पी पी काेइरालाभाइटीका
बाटोमा उनीहरूको वातचीत सुन्नेहरू नबुझेर जिस्काउँथे । ती बुढाबुढीहरू पनि मरिमरि हाँस्दथे । अनि रमाइरमाई घर फर्कन्थे।

पी पी कोइराला :
“तँ आज घाँस काट्न नजा है डल्ली ? धेरै गलेकी छेस् ।” मालिक्नीले माया गर्दै भनिन् ।
ऊ हाँसी । अनि तल देखाउँदै इशाराले भनीन्, “ऊ पनि जाँदैन ?”
“हैन उ नगए त पशुहरू मर्छन् भोकैले ।” उत्तर दिँदै मालिक्नी तल ओर्लिन् ।
त्यस परिवारमा लगभग पैँसठ्ठी उमेर कटिसकेका दुई बुढा बुढी नोकरीका लागि बस्दथे । बुढा घाँस दाउरा सबै भ्याउँथ्यो । दुधालु गाईको हेरचाहदेखि खेतबारी उसकै भरमा थियो ।
घर भित्रको धन्दामा ती बुढी भान्साका सबै काम सक्थिन् । र मालिक्नीलाई दिनदिनै बेलुका तेल घस्न पनि भ्याउँथिन् । उनको आफ्नो चाहिँ ऐया न आत्था ! घर मालिक स्वर्गे भइसकेकोले बुढीका लागि मालिक्नीकै छेउको कोठामा ओछ्यान पनि राखिदिएको हुन्थ्यो ।
बाहिरबाट हेर्दा दुवैको जीवन आनन्दको देखिन्थ्यो । कहिलेकाहीँ त ती दुवै घाँस काट्न पनि सँगसँगै जान्थे । दुवैले आफ्नो गाउँघरको कुरा गर्न पाउँथे । बाटोमा उनीहरूको वातचित सुन्नेहरू नबुझेर जिस्काउँथे । ती बुढाबुढीहरू पनि मरिमरि हाँस्दथे । अनि रमाइरमाई घर फर्कन्थे।
आज दिउँसो एक्लै घाँस लिएर आएका बुढा भारी बिसाउने बित्तिकै एक्कासी आँगनमा डङ्गै लडे । बुढी हत्तारिँदै तल आइन् र कराइन्, “आँआँ आँईँ ईँ ईँ ईँआँआँ… ! अनि छातीमा घोप्टो परेर आवाजविहीन रुवाई रुन थालिन् ।
मालिक्नी हल्ला सुनेर कुद्दै तल आइन् । बुढा मान्छेको नारी छामिन् । बुढाको प्राण गइसकेको थाहा पाएर सुँकसुँक रुँदै बुढीलाई हेरिन् बुढी पनि चिसी भइसकेकी रहिछिन् ।
भेला भएका छिमेकीहरू मध्ये एउटी वृद्ध महिलाले अर्कीतिर हेर्दै रुन्चे स्वरमा भनिन्, “विचरा ! यी लाटा लाटी दाजुबहिनी हरेक साल भाइटीकामा रम्दै देउसी खेल्न हिँड्थे । टोलै शून्य हुने भो ।”
०००
धरान १३
Subscribe
Login
0 Comments
Oldest






































