
नववर्षको शुभकामना
अर्काको मतियार भै मुलुकमा हेप्ने र चेप्ने हटुन् । सच्चा मानवता हुनेहरू सबै यै देशमानै अटुन् ॥ लत्यावोस् चुसुवा लठैतहरू जो लुट्थे र रम्थे हदै । हाम्रो वर्ष नयाँ उही विगत झैँ भो भो नआवोस् कतै ॥

छविलाल आचार्य :
बाँडेथेँ शुभकामना विगतमा, झन् भ्रष्ट बढ्दै गए ।
लोभी दम्भि र तस्करहरू, झन् प्रष्ट बन्दै गए ॥
जाली भ्रष्ट र क्रुर निच पनका, देख्यौँ जता हो त्यतै ।
हाम्रो वर्ष नयाँ उही विगत झैँ भो भो नआवोस् कतै ॥१॥
नाकाबन्द भयो सीमा वर सर्यो काँपिन् धरा थर्थरी ।
हाम्रा ती शुभकामना सँगसँगै आँसू झर्यो बर्बरी ॥
कोरोना विष फैलियो मरिसके लाखौंँ जता हो त्यतै ।
हाम्रो वर्ष नयाँ उही विगतझैँ भो भो नआवोस् कतै ॥२॥
बढीले जलमग्न भो धरती यो पैह्रो चलेको थियो ।
कैयौँ लास म देख्दथेँ बगरमा छाती जलेको थियो ॥
कोरोना विष फैलियो मरिसके लाखौंँ जता हो त्यतै ।
हाम्रो वर्ष नयाँ उही विगतझैँ भो भो नआवोस् कतै ॥३॥
अर्काको मतियार भै मुलुकमा हेप्ने र चेप्ने हटुन् ।
सच्चा मानवता हुनेहरू सबै यै देशमानै अटुन् ॥
लत्यावोस् चुसुवा लठैतहरू जो लुट्थे र रम्थे हदै ।
हाम्रो वर्ष नयाँ उही विगत झैँ भो भो नआवोस् कतै ॥४॥
भित्रियोस् अब लोकतन्त्र जनमा ती कन्दरा गोठमा ।
नौला भाव र सिर्जना चलिरहुन् लाली चढून् ओठमा ॥
भागोस् व्यग्र कथा व्यथा विगतका देख्यौँ जता हो त्यतै ।
हाम्रो वर्ष नयाँ उही विगत झैँ भो भो नआवोस् कतै ॥५॥
०००
पोखरा- १६ कास्की
Subscribe
Login
0 Comments
Oldest