भो जीवनी बञ्जर (५)
बाआमा रज बीज हुन्छ गुनिलो भन्ने बुझेको थियो कस्तो भो प्रिय काखमा गुटुमुटी ,छाती चुसेको थियो । पापी, धूर्त नहून् बरू सुत नहून् तानो बनाई दिने आफ्नो श्रेय समाज प्रेय गतिला सत्पुत्र हुुन् सम्झिने ॥
हेम अधिकारी :
छोरामा खुब मख्ख मख्खसँगले सारै खुशी भैगयौँ
ऐश्वर्यै सब वृष्टिपात हुनगो हामी कुबेरै भयौँ ।
छोरैमा मनको यसै भुवनको धोको सबै भर्दियौँ ।
छोरी चैँ नहुँदा हुने बुझिलियौँ बन्ध्याकरण् गर्दियौँ ॥
छोरो अंश र वंश उज्ज्वल हुने यो जीवनी चम्किने
ऐलेको सुखभोग उत्तम हुने भावी सुधारी दिने ।
छोराले सब पुग्छ जीवनभरी भन्ने बुझेका थियौँ
छोरै तार्दछ वारपार जग यो झुट्टो बुझेका र’छौँ ॥
छोरामै धनमान ईज्जत हुने सारा कुलै चम्किने
पानी दान दिने र पारि तरिने विश्वासले गम्किने ।
सारा व्यर्थ रहेछ आज यसरी छोरा बिराना भए
हामी वृद्ध भयौँ थला परिगयौँ आशा मरी गैगए ॥
बाआमा रज बीज हुन्छ गुनिलो भन्ने बुझेको थियो
कस्तो भो प्रिय काखमा गुटुमुटी ,छाती चुसेको थियो ।
पापी, धूर्त नहून् बरू सुत नहून् तानो बनाई दिने
आफ्नो श्रेय समाज प्रेय गतिला सत्पुत्र हुुन् सम्झिने ॥
कालो मेघ मडारिँदै घनघटा गर्जन्छ गर्जन्छ यो
चम्किन्छन् बिजुली झिलिक्क जगतै थर्कन्छ थर्कन्छ पो ।
बाढी भित्र घरै पसेर सपना जम्मै बगाई दियो
हाम्रो फेरि वसन्तको दिन यसै कैल्यै नफिर्ने भयो ॥
०००
दमक, झापा