दीनानाथ पाेखरेल‘बा’ काव्यांश- (२२)
मान्छे हो भन स्वच्छता दिल हुने बाबा सरी को छ र ? उर्म्याे खल्खल अम्बु यो तनविषे अग्ल्यो असाध्यै डर ॥ छैनन् ज्ञान ममा भएजति सबै निम्जा बनी नासिए । लाग्यो चोट विशाल बज्रसरिको उत्साह जो नासिए ॥

दीनानाथ पोख्रेल :
जम्मै दास समान छौँ समयका छन् धाक फोस्रा पर ।
उम्दा शान्ति क्रिया र कर्म पथले को राख्न सक्थ्यौँ घर ॥
हे-यौ वाक्गति लुप्त त्यो प्रणयको यो शूल रोपी गयौ ।
भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ॥१९५॥
तिम्रो दृष्टि बनेछ नित्य दृढ त्यो फिर्दै नफिर्ने किन ?
काला छन् सब कर्म यो समयमा राम्रा हराए किन ?
यस्ता हाल सबै म लेख्नु कसरी अल्पेर टाढा भयौ ।
भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ॥१९६॥
मर्दा प्राण कता रहन्छ जनको, को सक्छ यो भन्न र ?
व्यर्थै बन्छ मनुष्य बुझ्झक बडो हो धाक खोक्रो तर ॥
कोही दर्शक छैन देख्छ कसले अल्पेर एक्लै गयौ ।
भर्ने भाव उदात्त सौम्य गुणका आशा बिलायौ गयौ ॥१९७॥
पर्छन् कष्ट जहाँ त्यहीँ मनुजको हो जाँच गर्ने घर ।
अज्ञानीपन व्याप्त छन् भुवनमा के पर्नु मैले भर ?
होलान् ईश कतै थियो मगजमा गाढा बनेको तर ।
मेरा ईश लुटेर हाँस्दछ उही रित्तो बनाई घर ॥१९८॥
फुल्थे फूलसमान दिव्य दिलमा नौला मिठा चिन्तन।
आफू रुग्ण बनेर गेह थलिएँ छन् अश्रु दैनन्दिन ॥
मात्रै शोक निराश भर्छ मनमा उत्साह भाग्यो गयो।
उठ्ने तागत छैन हुन्न अब क्यै मात्रै बिलौना छ यो ॥१९९॥
मान्छे हो भन स्वच्छता दिल हुने बाबा सरी को छ र ?
उर्म्याे खल्खल अम्बु यो तनविषे अग्ल्यो असाध्यै डर ॥
छैनन् ज्ञान ममा भएजति सबै निम्जा बनी नासिए ।
लाग्यो चोट विशाल बज्रसरिको उत्साह जो नासिए ॥२००॥
आऊन् काम नयाँ विचार पथमा धक्का भएको किन ?
यस्ता ताप र दर्दमा मनुज होस् को सक्छ ऊर्जा लिन ?
नौला कर्म छँदा बुबा सहजले भन्थे यता यो गर ।
आयो यो अवहाल कष्ट छ बडो घट्दैन चिन्ता दर ॥२०१॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































