नाममा मूर्तिमा ठडिन बाध्य छन् । समुदायको हितभन्दा तपाईंमाथि राज्य गर्नेको हितमा नानाथरिका प्रजातान्त्रिक भनिने व्यवस्था ‘गोरुको जुवा’ जसरी नारिएका छन् र कैयौँ नचाहिने बन्दोबस्ती लादिएका छन । त्यसैले यतिखेर पूर्ण भरोसा र विश्वास तपाईंले केलाई र कस्माथि गर्ने भन्नेनै दोमनमा पर्नु भएको छ र एक्लो महसुस गरिरहनु भएको छ ।

४. जानकारीको महासागरः
मानिसको ज्ञानको अथाह समुद्र, भरपर्दा र हावादारी सबै किसिमका सूचनालाई मान्दा अहिले सँसारकै बोझथाम्ने ‘शेषनागझैँ’ जुर्मुराएको छ । युनिभर्सिटी अफ नेभादाका समाजशास्त्री डा. साईमन गोट्सचाल्कले आधुनिक सूचनाप्रणाली र सञ्चार प्रविधिले ल्याउने समाजिक र मनोवैज्ञानिक प्रभाव बारेमा एक दशकभन्दा बढी समय अध्ययनमा बिताएका छन् । उनको ठम्याई छ, हाम्रा तथांकथित आधुनिक संयन्त्रले लगातार परस्पर विरोधी र तपाईंलाई मन नपर्ने असान्दर्भिक समाचारहरू पनि सम्प्रेषित गरिरहेका हुन्छन् । तिनको अति प्रयोग गर्ने बानीले ती संयन्त्र सधैँ चालु रहन्छन् र तिनका सावधानी र सतर्क गराउने झर्को लाग्दो आवाजले तपाईंका दैनिकीमा असर गरिरहेको छ । त्यसको फलस्वरूप तपाईंमा एकअर्कामा सम्बन्ध गाँस्ने, चिन्तन गर्ने आत्म केन्द्रित विचारमा अस्थिरता ल्याएको छ भने निरन्तर लागिरहने प्रवृत्तिलाई बाधा पुर्‍याएर खण्डित गरेको र बिस्तारै निराशा र उन्मादतिर घच्याडिरहेछ । यो सूचनाको विविध सञ्जालले सबैलाई अशुरक्षित अनुभूत मात्र गराउँदैन बरू बेलाबेला गरिने सनसनीखेज समाचार र सार्वजनिक ईमेलका प्रवाहले तपाईं रणभूल्लमा पनि पर्नु हुन्छ । संसार डुब्नै लागेको भान पार्ने यान्त्रिक सञ्जालका कुराले आफु असहाय भएको डरले थरथर काम्दै तपाईं ‘आफ्नो दूलो नजिक बयर खस्दा आकास खस्नै लागेको आशङ्कामा दौडेको खरायो जस्तै’ किमकर्तव्यविमूढ भएर आत्मग्लानीले पिर गरिरहनु हुनेछ ।

मनोविज्ञानमा भएको यस्ता मन बराल्ने शक्तिले मानविय मूल्यमान्यतामा कुनै साइनो राख्दैन, बरू तपाईंका स्वतन्त्र चिन्तन प्रणालीलाई शोषण गरेर बदल्ने कोशिस गर्छ । व्यक्तिवादले आफूलाई मैँ हुँ भन्ने त सिकाउँछ, आफूलाई सानो ठान्ने विचार पलाउनै दिन्न तर आवश्यकता पर्दा आफूलाई माया गर्ने मनुवाको अभावमा निसहाय र एक्लो अनुभूत गराइहाल्छ । अनि संसार यति सानो र निरस लाग्छ कि मानिस जवाफ फर्काए पनि नबुझ्ने प्रतिक्रिया जनाउने पशुपंक्षीमा तानिन थाल्छ अनि परिवार मिलेर बस्नेभन्दा कुकुर, बिराला र चराहरूका शौखिन देखाउन थालेका छन् । अहिले पश्चिमा देशका मानिसमा देखिएको एकल परिवार र मनुष्यत्व बिनाको दौडधूप त्यस्ता मनोवैज्ञानिक एक्लोपनको परिचायक हो भने क्रमश विकासको नाममा अरु मुलुकतिर पनि आधुनिकताको नाममा सल्किरहेको सबैले अनुभव गरिरहेछन् ।

अहिलेको अवस्थाः
अहिले मानिसले प्राकृतिक कुरा, सहजीवन र सहभोजन भनेर किन बडो उत्साहका साथ कार्यक्रम आयोजना गर्छन् ? कहिल्यै त्यस कर्मप्रति गम्भिरतापूर्वक सोच्नु भएको छ ! परम्परागतरूपमा मानिस किन चाडपर्व, उत्सव, मेला, जात्रा र समारोहको आयोजना गर्दछ ? त्यसप्रकारका आयोजनको मनोवैज्ञानिक पक्षमा कहिल्यै मन लगाएर सोच्नु भएको छ ? सामुहिकता र मानवको सहिष्णु एकता अहिले किन सबैको प्यारो बन्दै गईरहेको छ ? गाउँघरतिर अझै पनि अड्कोपड्को सहयोग चल्छ तर झन् मानिसनै थुप्रिएका शहरबजारमा किन मानिस फगत एक्लो हुँदै गइरहेछ ? मानिसको जमघटले मानवीय भावना पलाउला भनी शहर निर्माण भएको मनोविज्ञानलाई बिर्सन मिल्छ र ? अध्ययनले देखाएको छ, ठिक यस्को उल्टो शहर त परिवार फुटाल्ने, सामाजिक बनावट बिगार्ने र मानिस एक्ल्याउने थलो बनेको छ । कोही कोही प्रति जिम्मेवार नहुने, कसैलाई कसैको लाज नहुने अनि माया कस्लाई गर्नुपर्ने भन्ने मान्छेले बिर्सिएको छ, त्यस अवस्थामा सेवानिवृत वा उमेरले पाका भएर शारीरिक क्षमता न्यून भएका उमेरिएका हाम्रै बाआमा र हजुरबाआमाको हालत गएगुज्रेकै नहोला त ?

‘जीवनभरी काटमार गर्नेले मर्नुअघि शाकाहारी भएझैँ’ संसारभरि कष्टका अपवित्र बादल छर्दै हिँड्ने युद्धमूखि साइँदुवाहरू मानिसका गहनतम संरचना भत्काएर ‘गर्नु पाप गरेपछि’ हिजोआज सामाजिक मेलमिलाप, सहयोगी संस्था र विकासको नाम जप्दै झन् बढी बिल्लीबाठ गराउन ‘फर्सीका लहरामा गुयँलाको फूल सिउरिन’ उद्यत्त छन् । पाका मान्छेका लागि पारिवारिक स्नेह र आदरका साथ अंशियारले जिम्मालिनु पर्ने ठाउँमा वृद्धाश्रम घच्याड्न र तुज्रुक भएकालाई अझै सुमर्न वृद्ध आवासगृह यस्तै नाममा ‘आफ्नाविहीन आधुनिक मसानघाट’ निर्माणमा जोड दिँदैछन् । के स्नेहरहित अवस्थामा एकातिर थुपारिएका पाका मान्छेमा देखापर्ने भावनात्मक एक्लोपन त्यस्ता खण्डहर प्रतित ठाउँमा बसेर काल पर्खँदा नआउने हुनसक्छ र ? एक्लोपनलाई यति हलुका तरिकाले आङ्कलन गरेर समाधान गरीँ भनेर एउटा झण्झट पन्छाएजस्तो मानिसले मानिसलाई कबै गरिनु हुन्न ।

भौतिकरूपले सम्पन्नतानै सबैथोक होइन, मानिसलगायत सबै जीव जन्मीएपछि आफ्नो कालखण्डमा उमेरिँदै जाँदा मर्छन् भने निर्जीव पनि नाश भएर जान्छन् । मानिसले विकासक्रममा सबैभन्दा बढी मस्तिष्क क्षमता पाएको छ, ऊ आफू मात्र होइन अरुको पनि हित र संवद्र्धन गर्नसक्छ भने आफ्नै परिवारका आदरणीय मानिसको भलाइमा काम गर्न त सकिहाल्छ । समयक्रमको र देखासिखीको गन्धे हावाले आक्रान्त भएर किन हिजोआज मानवबाट गैरमानवीय चेत सतहमा ल्याउँछ ? यसै व्यवहारले गर्दा पाका मान्छेका एक्लोपनको मनस्थिति हुने कारण भएको छ । व्यवहारनै दुरुस्त नहुँदा परिवारकै भिडमा पनि पाका मान्छे एक्लिएका छन्, यो उनीहरूको अनुभव, ज्ञान र क्षमताको अनादर हो, उनीहरूलाई क्रियाशील बनाउँदा फाइदा सबैलाई छ ।

पाका मान्छेले भौतिकरूपले एक्लिए पनि मानसिकरूपले आफुलाई चनाखो र सतर्क राख्नैपर्छ साथै मानसिक रोग एक्लोपन लाग्ने सम्भावनालाई टाढै राख्नुपर्छ । हामीअघि र समकालीनमा जस्ले यो असाध्यै रोग स्विकार गरेनन् तिनले परिवार, समाज र देशका लागि मात्र नभई मानव प्रजातिका लागि अमूल्य योगदान गरेका छन् । केही बाहेक नेपालका नाम चलेका कवि र लेखकहरू सबै पाको उमेरमा आफ्ना उत्कृष्ट रचनाका कारण प्रसिद्धी कमाएका हुन । अहिलेको जस्तो झोले व्यवहार नहुँदै नेपालका त्रिरत्न गनिएका कवि, कथाकार र लेखक सबै पाका मानिसनै थिए । शताब्दी पुरुष मानिएका नेपालका मानिसले आफ्नो जीवनको पछिल्लो कालखण्डमानै नेपालका कुनाकन्दरा मात्र होइन सँसार चिन्हाउने किर्ती दिएर गएका छन् । झेल नगरिने व्यवस्थामा पाका शिक्षकहरूमात्र प्राध्यापक तथा प्राज्ञिक क्षेत्रका हस्ति हुन्छन् भने कैयौँ वर्ष तालिमे भएका मान्छे पाको उमेरमानै नाम चल्ने वस्ताद बन्छन ।

ठूला नाम चलेका मान्छेको कुरा गर्ने हो भने, त्यतिखेर सबैले देखेझैँ न्युटनले पनि रुखबाट स्याउ खसेको देखे, उनको एकाग्र चिन्तनशील दिमागले सन १८८७ मा चवालिस वर्षको पाको वयस्क उमेरमा गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गरेर प्रकाशित गरे । आर्कमिडिजले ईशाको २८७ वर्ष अघि जन्मेर पक्का वयस्क हुँदा बाथटब भनिने नुहाउने डुँडमा अल्छी मान्दै बस्दा पानीले उचालेर हलुको बनाएको र पानीमा वस्तु राख्दा विस्थापित भएको कुरा गम्भिररूपले चिन्तन गरेर आर्कमिडिजको पानीको विस्थापन सिद्धान्त अघि सारे । त्यस्तो भाँडोमा नुहाउने चलन सबैको घरमा थियो, तर अरुको ध्यान त्यस्तो कुरामा नभई कामकाम भन्दै बित्थ्यो । अल्बर्ट आइन्सटाईन आफ्नो काम गर्ने अफिसमा पनि काम नगरी घण्टौँ खाली ठाउँ वा आकाशतिर हेरिरहन्थे । देख्दा सुस्त मनस्थितिको केटाकेटी जस्ता आइन्सटाईनले काम गरेको कम देखिन्थ्यो तर सधैँ चिन्तनशील कैयौँ कुरा सोचिरहेका हुन्थे । त्यसैको फल एक वयस्कबाट संसारलाई चकित पार्ने सापेक्षतावादको सिद्धान्त पत्ता लाग्यो, ई.सं. १९२२मा नोबेल पुरस्कार पाए र अझैँ पनि आइन्सटाईन विश्वका सबैभन्दा मानिएका वैज्ञानिकमा गनिन्छन् ।

विज्ञानको क्षेत्रमा थप हेर्ने हो नेपालका मात्र होइन संसारकै वैज्ञानिकहरूले आफ्नो पाको उमेरमा नै अनुसन्धानको उच्च सफलता प्राप्त गरेको देखिन्छ । बेञ्जामिन फ्रेङ्कलिनले दस वटा अनौठा आविष्कार गरेका थिए र ७८ वर्षको उमेरमा नयाँ पत्ता लगाएका थिए । सुव्रमण्यम चन्द्रशेखरले ७३ वर्षको उमेरमा आकाशमण्डलमा ताराहरू नष्टभएमा सेतो पुञ्ज बन्छ भन्ने पत्तालगाएर नोबेल पुरस्कार पाए । रविन्द्रनाथ टैगोरले साहित्यमा र अमत्र्य सेनले वाणिज्यशास्त्रमा नोबेल पुरस्कार पाउँदा पाका भईसकेका थिए । आर्थर अस्टिनले ९६ वर्षको उमेरमा नोबेल लौरेटको उपाधि पाएका थिए भने चिनियाँ महिला डा. तु युयुले परम्परागत औषधीय तितेपातीसँग मिलाएर बनाएको पदार्थबाट औलोको खोपको सफल परिक्षण गरेपछि ८५ वर्षको उमेरमा नोबेल पुरस्कार पाउनु भयो । एउटा लेखअनुसार नोबेल पुरस्कार पाउनेमा रसायन शास्त्रमा ७१ वर्ष, भौतिक शास्त्रमा ६८ वर्ष, शारीरिक र औषधि बिज्ञानमा ६८ वर्ष र वाणिज्यमा ६७ वर्ष औशत उमेर भएको पाईएको छ । यस्को मतलव पाका मान्छेलेनै एकान्त चिन्तन र एकान्तप्रिय भएरनै मानव सँसारलाई फाईदा पुग्ने काम गरे र नाम चलाए ।

अन्त्यमा,
एक्लोपन कसैको लागि पनि नराम्रो होइन अझ पाका मान्छेको लागि त जीवनभरिको अनुभव सङ्गाल्ने र बहुजनहितमा काम लाग्ने कुरालाई सञ्चय गरेर प्रकाशमा ल्याउने सुवर्ण अवसर हो । हरेक पाका मान्छेले आफ्नो बाँकी जीवनलाई थप उर्जावान बनाउँदै परिवार, समाज र मानव प्रजातिकै हितमा केही गर्ने विचार गरे एक्लोपन विस्तारै एकान्तप्रिय बन्दै जान्छ । यो तरिका नै साँचो मानव प्रजाति भएको र पाका मान्छेको आदर्श स्तर थाम्ने व्यवहार मान्न सकिन्छ । सकेसम्म पाको उमेर उत्पादनशील बनाउन सचेत पाको मान्छे एक्लैनै लागि पर्छन, अघि सर्छन र त्यहि एक्लोपनले उनिहरू सँसारमा अमर हुन्छन ! हामी पनि कम छैनौ, सबै आआफ्नो क्षत्रमा लागि परौँ ।

०००
चालिसे डाँडा, ललितपुर
चैत्र, ३०, २०८०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x