साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाको औडाहा र सुन्निने समस्या !

सकेसम्म शुद्ध फलरस पिउनु ठिक हुन्छ नभए दुई लिटर बढि पानी दैनिक पिउनाले शरीरको आवश्यकता पुरा होला तर पिसाब र मिर्गौलाका बिरामीले विज्ञले भने अनुसार गरे राम्रो हुन्छ ।

Nepal Telecom ad
डा. मुकेश चालिसे :
पाका मान्छे भन्नासाथ वयस्क नियमित जीवनयापनको क्रियाकलापलाई ओझेल पारेर सकेसम्म निष्क्रिय जीवन बिताउने भनि धेरैले बुझेरै होला ‘अब त अवकाशको जीवन मोज नि, बसीबसी खाने उमेर’ भन्छन् । समाजमा यस्तै हलुका टिप्पणी थेगोकै रुपमा रहेपनि पाका मान्छेलाई झन अनुभवसिद्ध ज्ञान र आफन्तको चिन्तामा कहिल्यै नसकिने जिम्मेवारी थपिएझैँ फूर्सद नै हुँदैन । आफ्नो नियमित कार्यमानै बिहानदेखि साँझ बित्छ, आफ्नो अठोटेका निजी लर्‍याङलुरुङ्गलाई छिटोछरितो सकेर अनिपो अरु काम गर्न समय निकालेर लाग्नुपर्ने हुन्छ । यस्ता उमेरका मान्छेलाई चनमते र फूर्तिला भनाउन चाहानेहरू ‘सेवा निवृत्त भएका, भए निवृत्तिभरण सिध्याउने, नभए छोराछारीका भरमा बाँच्ने उमेर’ भनि यसो छिर्के हान्न पनि बेर लगाउन्नन् । वास्तवमा पाको उमेर धेरैजसोलाई परिवार र आफन्त बारेमा पहिले कहिल्यै नसोचिएका कर्तव्यहरू बोध भई जिम्मेवारीको पिरलोसँगै जीर्ण शरीर व्यहोरेर बितिरहेको हुन्छ । अनि कहाँको आरामी र कहाँको फुर्सद ? बरू चाहाना समुद्रका छालजस्तै उर्लेर सबै गर्न खोज्दा कतिपय काममा लटपटिएर ‘अल्लरा गाई, मल्लरा बाछो’ झैँ सबै ईच्छाहरू छरपष्ट भएका हुन्छन् ।
समस्याका चाङः
पाका मान्छेमा कहाँ एक थरीको मात्र समस्या हुन्छ र भन्या ? जनउत्तरदायी सरकार नभएर हो कि जनताको सबै खालको सुरक्षाको जिम्मेवारी लिने आफन्त बाहेक कोही देखिँदैनन् भने अझ डाँडाका उज्याला जून जस्ता सबैका मानिला पाका मान्छेप्रति किन पुछ्थे हाईहुकुमत भएकाले ? नेपाली समाजमा रहेको पाका मान्छेको आदर र सम्मानगर्ने प्रवृत्ति विगत कैयौँ वर्ष फोस्रो आडम्बर ठहर्‍याउने निम्न पूँजिवादी सोचले एकल परिवार र बलिया बाङ्गा युवालाई उराल्ने धेरै भए । समाजको क्रमिक र प्राकृतिक रुपान्तरण भई बहुजनहिताय व्यवस्था भएका मुलुकमा हरेक उमेरसमूहलाई मर्यादित जीवन बाँच्न सरकारनै अघि सरेको पाइन्छ । मनमा आफ्नै हितमा दत्तचित्त हुने, तहविलबाट आफु र आफन्तको पक्षपोषण गर्ने प्रजातान्त्रिक भनिने व्यवस्था भएका मुलुकमा सामाजिक विकासको पछिल्लो खेप दाता र मालिकको भनाईलाई मान्दै धेरै देशहरूमा ज्येष्ठ नागरिक मैत्री भन्दै ‘केहि राहतका गोदान’ गरेको पाइन्छ । नेपालमा पनि अरु धेरै नभए पनि यातायातका साधन भएका ठाउँमा केही ओड र सहज ठाउँमा मासिक सुविधाको केही भत्ता, अचेल पाका मान्छेले उपभोग गर्न पाउने सरकारले अघि बढाएको ‘सबैभन्दा ठूलो परोपकार’ भएको छ ।
पाका मान्छेलाई सेवानिवृत्त वा उमेरिँदाको समयमा विभिन्न स्तरका शारीरिक कारण प्रधान बन्न गएर स्वतन्त्र जीविकोपार्जन धेरैजसोमा परनिर्भरतातिर घच्याडिएको हुन्छ । सेवानिवृत्त जीवनमा सरकारी निवृत्तिभरण पाउने नेपालमा केही लाख होलान् अरु त आफ्ले जोगाएका सम्पति र आफन्तका हेरविचारमानै बाँकी जीवन गुजार्न बाध्य छन् । देशका सर्वसाधारणमा पर्ने सबै पाका मान्छेले उमेरिँदा सरदरमा एक दुई दीर्घरोग निम्त्याएकै हुन्छन् भने सन्तानको सुख र व्यवस्थित जीवन बनाउन वयस्क हुँदा गरिएका अत्याधिक धामाले आन्तरिक प्रतिरोधि क्षमता गुमाएका पाइन्छन् । त्यसैका कारण पाका मान्छेलाई विभिन्न मौसम र थपघट भइरहेका तापक्रम तथा आर्द्रताले पनि दुःख दिएको हुन्छ र त त्यसबाट नेपाली उखानै ‘बलियाबाङ्गा बाघलाई, कमजोर पाका माघलाई’ भन्ने चलेको होला । ढल्कँदो उमेरमा भएको शारीरिक दुर्बलताले थप सरुवा रोगले आक्रान्त पार्न कुनै भद्रो हेरिरहनेनै गर्दैन, कोरोना कालमा कमजोर र उमेरिएका मान्छेको अत्यधिक ईहलिला समाप्तीको दर्दनाक घटनाहरू देखियो नि !
आर्थिक असमानता र कतिमा विषमताका कारण नेपालका पाका मान्छेहरू विविध स्तरमा मानसिक समस्याले पनि ग्रसित भएका पाइन्छन् । नियमित चिन्ताले पाका मान्छेमा शारीरिक कमजोरी बढ्दै जाने, स्नायु र मस्तिष्कका समस्या बिस्तारै लाग्न सक्छ । चिन्ताले अन्य रोगहरू जस्तै पाचन प्रणालीको गडबडी र रक्तचापको घटिबढी भई निद्रासमेत नलाग्ने हुनसक्छ भने पाका मान्छेमा मुटुरोग थपिन सक्छ । निद्राको कमीले खानपानमा असर गर्छ र पाका मान्छेको स्वास्थ्य खस्किन गई रोगाउन सक्ने सम्भावना बढ्छ । यस्तो प्रक्रिया थपिँदै जाँदा अनि बिर्सने रोग, उन्माद, हुँदाहुँदा पार्किन्सन र अल्ज्हाईमर हुन के बेर ? यी सबै सम्भावनाका बिच पाका मान्छेका चिन्ताले ‘भूसको आगो जस्तै भित्रभित्रै सल्कीएर’ दिनरात जिउ पोल्ने, शरीरका अङ्ग सुण्डिने, विभिन्न प्रणालीमा भतभती पोलेको अनुभवहुने र सधैँ औडाहा अनुभूत भएको गुनासो गरिरहन्छन् । सामान्यतयाः यस्ता मानसिक र मस्तिष्क सम्बन्धित सोचाइको तलमाथिले रहँदा भन्दा पाका मान्छे खास रोग भन्न नसकी चिकित्सकलाई पनि अन्यौलमा पार्ने व्यथा भन्छन ।
वास्तवमा उमेरमा आफूले गर्न नसकेको तर दौँतरीले उम्नाचो प्रगति गरेको, अरुका परिवारले राम्रो गरेको अनुभव र आफ्नाले उनीहरूको जति गर्न नसकेको पिरलो, पहिला निकै फूर्तिफाइँ गर्दा ‘मै हुँ भएकोमा अहिले उमेरिँदा कोही नहच्केको’ लघुताभाष आदि ईष्र्या गर्ने कारणले मानसिक बेचैनिमा अल्झेका पाका मान्छे यस्तैको सन्तापमा रहन्छन् । यसैलाई धेरैजसोले आन्तरिक डाहा भएको, कुनै प्रसङ्ग सम्झ्यो वा कसैको राम्रो प्रगति देख्दा आँत नै बटारिएको र आफ्नो अनुकूल नभएकोमा थकथक लागि ‘पश्चातापले रुनु नहाँस्नु भएर’ छटपटिँदा अन्य शारीरिक समस्या आएको थाहै पाउँदैनन् । अवस्था यथावत रहेमा दैनिकीमा असर गरी आफैँ असाद्ध्य रोग निम्त्याउने कारक बन्छन् किनकी बसेको बानी छाडन धेरै मान्छेलाई गाह्रो नै हुन्छ, सम्झाएर त्यसो नगर्न भन्नेलाई उनीहरू थप कारण देखाउँदै ‘चिन्ता अनिवार्य रहेको’ जीकिर गर्न पछि पदैनन् । यस्तोमा केही लाग्दैन कसैको, बरू दैनिकी नियमित र सन्तुलित बनाउन मद्दत गरेमा समस्या घटाउन र हटाउन सकिन्छ ।
समाधानः
आफूले उमेरमा जेजस्तो गर्न सकियो पाको उमेरमा सम्झेर गल्ती गरेकोमा मधुर वचनले स्विकार्ने र आफ्नो परिस्थितिले ‘सम्भव भएको जति गरियो’ भनि पश्चातापविहीन दृढताले सोच्नेगर्नु सबै किसिमले राम्रो हुन्छ । अहिले विविध तुलबुल र निराशाले भएको उर्जा घटाउन सक्छ भने अब थप गर्न नसक्ने भएकाले विगतबारे परिवारलाई बाटो देखाउन सान्दर्भिक भएमा कुन कुरा कसरी गर्दा ठिक भनेर आग्रह होइन सल्लाहको रूपमा भन्नु ठिक हुन्छ । आफैँले गरेका गल्ती पनि बारम्बार नदोहोर्‍याउनु राम्रो होला, परिवारले एउटा गल्तीको बहानामा सबै र सधैँ गल्ती गर्ने मनुवाको रूपमा तपाईंलाई नलिउन् । हेलमेल बढाउने नाममा आफ्ना विगत छारष्ट हुने गरी पनि खुल्ला नगरौँ, भोली तिनै कुराले तपाईंको उमेरिएको पाको उमेरमा घुर्की र तबर्का सहनु पर्ने अवस्था नआओस् । यो उमेरमा अर्काको अझ साना उमेर समूहको नकारात्मक वचन सहन निकै ठूलो छाती चाहिन्छ, कमजोर शरीरले कानबाट सुनेका कुराहरू आँखाले रसाएर जवाफ दिने अवस्था नहोस् ।
औडाहा गराउने अरु कुरामा, हरेक प्रसङ्गमा ‘आफुले दुःख गरेको, मिहेनत गरेको र परिवार अघि बढाएको’ भन्ने भजन पनि धेरै नभन्नोस्, जवाफ फर्काउने अवस्थामा परिवारका सदस्य नपुगुन नत्र ‘हामीले भनेर गरेको हो र ?’ भने तपाईंसँग उत्तर दिने कुरा बाँकी रहन्न । त्यसपछि तपाईं नहुन सक्ने राम्रा कुरामा कल्पिएर आफ्नो दैनिकी र सन्तुलित जीवनमा ‘कालो बादल’ बोलाउने कुचेष्टा गरिरहनु भएको हुन्छ । परिस्थिति स्विकार गर्ने र आफुलाई अनमेल लागेका कुरामा कुरा सुन्ने भएमा सल्लाह दिन उत्सुक हुने बानी बसाल्नु मानसिक रूपले उत्तम हुन्छ । यो उमेरमा चिन्ता बढ्ने कुरा सम्झँदै आफैँलाई असामयिक जीवन सिध्याउने कसरत गर्दै नगर्नोस् । अब तपाईंले भनेर ‘वरको सिन्को पर सर्दैन’ भन्ठानेर गम्भिर बन्ने, कम बोल्ने र बाँकी जीवन सहज बनाउन केकस्तो सकिन्छ त्यहीँ गर्ने मनोदशा बनाउनु आफु र परिवारको कल्याण हुन्छ ।
कतिपयको दैनिक खानपान र आवश्यक कसरतको मात्रा नपुगेर एकै ठाउँ थुप्रिने भएर शारीरिक श्रम नभएर पनि औडाहा हुन सक्छ । पाको उमेरमा सकिने दैनिक व्यायाम, शरीरलाई फाप्ने खानपान र सुघ्घरसफाईमा ध्यान दिनै पर्छ, निष्क्रिय जीवन, रुचेमात्र खाने बानी र ‘कहाँ जानु छ र ? घरमै थच्चिने त हो नि !’ भनेर निशोख्या बन्नु हुन्न । खानपानमा शरीरलाई विपरित प्रतिक्रिया देखाउने, शारीरिक प्रणालीमा खरावी आउने तथा उमेरिँदा अप्ठ्यारो पार्ने कुराबाट पाका मान्छे बच्नुपर्छ भन्दै हार्वाड मेडिकल स्कुलका औडाहा सम्बन्धि विज्ञ चिकित्सकहरूले अनुसन्धात्मक लेखहरू लेखेका छन् ।
खानपानको संयोजनः
धेरैजसो शरीरमा हुने दुःख, प्रणालीको डाह र अङ्गहरूको सुन्निने प्रक्रिया दुर्घटना, घाउ, चोटपटक र रोगले मात्र हुने होइन । त्यसो भएमा प्रत्यक्ष उपायहरू छन, तर लामो समयसम्म हुने त्यस्ता लक्षण खानपिनको असन्तुलनले पनि हुन सक्छ । नेपालमा बाथका रोगीले गेडागुडी, भेडाको मासु र दहीमा परहेज गर्नु राम्रो भनि त्यसै भनेका हैनन् । वास्तवमा खानपानले उत्पादन गर्ने रासायनिक पदार्थ र पाचन प्रणालीमा रहेका किटाणुलाई प्रभाव पार्ने गर्दछ । कुनै खानेकुराले त्यस्ता किटाणुलाई धेरै बढ्नमा मद्दत गर्छन् र डाह गराउन र शरीरका अमुक भाग सुन्याउने असर गर्न सक्छन् । फेरी कुनै खानपानले त्यस्ता कुरा घटाई दिएर शरीरमा कमी र रोग उत्पन्न गराईदिन सक्छन्, त्यसैले खानाको प्रभाव बारेमा जान्नु उमेरिँदा आवश्यक हुन्छ । हार्वाड मेडिकल स्कुलले पाका मान्छेले खान हुने, गर्न हुने र नहुने विषयमा निकालेको सूचिमा निम्न कुरा छन् ।
फलफूल र तरकारीः
धेरैजसो फलहरू र चहकिला रङ्गका तरकारीमा सामान्यतया अर्बुदविरोधी पदार्थ बढी हुन्छ र फिनोल्सका बहुप्रकार हुन्छन् । बोटबिरुवामा पाइने बहुप्रकारको फिनोलहरू वास्तवमा सुरक्षा प्रदानगर्ने मिश्रणहरू हुन् । पोलिफिनोलहरूका औडाह र सुण्डिन रोक्ने बहुआयामिक गुणहरू हुन्छन र रक्तनलीहरूका कोशहरूको कामहरूको स्तर सुधार गर्ने सम्भावना हुन्छ । त्यस्ता गुणयुक्त खाने कुरामा प्याज, बेसार, रातो अङ्गुर, भुइँकाफल, पैँयुँजातका फल, आलुबखडा, आदि साथै हरिया सागपात, पालुङ्गो, ब्रोकाउली, रायोसाग, बेथे, लुँडे, र रङ्गिन गेडागुडी पर्दछन् । नेपालमा मौसमी प्रशस्त थरीका सागपात र गेडागुडी पाइन्छन, तिनको सदुपयोग बेलैमा गरेमा पाको उमेरमा हुने समस्यालाई घटाउन मद्दत पुग्ने देखिन्छ । बढी उत्पादन भएको समय हरेक खाद्यवस्तु झिङ्गा भन्कन नदिई सुकाएर राखेमा बेमौसमी त्यहीँ तरकारी र फलफूलभन्दा सुकेकै भए पनि भिजाएर खाए बढी पौष्टिक हुने खाद्यविज्ञहरूले भनेका छन् ।
गुदीखाने फल र बियाँहरूः
ओखर, मधिसे बदाम, काजु, किसमिस, आदि गुदी खाने फलहरू साथै तरकारी र फलहरूका बियाँ खानाले पोल्ने, औडाहा हुने र शरीर सुण्डिने कम हुन्छ भने मधुमेहका तथा भित्र्याँसका रोगहरू लाग्ने सम्भावना कम हुन्छ । त्यस्ता गुदीफल र बियाँ उचित मात्रामा नियमित खानाले छाती, फोक्सो, मुटु, मिर्गौला, पिसाब, आदिका रोगहरू नलाग्ने हुन पनि सक्छ । कतिपय मानिस यस्ता बस्तु अघिल्लो साँझ भिजाएर छोडी भोलिपल्ट बिहान दुध वा चनाको सातुमा मिसाएर वा तातो पानीसँग चियाको साटो खाएकाले फाइदा भएको भन्छन् । पिसाब सम्बन्धी समस्यामा पाकेको फर्सीका बियाँ खानाले प्रोस्टेट ग्रन्थी बढेर पिसाब फेर्दा हुने समस्यामा आरामी मिलेको धेरैको अनुभव छ भने कुभिण्डोको बियाँले कपाल खुइलिने रोग पाकाहरूमा कम भएको पनि भन्दछन् । मुलाका बियाँ भुटेर बिहान बेलुका खाली पेटमा एकएक चम्चा खानाले रुचि बढने र पेट खलास हुने अनुभव पाका मान्छे भन्दछन् भने अडेरीको बियाँतेलले अति कब्जियत पनि हटाई नियमित सहज दिसा हुने भन्ने गरिन्छ । अडेरीको बियाँ वा घ्युले पाका मान्छेको छाला सुखा भएर जाडोमा फुटने हातखुट्टा निको भएको धेरैको अनुभव छ । रायो, ज्वानु, मेथी, धनियाँ, जीरामरिच, सुकुमेल जाईफल आदि गेडाहरू विभिन्न समिश्रणमा पकाएर झोल खाने वा भुटेर पिँधेर राखी विविध रोगव्याधमा अडकलेर प्रयोग गर्ने नेपालमा प्रचलननै छ ।
खाद्य तेल र बोसे माछाः
जैतुनको तेल, आलसको तेल, तिलको तेल र बोसेदार माछाहरू- सहर, सार्डिन, मकेरोल, असला, तिते, आदि माछा र त्यसबाट बनेका तेल वा बोसो ओखतियुक्त मानिन्छन् । त्यस्ता तेल र बोसोमा शरीरलाई चाहिने ओमेगा-३ भनिने वस्तु स्वस्थ मात्रामा पाइन्छ । यो ओमेगाले शारीरिक डाह, रोगले पार्ने औडाह र शरीरका विभिन्न भागमा सुण्डिने कम पार्ने र हुन नदिने गराउनमा मद्दत गर्ने धेरै अघिदेखि प्रमाणित रसायन मानिएको छ । त्यसैले प्रायः विभिन्न रोगव्याधले कमजोरी हुँदा चिकित्सकले पचाउन सहज र उपयोगी त्यस्ता तेल र माछा खान सल्लाह दिन्छन् ।
कफी, कोका र हरियो चियाः उचित मात्राको र आवश्यक्तामा मात्र पिईने कफी, कोका र हरियो चियाले पनि छटपटी, डाह र सुण्डिएको बसाउने हुनाले फाइदाजनक मानिन्छ । कफीमा बहुआयामिक फिनोलहरू र कोकामा ल्फेभानोल पाइन्छ, यसले त्यस्ता समस्याहरूमा समन गर्ने काम गर्छ । हरियो पत्ती चियामा बहुआयामिक फिनोल र अर्बुदविरोधि पदार्थ पाईने हुनाले अचेल सभा, समारोह र पढेलेखेका भन्नेहरूले नियमित प्रयोगगरेको देखिन्छ । एकैठाउँ बसेर काम गर्ने मानिसले पनि तरोताजा रहिरहन भनि काम गर्ने छेउमा तातो पानीमा हरियो चिया हाली बेलाबेला सुर्क्यारहनु अचेल सहर-बजारमा चलननै छ ।
गरिष्ट खानपिनः
डाह, औडाहा र शरीर सुण्डिन बढाउने खानेकुराहरू बजारमा बडो स्वादिष्ट र चखिलो हिसाबले व्यापारिकरण गरिएको हुन्छ भने भर्खरका उमेरदार लोभ्भिन सक्छन् । कतिपयलाई शारीरिकरूपले फाप्ने हुनाले राम्रो भनिएका प्रचलनमा रहेका त्यस्ता वस्तु कतिपय पाका मान्छेका लागि नराम्रोमा गणना हुन्छ । अर्थात एक पक्षबाट राम्रो भनिए पनि त्यसको असर कतिपय कमजोर प्रणाली भएका मान्छेलाई प्रत्युपादक हुन्छ । सामान्यतया पेटको वायु हटाउने र पेट पोलाई घटाउने मानिएको मिठा सोडाले नफाप्नेलाई चिनीले पाचन क्रियामा दखल गरेर झन् बढी आँत हरहर गराईदिने र खुट्टा सुन्याइदिने गर्छ । खानलाई सजिलो र मिठास मानिने तारिएका पापड, पास्ता र सेतो पाउराटीले झन उल्टो असर गरेर नुनको मात्रा बढाउने र अजीर्ण गराउने काम गर्छ । रातो मासु (खसीबोका, च्याङ्ग्रा, भैँसी र गोरुका मासु), बट्टामा राखिएका नबिग्रने ओखति मिसाइएका मासुले कतिपयलाई राम्रो काम गरे पनि बाथका रोगी, पाचन प्रणाली कमजोर मानिस र पाका मान्छेमा नराम्रो प्रभाव पार्नसक्छ । तयारी खानेकुरा, स्वादिलो बनाउन क्रिम हालेका आईसक्रिमले एकछिन रमाईलो भएपनि शरीरको वजनसाथै आन्तिरिक डाह बढाउँछ ।
अन्त्यमाः
सजिलो भन्दै चटकिला स्वादका खानपिन रुचाउने मानिसका पाचन प्रणाली चाँडैनै प्रतिक्रिया देखाई रोगव्याध निम्त्याउने प्रमुख कारक बनेका हुन्छन । त्यस्ता खानेकुरामा आन्द्राले सोस्ने पचाउने काम निष्क्रिय बनाउने थप रसायन पनि मिसाइएका हुन्छन । त्यसले गर्दा पाचन प्रणालीमा सकारात्मक प्रभाव पार्ने सूक्ष्मजीवलाई प्रतिकूल असर गरिरहेको हुन्छ र ठूलो आन्द्रामा तथा मलाशयमा गाँठागुँठी रोगको रूपमा उत्पन्न हुन्छ । त्यस्ता गाँठा सुन्निएर पोल्न थाल्छ र थप खानाको मात्राले औडाहा झन् बढाउँछ । यस्तो नहोस् भन्नाका खातिर पाका मान्छेले खाने खानेकुराको आधा भाग कम्तीमा रेशायुक्त सागपात दिनमा तिन पटक र फलहरू दुईपटक आधा कचौरा कम्तीमा खानु पर्दछ । यो नियम हप्तामा पाँच दिन त गर्नै पर्छ भने फलमात्र बिहान र साँझ खानु शारीरिक रुपले फाइदा पुर्‍याउने तरिका हो ।
बाथले वा युरिक एसिडले दुःख नदिएको वा सहन सक्ने भए गेडागुडी क्वाँटीजस्तै मिसाइएको दाल बनाएर माछासँग खाएर भात नखान सक्नुहुन्छ । खाजा खान पनि अमिलो दही, जौको पिठो तथा काँचो खानहुने तरकारीको सलाद बनाएर खाने गर्नु फाइदा हुन्छ । मिलेसम्म गुदी खाने ओखर, काजु र देशी बदाम जस्ता वस्तु दुई खानाको बिचमा चपाउनु पनि शक्तिप्रदायक हुन्छ । सकेसम्म शुद्ध फलरस पिउनु ठिक हुन्छ नभए दुई लिटर बढि पानी दैनिक पिउनाले शरीरको आवश्यकता पुरा होला तर पिसाब र मिर्गौलाका बिरामीले विज्ञले भने अनुसार गरे राम्रो हुन्छ । ठिक्क पानीको सेवनले शरीरमा हुने औडाहा मात्र होइन उच्च रक्तचाप नियन्त्रणमा पनि मद्दत गर्छ र कमीले खुट्टा सुुन्निने पनि कम होला । यसरी पाका मान्छेले मानसिक हिसाबले जति समय बाँचिन्छ खुसी भएर बाँच्ने प्रण गरे औडाह र डाह कम होला साथै मानसिक रोग भए पनि घटाउन मद्दत हुनेछ । जीवनको पछिल्लो खेपमा पुगेका उमेरिएका पाका मान्छे साँच्चै मर्नु अघि आनन्दले बाँच्ने इच्छा भएमा शरीरले पनि साथ दिन्छ ।
०००
चैत २३, २०८०
चालिसे डाँडा, ललितपुर
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x