चूडामणि रेग्मीखाेइ टेरिस्
शिखण्डीको निर्लज्ज पाखण्डबाट सोह्रै आना थर्कमान छ बकबके शिशुपालको डरले सदा बाटो छलेर झैँ हिँड्नुपर्ने भएको छ अनि अहिले आएर बढेको विभीषणीय रूपबाट चाहिँ ऊ साह्रै-साह्रै छक्क परेको छ ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन्् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
नारद र शकुनिको नयाँ चिनारी
कति सास्तर पढे पनि परन्तुमा मूर्खहरूकै साथी भएपछि स्तरीय सभा र समाजको मुख नदेखेर ट्वाँट नतन्काएपछि र जुवा नखेलेपछि तथा भालूनृत्यमा पछि परेपछि आजको मान्छे ज्ञानविहीन हुँदोरहेछ । खोपडीअनुसार भन्दैछु त्यस्ता मनुष्यहरूमध्येको श्रेष्ठ हो-गफडी । नारद भनेको को ? शकुनि भनेको को गफडीले नजानेको र’छ । उही ऋषि, उही जुवा खेलाउने पुराणमा वर्णित पात्रहरू ।
बस, गफडीले जानेको यही हो । अहिले मात्र गफडीलाई अलिअलि बुद्धत्व प्राप्त भई थोरैतिना बोध भयो-नारद र शकुनि को रहेछन् भन्ने । प्रसिद्ध फलाना भनेर आदर गरेका मान्छे फत्त वक्तव्य दिएर अनि अनौठा भएर आए । उनका हालमा कलम छ अखवार छ, लेख छ, माइकमा पाइक पर्दा भाषण छ, राति राति टेलिफोन छ । जिउ, फलाना प्रसिद्धहरू, आफ्ना प्रसिद्धिवाट यही नारदीय कर्म गर्दा रहेछन् साँच्चै ऋषि र तपस्वी रहेछन् यी अनि यस्तै हुलमा शकुनि पस्ता रहेछन् । यो लडाउने, भिडाउने र बिताउने कर्म गर्दा रहेछन् । यसको परिणाम कसैले उठिबास लागेर वनबास जानु परे पनि र यस्ता कुराको परिणामस्वरूप रणसंग्राम मच्चिए पनि उनीहरूलाई आफ्नो शकुनित्वसित मतलब छ, पासो लडाएर जादू गर्नुसित मतलव छ, यी पुच्छेहरूलाई सिरिफ मतलव छ । अरू कुरा छैन, अरु कुरासँग सरोकार छैन ।
शिखण्डी र शिशुपालको नयाँ चिनारी
‘शिखण्डी’ पनि सास्तरमै छ, ‘शिशुपाल’ पनि सास्तरमै छ । एकपटक मरिसकेको शिखण्डीले कलिजुगमा बराबर जन्मनु पर्दोरहेछ । देशमा नयाँ साहित्य, नयाँ राजनीति, नयाँ वातावरणका लागि मरिमेट्नेलाई बिताउने खेलामा यिनै शिखण्डीहरूले गोप्य सेन्डिकेटको रूपमा आफूलाई राख्तारहेछन् । ‘शिखण्डी’ को चर्तिकलाको रूप चाहिँ ‘शिशुपाल’ हुनुपर्दोरहेछ र खुब गाली वकवक गर्नुपर्दोरहेछ । गालीका नमुनाहरू त्यो फलानो शोषक हो । आफू शोषकको पिठू भएको कुरा कसले भनिदेओस् !) – त्यो देश बेचुवा हो । यस्तो कुरा गरी-गरी ऋणमा देश डुबाएर देशमा भयङ्कर सङ्कट ल्याएको कुरा कसले भनिदेओस् !) – त्यो गद्दार हो ! आफूले गद्दारी गरेर देश र देशवासीलाई चुर्लुम्म डुबाएको कुरा कसले भनिदेओस् ।)
शिखण्डी र शिशुपालको विशेषता यो अजम्मरी झैँ हो- उदाहरणका लागि दुइटा शिखण्डी एउटा कार्यालयका पछि लागे । एकाध महिनामा तिनको नान्दी रूप तिनको शनि रूप तिनको शिखण्डीत्व सवै छर्लङ्गिएपछि ती त्यहाँबाट बाइकट भए तर तिनका ठाउँमा त्यस्तै अरु दुई भरना भएर अघिकाले शिशुपालको रूप लिएर आफ्नो शक्तिले भ्याएसम्म गाली प्रदर्शन गर्न लागे । वाह रे षड्यन्त्र । वाह रे क्रियाकलाप । वाह रे ब्रिटिस नीति । बाहरे राजनीतिक दाउपेच ! वाह रे धूर्तता ! वाह रे ! औतारी रूपहरू । जय हो शिखण्डीका नयाँ औतारी पर्नु हो ! जय हो, नारदीय चरित्रका बेसमहरू । जय ! अनि त्यस्तैका विषयमा छापिएको हुन्छ- ‘फलानो होनहार….’
विभीषणको नयाँ चिनारी
सास्तरमा गफडीले शत्रुसँग मिल्ने भाइ विभीषण हुन्छ भनेको पढे-गुनेकोमा दाजु पनि विभीषण हुँदारहेछन्, बन्धु पनि विभीषण हुँदारहेछन्, बान्धव पनि विभीषण हुँदारहेछन् । गफडीले एक जना मानुभावबारे सोच्यो- यी मानुभाव अहिले आएर किन विभीषण भए । किन भए । किन भए । उत्तर पाएन गफडीले । दाजु-भाइको घर-झगडाको तुस राजनीतिमा पनि जिउँदो हुँदोरहेछ । लाटो गफडीले मात्र सोच्यो ।
गफडीको एउटा साथीले उसका दाजुका विरुद्ध पर्चा निकाल्ने कुरा गर्यो । गफडीले उसलाई ‘यसो नगर, अर्को विभीषण भन्लान् दुनियाँले भन्ने सल्लाह दिएको त उसले उल्टै भन्यो-राजनीतिमा यस्तो हुन्छ लाटा उसको उल्टो राजनीति गफडीले बुझेन । ऊ त्यसै उफ्रिएको थियो । ढाडिने अरू नै थिए, तर ऊ किन उफ्रियो ? लाटो गफडीले अहिलेसम्म पटक्क बुझेको छैन । यस्ता यस्ता विभीषण अहिले छन्, तिनका बारे सोच्दा गफडी तिन छक्क पर्छ । देशका लागि मर्ने मरे, भए, थुनिने अधकल्चा भए, कति भोकले र शोकले मासिए, नासिए तर पनि ती विभीषणहरूको सुर विचित्रको छ । विचरा ! बडा निर्लज्ज देशभक्त भएका छन् । उनका जुन देशभक्तिभित्र कैयौँ जेबकतरा, गुन्डा, भ्रष्टाचारी, फटाहाहरू र ढाडिएका बढेबडे जुकाको कति स्वार्थले बास बसेको छ, विचरालाई के पत्ता बिचराले किन हो विभीषण हुनुपरेको छ ।
पातमा पात ! बातमा बात !
वास्तवमा, गफडीले आफ्नो जम्मै कुरा भन्न सकेन । ऊ यावत् कुरा भन्न पनि चाहँदैन, सक्तैन पनि । खालि पातमा पात हुँदा बातमा बात भए भौ केही भनेको मात्र हो । एउटा सत्य करो के पनि हो भने यो एक पेट पाल्न मान्छे करौटे नारद हुँदोरहेछ, जाली शकुनि हुँदोरहेछ र बिचरा वेपिँधको गाली गर्ने शिशुपाल पनि हुँदोरहेछ बिचरा मस्तिष्कको भ्रमवश स्वस्थ वातावरण बिगार्न विभीषण पनि हुँदोरहेछ । यस्ताका अगाडि यस्ता कुरा गर्ने गफडी त भुच्चुक छ उसले गाली खान जानेको छ उसले दोष सुन्न जानेको छ, उसले लाटो भएर पक्क परेर हेर्न सुन्न जानेको छ । ऊ नारदीय प्रवृत्तिबाट तिन पाथी छेर्छ ।
शकुनिदेखि त्रस्त-त्रस्त त्राहि-त्राही छ- शिखण्डीको निर्लज्ज पाखण्डबाट सोह्रै आना थर्कमान छ बकबके शिशुपालको डरले सदा बाटो छलेर झैँ हिँड्नुपर्ने भएको छ अनि अहिले आएर बढेको विभीषणीय रूपबाट चाहिँ ऊ साह्रै-साह्रै छक्क परेको छ, तर पनि नमरी बाँचे- बाँचुन्जेल हेर्नुपर्ने रहेछ । हेरेर रहस्य जान्नु पनि चानचुने आनन्दको विषय होइन, गफडी खुब हेर्छ । सकेको सकुन्जेल यस्तै गफ गफ गर्छ तर ऊ खुब हेर्छ । बोल्न पाइएको छ हेर्न पाइएको छ त्यसैले गफडी बोल्छ, हेर्छ, लेख्छ । हुने कुरा हुँदै जाला। त आगे फेरि ।
०००
युगज्ञान वर्ष १०, अङ्क ३९, २०३६
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































