दीनानाथ पाेखरेलभयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?
हुँदा खाने दुख्छन् छलबल बढी जर्जर अति। सधैँ खाने टेक्छन् सकस मन झर्लान् अब कति? उठी बढ्ने बाटो मुलुकभर खन्दा हित छ नि । भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?

दीनानाथ पोख्रेल :
थिए हाम्रा जेजे कल प्रविधि ती बेच्न म पुगेँ ।
सुरक्षा होस् भन्ने जनसँग डटी नित्य म लडेँ ॥
अनेकौँ छन् धब्बा सहज कसले सक्दछ गनी ?
भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?०१॥
खुसी भर्थे आफ्ना जतन अघिका गर्न म चुकेँ ।
बनेँ ज्यादै जान्ने खल रिपुसँगै नित्य म झिकेँ ॥
कमाऊ धन्दामा अति लहसिएँ अर्थ म गनी ।
भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?०२॥
जता फर्की हेरे पनि कृत यहाँ मिल्छ र कहाँ ?
जतै भ्रष्टाचारी सुजन कसरी टिक्छ र यहाँ ?
जहीँ खोज्छन् पैसा नियम विधि मार्ने पथ खनी ।
भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?०३॥
श्रमी खट्छन् लाखौँ विरहवश पर्छन् भुवनमा ।
बसी थोरै मर्छन् रजगज गरी स्वार्थकसमा ॥
पुकारा के सुन्थे ? हिँड सब सँगै मानव बनी ।
भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?०४॥
हुँदा खाने दुख्छन् छलबल बढी जर्जर अति।
सधैँ खाने टेक्छन् सकस मन झर्लान् अब कति?
उठी बढ्ने बाटो मुलुकभर खन्दा हित छ नि ।
भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?०५॥
सबै बाटाघाटा पुल,पुर,कुलो गाउँ थलिए ।
नयाँ मैला ल्याई अधमपनका द्वन्द्व दलिए ॥
खुली पोखूँ जम्मै विकृत पथ को सक्छ र गनी ?
भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?०६ ॥
उठोस् छाती अग्ली मनुजहितका कर्म बटुली ।
गरूँ राम्रा छानी मुलुक ऋण होस् पूणर् असुली॥
हरियो खुल्दै नाच्थ्यो सुकृत पथमा आर्जन गनी।
भयो भारी चिन्ता मुलुक कसरी चल्दछ भनी ?०७॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































