साइबर अपराध सम्बन्धी सचेतना सामग्री

“बा” काव्यांश -१८

भाग्यो दौलत मोह छैन सँगमा मान्छे सरी के छ र ? जम्मै होस उडी गयो पर भयो लाग्दैन आफ्नै भर ॥ छैनन् दम्भ कुनै टुटे पर भए छन् तापका पोखरी । वार्ता छैन खुला छ दर्द सँगमा छन् व्यग्रताका झरी ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

यस्ता दिव्य अनेक सद्गुण दिए यो चेत देखोस् यति ।
बाँकी यत्ति छ सम्झना अब हरे ! मेरो भयो दुर्गति ॥
देख्ने शक्ति छ छैन जान्नु कसरी ? यो दैव बाधा भयो ।
मेरा यो घरको मुहान सुखको नौलो विरानो भयो ॥१५५॥

पक्री हात हिँडाउँथे अगि उनै हुन् शक्तिका प्रेरक ।
आफू दूर गए सदा पर भए केले जताऊँ हक ॥
देखून् यी मुटु दर्द अश्रु जल झन् फर्केर आऊन् यता ।
घट्थे बोझ सबै हटेर द्विविधा भाग्थ्यो हियाको व्यथा ॥१५६॥

पारावार हुँदैन कष्ट मनका जालान् र कैले पर ?
सच्चा ज्ञान दिने मुहान हितको जन्मन्छ कैले घर ?
यस्तै तर्क वितर्कमा मन घुमी पोख्दो छ पीडा बह ।
झर्छन् अश्रु बलिन्द्र शोक भरिँदै घोच्दो छ कालो गह ॥१५७॥

राती होस् तर छैन नीद कसरी राती भनूँ लाग्दछ ।
लागून् सूर्य तथापि विश्वभर यो राती सरी लाग्दछ ॥
उठ्दा सञ्च हुँदैन बस्छु म रुँदै छन् दर्द नानाथरी ।
मेरै सौख्य लुटेर ईश खुस छन् स्वार्थी बनेछन् हरि ॥१५८॥

आफ्नो यो मनभावना समयले गाल्दो छ चिन्ता भरी ।
टोकी लुछ्दछ चेतमा सकस छन् फ्याँकूँ कसो के गरि ?
बाबा चिन्तक साथमा बसिदिँदा निर्धक्क हुन्थ्यो मन ।
ऐले यो भय भर्छ वक्ष बहुतै चस्कन्छ आलोडन ॥१५९॥

यौटा दिव्य दियो निभेर पर भै भो रातझैँ चेत यो ।
साह्रै चिन्तित भाव बोक्छ दिलले चर्कन्छ चर्कन्छ यो ॥
साथी छन् तर साथ छैन भर क्यै दुख्दैनथ्यो यो मन ।
ऐले शोक छ साथमा हरघडी गाल्दो छ यल्ले मन ॥१६०॥

बस्ने बैठक रिक्त देख्छ दिल यो चर्कन्छ आघात छ ।
बाबा देख्न सकूँ छ भाव मनमा देखिन्न सन्त्रास छ ॥
सच्चा मार्ग प्रशस्त गर्छ कसले ? को हुन्छ बाबा सरी ?
झल्को आउँछ मात्र रिक्त छ धरा मानेर चिन्ता भरी ॥१६१॥

बेला भो कुन कामको प्रणयले को दिन्छ शिक्षा निको ?
केही बर्गत छैन यो तनविषे झल्को छ त्यै शक्तिको॥
आँखा खोल्छु मुहार देख्छु मलिना दिक्दारदिक्दार छ ।
आफ्नो तागत दूरमा बगिगयो धिक्कारधिक्कार छ ॥१६२॥

भाग्यो दौलत मोह छैन सँगमा मान्छे सरी के छ र ?
जम्मै होस उडी गयो पर भयो लाग्दैन आफ्नै भर ॥
छैनन् दम्भ कुनै टुटे पर भए छन् तापका पोखरी ।
वार्ता छैन खुला छ दर्द सँगमा छन् व्यग्रताका झरी ॥१६३॥

रुन्छन् चेत दुखेर जो जन यहीँ चर्कन्छ छाती अझ ।
बढ्दा छन् अझ चेतमा सकसका सन्त्रास चर्का सब ॥
कैले मिल्दछ मुक्ति यो विरहले छोड्ला नछोड्ला भयो ?
आफ्नो शक्ति घटेर दुर्बल बनी भागेर टाढा गयो ॥१६४॥

०००
इलाम, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x