साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा गरिस् कि बितिस् !

चुपचाप हेर्दै जानुपर्छ भन्ने गुरुबाबु पनि यहीँ छन्, तर जनताका रूपमा पूर्ण विलीन भइसकेको यो दलीय र ऊ दलीय भन्दा पर रहेर रमिते रूपमा रहेको एक प्रकारको नपुंसक नै, गफडीलाई कुन कुराले डर छ ? कुन कुराले लोभ छ ?

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

भजौँला भन्दैमा..

कवि भानुभक्तले भगवान्को भक्ति गरौँला भन्दा भन्दै जुनी बित्यो भन्ने कुरा गरे झैँ गफडीलाई पनि केही गरुँला भन्दा भन्दै केही गर्न नसकेकाले ठुलो चिन्ताले घेरेको छ । केही गर्न नसक्ने त श्री र बाबु त परै जाओस्, र ज्यू पनि हुँदैन । कार भए बेकार रहन त परै जाओस्, पुच्छर लाग्ने हुन्थेँ । बेपार भएको भए पनि प्रजातन्त्रप्रेमीको घुइरो लाग्थ्यो । ओकालत भएको भए जनसेवी हुइन्थ्यो । सक्कली पत्रकार भए पत्रुकार, पुत्रकार नभएर राजनीतिज्ञको समूह नै भिड लाग्थ्यो । तर गफडी बेकार मान्छे । न पुच्छर लाग्ने मान्छे । न पुच्छरै लाउने मान्छे ! यस्ताले केही गर्न सक्तैन । अझ न निर्दलीयप्रिय, न बहुदलीयप्रिय । यस्तो भयो भने त त्यो भुसको थैलो नै हो । पढेर त्यस्ताले के काम ! सर्टिफिकेट त्यस्ताको के काम ! प्रजातन्त्र ! प्रगतिशीलता ! निर्दलीयता । यस्ता महान्तम शब्द नजान्ने र त्यस्ताका पछि नदुगुर्ने एक प्रकारको भुच्चुक हो । यस्तै भुच्चुक भएर गफडी खत्तम छ । बेकारको असन्तुष्टि । बेकारको राष्ट्रप्रेम ! यो बेकारको उदारता । बेकारको प्रगति ! बेकारको स्वाभिमान ! अनि यस्तै पर्छन् पछि । जब जब अघि वढ्ने बेला आउँछ, तव-तव नाइँ-नाइँ गर्ने नै पछि पर्छन् । यस्तैमध्येको, मान्छेको अनुहारको, पशु छ – गफडी ! अव छ त गफ गर्छ- गफ सुनिदिनोस्, कृपया पशु सही, कुरा गरिस् कि बितिस् भनी । नभनिदिनोस् ! कृपया यो भनिदिनोस् गफडी जनता हो, जो आफ्नो हित कसरी हुन्छ र कसले गर्छ भनी खुव विचार गर्छ, त्यसैले उसले शङ्का गर्न मात्र जानेको छ !

आखिर मरिलानु के छ र !

‘क’ तिर लागे पनि ‘ख’ तिर लागे पनि स्टालिन पनि चिनिए, लेनिन पनि गुनिए, माओ पनि आए, क्रुुस्चेव पनि आए, गए, चर्चिलदेखि नेहरूसम्म, लिङ्कनदेखि कार्टरसम्म, अर्थात् यहाँ हरिओम्देखि तत्सत्सम्मका प्रगतिशील र प्रजातन्त्रप्रेमी देखिए, र मुकाविला गर्ने वोतलिस्ट राष्ट्रवादीहरूका फालाकाले वन सिनित्त । झोडा खत्तम । रकम हजम । सब देखिए । तब गफडी जस्ता जनताले चुपचाप हेर्नु सिवाय यहाँ के छ र । गर्‍यौ भने पनि देखिने नै छन् । यसैले ‘दुई दिनको जिन्दगानी रामाछायाँ ।’ गाना गाउँदै आखिर मरिलानु के छ र । भनी गफडी पाए एक चिलिम गाँजा खान चाहन्छ । के गर्नु हजुर । उमेर नपुगी काल आउँदा पनि नहुने रहेछ र काललाई बोलाउन पनि नसक्ने मानवको सोभाव हुँदो रहेछ त्यसैले कसैले यो अदलीय भने पनि र बुढीले समेत पेन्डुलम भने पनि जनता दलीय गफडी रमिते भएको छ ।

नहुने विरुवाका खस्रा पात !

कति जुवाडेका दाउ लाग्न थाल्या’ होलान् । कति भू.पू. संसद् सदस्यले सपनामा हेलिकोप्टर उडाइसकेका होलान् । कति नवनिर्दलीयले पुरानालाई गलहत्याएर नयाँ पगरी गुतिसकेका होलान् – ती हुने बिरूवाका चिल्ला पात भए । गफडी त खस्रो पात हो- हाम्रो भाइ त भुस्तिघ्रे । गफडीका दाजु त फलाक्छन् भने ‘विकम्मा गफडे’ । आमै भन्छिन् । ‘कुरौटे बुढो !’ श्रीमतीजिउ भन्छिन् भने ‘विकामे बाबु’ सुसन्तानहरू भन्छन् । हुनत सबैको अलोकप्रिय हुन भाग्गेले मात्र पाइन्छ क्यार । तैपनि यस्तै छ आफ्नो विचार । यसरी गफडी अलोकप्रिय हुने कारन एउटा हो मात्र सोझो कुरा गर्नु, मात्र गफ गर्नु र जनता हुनु । कहिलेकाहीँ त रङ त किराले पनि फेर्छ, अनि कहिलेकाहीँ रङ त प्रकृतिले पनि फेर्छ यहाँ समयको भेलमा नबग्नु अप्राकृतिकता हो । अवसरमा नकुने पद्दू हो, लम्फू हो । जनता लदू हुन्छ, गफडी पनि लदू भएको छ पदू पनि भएको छ ! विकम्मा भएको छ, पेन्डुलम भएको छ ।

पातमा पात ! बातमा बात !

हुन त गफडी ‘अरु सबलाई खराब आफूलाई असल भन्छ’ पनि भन्लान् । भनाइ छ- भन्नेको मुख थुन्न सकिँदैन । दिउँसो पत्रकारिता पातमा पात हुँदा बातमा बात पात भएझैँ भन्दैछु- राति प्रतिवेदनकारिता, पद राष्ट्रसेवकीय काम राष्ट्रघातकीय, ‘पगरी’ प्रगतिशीलताको, काम अगतिशीलताको, पत्यार प्रजातन्त्रीय, काम दबाउनको- भयो भने त्यस्ता ठाउँका त्यस्ता कुरामा गफडीको टिप्पणी नभए के गफडीले टाईमा झुन्डिएर आत्महत्या गरे भएन ? गफडी अरु केही नचाहे पनि मूल्यवान् गफ नै त चाहन्छ । उसलाई ‘नबोल् गफ नगर्’ भन्नु र घामलाई बिहान-बिहान नझुल्की भन्नु उस्तै-उस्तै होइन र ? ए ! ज्या ! कुरा गरिस् कि बितिस् । भन्ने हाउ छ अचेल । ‘भोलि के हुन्छ को जान्दछ ? चुपचाप हेर्दै जानुपर्छ भन्ने गुरुबाबु पनि यहीँ छन्, तर जनताका रूपमा पूर्ण विलीन भइसकेको यो दलीय र ऊ दलीय भन्दा पर रहेर रमिते रूपमा रहेको एक प्रकारको नपुंसक नै, गफडीलाई कुन कुराले डर छ ? कुन कुराले लोभ छ ? न माया, न स्नेह, भई आसक्तिविहीन भएपछि विरक्ति हुन्छ रे । मात्र विरक्ति आउन बाँकी छ यहाँका विभिन्न विडम्बना हेर्दा । तर जबतक सास । तबतक आस । केही राम्रो हेर्न सुन्न पाइन्छ कि? आगे आशा गर्दै आगे फेरि !

०००
झापा
युगज्ञान वर्ष १०, अङ्क ३६, २०३६
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x