सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गफ-जब्बर ! रङ्ग नफेर्ने लाछी !!

जनता ऊ जान्दैन, युगधर्म ऊ बुझ्दैन, रङ्ग फेर्न ऊ जान्दैन । उसलाई सङ्केतले हुँदैन । उसलाई फेर्न चाहनेले यो-यो कुरा हो, यसो यसो हुन्छ भन्नुपर्छ र जे कुरा हुन्, पक्कापक्की हुने कुरा नै भन्नुपर्छ ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

Chudamani Regmiपूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

यो हल्लै-हल्लाको देश हो !

सानो छँदा गफडी कान कम सुन्थ्यो र उसलाई गाउँकी एउटी बुढी रिसाउँदा ‘वहिरो मोरो !’ भनेर गाली गर्थी । गफडीलाई रिस उठ्थ्यो, त्यतिखेर त्यस वास्तविकतामा । अहिले गफडी सोच्तछ, सत्य कटु हुन्छ, त्यसैले त्यो सत्य थियो, किनभने गफडी वास्तवमा वैरो छ । हाम्रा यस शताब्दीका जनप्रिय कविमध्येका एकजना कविले ‘यो हल्लै हल्लाको देश हो’ भनेर कविता कथेर वास्तविकता भट्याइसकेको छन् र पनि गफडीलाई हल्लाको रौँले कति पनि हल्लाएन । कुरो के पर्‍यो भन्नुहोला भने यहाँ दिनहुँ एक-न-एक हल्ला हुन्छन् । हल्लाका बम विस्फोट दिनहुँ हुन्छन्, ती नसुन्नेलाई सारी आउँछन् पोते आउँछन्, सिन्दूर आउँछन्- किनभने हल्लामा नकुद्ने लाछी हो रे । स्वास्नीमान्छे हो रे !

रङ्ग नफेर्ने लाछी !

‘सबै जना शिक्षक फेरिए है, सबै जना पत्रकार फेरिए है । सबै जना लेखक फेरिए है ।’ एउटा व्वाँसाले गफडीलाई भन्यो । गफडीले व्वाँसोलाई हेर्‍यो, यो सधैँ मोटरमा कुद्छ । यसले वर्तमानको हर्ताकर्ता भएर के लुटेन ? भव्य बिल्डिङमा मजले सोफामा पल्टन्छ । के चै लुटेन यसले ? तर पनि व्वाँसाको धर्म यसले पालन गर्नुपर्ने । गफडीले उसका अघि प्रश्न तेर्स्यायो, ‘मान्छेले जे सोच्छ, त्यो न गर्छ । अर्थात् उसलाई मन परेका पछि न उसले कुद्नुपर्छ ।’

उसले भन्यो- ‘जमानाअनुसार नफेरिए भरे खैरियत छैन ।’ गफडीले उसलाई धन्यवाद दियो- ‘तिम्रो ऐले पनि खैरियत होस्, भरे पनि होस् । तिमी मर्द वन, हामी यस्ता लाछी नै वनौ ! तिम्रो नै जय होस् ।’

जनता ! जनता ! जनता !

हाम्रा पार्टीमध्येका यौटाले गफडीलाई भने- ‘हेर्नोस्, गफडीजिउ, अब जनताको जुग आयो ।’ गफडीले सोध्यो- भारतका पञ्चमाङ्गी मिलेर पनि जनताकै जुग आएको छ, कन्जर्भेटिभ पनि जनताकै जुग भन्छन्, स्टालिन पनि । माओको बाटो छोड्ने पनि जनताकै भन्छन् । भियतनामका जनता मार्ने आजसम्मका सबै जनताकै भए । कस्तो जनताको जुग आयो ?’ चस्मे बुजुगले पुनः फर्माए, ‘गफडीजिउ, जनताको जुग भन्नासाथ र प्रजातन्त्र भन्नासाथ सचेतलाई अर्थ्याउनुपर्दैन !’

गफडी चुप भयो । हो त । गुलियो भनेपछि त्यसको अर्थ गुलियो हो, तीतो भनेपछि तीतोको अर्थ तीतो हो । जसले गुलियो भन्छ, त्यो गुलियै हुन्छ र तीतो भन्यो भने तीतै हुन्छ । यसैले बुद्धिमान्को बुद्धिमत्तापूणर् काम के भने कसैको ‘गुलियो गुलियो ।’ भनाइमा ‘जे कुरा बुझियोस्, तपाईंको कुरामा भुलियो’ भन्नुपर्छ, अनि नै बुद्धिमान् ठहरिन्छ ।

जनसेवा ! युगधर्म !

एक जना जनसेवी तथा लडाकूले गफडीलाई बताए- ‘बुभनुभो गफडीजिउ, अब जनसेवाका दिन आए, युगधर्म यही हो । यसैमा कुद्नुपर्छ ! सबै कुदिसके ।’

गफडीले मन-मनै भन्यो । विल्डिङमा बस्ने रहर यहाँ कसको गएको छ ? खेतमा गएर हलो-कोदालो चलाउने रहर कुनचाहिँ जनसेवी भनाउँदाले गरेको छ ? जनता पिँध्नेहरू, डेढा, दुना व्याज खानेहरू, घुसको धनमा पन्पिनेहरू, विदेशी धनका पोका हत्याउनेहरू कराउँछन् ।’ मुखले चाहिँ गफडीले भन्यो- श्रीमान्जिउ, युगधर्म भनेको क्या हो ? अलिक बताउनोस् न !! उक्त जनसेवीले फर्माए-‘बाहरे । गफडीजिउ । युगधर्म भनेको पनि भनिरहनुपर्छ र ।’ ‘हो’ गफडीले वुभयो- यहाँ भनिरहन पर्दैन, व्याख्या चाहिंदैन, सिद्धान्त चाहिदैन, सिरिफ केही हौवा खडा गर्नेहरू स्याल झैँ कराउँछन् र अरूले पनि त्यस हाउमा हाउहाउ गर्नुपर्छ । कस्तो युग थियो, कस्तो युग आएको छ, कस्तो युग आउने हो । भन्ने गम्भीर ढङ्गले सोचेर वोल्ने लेख्ने र चिन्तन गर्नेले युगधर्म जान्दैन । युगधर्म त टाठाबाठा र छट्टुले मात्र जान्ने कुरा हो र सोझा सिधाले चैँ त आँखामा पट्टी बाँधेर पो कुध्नुपर्छ त !

भएन ! केही भएन ।

एक जना बुज्रुकले बताए-‘हेर्नोस् गफडीजिउ, मलाई एउटा सन्देश छ, अलिक गतिलो ठाउँवाट आएको । त्यो के भने यहाँ केही भएन, तसर्थ गफडीजिउ जस्ताले सचेत हुनुपर्‍यो !’

गफडीले मन-मनै सोच्यो- यी एकैपटक जम्मै थोक कसरी आए ? रङ्ग फेर्ने कुरा पनि, जनताका कुरा पनि, युगधर्मका कुरा पनि र केही भएनका कुरा पनि गफडीले सोध्यो- ‘यी भएनहरू अहिले एकैचोटि किन थुप्रिए ??’

ती बुज्रुगले के मात्र सङ्केत गरे भने यति भन्नासाथ आँ गर्दा अलङ्कारका रूपमा सुन्नेले बुझ्नुपर्छ । गफडी छक्क पर्‍यो- ‘ए बावा ठाकुरे हो । यी बुद्धगले पनि रङ्ग फेरिसकेछन् । एक जनाले भाषणमा त भन्थे- माननीय पद सबलाई दिनुपर्छ, त्यसो नै माननीय हली, माननीय गुरु, माननीय छात्र, माननीय किसान, माननीय छोरो, माननीय बाबु, माननीय बुहारी, माननीय मालिक र माननीय नोकर भई सब भएमा मिल्छ । यी बुज्रुग बुझक्कड भई रङ्ग फेर्नेतिर लाग्नुमा पनि यस्तो पद यिनले नपाएरै हो । गफडी सोच्तछ, पद भनेको कुर्सी त हो । कुर्सी हो त त्यो सधैँ टास्नुहन्न र त्यो कसले कति दिन पाउने हो ? बुज्रुगलाई गफडीले के मात्र सङ्केतात्मक प्रश्न गर्‍यो भने तपाईंद्वारा अब यस्तै युगधर्म पालन भइसक्यो त ?’
‘म पनि विचार गर्दैछु ।’

‘ढलपल त छँदैछ’ गफडी झन् छक्क पर्‍यो । रङ्ग फेर्नेहरूमध्ये कैयौँ अफ डलपलमा छन् । जय होस् तपाईंहरूका अवसरवादको उभौली होली, रङ्ग फेर्ने मुजुरहरू हो- तपाईंहरूको । तर तपाईंका चर्का सोर यी वैरा कानले फेरि सुन्नु नपरोस् । नत्र त्यस दिन गफडी खुत्रुक्क हुन बेर छैन !

पातमा पात ! बातमा बात !

गफडी बहकिएको छ है हजुरहरू हो ! मनोश्लेषणद्वारा गफडीको मनस्तत्व जाँच्ने बेला आइसकेको छ । सोझालाई रिस उठ्छ रे । सोझाका मनमा कुरा परेपछि पातमा पात हुँदा बातमा बात भए झैँ कुरा त निस्स्यै नै गफडी, फोस्रा गफ हाँक्छ, उसको यो विराम हो भने विमार पनि हो, नत्र ऊ सोह्र घन्टा काम गर्छ । परिश्रम गरी पेट भर्नमा नै उसको पत्यार छ । जनता ऊ जान्दैन, युगधर्म ऊ बुझ्दैन, रङ्ग फेर्न ऊ जान्दैन । उसलाई सङ्केतले हुँदैन । उसलाई फेर्न चाहनेले यो-यो कुरा हो, यसो यसो हुन्छ भन्नुपर्छ र जे कुरा हुन्, पक्कापक्की हुने कुरा नै भन्नुपर्छ । ऊ हल्लामा कुद्दैन, किनभने ऊ हल्ला नै सुन्दैन र बुझ्दैन, केन भन्नुहोला भने ऊ वैरो छ । जे, पोका खाने अरु थरी पनि छन् रे । जुन थरी हुन्- गफडी अन्धो पनि छ । गफडी ‘साग र सिस्नो खाएको वेश आनन्दी, मनले’ मा विश्वस्त छ । इमान-जमान बेचेर दुई दिनको चोला ऊ बिगार्दैन । लागेको कुरा नै ऊ भन्छ । ब्रह्मले चित्त बुझेपछि मात्र कुनै काम गर्छ । गफडी शान्तिप्रिय छ-उसको शान्तिमा निकै पत्यार छ । आजका गनथन यत्ति नै । आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क ३०, २०३५
गफडीका गफ (२०६३)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
बाह्र सत्ताइसे गफ !

बाह्र सत्ताइसे गफ !

चूडामणि रेग्मी
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी