सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गफडी ! काम गर्ने भइस् !

के गर्ने यस देशमा कति कान्छी एक पेट भर्न पाउँदैनन्, कति माहिली नाङ्गो तन ढाक्न पाउँदैननन्, त्यही देशमा मुखभरि पाउडर दल्ने जागरुक महिला छन्, सिनेमाका आदर्श बोक्ने अपटूडेट महिला छन् र होटलटोटल खप्पिस मिमहरू छन् ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

पुङमाङ कवि : गफडी

जुन दिन गफडी यस धर्तीमा झर्‍यो र झर्नासाथ च्याँच्याँ गरेर रुन थाल्यो- विचरा रुन नै जान्यो वास ! किनभने उसले पायो मात्र रुने वातावरण, हाँस्न मोज गर्न त उसका जीवनमा कहिल्यै होइन। जे, रुने भनेर राँडेरुवाइ होइन अथवा पिन्चे पाराको रुवाइ होइन । ऊ कस्तो हो भन्नु होला भने भाग्गे जाग्ने हिसावमा उसको भाग्गे भन्ने नजागेपछि र भाग्गे जागेका अगाडि उसको खप्पर फुटेझैँ भएपछि उसले नरोए राति-राति मेची तरेर ब्ल्याक मनी कमाउन हिँडे भएन र ? कठै ! विचरा उसबाट नहुने यस्ता यस्ता तस्करी कर्म । ऊवाट टेलिफोन गराएर ‘हलो हजुर । यस्तो छ । यस्तो भयो !’ भन्ने हिम्मत त छैन भने ऊ हनुमानले तर्ने समुद्र जस्तो काम गर्न सक्छ र । केही गर्न नसक्नेको अवचेतन मनमा हीनताको भावना होला, त्यसैले त्यस्तो मान्छे रुन्छ होला । त्यसैले त गफडीले रुने कुरो पर्यो नि । गफडीले सायद यस्तै कारणले गर्दा कवि हुने मन गर्यो, उसको यस्तै भावनाले फुरेको एउटा पुडमाङ कविताको शीर्षकसहित प्रस्तुत छ-

मेरो साथीकी प्रेमिका

मेरो साथी छ कर्मचारी
बढो छ ऊ भाग्यमानी
दिनभर हाकिमकोमा उठबस गर्छ
जब घर आउँछ
प्रेमिका पाउँछ भाग्यमानी ।
झप्री केरा जस्ती छ राम्री सुन्दरी
हराउँछ प्रेमिकाको अनुपम सौन्दर्यभरि !
‘बटालियन’ को हवलदार ऊ
लेफ्टराइट घरआँगनभरि ।
भरखर-भरखर डोको जीवन छाडेकी
व्याग भिरेकी एक प्रकारकी
नवावतार स्विसकी
कुइरी होइन नयनी
महान् चोसो परायणी !
बेला-बेला गोडा पसारिनी
टाउकामा हात राखिनी ।
बेला-बेला गजगामिनी !
अपूर्व चमत्कारिणी !
सुहागिनी त्यसैले सिन्दूर
लाउने मानौँ हो इन्द्रेनी !
जुन जस्तो टीकाधारिणी
रक्त वस्त्रधारिणी
संस्कृतको सिलोक जस्ती
रसिली नभए पनि अङ्ग्रेजी टोन जस्ती
उमेर कोरी तिनेककी जस्ती
आँटले चै मानो सत्ताइस वर्षकी !
बोक्सीकी शत्रु-ब्युटी !
धामी झाँक्रीकी नयाँ अवतारिणी गजधुम्मे !
साक्षात् भवानी दुर्गा !
जय महाकाली !

लौ काम भेट्टाइस् ! गफडी अब गर्ने भइस् !

माथिको कविता उद्धृत गर्नुको अर्थ गफडीको कवितात्मक प्रवृत्ति दर्साउनु हो भने उसको मानसिक स्थिति दर्साउनु पनि हो । जे-जस्तो कविता भए पनि उसको कविता नविचारी उसका केही चिनारुहरूले भने, ‘लौ गफडी ! काम भेट्टाइस् । गरिखाने भइस् ।’ उनीहरूको भनाइमा अब गरिखानेवाला पो म भएँ । तर म यति छिटै झट्ट के गरिखान्थे र । कविता कच्नु, गफ गर्नु त मेरो जीवनको मुख्य कुरा पो भएको छ त । यति हुँदैमा कोही मैले गरिखाने कुरा भन्छ भने प्रजातन्त्र हो मैले सुन्नुपर्छ वास !

गरिखाने महानुभावहरू 

गरिखाने महानुभावहरूका कुरा गर्दा कोनि कसका अगाडि कोनि कसका जुग भनेझैँ हुन्छ । पुडमाङ कवि र पोचा गफ मास्टर गफाडीको तुलना गरिखाने नो बडासँग हुन सक्दैन, सुहाँउदैन । गरिखानेहरू अकाशबाट स्वाट्टै पैमा भाइरस र निर्दलीय भए पनि पैसा झार्छन् रे । भने कन्चन बहुदलीय भए पनि पैसै झार्छन् । है ! गफडी जान्दैन । भाग्गे फुटेको अभागी गफडीलाई यस जगत्मा त्यस्ता भाग्यवानसँग तुलना गर्न मिल्दैन । उही झिलिमिली स्वर्गमा पुग्दा गफडी नामक बन अकिञ्चन सुदामालाई कसैले हेर्‍यो भने बेग्लै कुरा हो, नत्र गफडीज्यूले गरिखानु र अकाशमा फल फल्नु एकै तर उदेकिलो हुन जानेछ- कुरो यतिविघ्न गहिरो खाले छ ।

पातमा पात ! बातमा बात !

‘घुम्दै-फिर्दै रुम्जैटार’ भन्थ्यो रे एउटा । पातमा पात हुँदा बातमा बात भाहनी कुरो आयो उही संसार-चक्र मूलरहस्य धनको नुन खान नपाउने देशमा कुन लाउने, ढाकर बोक्ने देशमा हेलिकोप्टर चढ्ने, अक्करमा हिँड्ने देशमा टोयटा कुदाहुने, खोसल्टे सुती खाएर फुर्ती हुने देशमा यदा-कदा अझ नामी-नामी टाउको बेरेको फेटे मगमग बासन आउने सिग्रेट खाने, पानी खान नपाउने देशमा ट्वाँट तन्काउने, भोटो र लङ्गौटी लाउन नपाउने देशमा सुटबुट धड्काउने । के गर्ने यस देशमा कति कान्छी एक पेट भर्न पाउँदैनन्, कति माहिली नाङ्गो तन ढाक्न पाउँदैननन्, त्यही देशमा मुखभरि पाउडर दल्ने जागरुक महिला छन्, सिनेमाका आदर्श बोक्ने अपटूडेट महिला छन् र होटलटोटल खप्पिस मिमहरू छन् । जिउ, यही वेदना छ गफडीलाई । गफडी यिनै नक्कली सुटबुट र लाली पाउडरदेखि त्रस्त छ । जय नेपाल है आजलाई । आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क ३८, २०३६
‘गफडीका गफ’ (२०६३)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा