चूडामणि रेग्मीकुरा गरिस् कि बितिस् !
चुपचाप हेर्दै जानुपर्छ भन्ने गुरुबाबु पनि यहीँ छन्, तर जनताका रूपमा पूर्ण विलीन भइसकेको यो दलीय र ऊ दलीय भन्दा पर रहेर रमिते रूपमा रहेको एक प्रकारको नपुंसक नै, गफडीलाई कुन कुराले डर छ ? कुन कुराले लोभ छ ?

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
भजौँला भन्दैमा..
कवि भानुभक्तले भगवान्को भक्ति गरौँला भन्दा भन्दै जुनी बित्यो भन्ने कुरा गरे झैँ गफडीलाई पनि केही गरुँला भन्दा भन्दै केही गर्न नसकेकाले ठुलो चिन्ताले घेरेको छ । केही गर्न नसक्ने त श्री र बाबु त परै जाओस्, र ज्यू पनि हुँदैन । कार भए बेकार रहन त परै जाओस्, पुच्छर लाग्ने हुन्थेँ । बेपार भएको भए पनि प्रजातन्त्रप्रेमीको घुइरो लाग्थ्यो । ओकालत भएको भए जनसेवी हुइन्थ्यो । सक्कली पत्रकार भए पत्रुकार, पुत्रकार नभएर राजनीतिज्ञको समूह नै भिड लाग्थ्यो । तर गफडी बेकार मान्छे । न पुच्छर लाग्ने मान्छे । न पुच्छरै लाउने मान्छे ! यस्ताले केही गर्न सक्तैन । अझ न निर्दलीयप्रिय, न बहुदलीयप्रिय । यस्तो भयो भने त त्यो भुसको थैलो नै हो । पढेर त्यस्ताले के काम ! सर्टिफिकेट त्यस्ताको के काम ! प्रजातन्त्र ! प्रगतिशीलता ! निर्दलीयता । यस्ता महान्तम शब्द नजान्ने र त्यस्ताका पछि नदुगुर्ने एक प्रकारको भुच्चुक हो । यस्तै भुच्चुक भएर गफडी खत्तम छ । बेकारको असन्तुष्टि । बेकारको राष्ट्रप्रेम ! यो बेकारको उदारता । बेकारको प्रगति ! बेकारको स्वाभिमान ! अनि यस्तै पर्छन् पछि । जब जब अघि वढ्ने बेला आउँछ, तव-तव नाइँ-नाइँ गर्ने नै पछि पर्छन् । यस्तैमध्येको, मान्छेको अनुहारको, पशु छ – गफडी ! अव छ त गफ गर्छ- गफ सुनिदिनोस्, कृपया पशु सही, कुरा गरिस् कि बितिस् भनी । नभनिदिनोस् ! कृपया यो भनिदिनोस् गफडी जनता हो, जो आफ्नो हित कसरी हुन्छ र कसले गर्छ भनी खुव विचार गर्छ, त्यसैले उसले शङ्का गर्न मात्र जानेको छ !
आखिर मरिलानु के छ र !
‘क’ तिर लागे पनि ‘ख’ तिर लागे पनि स्टालिन पनि चिनिए, लेनिन पनि गुनिए, माओ पनि आए, क्रुुस्चेव पनि आए, गए, चर्चिलदेखि नेहरूसम्म, लिङ्कनदेखि कार्टरसम्म, अर्थात् यहाँ हरिओम्देखि तत्सत्सम्मका प्रगतिशील र प्रजातन्त्रप्रेमी देखिए, र मुकाविला गर्ने वोतलिस्ट राष्ट्रवादीहरूका फालाकाले वन सिनित्त । झोडा खत्तम । रकम हजम । सब देखिए । तब गफडी जस्ता जनताले चुपचाप हेर्नु सिवाय यहाँ के छ र । गर्यौ भने पनि देखिने नै छन् । यसैले ‘दुई दिनको जिन्दगानी रामाछायाँ ।’ गाना गाउँदै आखिर मरिलानु के छ र । भनी गफडी पाए एक चिलिम गाँजा खान चाहन्छ । के गर्नु हजुर । उमेर नपुगी काल आउँदा पनि नहुने रहेछ र काललाई बोलाउन पनि नसक्ने मानवको सोभाव हुँदो रहेछ त्यसैले कसैले यो अदलीय भने पनि र बुढीले समेत पेन्डुलम भने पनि जनता दलीय गफडी रमिते भएको छ ।
नहुने विरुवाका खस्रा पात !
कति जुवाडेका दाउ लाग्न थाल्या’ होलान् । कति भू.पू. संसद् सदस्यले सपनामा हेलिकोप्टर उडाइसकेका होलान् । कति नवनिर्दलीयले पुरानालाई गलहत्याएर नयाँ पगरी गुतिसकेका होलान् – ती हुने बिरूवाका चिल्ला पात भए । गफडी त खस्रो पात हो- हाम्रो भाइ त भुस्तिघ्रे । गफडीका दाजु त फलाक्छन् भने ‘विकम्मा गफडे’ । आमै भन्छिन् । ‘कुरौटे बुढो !’ श्रीमतीजिउ भन्छिन् भने ‘विकामे बाबु’ सुसन्तानहरू भन्छन् । हुनत सबैको अलोकप्रिय हुन भाग्गेले मात्र पाइन्छ क्यार । तैपनि यस्तै छ आफ्नो विचार । यसरी गफडी अलोकप्रिय हुने कारन एउटा हो मात्र सोझो कुरा गर्नु, मात्र गफ गर्नु र जनता हुनु । कहिलेकाहीँ त रङ त किराले पनि फेर्छ, अनि कहिलेकाहीँ रङ त प्रकृतिले पनि फेर्छ यहाँ समयको भेलमा नबग्नु अप्राकृतिकता हो । अवसरमा नकुने पद्दू हो, लम्फू हो । जनता लदू हुन्छ, गफडी पनि लदू भएको छ पदू पनि भएको छ ! विकम्मा भएको छ, पेन्डुलम भएको छ ।
पातमा पात ! बातमा बात !
हुन त गफडी ‘अरु सबलाई खराब आफूलाई असल भन्छ’ पनि भन्लान् । भनाइ छ- भन्नेको मुख थुन्न सकिँदैन । दिउँसो पत्रकारिता पातमा पात हुँदा बातमा बात पात भएझैँ भन्दैछु- राति प्रतिवेदनकारिता, पद राष्ट्रसेवकीय काम राष्ट्रघातकीय, ‘पगरी’ प्रगतिशीलताको, काम अगतिशीलताको, पत्यार प्रजातन्त्रीय, काम दबाउनको- भयो भने त्यस्ता ठाउँका त्यस्ता कुरामा गफडीको टिप्पणी नभए के गफडीले टाईमा झुन्डिएर आत्महत्या गरे भएन ? गफडी अरु केही नचाहे पनि मूल्यवान् गफ नै त चाहन्छ । उसलाई ‘नबोल् गफ नगर्’ भन्नु र घामलाई बिहान-बिहान नझुल्की भन्नु उस्तै-उस्तै होइन र ? ए ! ज्या ! कुरा गरिस् कि बितिस् । भन्ने हाउ छ अचेल । ‘भोलि के हुन्छ को जान्दछ ? चुपचाप हेर्दै जानुपर्छ भन्ने गुरुबाबु पनि यहीँ छन्, तर जनताका रूपमा पूर्ण विलीन भइसकेको यो दलीय र ऊ दलीय भन्दा पर रहेर रमिते रूपमा रहेको एक प्रकारको नपुंसक नै, गफडीलाई कुन कुराले डर छ ? कुन कुराले लोभ छ ? न माया, न स्नेह, भई आसक्तिविहीन भएपछि विरक्ति हुन्छ रे । मात्र विरक्ति आउन बाँकी छ यहाँका विभिन्न विडम्बना हेर्दा । तर जबतक सास । तबतक आस । केही राम्रो हेर्न सुन्न पाइन्छ कि? आगे आशा गर्दै आगे फेरि !
०००
झापा
युगज्ञान वर्ष १०, अङ्क ३६, २०३६
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































