दीनानाथ पाेखरेल‘बा’ काव्यांश -१७
बाबा चिन्मयद्वार चेतनकला टाढा भएका दिन । रित्तो लाग्दछ यो चराचर धरा को सक्छ खै थिग्रिन ? भत्कन्छन् सुखशान्ति चेतभरका आक्रान्त पार्छन् मन । बाबा दिव्य विचारकेन्द्र घरका उम्दा धराका धन ॥

दीनानाथ पोखरेल :
बाँचेको पथ योग्य हो पर भनोस् आनन्द बर्साउँछ ।
बाँचेको गति शून्यझैँ यदि भए यो जन्म बेकार छ ॥
आफ्ना कर्म खुलेर टिप्छ परले त्यो कर्म नै योग्य हो ।
आफ्ना कर्मविषे फलोस् फल लिनू त्यो प्राप्ति नै भोग्य हो ॥१४५॥
बाङ्गो मार्ग हुँदैन हिँड्न कहिल्यै यो दर्द जन्माउँछ ।
सोझो सत्य हिँडे लडिन्न कहिल्यै यो मान चम्काउँछ ॥
अर्काका बलको टिपेर जहिल्यै खाने लिने कर्मले ।
दुख्छन् दर्द लिएर जीवनहरू छाडेर सद्धर्मले ॥१४६॥
अर्काको कुभलो नसोच्नु मनले या कामले बातले ।
यै हो पाप बडो अकृत्य छ बुझेस् त्याग्दैन सायुज्यले ॥
उम्दा हुन् सब कर्म यो अवनिका सानो नठानेस् कुनै ।
राम्रा छन् मन भावना खुद लिए उल्लास भर्छन् जुनै ॥१४७॥
खेती उत्तम नोकरी तल छ है वेपार हो मध्यम ।
बाबाले अघि भन्दथे हित छ यो गर्ने गरेस् यो गम ॥
गाईवस्तु त गोठमा जति रहून् यो हुन्न स्थायी धन ।
मर्दा शून्य बनेर दुख्दछ हियो राखेस् यही चेतमा ॥१४८॥
आस्थावान् नहुँदा सबै मनुजले सङ्कष्ट झेल्छन् तर ।
आस्था यो विपरीत भो यदि भने पाइन्न आफ्नै भर ॥
आस्था सत्य र न्यायको पथ हिँडोस् बन्छन् सबै निर्मल ।
उल्टो मार्ग हिँडे असत्य पथको मान्नेछ मान्छे खल ॥१४९॥
चल्छन् द्वन्द्व अनेक यो भुवनमा जो सत्य त्यै टिक्दछ ।
निभ्दो दीपसमान झूट कसिने फुर्ती वृथा झिक्दछ ॥
लड्छन् अन्तिममा सबै शठहरू उठ्नै नसक्ने गरी ।
हेक्का राख्नु सधैँ सुकर्म पथको भाग्दैन हाँसो डरी ॥१५०॥
थोरै होस् फल सौख्य भर्छ श्रमको यो ज्ञान साँचेस् सदा ।
सित्तैको फल टोक्छ चेत बहुतै थाक्नेछ मान्छे रुँदा ॥
जो आफ्नो श्रमबाट भाग्दछ सधैँ पर्नेछ आफैँ रुन ।
आफ्नै हो श्रम प्राप्तिको पथ बुझे पुग्नेछ तारा छुन ॥१५१॥
यस्ता छन् उपदेश दिव्य उनका पक्रे उँभो लाग्दछु ।
त्याग्दा यी उपदेश भव्य हितका सङ्कष्टमा पाक्दछु ॥
छोराले खुद पढ्नुपर्छ युगका सत्कर्म पैल्याउन ।
छोरीले अझ पढ्नुपर्छ पदमा टेकेर अर्थ्याउन ॥१५२॥
बाबा चिन्मयद्वार चेतनकला टाढा भएका दिन ।
रित्तो लाग्दछ यो चराचर धरा को सक्छ खै थिग्रिन ?
भत्कन्छन् सुखशान्ति चेतभरका आक्रान्त पार्छन् मन ।
बाबा दिव्य विचारकेन्द्र घरका उम्दा धराका धन ॥१५३॥
बाबा ब्रह्म विकास स्रोत नरका बाबा कला पारखी ।
जानी मानवले निरन्तर गरोस् सम्मानले आरती ॥
मेरा सन्तति ज्ञानका डगरका आशा बनून् चम्किला ।
आफ्ना सन्तति कर्म पारख बनी हुन् विश्वमा बान्किला ॥१५४॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































