सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जेष्ठ नागरिकको हक हितमा स्थानिय जेष्ठ नागरिक समिति

अहिले दयाको पात्रको रुपमा हेरि संरक्षण गरिनुपर्छ भनि कमजोर ठानिएका उनीहरूलाई दयाको पात्रको रुपमा नभई एउटा व्यवस्थापक र आफ्नो संरक्षकको रुपमा हेर्ने परिपाटी बन्नेछ ।

Nepal Telecom ad

अधिवक्ता मन्जुकुमारी पौडेल  :

आजको दिनमा विश्वको जनसंख्याको उमेर संरचनालाई हेर्ने हो भने जेष्ठ नागरिकको जनसंख्या एउटा महत्वपूर्ण अध्ययनको विषय बन्न पुगेको छ भने विश्वमा नै जेष्ठ नागरिकको जनसंख्या बढ्दो क्रममा रहेको छ । संयुक्त राष्ट्र संघ जनसंख्या विभागको तथ्याङ्क अनुरुप जेष्ठ नागरिकको जनसंख्या विश्वको कूल जनसंख्याको १३.५ प्रतिशत भन्दा बढि रहेको छ । यसैगरी विश्वभरका जेष्ठ नागरिकहरू मध्ये प्रति सेकेन्ड २ जना जेष्ठ नागरिकहरूले आफ्नो जन्मदिन मनाउने गरेको पाइन्छ ।

पछिल्लो समयमा आइपुग्दा हरेक नेपालीको औषत आयुमा वृद्धि हुँदै गइरहेको र बाल मृत्युदर पनि घट्दै गइरहेको छ । अत्याधुनिक प्रविधि तथा स्वास्थ्य क्षेत्रमा भएको आधुनिकीकरण, सामाजिक चेतना र हरेक जनमानसको पहुँचमा पुगेको स्वास्थ्योपचार तथा सर्वसुलभ उपलब्ध हुने औषधीका कारण आज आएर अकालमा हुने मृत्युदर, कुपोषण, क्षयरोग र कुष्टरोग आदी जस्ता रोगहरू समाजबाट मुक्त हुँदै गइरहेको अवस्था छ । सबै मानिसहरू साक्षर र दुरदर्शी हुदै गएका छन् भने जनसंख्या वृध्दिदर समेत न्यून भएको कारण विश्वमा नै जेष्ठ नागरिकहरूको वृध्दि हुँदै गएको छ ।

यसरी दिन प्रतिदिन जेष्ठ नागरिकहरूको जनसंख्या बढ्दै गइरहेको हुँदा राज्यमाथि आर्थिक भार पनि बढ्दै गइरहेको छ । जनसंख्या वृद्धि सँगसँगै जेष्ठ नागरिकहरूमाथि हुने गरेका विभेद, हिंसा र दुव्र्यवहारका घटनाहरू पनि बढ्दो क्रममा रहेको देखिन्छ । फरक यति मात्र हो की कतिपय घटना समाजबाट बाहिर आएका हुन्छन् भने धेरै जसो परिवार भित्रै दबिएर रहेको हुन्छ । यो वर्ष गएको अगस्ट महिनामा मात्रै नेपालमा ५२ जना जेष्ठ नागरिकहरूको लास फेला परेको छ । ती पनि रपोर्ट भए जति मात्रै हुन् । यस्ता नदेखिएका र थाहा नपाएका त अझै कति होलान् । भनिन्छ समाजमा जेष्ठ नागरिकका दुव्र्यवहारका एउटा घटना मात्र बाहिर आउँदा अन्य ४५ वटा घटनाहरू अदृष्य हुन्छन् ।

जेष्ठ नागरिकको कानूनलाई हेर्ने हो भने पनि कानूनी व्यवस्था संन्तोषजनक देखिँंदैन । भएको कानूनी व्यवस्थाहरू पनि फितलो छ । यस प्रकारका कयौं समस्या र यसका भुक्तभोगीहरू समाजमा नै व्याप्त छन् । जेष्ठ नागरिकका लागी संविधान, ऐन, नियम, नियमावली तथा कार्यविधीहरू नबनेका होईनन्, पर्याप्त छन् तर पनि त्यसको प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेको अवस्था छ । राज्यको यस्तो कानूनी प्रावधानहरूलाई समय सापेक्ष संशोधन गरिएको पनि त छ तर कता के नपुगेको र सबै पक्षलाई समेट्न नसकिएको कारणले गर्दा पनि जेष्ठ नागरिकहरू आफूले पाउने हरेक प्रकारका कानूनी सेवा सुविधाहरूबाट बञ्चित भएका छन् । साथै जेष्ठ नागरिकका समस्याहरू दिनप्रतिदिन झन विकराल बन्दै गइरहेको अवस्था छ ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक वर्ष सन १९९९ पश्चात मात्र नेपालमा जेष्ठ नागरिकहरूको हक हित र सेवाको लागि क्रियाशील हुन थालेको पाइन्छ भने तत्पश्चात नेपाल सरकार र यस क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरूको निरन्तरको सक्रियता, सिर्जनशिलता र अविछिन्न समन्वयात्मक कार्यसम्पादनबाट जेष्ठ नागरिकहरूको जीवनशैली सहज सम्मानित र सुरक्षित तुल्याउने तर्फ केहि मात्रामा भए पनि केन्द्रित भएको छ । नेपालमा जेष्ठ नागरिकको हक, हित, सुरक्षा र अधिकारका लागी राज्यको केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारमा समेत विभिन्न संघ, संगठन र समितिहरूको निर्माण भएको छ । जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा १४ मा प्रत्येक प्रदेशमा जेष्ठ नागरिकको हेर विचार, स्याहार सुसार तथा सामाजिक सुरक्षा प्रदान गर्ने प्रयोजनको लागि प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश जेष्ठ नागरिक समिति गठन गर्न सक्ने व्यवस्था गरेको छ ।

यसैगरी ऐ.ऐ. कै दफा १५ बमोजिम प्रत्येक स्थानिय तहमा जेष्ठ नागरिकको हेरविचार, स्याहार सुसार तथा सामाजिक सुरक्षा प्रदान गर्ने प्रयोजनको लागि स्थानिय तहले स्थानिय राजपत्रमा सूचना प्रकाशन गरी स्थानिय जेष्ठनागरिक समिति गठन गर्न सक्ने व्यवस्था गरेको छ भने दफा १६ मा यसको काम कर्तव्य र अधिकारहरूको बारेमा उल्लेख गरिएको छ, जसको यहाँ चर्चा गर्न खोजिएको छ ।

प्रत्येक स्थानिय तहमा रहेका सम्पूणर् जेष्ठ नागरिकको लगत संकलन गर्ने, अभिलेख राख्ने र लगत तथा अभिलेखको अध्यावधिक गर्ने यसको मुख्य कार्य रहेको हुँदा हाम्रो स्थानमा ती कार्यहरू कतिको प्रभावकारी ढंगबाट संचालित भएको छ वा छैन भनि बुझ्नु हामी सबैको कर्तव्य हो । यसबाट हामी कतिको जानकार छौं भन्नेमा चासो राखी यी विषयहरू तर्फ हामी सबैको ध्यान पुग्नु आवश्यक छ । राज्यबाट प्रदान गरिएका र कानूनप्रदत्त हक र अधिकारहरूको उपभोग गर्न सबै जेष्ठ नागरिकले पाउनु पर्छ । आफ्नो स्थानिय क्षेत्रमा रहेका जेष्ठ नागरिकको जनसंख्या के कति छ ? जेष्ठ नागरिक लक्षित के कस्ता कार्यक्रमहरू भईरहेका छन् वा छैनन् ? यस बारेमा जनचासो हुनु नितान्त आवश्यक छ ।

यस समितिको अर्को कार्य भनेको जेष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, उनिहरूका लागी योजना निर्माण गरी कार्यक्रम तयार गरी स्वीकृतिका लागि सम्बन्धित माथिल्लो निकायमा समक्ष पेश गर्ने, नेपाल सरकारबाट स्वीकृत जेष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा सम्बन्धी नीति, योजना तथा कार्यक्रम बमोजिमको स्थानिय कार्यक्रम कार्यान्वयन तथा सो को अनुगमन गर्ने आदि कार्यहरू तदारुकताको साथ गरिनु पर्दछ । तर के हाम्रा वरिपरिका जेष्ठ नागरिकहरू सुरक्षित छन् त ? उनीहरूको संरक्षण स्थानिय जेष्ठ नागरिक समितिले गरेको छ ? हाम्रा समुदायमा जेष्ठ नागरिक लक्षित कार्यक्रमहरू भए गरेका छन् ? स्थानिय तहबाट पाउनु पर्ने हक, अधिकार र सुरक्षाको हामीले कतिको अनुभूति गर्ने मौका पाएका छौं ?

यिनै प्रश्नहरूको जवाफ खोज्ने तर्फ हामी सबै सचेतकहरू लाग्नुपर्ने देखिन्छ । यस प्रकारका समितिहरू खोलिनु र यिनीहरूको कार्य क्षेत्र तोकिनु नै सबै कुरा होइन, यस्ता संघ संगठहरूले आफ्नो दायित्व र जिम्मेवारी वहन गरी सही सदुपयोग गरी कार्यान्वयनमा आउनु जरुरी छ । जेष्ठ नागरिकका लागि भनेर आएका बजेटहरू सहि ठाउँमा सदुपयोग भए नभएको, यसबाट जेष्ठ नागरिकहरू लाभन्वित भए नभएको आदि ईत्यादिको वारेमा हाम्रो टोल छिमेकमा छलफल गरिनु पर्दछ । प्रत्येक समुदायबाट स्थानिय तहलाई झक्झक्याउनु र जेष्ठ नागरिक लक्षित कार्यक्रम ल्याउन पहल गर्नु हामी आम नागरिको कर्तव्य र दायित्व पनि हो ।

यसैगरी स्थानिय तहमा स्थापना भई संचालनमा रहेका हेरचाह केन्द्र, दिवा सेवा केन्द्र, जेष्ठ नागरिक क्लव एवं जेष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा सम्बन्धी काम गर्ने तथा अन्य संघ संस्थाको काम कारवाहीको अनुगमन गर्ने दायित्व पनि स्थानिय जेष्ठ नागरिक समितिको रहेको हुँदा हाम्रो समुदायमा जेष्ठ नागरिक क्लबहरू गठन गर्न प्रोत्साहन गर्ने र भएका यस्ता क्लब तथा आफ्नो स्थानिय क्षेत्रमा रहेका सबै सेवा केन्द्रहरूको नियमित अनुगमन हुनु पर्दछ । त्यस्ता सेवा केन्द्रहरूले के कस्तो सेवा प्रदान गरेका छन ? सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकहरूको खानपान, पालन पोषण, रेखदेख, औषधी उपचार, मनोरञ्जन आदि ईत्यादिको ख्याल गर्नु पर्नेछ । सेवा केन्द्रबाट सेवाग्राही संतुष्ट छन कि छैनन् ? सेवा केन्द्रहरू जेष्ठ नागरिकमैत्री छन् कि छैन ? आदी जस्ता गम्भीर विषयमा सम्बन्धित व्यक्तिहरूलाई प्रत्यक्ष रुपमा भेटी उनीहरूबाट जानकारी लिनु पर्दछ र यस विषयमा समिती उत्तिकै चनाखो हुनु पर्ने हुन्छ ।

जेष्ठ नागरिकहरू घर भित्रै मात्र बसिरहने हुँदा उनिहरूलाई विभिन्न प्रकारका शारीरिक र मानसिक रोगहरूले समेत अतिक्रमण गर्ने हुनाले बेला मौकामा हिंडडुल गर्ने, साथीभाई भेला भई भलाकुसारी गर्ने, मनोरञ्जन तथा व्यायाम गर्ने जस्ता कार्यमा उनहीरूलाई अग्रसर गराउनु पर्दछ । जसका लागि उनीहरूलाई आफ्नो समुहको आवश्यकता पर्दछ, जहाँ बसेर उनिहरूले स्वतन्त्र रुपमा आफ्ना विचारहरू राख्न सकुन, खुलेर हास्न सकुन्, उनीहरूका कुरा सुनिदिने र व्यथा बुझिदिने साथीहरू हुन् । यस अर्थमा कि उनिहरू तनाव रहित भएर बाँच्न सकुन् । परिवार वा समुदायबाट जेष्ठ नागरिकलाई आ-आफ्नो क्षमता अनुसारको कामको जिम्मेवारी दिनु पर्दछ । जेष्ठ नागरिकसँग भएका ज्ञान, सीप र बौद्धिक क्षमतालाई पहिचान गरी स्थानिय सरकारले उनीहरूलाई क्षमता अनुसारको परिश्रमिकको व्यवस्था गरी रोजगारीको अवसर दिनु पर्दछ ता कि कुनै पनि सेवा प्रदायक संस्थाहरूमा नयाँ पिंढीलाई छिटो छरितो काम गर्ने वातावरण बन्न सकोस् । उनीहरूको अनुभव र नयाँ पिढींको जोसलाई एकसाथ प्रयोग गरी हिड्ने हो भने सबै काम सहि र सरल ढंगबाट गर्न सकिन्छ ।

यस विषयमा राज्य सँगसँगै हामी नागरिकहरू पनि सचेतन भई बेला बेलामा खबरदारी गर्ने हो भने यस तर्फ पनि सुधार ल्याउन सकिन्छ । सर्व प्रथम त हामीले आफ्नो परिवारमा भएका जेष्ठ नागरिकहरूलाई सम्मान गर्न जान्नु पर्छ उनीहरूको सीप र बौद्धिकताको पहिचान गर्न सक्नु पर्छ । जुन परिवारमा जेष्ठ नागरिक हुन्छन त्यो परिवार एउटा सिंगो विश्व विद्यालय भन्दा पनि माथि हुन्छ । हामी त्यस विश्व विद्यालयका विद्यार्थी र जेष्ठ नागरिकहरू त्यहाँका प्रोफेसर हुन जसले बिना पारिश्रमिक हामीलाई विभिन्न विषयको ज्ञान प्रदान गरिरहेका हुन्छन्। यसरी आ-आफ्नो स्थानिय तहमा रहेका जेष्ठ नागरिकहरूलाई सम्बन्धित स्थानिय निकायले मूल चासोको रुपमा लिएर अगाडि बढ्ने हो भने त्यस ठाउँको प्रगति चाँडो भन्दा चाँडो हुने देखिन्छ ।

हरेक समुदायमा जेष्ठ नागरिकको संरक्षण तथा सामाजिक सुरक्षा सम्बन्धी कार्य गर्नका लागि स्थानिय सामुदायिक संस्थालाई परिचालन गराउने र जेष्ठ नागरिककले पाउने सामाजिक सुरक्षा भत्ता वा सुविधा वितरण गर्ने व्यवस्थालाई अझै परिस्कृत रुपमा अगाडि बढाउन सक्ने हो भने पक्कै पनि एक दिन यस्तो आउनेछ , त्यो दिन हामीले जेष्ठ नागरिकलाई देख्दा नाक खुम्च्याउने र उनिहरूलाई आश्रितको रुपमा हेरिने नभई स-सम्मान सबै परिवारले आ-आफ्नो घरमा पनि जेष्ठ नागरिक होस भन्ने चाहना राख्दछ । अहिले दयाको पात्रको रुपमा हेरि संरक्षण गरिनुपर्छ भनि कमजोर ठानिएका उनीहरूलाई दयाको पात्रको रुपमा नभई एउटा व्यवस्थापक र आफ्नो संरक्षकको रुपमा हेर्ने परिपाटी बन्नेछ । जब जेष्ठ नागरिकहरू शारीरिक र मानसिक रूपमा अशक्त हुन्छन् तब परिवार, समाज , स्थानिय निकाय र राज्यले समेत ज्येष्ठ नागरिकमाथि कुनै न कुनै प्रकारले सेवा सुविधा उपलब्ध गराउन सक्नुपर्छ। अनिमात्र हाम्रो समाज तथा सिंगो राज्य नै लोककल्याणकारी हुनेछ जसका लागि हामी सबैले आ-आफ्नो क्षेत्रबाट सकेको पहल गर्नु जरुरी छ ।

यसरी ज्येष्ठ नागरिकहरू हाम्रा समाजका गहना हुन् भन्ने मूल मान्यतालाई आत्मसात गरेर उनिहरूको क्षमतामा आधारित रोजगार सिर्जना गर्ने, उनीहरूको योगदानमा आधारित सेवासुविधा राज्यले उपलब्ध गराउने, उनीहरूसँग भएका सीप र दक्षतालाई मध्यनजर गरेर सोही अनुसार अवसरलाई निरन्तरता दिंदै जाने हो भने आफ्नो वरिपरिका कोहि पनि ज्येष्ठ नागरिकहरू परिवारबाटै दुर्व्यवहित हुने, समपतिबाट बञ्चित हुने र बेघर भई वृद्धाश्रममा रोएर बाच्नुपर्ने अवस्था कहिल्यै आउने छैन । जसका लागी हामी सबैले हातेमालो गरी अघि बढ्नु जरुरी छ ।

०००
काठमाडौ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बुढ्यौलीमा समानता

बुढ्यौलीमा समानता

मञ्जुकुमारी पाैडेल
पाका मानिस सम्बन्धी स्थानिय तहको कानूनी दायित्व

पाका मानिस सम्बन्धी स्थानिय...

मञ्जुकुमारी पाैडेल
जेष्ठ नागरिकको पालन पोषण र उजुरी सम्बन्धी कानूनी व्यवस्था

जेष्ठ नागरिकको पालन पोषण...

मञ्जुकुमारी पाैडेल
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे