‘बा’ काव्यांश (२०)
जम्मै बञ्जरतुल्य बन्छ धरणी आघातआघात छ । कालो मृन्मय भावना मन गढी बेकारबेकार छ ॥ अग्ला स्तम्भ तिमी विशाल गुणका कर्मर्षि सङ्ला थियौ । हेर्दैमा मनका उदारपनका माया बिलायौ गयौ ॥
दीनानाथ पोख्रेल :
के खालान् यिनले गरेर भवमा दुख्छन् कि चिन्ता गरी ?
पग्लन्छन् मनभावना घिउ सरी दुख्छन् विलौना भरी ॥
पापी काल सुटुक्क लान्छ मनुवा अल्पेर टाढा भयौ ।
हेर्दैमा मनका उदारपनका माया बिलायौ गयौ ॥१७५॥
गर्दा ध्यान खुसी बनेर हरिले फर्काउँछन् लाग्दछ ।
जे हो नित्य हुँदैन हुन्छ दिल यो सम्झेर झन् थाक्दछ ॥
त्यागी जान थिएन चित्त तर त्यो लाँदाअवाक्झैँ भयो ।
हेर्दैमा मनका उदारपनका माया बिलायौ गयौ ॥१७६॥
आफू पेट कसी बस्यौ सकसले सन्तानका खातिर ।
खाऊन् हाँस्न सकून् खुलीकन भनी इच्छा थिए आखिर ॥
माया छल्छल छल्कँदै नयनले तड्पेर छर्दै थियौ ।
हेर्दैमा मनका उदारपनका माया बिलायौ गयौ ॥१७७॥
लम्बिन्छन् दिनरात दुख्छ मुटु यो सुक्दै छ आशा सब ।
मेरो मात्र दुख्यो कि दुख्छ जन हो आफ्नो बताओ अब ॥
छाती ढक्ढक धड्किँदा सकस छन् बाबा नमिल्ने भयौ ।
हेर्दैमा मनका उदारपनका माया बिलायौ गयौ ॥१७८॥
पर्दा कष्ट कडा तुरुन्त सहजै को मिल्छ प्यारो अब ।
बाबा दूर हुँदा गुम्यो नजिकको सायुज्य हाम्रो सब॥
बल्दो दीपकझैँ थियौ गृहविषे छाडेर टाढा भयौ।
हेर्दैमा मनका उदारपनका माया बिलायौ गयौ ॥१७९॥
दुख्छन् भाइ उता गलेर बहिनी सम्झाउने को छ र ?
लाग्यो चोट ठुलो कडा र गहिरो छन् अश्रुवर्षा घर ॥
यो हाम्रो अवहालबाट गहिरो सन्तापमा ठेलियौ ।
हेर्दैमा मनका उदारपनका माया बिलायौ गयौ ॥१८०॥
अल्झन्छन् हरकर्ममा दृग दुखी बाबाविनाका मन ।
घोच्छन् ताप अनेक पेल्छ भयले काँप्दो छ हाम्रो तन ॥
मर्नै पर्दछ जान योग्य पथमा हिँड्ने सुशिक्षा दियौ ।
हेर्दैमा मनका उदारपनका माया बिलायौ गयौ ॥१८१॥
के होला परिणाम कर्मपथको ?लब्धाङ्क ओठै थियो ।
जाग्थ्यो शक्ति अनन्त कर्मपथमा बल्दा उज्यालो दियो ॥
सारा सिर्जन शिल्पका रहरिला आशा भरोसा थियौ ।
हेर्दैमा मनका उदारपनका माया बिलायौ गयौ ॥१८२॥
जम्मै बञ्जरतुल्य बन्छ धरणी आघातआघात छ ।
कालो मृन्मय भावना मन गढी बेकारबेकार छ ॥
अग्ला स्तम्भ तिमी विशाल गुणका कर्मर्षि सङ्ला थियौ ।
हेर्दैमा मनका उदारपनका माया बिलायौ गयौ ॥१८३॥
धर्ती घुम्दछ फन्फनी भय भरी सङ्कष्टको हार छ ।
छैनन् शान्त उदात्त भाव सँगमा सन्तानको भार छ ॥
केही भन्न पुगेन शक्ति कि कतै गम्भीर हेर्दै थियौ ।
हेर्दैमा मनका उदारपनका माया बिलायौ गयौ ॥१८४॥
०००
भक्तपुर