म सोधौँ कसोरी ?
ऊ आफू उकालो चढ्नुमा नै सन्तुष्ट छ । देश ओह्रालो लाग्नु भनेको आफू सकिनु होइन र ! आफू रित्तिनु हैन र !
जीविका ‘अश्रु’ :
सत्य बोल्नु नै अभिषाप बन्छ भने
पिएर आफ्नै तापको ज्वाला
असत्यको रापको ज्वाला
चुपचाप बस ।
यो सहर चिप्लाहरूको हो
यो सहर झुठाहरूको हो
सठ अनि मुर्खहरूको हो
विद्वानहरू त चुपचाप बस्छन्
र रमिता हेरिरहन्छन्
बोलुन् पनि त को ?
बोल्ने त मात्र आधा गाग्रोहरू हुन्
सेतोलाई सेतो भनुन् भने पनि
समाजले अलग्याउँछ ।
यहाँ पानीलाई पानी
अनि दुधलाई दूध भन्नू मुर्खता ठहरिन्छ ।
म म भित्रको
सच्चाई निकाल्न नसकेर
बिरामी छु
ऊ, ऊ भित्रको
झुठको बगैंचा फुलाएर
रमाएको छ ।
यस्तै यस्तै होडमा
बिचरा देश !!
ओह्रालो लागिरहन्छ ।
ऊ आफू उकालो चढ्नुमा नै
सन्तुष्ट छ ।
देश ओह्रालो लाग्नु भनेको
आफू सकिनु होइन र !
आफू रित्तिनु हैन र !
०००
सिक्किम