पी पी काेइरालाराहुराज
करुणापुरको भूमिमा फेरि उज्यालो हुन थाल्यो। जनताले राजनीतिक भाषा होइन, चेतना बोल्न थाले। विद्यालयहरूमा “कर्तव्य” सिकाइन थालियो। मन्दिरहरूमा “सत्य”को लागि प्रार्थना हुन थाल्यो। बजारमा ईमान”को मूल्य पुनः बढ्यो।

पीपी कोइराला :
ब्रह्माण्डको शान्त नीलो आकाशको माथि
ग्रह–नक्षत्रहरू आआफ्नो तालमा घुमिरहेका थिए।
सूर्यले किरण छर्केर पृथ्वीभरि ज्योतिमय तथा प्रकाशमय वातावरण बनाइरहेको थियो।चन्द्रमाले आफ्नो ओजले शान्त र शितल बनाइरहेको थियो तर करुणापुर भन्ने देशमा एक अदृश्य कम्पनले सम्पूर्ण जमिन हल्लाइ रहेको थियो। यो कम्पनको स्रोत थियो राहुको प्रवेश।
राहु, जुन सधैं ग्रहणको छायाँमा बाँच्छ, अकस्मात आफ्नो अस्तित्वलाई पुनः प्रमाणित गर्न उठ्यो। ऊ भन्ने गर्थ्यो, “अब मेरो पालो हो ! सत्यमा ठगिनेहरूको राज्य समाप्त गर्नुपर्छ। म देखाउनेछु, सबलाई।”
संसारमा ऊ सत्ताको तृष्णा लिएर ओर्लियो। उसको पहिलो लक्ष्य करुणापुर थियो जहाँका पिण्ड खाने उमेरकाहरु आफ्नै घामको ताप र रापमा सेकिएर मजा लिइरहेका थिए तर जनताहरू थकित थिए तिनीहरुको झूटो आश्वासनबाट।राहुले देख्यो जनता सुतिरहेका छन् नेताहरु नाचिरहेका छन्। राहुले आफ्नो शक्ति चलायो। उसले सत्यलाई नदेख्ने तिलस्मी धुवाँ फैल्यायो। आकाशमा कालो कुहिरो झैँ अंधकार फैलियो। वृक्षहरू निःशब्द भए, नदीहरू ढिलो बग्न थाले। चराहरु उड्न छोडे। गाइवस्तु चर्न छोडे। गाउँ सुनसान हुँदै गयो। कालो लामो रातमा उल्लु मात्र होइन उल्लु जस्ता सोझासिधा जनताहरु पनि भोक रोग र शोकले आकुल व्याकुल हुन थाले।
चन्द्रमालाई ती विचरा जनताको माया लाग्यो र सूर्यलाई सम्झाउँदै भने, “करुणापुरमा उज्यालो किन नदिनु भएको सूर्य जी ?”
सूर्यले जवाफ दिए, “म दिइ रहेको छु तर यो कुहिरो जस्तो देखिने राहुको छायाँले ढाकेर म नै हराउन लागि सकेँ त्यहाँ, चन्द्र जी !”
सूर्य र चन्द्र दुवै चिन्तित भए। उनीहरुले ब्रह्माजीलाई पुकारे,“हे सृष्टिकर्ता ब्रह्मा जी ! करुणापुरका प्राणीहरु मर्न लागे। हजारौं वर्षदेखि त्यहाँ घुमिफिरी रुम्जाटार को उखान लागू भैरहेको छ। जनताहरु उज्यालो बनाउने प्रयास गर्छन्। एक आशालाग्दो अवस्था पनि आउँछ तर फेरि धमिलो हुन्छ। बारम्बार धमिलिँदै जान्छ। अब त त्याहाँ बचेखुचेको सत्यको किरण पनि हराउँदै गएको छ। किन त्यसो भएको होला ? बचाउनुहोस् ! प्रभु।”
ब्रह्माजीले उत्तर दिनुभयो, “राहु करुणापुर गएको थाहा त छ। तर उसले त्यहाँका नेताहरूको मन मष्तिस्कमा प्रवेश गरेर यसरी विथोलिसकेको चाहिँ थाहा थिएन। उसको वचन मिठो तर भित्र विषले भरिएको पनि थाहा थियो। मलाई चमत्कार गरेर देखाउँछु करामत देखाउँछु भन्थ्यो तर उल्टोबाट देखाएछ। तर पनि अझै म उसलाई अहिले नै त रोक्न सक्दिन।”
सूर्य चन्द्र निराश भएर फर्किए। उनीहरुको ध्वजा पहिले झैँ फरफराएन।
यता करुणापुरमा राहुका अनुयायीहरू झन बढ्दै गए। उनीहरूले आफूलाई नयाँ युगका नेता भएको घोषणा गरे — “जनताको सेवक”, “क्रान्तिकारी”, “परिवर्तनका वाहक” भनेर।
तर ती सबै पाखण्डी नेताहरु बेलाबेलामा राहुको दरबारमा पुग्थे । त्यो दरबार जहाँको समय उल्टो दिशाबाट चल्थ्यो।त्यहाँ हरेक अक्षरहरूको वास्तविक अर्थ हराउँथ्यो र पाखण्डीहरुको परिभाषा लागू हुन्थ्यो। भनुम न सत्य बोल्नेहरूको जिब्रोमा काँडा गाडिन्थ्यो।
त्यस राहुले ती दानव जस्ता नेताहरुलाई भन्ने गर्थ्यो, “यो देशमा अबदेखि म शासन गर्छु। यहाँको सत्य मेरो अधीनमा पार्छु । पुरानो धर्म र संस्कृति छोड। ती सबै मेरा खेलौना मात्र हुन्।”
त्यसपछि त झन करुणापुरमा विचित्र अवस्था आयो।
न्यायाधीशहरू पनि निदाउन थाले।
पत्रकारहरू इमान बेच्न थाले।
चेतनाका मुहान शिक्षकहरु नै चिट चोर्न र चोराउनमा निपुर्णता हासिल गर्न थाले।
जीवनदाता डाक्टरहरु नै कमिसनमा अनावश्यक औषधि थप्न थाले।
ब्रह्माण्डका अरु ग्रह र नक्षत्रले टाढाबाटै यो अत्याचार टुलुटुलु हेरेर बसेपनि बृहस्पतिले सहन सकेनन्। उनी क्रोधित हुँदै चिच्याए र उनीहरुतिर फर्केर भन्न थाले, “त्यो करुणापुरमा चेतनाको मृत्यु हुनै लागेको छ। हामी यसरी चुप लागेर बसिरहने हो भने ब्रम्हाण्डको सृष्टि बिग्रन्छ।”
तर उनको यो कुराले मात्र कसैलाई अघि सर्ने आँट आएन।
उता राहु झनझन तिलस्मीयुक्त शक्ति देखाउँदै थियो।
ऊ करुणापुरका हरेक नागरिकको वाणीमा बसिसकेको थियो। त्यसैले त्यहाँका मानिसहरू सत्य र असत्य छुट्याउनै नसक्ने भइसकेका थिए। उनीहरु आफ्ना दुःखहरू पनि राहुको भाटगीतमा ढाल्थे । ती गीतहरू राहुको प्रचार सामग्री मात्र बन्थ्यो।
यता सूर्यको किरणलाई राहुले निलेको सबैलाई थाहा थियो। करुणापुरकोआकाश कालो अंधकारमय भएको थियो जहाँबाट आवाज गुञ्जायमान हुँदै थियो,“राहुको राज अति भो।”
तर करुणापुरवाशीका मनमा झनझन त्रास बढिरहेको थियो।
मान्छेहरू आफ्ना छायाँदेखि पनि डराउन थालेका थिए। को सुराकी हुन् को मित्र हुन् छुट्याउन नसकिने अवस्था थियो।
यतिसम्म कि हरेक बुद्धका आँखाहरु पनि चकमन्न अंधकारले टालिएका थिए। पवित्र साधुहरु पनि परिस्थितिसँग मुकाविला गर्न तरवार बोक्ने कि मौन बस्ने अन्यौलमा थिए।
करुणापुरको रातहरु झन लामो र कालो हुँदै गयो। उज्यालो हराएको कति हो कति रातहरु सत्ता र शक्तिमा दम्भले भरिएका नेताका ठहाकामा बित्न थाले।विचरा त्यहाँका जनता आश मात्र गर्थे। विहानीको आश। तर उनीहरु त्यो निसासिने गरि आएको त्यो लामो कालो रात त्यस राहुको छायाँ हो भनेर बुझ्दै बुझ्दैन थिए।
सत्ता, कुर्सी र भ्रान्तिको जालमा पुरै देश फसिसकेको थियो। राहुले नेताहरुलाई मदिरा पिलाउँदै हाँस्दै बोल्थ्यो— “करुणापुरका जनताले अब अन्धकारसँगै मायाप्रेम गर्नुपर्छ। उनीहरूले झूटको कविता सुनाउनु पर्छ,भ्रमको गीत सुनाउनुपर्छ। उनीहरूले यसैमा तालि बजाउनु पर्छ। यसैमा रमाउनु पर्छ।”
तर उसको मात्र त्यो दुनिया थिएन। करुणापुर भन्दा बाहिर उज्यालो थियो। करुणापुरबाट बाहिरिएका आँखा उघ्रिएकाहरुले घचघच्याउन थाले। उनीहरुले सुनेका थिए
फलामले फलाम काट्छ। अनि केतुको ध्यान गर्न थाले।
त्यहिँ केतु पनि राहुको अन्यायमा तड्पिरहेको थियो। ऊ राहुको आधा छायाँ थियो। टाढाबाट राहुको जगजगी हेरेर ऊ निकै दुखी भएको थियो।
उसले ब्रह्माजीलाई भेटेर भन्यो,“म र राहु एउटै शिरका दुई टुक्रा हौँ, तर मैले मुक्तिको बाटो रोजेँ ऊ चाहिँ झुटो सत्ताको मायाजालमा फसेछ प्रभु !”
ब्रह्माजीले केतुलाई सान्त्वना दिँदै भने, “यदि तिमीले करुणापुरको उद्धार गर्न चाहन्छौ भने, प्रकाशका किरणहरू पुनः फैलाउनु पर्छ। तर सावधान ! राहुको तिलस्मी बुझ्न सकेनौ भनेअन्धकार तिमीमाथि नै छाउन सक्छ नि।”
केतुले स्वीकृति जनायो।ऊ चन्द्रमासँग सल्लाह गर्न गयो। अनि सूर्यसँग बल लिएर फर्कियो।
केतु करुणापुर पुगेर भाषण गर्न थाल्यो, “आत्माको युद्ध शुरू गरौं।”
तर उता अझै राहुले पनि ढोल पिट्न लगायो।
“विजय त राहुको नै हुन्छ हुन्छ।
सत्ता राहुकै हो ! सबथोक गर्ने राहु नै हो।
करुणापुरको आकाश थाम्ने पनि पृथ्वी थाम्ने पनि राहु हो ।”
यो सुनेर ब्रह्माजी पनि काँप्न थाले।
तर उनलाई थाहा थियो रात जतिसुकै कालो होस् विहान आएपछि हट्छ।
उसले सूर्यलाई पुकार्यो, “अब समय आयो सूर्य जी!सत्यको झिल्को जगाउनुहोस् !”
सूर्यले भने, “म सत्यको प्रकाश दिन त सक्छु, तर आँखामा धुवाँ छ भने देखिँदैन।”
नजिकै आएर चन्द्रले पनि भने,
“म शान्ति ल्याउन सक्छु, तर मनमा भय छ भने सत्यको अनुभूति हुँदैन।”
केतुले आँखाबाट निलो ज्वाला निकाल्यो र करुणापुरवासीलाई सम्बोधन गर्यो, “मानिसहरू हो, उठ। अन्धकारको दोष त राहुको मात्र होइन, तिमीहरूको मौनताको पनि हो।”
त्यो वचनले त्यहाँका मृत आत्माहरूमा कम्पन ल्यायो।
अनि शिक्षकहरूले बालबालिकालाई प्रश्न सोध्न सिकाए।
कवि र कलाकारहरूले मौनताको भित्तामा शब्दको झ्याल बनाए।युवाहरु जुर्मुराउन थाले।
केहि नेता र कार्यकर्ताहरुले पनि साथ दिए।
सत्य बोकेका हरु भन्न थाले,“हामीले धर्म बेचेका थियौँ, अब आत्मादेखि नै सहि दिशा खोज्छौँ।”
त्यसपछि करुणापुरको आकाशमा बल्ल आशाको किरण झल्किन थाल्यो।
जनलहर। जनक्रान्ति। जनसागर। मानव महासागर सडकमा।
तर राहुले पनि झनै भयानक रुप देखायो। ऊ यस्तरी रिसायो कि उसले आकाशका ग्रह र तारा तानेर आफ्नो मुकुटमा गाड्यो। बृहस्पति, शुक्र, मङ्गल, सबै डराए।
तर शनिलाई राहुले सकेन।
शनिले सम्झाउँदै भने, “तैँले मेरो शक्तिलाई चिनिनस्, अब तँआफैं सकिनु पर्छ।”
त्यस रात पृथ्वीमा सबै नक्षत्र एकैपटक चम्किए।
राहुको दरबारमा कालो बादलको आँधी आयो।
केतु तल झर्यो।
धेरैजनाले सोच्थे केतु पराजित हुन्छ।
केतुले मुस्कुराउँदै राहुलाई सम्झायो, “राहु, तिमी बरु प्रकाशलाई ग्रहण गर्न सक्छौ, तर उसको स्रोतलाई नष्ट गर्न सक्दैनौ।”
राहु गर्जियो, “मलाई धेरै नसिका ! म नै ठूलोराजा हुँ ! म नै राज्य हुँ।”
केतुले फेरि सम्झायो, “तिमी राज्य होइन। यो सोच्नु दम्भ हो। रोग हो। पतनको संकेत हो ।”
राहुले मानेन।
अनि केतुले शनिको शक्ति पुकार्यो र महाकालको जस्तो रौद्र रुप लिँदै करायो, “अब देख्लास् !”
ब्रह्माण्ड हल्लियो।ग्रह–नक्षत्रहरू एकताबद्ध भए।
सूर्यले आफ्नो किरण तीन गुणा बढायो।
चन्द्रले आफ्नो ओज पृथ्वीमा उतार्यो।
र बृहस्पतिले मन्त्र उच्चारण गरे—“सत्यं शिवं सुन्दरम्।”
राहुको मुकुट पग्लिन थाल्यो।
कालो धुवाँ फाट्यो।
जनताका आँखामा हराएको प्रकाश फर्कियो।
ताराहरुले खुशी महसुस गरे।
पृथ्वीको हृदयमा हरियो बोट उम्रियो।
त्यसको पातमा लेखिएको थियो, “धर्म भनेको जिम्मेवारी हो, सत्ता होइन।”
राहु थकित भयो। उसले धुवाँमा विलीन हुँदैभन्यो, “मलाई पनि एउटा ठाउँ देऊ केतु, म पनि त ब्रह्माण्डकै अंश हुँ।”
केतुले शनिलाई सम्झ्यो र ईशारा पाएपछि राहुसँग मिल्न हात बढायो र भन्यो, “अन्धकार पनि आवश्यक छ, जबसम्म उसले प्रकाशलाई बुझ्ने अवसर दिनुपर्छ।”
आकाश स्वच्छ हुँदै गयो।
सूर्य, चन्द्र र सबै ग्रहहरू पुनः आफ्ना कक्षामा फर्किए।
करुणापुरको भूमिमा फेरि उज्यालो हुन थाल्यो।
जनताले राजनीतिक भाषा होइन, चेतना बोल्न थाले।
विद्यालयहरूमा “कर्तव्य” सिकाइन थालियो।
मन्दिरहरूमा “सत्य”को लागि प्रार्थना हुन थाल्यो।
बजारमा ईमान”को मूल्य पुनः बढ्यो।
आकाशको अन्तिम कुनामा चन्द्रले शान्त स्वरमा भन्यो,“लामो रात मात्रैआउँछ भन्ने सोच्नु गलत हो उज्यालो पार्ने बिहान पनि आउँछ ।”
ब्रह्माजी मुस्कुराएर भने, “यो सृष्टिको नियम हो —
जब राहुको राज कसैले जगाउँछ भने
चेतनाको पुनर्जागरण ल्याउने केतु र शनि जस्ता व्यक्ति वा पिण्ड आउनु पर्ने अनिवार्य हुन्छ ।”
समाप्त
०००
धरान १३, हाल : बालकोट, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































