चूडामणि रेग्मीतैले यहाँ के पाइस् !
कैयौँ कुर्सीबाट फ्याँकिए, तर पनि कुर्सीमा लड्कन वक्तव्य फलाको र रडाको गर्ने यहाँ छन्- यहाँ गजवकै पप्लू मास्टरी छ- फन्कोमा पप्लू पाउने धुन गजबकै हुँदो रहेछ ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
यहाँको प्राप्ति
सधैँ सधै गफडीका, झिरले रोप्नु माफिकका, कानमा ‘सुन्दर, शान्त, विशाल- विश्वमा अग्लो हिमाल, भनी हिमालको गौरव गाथा-पर्थे । नेपाली गौरव-गाथा पनि गफडीले मनग्गे सुनेको हो, तर अफसोस ! गफडीले कतै नसुनेको ! – त्यो सुन्दर हिमाल पप रहेछ । गफडी विचार गर्छ- जसले जे भने पनि पत्याउने गफडी आजसम्म दुई खुट्टा टेकेर तैपनि कसरी हिँडिरहेछ ! तर हजुर हो, एउटा भनाइ छ- लाटाका पनि दिन फिर्छन्, अथवा बाठो लड्छ सय बल्ड्याङ, भने लाटो लड्दैन । भनाइको तात्पर्य के भने गफडीका लाटा बुद्धिमा घाम लागेको छ अब यी झिरले रोप्नुपर्ने कान ठाडा भइसकेका छन् । कुरो के भने लाटो गफडीले यहाँको कुरो निकै बुझ्दै छ । हिमाल अग्लो र सुन्दर भएकाले यस सुन्दरतालाई ‘नछोऊ’ होइन, यसलाई माड्नेले बिताएछन् । हरियो जङ्गललाई आफ्नै निम्ति मङ्गल गर्नेले प्राकृतिक सुन्दरता लुटेछन् । राष्ट्रका अतिभक्त भन्ने सिल्लीहरूले ब्वाँसा वनेर यहाँको रगत पसिना चुसेछन् ! जम्माजम्मी कुरा गर्ने हो भने सकेछन्, केही राखेनछन् अनि तथाकथित साधु-महात्मा र देशभक्त हुने गफडी जस्ता मानिस तिन छक्क पर्नुबाहेक केही चारा छैन । यसैले कसैले सोध्दछ- ‘गफडी ! तैँले यहाँ के पाइस् ?’ गफडीको उत्तर छ-नप्पाइस उपलब्धि ! यहाँको प्राप्ति हात लाग्यो शून्य ! फुङ्ग ! (पप विहीन !)
मास्टरी अनि पप्लू मास्टरी
भजमन नारायन चैने जो छ हजुरहो । जब हात लाग्यो, शून्य, फुङ्ग त यहाँको मास्टरी पनि त्यस्तै ! महिनाभरि काम गर, सबले लथालिङ्ग छाडेका, छाडेका पशुजस्ता जनताजनार्दनको गोठालो वन ! तलव झोलाभरि ल्याऊ त्यसले घरखर्च थाम्ने नाम छैन । यति गर्यो, उति गर्यो । कस्तो थियो ? यस्तो भयो भन्ने चटकेहरूका कुरारूपी चटकमा मस्त ! सधँै नमोनारायन, न स्वास्नीलाई राम्रो गुनिउँ, न रोग लागेका बेला राम्रो औषध-उपचार । अनि ‘ठिक छ । राम्रो छ ।’ कम्पनीको गुप्तचरी ! गुप्तचरी पनि दिन प्रतिदिन धाऊ, यता जाऊ, उता जाऊ जातेआतेमा सम्पूणर् श्रम खत्तम, हुइपा । ताकत नमोनारायन ! बिल्डिङपति अर्कै ! अनि सुरु पत्रकारिता। पत्रकारी पनि प्रशासन चाटुकारी ! भाग्यविधाताको ‘नजर’ नलागेपछि र ग्रहदशाको मात्र नजर लागेपछि विज्ञापनमा पनि कमी ! यता पुत्रकारी ! उता अलपत्रकारी । अनि प्रभुहो, अब सुरु भो पप्लू मास्टरी ! सम्पूणर् विनाशको विनाशकारी । यसको अन्तेको कुरो गणेशजी (पप्लु) छिन्ने, जीवन उज्याल्ने, स्वमङ्गलकारी- अनन्त आनन्दकारी माग । तर यस क्षेत्रतिर ओलिंदा पनि गफडीको खेती भने वाँझै बनेको छ भाग्यको संहारकारी । त्यसैले गफडीलाई कोही दया गरी सोध्छन्, ‘गफडी, तेरो प्राप्ति तेरो उपलब्धि के गफडीको उत्तर छ- ‘सदा खुलेको जनता पार्टी चैने जो छ सो- रमिता हेर, कुरा सुन, ठुलाबडा उँभो लागेको हेर ! उनीहरूको पप्लू मास्टरीको तारेफ गर, यस सुन्दर शान्त विशाल देशको हावा-पानीमा आफ्नै देशवासी सप्रिएको हेरेर खोलेफाँडा भेटुन्जेल बाँच !
पातमा पात ! बातमा बात !
यहाँ गफडी मात्र आफू बिग्रिएँ भन्ने छैन र बिग्रिने धेरै छन् । पातमा पात हुँदा बातमा बात हुन्छन् र भन्दैछ अझ बिगार्ने त धेरै छन् । अब सुन्नोस् – बिगार्नेको कैरन । प्रधानमन्त्री भएर बिगार्ने अर्को ? अब प्रधानमन्त्री बन्न सन्की धुनमा नाना फलाक्ने अर्को ? – कुरो गजव छैन त ?) प्रज्ञाप्रतिष्ठाने भएर लैफुङ्गे हुने अर्कै लेखक ! यही आशामा झुन्डिएर उफ्रिने अर्कै सत्रौँ आश्चर्य होइन ?) । कैयौँ कुर्सीबाट फ्याँकिए, तर पनि कुर्सीमा लड्कन वक्तव्य फलाको र रडाको गर्ने यहाँ छन्- यहाँ गजवकै पप्लू मास्टरी छ- फन्कोमा पप्लू पाउने धुन गजबकै हुँदो रहेछ । ‘मास्टरीभन्दा पप्लू मास्टरी राम्रो ।’ कुनै दिन एउटा बुज्रुकले गफडीलाई भनेको हो । अब अर्थ लाग्दैछ- हुन पनि यहाँको धुन मात्र ‘पप्लू प्राप्ति’ रहेछ ! त्यसैको भजन छ यहाँ ! तिहारमा झिलिमिली देखिन्छ । हुन पनि प्रभु हो- यस महँगीमा यस भवसागरको चटारामा सिधासाधा व्यवहारले मात्र के हुन्छ र ! गणेशजीको प्राप्ति, धनपतिको मङ्गलमय पदवी प्राप्ति ! यी सब कुराका लागि मात्र पप्लू मास्टरीको खाँचो ! पप ! पप जीवनको एक मात्र घिडघिडो ! हवस् त तिहारे कुरो यत्तिमै शेष । आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क ४, २०३६
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































