फित्काैली डटकमबीउको चित्कार
अन्यथा हाम्रो देशमा आयात फुल्नेछ स्वदेशीपन खुम्चिनेछ । हामीले हार्नेछौँ, वीर गोर्खालीपन इतिहासमै सीमित हुनेछौँ ।

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’ :
नेपालले
नयाँ बीउ जन्माएको
साठी बसन्त नापिसक्यो,
तर जीवनले काँचुली फेर्न सकेन ।
दुःख र प्रतीक्षामै सकियो–
न घाम पायो,
न भराेसा ।
छिमेकीको बारी
विहानी किरणमा चम्कँदै
हाँसोले लहलहाउँदा
हाम्रो बारीको हाँसो
मौनताले निचरिएको छ ।
हाम्रा सबै बीउले
न किसानको माया नाप्न पाए,
न माटोको सुगन्ध सुँघ्न
न खुल्ला आकाश हेर्न ।
किसानको मन
भत्किएको छ,
चिरिएको छ,
आँसुले भरिएको छ ।
बीउका
कानुनी धुन बजाउने बाँसुरी
दक्षिण एसियामै अब्बल छन्,
तर बजाउन नसक्दा
दर्शक रमाउन सक्दैनन् ।
कति नेपाली बीउ
पोषण र जलवायुसँग
लड्न सक्ने जन्मिए पनि
कुँजो बनाइए–
न सहजै हिँड्न पाए,
न किसानको खेतमा
सजिनै ।
त्यसैले
पराइको बीउले
अबैध मार्गबाट
रातो कार्पेटसहित
वैध मुस्कान पाउँछ
अनि फुल्छ,
हाम्रा खेतबारीमा ।
आत्मनिर्भरता
डाँडामाथिको घाम बनेर
अस्ताउँदै छ
आयातको छायाँमा
हाम्रो भान्सा थलिँदै ।
बीउ
कृत्रिम गमलामा
ढकमक्क फुलेको छ,
सत्यताको माइक्रोस्कोपले
छर्लङ्गै देखिन्छ ।
कति विज्ञले
प्रयोगशालामा
शकुनिको अस्त्र चलाएर
बाउ–आमा
छोरा–छोरी बनाइरहे,
छोरा–छोरी
बाउ–आमा ।
अनि अन्यौलमा छौँ
किसान,
न्यायमूर्तिहरु
र हामी सबै ।
अब
बीउका न्यायमूर्तिहरु जाग्नैपर्छ,
सारा जनता जाग्नैपर्छ
सरकारी–निजी हातेमाले गर्दै,
थिचिएका बीउलाई
न्याय दिँनैपर्छ ।
तब मात्र फुल्नेछ
हाम्रो बीउबिजन–
हाम्रो घर, आगन, कौसी,
बगैँचा र चौतारामा,
भान्साको
थाल र कचौरामा ।
अन्यथा
हाम्रो देशमा
आयात फुल्नेछ
स्वदेशीपन खुम्चिनेछ ।
हामीले हार्नेछौँ,
वीर गोर्खालीपन
इतिहासमै सीमित हुनेछौँ ।
त्यसैले
बेलैमा
पुनः बौरिनु पर्छ
हाम्रो गुणस्तरीय बीउ–
देशमा पनि
विदेशमा पनि ।
०००
नागार्जुन– १०, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest











































