कुर्ने कि घुर्ने ?
तर यौटा किस्सा नै बनेको पाइयो : राख्न सजिलो, झिक्न अप्ठेरो भनेको नै यिनै सहकारी त हैनन् ? नत्र भने भनेको बेला किन पैसा निक्षेपकर्तालाई दिँदैनन् ?
विश्व विनोद :
बेला बेलामा गज्जबका नारा लागे, सहकारीको नाममा कसैले मज्जाले अन्तर्राष्ट्रिय पुरस्कार पनि जिते । सहज पैसा आउने निहुँमा मानिसहरू लोभिएर सहकारीमा पैसा जम्मा पनि गरे । तर अहिलेको मन्दिमा पैसाको बन्दि बनेका छन् मानिस र सकहारीहरू ।
सहकारीको नाममा मज्जाले देशका कुना कप्चा पनि यिनै सहकारीका संचालक समितिका मानिस घुमेका पाईन्छ, बेलुका बेलुका दारु पार्टीमा झुमेका पनि पाईन्छ । नराम्रो मात्र हैन, राम्रो पनि गरेकै छन्, गाउँमा सरकार नपुग्दा मानिस खटाएर भए पनि बचतको बिकास गराएको यिनीहरूले नै हो तर व्यबसायिक योजना बनाउन नसिकाउँदा मानिसमा रिन लिएर दिन काट्ने हिन मानसिकता विकसित मात्र भएको हो ।
बेला बेलामा सहकारी एक आपसमा गाभिन्छन् अनि नयाँ कार्य समिति बन्दछ । पहिलेका निक्षेप कर्ताले आफ्नो रकम निकाल्नको लागि निकै हम्मे हम्मे परेको पाइन्छ । किनकी सहकारीका केही गजधम्मेले मानिसलाई गुमराहमा पारेर निकै समय झुलाउने काम गरेको यहाँले देख्नु भएकै छ । तर हामीले जम्मा गरेको रकम फिर्ताको पूणर् ग्यारेन्टी राज्यले दिलाउनु पर्दछ ।
खाई नखाई छोरीको टिका लगाएको रकम जम्मा यिनै सहकारीमा भएको छ । कसैको बिहेमा टिकटालो गरेको पैसा त कसैको आँचल गाँठोमा पोको पारिएको पैसा जम्मा गरिएको छ । काँक्रो बेचेर, थाक्रो बेचेर मानिसले थोरै भएपनि बचतको बिकास गरेको पाईन्छ । तर यौटा किस्सा नै बनेको पाइयो : राख्न सजिलो, झिक्न अप्ठेरो भनेको नै यिनै सहकारी त हैनन् ? नत्र भने भनेको बेला किन पैसा निक्षेपकर्तालाई दिँदैनन् ?
राष्ट्र बैंकले नियमन गरेर, निक्षेपमा कमि आएर, कर्जा असुली नभएर र बजारमा तरलता भएर सहकारीमा पैसा नभएको हुन सक्छ तर हामी जस्ता साधारण मानिसलाई सहकारीले यी साना कुरा बुझाउन जरुरी हैन र ? यसले गर्दा हाम्रो मानसिकतालाई सकारात्मकता तर्फ लैजान सहयोग गराउँछ । लौन भन्नुस् सहकारीको पैसा कुर्ने कि सहकारीलाई घुर्ने ? तारेमाम् ।
०००
लमजुङ