बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

जेष्ठ नागरिकको पालन पोषण र उजुरी सम्बन्धी कानूनी व्यवस्था

जेष्ठ नागरिकहरूका समस्याहरू विस्तारै कानूनी पहुँचसम्म ल्याउन सकिने देखिन्छ । सुरक्षित र सम्मानित रुपमा बाच्न पाउनु जेष्ठ नागरिकको विश्वव्यापी मौलिक अधिकार हो भने उनहरूलाई साथ र सहयोग गर्नु तपाई हामी सबैको दायित्व हो ।

Nepal Telecom Spring Offer

सम्पूर्ण प्राणी मध्ये चेतनशील प्राणी भनेर चिनिने हामी मानव जाती मौसम तथा वातावरण अनुसारका विभिन्न गतिविधिहरूमा क्रियाशील भइरहेका हुन्छौं । हाम्रो हरेक दैनिकी आ-आफ्नै कार्य व्यस्ततामा बितिरहेको हुन्छ । यस्तै व्यस्तता र सक्रियताका बाबजुद पनि हामीले एक अर्काप्रति गर्ने व्यवहारहरू, एक अर्कालाई हेर्ने दृष्टिकोण र एक अर्काप्रति गर्ने माया, सद्भाव र सम्मान सबै फरक फरक हुन्छन् । हाम्रो समाजमा बालबच्चा र युवाप्रति हेरिने दृष्टिकोण र जेष्ठ नागरिकहरूलाई हेरिने दृष्टिकोणमा पनि निकै भिन्नता रहेको पाइन्छ । अझै पनि हाम्रो समाजमा धेरै तर्फबाट उपेक्षित भईरहेको समुह हो जेष्ठ नागरिक ।

हामी जबसम्म युवा रहन्छौं तबसम्म हामी शारीरिक र जैविक रुपमा पनि बलियो हुन्छौं । अनि जब उमेरले नेटो काट्न थाल्छ हाम्रो खानपान, शारीरिक व्यवस्ता र रोगब्याधले समेत गाँज्दै जान थाल्दछ । त्यसपछि हामी शारीरिक र मानसिक रुपमा पनि कमजोर हुँदै गइरहेका हुन्छौं । समाजको बदलिंदो परिस्थिति र अप्राकृतिक कारणहरूले गर्दा दिन प्रतिदिन हाम्रो शारीरिक, मानसिक र जैविक अवस्थामा बहुमुखी नकारात्मक असरहरूले ताण्डव गर्न थाल्दछन् । उमेरले उकालो लाग्दै गर्दा हाम्रो स्वभावमा केहि बिप्ल्याँटापनहरू आउने र अरुसँगको सम्बन्धमा बेमेल गराउने कारक तत्वहरूको सिर्जनामा समेत वृद्धि भइदिन्छ र हामीलाई दुःख कष्टको बाटो हिंडिरहनु परेको भान हुन पुग्दछ । हामीमा आएका यस्ता शारीरिक, मानसिक, जैविक र भावनात्मक परिवर्तनको कारणले गर्दा पनि केहि हदसम्म घर परिवारबाट तिरस्कृत, दव्र्यवहारित हुनुको साथै एक्लोपनको महसुस हुने आदि जस्ता समस्याहरू उत्पन्न भएका पनि हुन सक्छन् ।

यो उमेर समुहलाई घर तथा राष्ट्रले समेत अनुत्पादक मानेको अवस्थामा भरोसा गरि जाने ठाउँसम्म पनि हुँदैन । यसकारण पनि बाध्य भएर कयौं आमा बाबाहरू आफूमाथि भैरहेका सबै समस्याहरू सहेर बसिरहेका हुन्छन् । उनीहरूका हरेक चाहना र आवश्यकतालाई नकारात्मक दृष्टिकोणले हेर्ने परिवार तथा समाज जेष्ठ नागरिकमैत्री हुनैसक्दैन । त्यसैले यस्तो पूर्वाग्रही समाज हुनु अहिलेको परिस्थितिमा उपयुक्त हुँदैन । उमेरको गतिसँगै आउने यस्ता शारीरिक, जैविक र भावनात्मक परिवर्तनहरूलाई घर परिवार साथै समाजले समेत बुझ्न नसक्दा, जेष्ठ नागरिकको सम्मान र कदर गर्न नसक्दा आज जेष्ठ नागरिकहरू आफ्नै घर परिवारमा अपहेलित, दुव्र्यवहारित र उपेक्षित हुनु परिरहेको छ भने कतिपय अवस्थामा त आफ्नै जायजेथा र सम्पति समेतबाट हात धुनु परिरहेको विद्यमान अवस्था रहेको छ ।

कतिपय आमा बुवा आफ्नाबाट नै लुटिनु परेको र जीवनभर आफ्नो पेट काटी दुःख गरेर कमाएको सम्पतिका बाबजुद सन्तान भएर पनि बेघर भई बस्नु परेको दर्दनाक अवस्था पनि हामीले नदेखेका होइनौं। बुवा आमालाई ललाई फकाई, जालसाजी गरी वा धम्क्याएर पनि सम्पति आफ्नो हातमा आएपछि उनीहरूलाई अलपत्र पार्ने र वृद्धआश्रमसम्म पुर्‍याउने छोराछोरीहरू पनि हामीले धेरै नजिकबाट देख्दै आएका छौं । त्यसैले जीवनको उत्तरार्धमा जेष्ठ नागरिकहरू बिचल्लीमा पुग्नुको एउटा मुख्य कारक तत्वको रुपमा जायजेथा वा सम्पतिलाई पनि मान्न सकिन्छ ।

नेपालको संविधान २०७२ को धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हक हुनेछ भनि मौलिक हकको व्यवस्था गरिएको छ । जसमा विशेष संरक्षण अन्तर्गत जेष्ठ नागरिकको जीउज्यान, धन सम्पतिको अरु भन्दा विशिष्ठ किसिमले अर्थात असाधारण किसिमको व्यवस्था गरी उनीहरूलाई झुक्याएर, प्रलोभनमा पारी वृद्ध अवस्थामा आफ्नै सन्तान, नातेदार वा हकवालाले हेला गरी खान लाउन दिन पनि अप्ठ्यारो मान्ने, बोली वचन व्यवहारले अपमानित गर्ने, बोल्दै नबोली उपेक्षा गर्ने, उनीहरूमाथि हातपात गर्ने, अरु कुनै किसिमले अपमान गर्ने, जालसाजी गर्ने वा जालसाजी गरी सम्पति लिएको वा लिन खोजेको र अरु कुनै किसिमको विभेदकारी व्यवहार भए गरेमा कानुनद्वारा सरकारले उनीहरूलाई विशेष संरक्षण प्रदान गर्नेछ भन्ने कार्यलाई बुझिन्छ ।

वर्तमान समाजमा देखिएका उल्लेखित विभिन्न समस्याहरूका बीच कतिपयलाई जानकारी भएर वा कतिलाई कानूनी व्यवस्थाको बारेमा जानकारी नभएर पनि कानुनी सेवाबाट वञ्चित हुनु परिरहेको छ । जुन कुरा हामीले प्रष्टसाथ आम नागरिकमा फैलाउन सक्नु पर्दछ । जसबाट आम मानिसमा जेष्ठ नागरिकहरूका अधिकार र कानूनी दायराको सन्दर्भमा सामाजिक सचेतना बढ्न गई जेष्ठ नागरिकहरूका अधिकार र कानूनी सेवाको पहुँचलाई समाजमा स्थापित गर्न सकिन्छ ।

जेष्ठ नागरिकका हक अधिकारहरूलाई कानुनले सम्बोधन गर्दैमा र कानुनी किताबमा व्यवस्था भएर मात्र हुँदैन, कानूनी पाटोबाट त्यसको कार्वान्वयन हुनु पनि उत्तिकै जरुरी छ । जसका लागि जेष्ठ नागरिकहरू स्वयंले नै प्रमुख भूमिका वहन गर्नुपर्ने र समाजमा अन्य सहयोगीहरूको भूमिका पनि उत्तिकै महत्वपूणर् हुने देखिन्छ । हाम्रो समाजमा बाउ आमाले सम्पति दिएनन्, पैत्रिक सम्पतिबाट आफ्नो अंश भाग पाउँ भनि अदालतको ढोका ढकढक्याउन पुग्ने छोराछोरीहरू त बग्रेल्ती भेटिन्छन् तर आफ्नै सन्तानले जालसाजी गरी आफ्नै सम्पतीबाट बेदख्खल गराउँदा सडकमा पुग्न बाध्य तिनै बाबुआमा अदालत जानै चाहँदैनन् । आफैंले जन्माएका सन्तान हुन्, जिन्दगी भर उनीहरूकै लागि दुःख गरियो, यो उमेरमा अब कोसँग लड्नु ? अब यो बुढेसकालमा दिन बिताउने काल पर्खने सिवाय अरु केहि गर्नु छैन भन्ने गरेका उदाहरणहरू पनि हाम्रै सामु देखिरहेका छौं ।

जेष्ठ नागरिकहरूका लागि भनेर छुट्टै कानुनको रुपमा जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ बनेको भए तापनि उक्त ऐनले जेष्ठ नागरिकका अझै महत्वपूणर् पक्षहरूलाई समेट्न नसकेको भनी यस ऐनलाई संशोधन गर्न वाञ्छनिय भएकोले संघीय संसदले तत्कालिन ऐनका कमि कमजोरीहरूलाई मध्येनजर गरी हाल जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को पहिलो संशोधन २०७९ निर्माण गरेको छ । जस अन्तर्गत यस ऐनमा व्यवस्था गरिएको जेष्ठ नागरिकको पालन पोषण तथा हेरचाह र उजुरी दिन सक्ने कानूनी व्यवस्थाको सम्बन्धमा यहाँ थोरै चर्चा गर्न खोजिएको छ ।

जेष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा ईज्जत आमद अनुसार पालन पोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हो । उनीहरूले आफ्नो अंश लिई परिवारबाट अलग बस्न चाहेको अवस्थामा बाहेक निजले चाहेको परिवारको सदस्यले आफ्नो साथमा राखी पालन पोषण गर्नु पर्नेछ । कसैले उनीहरूको ईच्छा विपरीत निजलाई परिवारबाट अलग राख्न वा बस्न बाध्य गराउनु हुँदैन । जेष्ठ नागरिक वा निजलाई पालन पोषण गर्ने परिवारको सदस्यको आर्थिक अवस्था कमजोर भएमा परिवारको अन्य सदस्यले त्यस्ता जेष्ठ नागरिकलाई आफूसँगै नराखेको भएता पनि पालन पोषण र हेरचाहको व्यवस्था गर्नुको साथै जेष्ठ नागरिकको चल अचल सम्पति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वा हकवालाले निजलाई आफूसँगै राखी पालन पोषण तथा उचित हेरचाह गर्नु पर्नेछ भन्ने व्यवस्था गरिएको छ ।

यसरी जेष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेमा वा गर्ने व्यवस्था नगरेमा उनीहरू स्वयंले स्थानिय तहको न्यायिक समिति समक्ष उजुरी दिन सक्नेछन् साथै आफ्नो टोल छिमेकमा कुनै जेष्ठ नागरिकहरूको पालन पोषण वा हेरचाह यथोचित भइरहेको छैन भन्ने लागेमा कारण सहित सम्बन्धित छिमेकीले समेत उजुरी दिन सक्ने व्यवस्था गरिएको छ । हाल जेष्ठ नागरिकका कुनै पनि प्रकारका उजुरी परेमा त्यस उपर स्थानिय न्यायिक समितिले आवश्यक जाँचबुझ गरी निज र निजलाई पालन पोषण तथा हेरचाह गर्नुपर्ने परिवारको सदस्य, नातेदार वा हकवाला बीच मेलमिलाप गराइदिनु पर्नेछ । यदि मेलमिलाप हुन नसकेमा स्थानिय न्यायिक समितिले त्यस्ता जेष्ठ नागरिकलाई पालन पोषण तथा हेरचाह गर्नुपर्ने परिवारको सदस्य, नातेदार वा हकवालालाई लिखित आदेश दिनु पर्नेछ ।

तत्पश्चात उक्त लिखित आदेश चित्त नबुझ्ने पक्षले सो आदेश प्राप्त गरेको मितिले सात दिनभित्र स्थानिय न्यायिक समिति समक्ष निवेदन दिन सक्नेछन् । यसरी निवेदन परेमा सो निवेदन उपर सम्बन्धित समितिले दुबै पक्षलाई बोलाई सम्झाई बुझाई जेष्ठ नागरिकलाई पालन पोषण तथा हेरचाह गर्न परिवारको सदस्य, नातेदार वा हकवालालाई पुनः लिखित आदेश दिन सक्नेछ र सो आदेश पनि स्थानिय निकायको सूचनापाटी र उपयुक्त स्थानमा टाँस गराउनु पर्नेछ । उक्त आदेशको पालना सम्बन्धित व्यक्ति आफैंले गर्नु पर्नेछ र निजले त्यस्तो आदेशको पालना नगरेमा त्यस्तो व्यक्तिको सम्बन्धमा कुनै पनि विषयको सिफारिस गर्न सम्बन्धित निकाय बाध्य हुने छैन भनि यस ऐनमा व्यवस्था गरिएको छ ।

यसरी सम्बन्धित आदेशको पालना नगर्ने व्यक्तिले त्यस्तो जेष्ठ नागरिकको सम्पति भोग गरेको विषयमा स्थानिय तहमा उजुरी परेमा स्थानिय न्यायिक समितिले त्यस्ता जेष्ठ नागरिकहरूको नाउँमा रहेको चलअचल सम्पति निजको सट्टा निजलाई पालन पोषण तथा हेरचाह गर्ने अन्य नातेदार वा हकवालालाई जिम्मा लगाउन सक्नेछ । यसरी जेष्ठ नागरिकका परिवारका सदस्य, नातेदार वा हकवालाले पालन पोषण तथा हेरचाह नगरेमा वा पालनपोषण तथा हेरचाह गर्ने अन्य हकवाला वा नातेदार नभई अलपत्र अवस्थामा रहेका व्यक्तिहरूलाई हेरचाह केन्द्रमा राखी पालन पोषण तथा हेरचाह गर्ने व्यवस्था स्थानिय तहले मिलाउनु पर्नेछ ।

त्यसरी पालन पोषण तथा हेरचाह नगरिएका वा अलपत्र अवस्थामा रहेका पाका मानिसहरूको जायजेथा वा अंश भाग भएमा स्थानिय तहले आफ्नो स्वामित्वमा ल्याई निज जेष्ठ नागरिकको हक हितका लागि परिचालन समेत गर्नेछ । यदि कसैले जेष्ठ नागरिकका उपर उल्लेखित व्यवहारहरू गरेमा कसुर गरेको मानि दश हजारदेखि तीन लाख रुपैयाँसम्म जरीवाना र तीन महिनासम्म कैद वा दुबै सजाय हुन सक्नेछ ।

जेष्ठ नागरिकको हक, अधिकार र कानूनी दायित्व सुनिश्चित गर्ने र उनीहरू बीच आवश्यक सेवा सुविधा पुर्‍याउने लक्ष्य राखी सरकारी तथा गैरसरकारी स्तरमा थुप्रै संघ संस्थाहरू खुलेका छन् । यी सबैको लक्ष्य जेष्ठ नागरिकको हितमा कार्य गर्नु रहेको छ । यस्तो अवस्थामा सम्बन्धित सबै पक्षको ध्यान यस विषयमा पनि केन्द्रित हुनु जरुरी देखिन्छ । यसका लागि सर्वप्रथम जेष्ठ नागरिक मैत्री समाजको निर्माण गर्नु जरुरी हुन्छ । यो कार्य त्यसबेला मात्र सम्भव हुनेछ जुनबेला समाजमा जेष्ठ नागरिकका अधिकार र यस विषयमा राज्यले लिएका नीति तथा कार्यक्रमका सन्दर्भमा सचेतना अभिवृद्धिका प्रयासहरू हुनेछन् ।

समाजमा विद्यमान सामाजिक संस्था सबैले आ-आफ्नो संगठनको संरचना र संगठनका काममा सक्षम जेष्ठ नागरिकलाई सहभागी बनाउने, सामाजिक अभियानकर्ताले आ-आफ्नो कार्यक्षेत्रमा रही जेष्ठ नागरिकको समस्या समाधान र सम्भावनाको उपयोगका लागि सम्बन्धित निकायमा दबाब दिनुका साथै राज्यले जेष्ठ नागरिकका लागि निर्माण गरेका कानूनका सम्बन्धमा जनचेतना अभिवृद्धि अभियान सञ्चालन गर्नुपर्दछ । जेष्ठ नागरिकलाई हौसला प्रदान गर्ने खालका कार्यक्रमहरू सञ्चालन गर्नु अति आवश्यक छ ।

आम सञ्चारका माध्यमहरूले जेष्ठ नागरिकका हक, हित र चासोको विषयलाई प्राथमिकता प्रदान गरी जेष्ठ नागरिकलाई अनादर गर्ने, सम्पतिबाट बञ्चित गर्ने गराउने, जालसाजी गरी सम्पति आफ्नो नाउँमा नामसारी गर्ने, वेवास्ता र दुव्र्यबहार गर्ने जस्ता कार्य गर्ने वा गराउने सबैलाई कडा रुपमा दण्डित गर्न सक्ने हो भने यस्ता समस्याहरूलाई निराकरण गर्दै समाजमा अदृष्य रुपमा रहेका जेष्ठ नागरिकहरूका समस्याहरू विस्तारै कानूनी पहुँचसम्म ल्याउन सकिने देखिन्छ । सुरक्षित र सम्मानित रुपमा बाच्न पाउनु जेष्ठ नागरिकको विश्वव्यापी मौलिक अधिकार हो भने उनहरूलाई साथ र सहयोग गर्नु तपाईं हामी सबैको दायित्व हो ।

०००
लेखिका पौडेल उपप्राध्यापक तथा अधिवक्ता हुनुहुन्छ ।

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
डाँडामाथिका उज्याला जून !

डाँडामाथिका उज्याला जून !

डा. मुकेशकुमार चालिसे
पाका मानिस सम्बन्धी स्थानिय तहको कानूनी दायित्व

पाका मानिस सम्बन्धी स्थानिय...

मञ्जुकुमारी पाैडेल
पाका मान्छेका केही गुन-बैगुनका कुरा !

पाका मान्छेका केही गुन-बैगुनका...

डा. मुकेशकुमार चालिसे
पाकामा साईटिकाको समस्या !

पाकामा साईटिकाको समस्या !

डा. मुकेशकुमार चालिसे