
गाँडतन्त्र
टाउको खोज्दथे कोई, लुक्थे जङ्गलमा कुनै । सत्ताको मोहमा ऐले, मिलेका छन् उनै उनै ॥ गाँडतन्त्र फसेको छ, विदेशी जालझेलमा । बसेको छ सबै तन्त्र, नेताको झेल खेलमा ॥

छबिलाल आचार्य :
राजा प्रजा हुँदा मात्र, प्रजातन्त्र थियो अरे !
तस्करे भ्रष्टको जालो, गाँडतन्त्र भयो अरे ॥
समवेशी भए नेता, नयाँं नौला थरीथरी ।
तस्करे माफिया ऐले, छानिँदैछन् घरीघरी ॥१॥
देश निर्माणको नौलो, नयाँ बाटो खुलाउन ।
लागेछन् पार्टी पङ्तिले, भ्रष्टाचारी लुकाउन ॥
लट्ठिए जनता सारा, चुनावी तन्त्र मन्त्रले ।
रित्यायो ढुकुटी ऐले, हाम्रो यो गाँडतन्त्रले ॥ २॥
चुनावी खेलमा हाम्रा, नेता नोट भिराउँछन् ।
भोज भतेरमा व्यस्त, कोही भट्टी छिराउँछन् ॥
तन्त्रको मन्त्रले मुग्ध, जनता असरल्ल छन् ।
सिंहदर्बार गाँवैमा, नेताजी रसरल्ल छन् ॥३॥
गाँडतन्त्र रमेको छ, भाँडतन्त्र भए सरी ।
आस्थाको मत च्यातेर, हाँस्न थाल्यो वरीपरी ॥
छाडा तन्त्र समेटेर, आफ्नै अर्थ लगाउँछ ।
न त ऊ कानुनै मान्छ, सत्ता मोह जगाउँछ ॥४॥
जो हो भ्रष्ट उसैलाई, अलङ्कार भिराउँछ ।
सच्चा सेवकको माथ, नित्य उस्ले गिराउँछ ॥
जित्नेले हार खेप्दैछ, हार्नेले जीत भन्दछ ।
सत्ता लिप्सा चलेको छ, विकासे गती मन्द छ ॥५॥
नतिजा दिन सक्दैन, आयोग मात्र बन्दछ ।
काण्डै काण्ड घटेका छन्, विकासे गति मन्द छ ॥
चाहियो लास वा सास, लापत्ताहरुको भनी ।
भक्कानो मन पारेर, रुन्छिन् आमा अझै पनि ॥ ६॥
सत्तामा जो रहेका छन्, शक्तिशाली उनै हुने ।
गरीब निमुखा व्यक्ती, छाती पिटी सधैँ रुने ॥
वार्ता वार्ता भनी हिँड्छन्, आफ्नै डम्फू बजाउँछन् ।
निकास हुन्न रे ! शब्द, गाँडतन्त्र भजाउँछन् ॥७॥
आचार संहिता छैन, जे गरे नि हुने भयो ।
राष्ट्रको ढुकुटी सारा, भ्रष्टको जेवमा गयो ॥
खै शक्ती ? कुन हो शुद्ध ? भ्रष्टाचार हटाउने ।
आ-आफ्नै डम्फूको ताल, भ्रष्टतामा अटाउने ॥८॥
टाउको खोज्दथे कोई, लुक्थे जङ्गलमा कुनै ।
सत्ताको मोहमा ऐले, मिलेका छन् उनै उनै ॥
गाँडतन्त्र फसेको छ, विदेशी जालझेलमा ।
बसेको छ सबै तन्त्र, नेताको झेल खेलमा ॥९॥
गणको मत च्यातेर, गण नायक बन्दछन् ।
शुभ यो कामना मेरो, सुनाउँ ? पनि भन्दछ ॥
अधिकार हर्यो भन्थे, राजाको राजातन्त्रले ।
गणको चाहना के छ ? पुर्याओस् गाँडतन्त्रले ॥१०॥
०००
पोखरा -१६ दीप, कास्की
Subscribe
Login
0 Comments
Oldest