उल्टो सोच
यसरी किन सोच्नुहुन्छ । हाम्रा छोराछोरीहरू मात्र प्रथम हुनुपर्छ भन्ने छ र ? जनताको छोराछोरीले पनि प्रगति गर्न हुन्न र ? हामीभन्दा अरु धनी हुन हुन्न र ? उल्टो नसोच्ने दाजी, जे हुन्छ राम्रो हुन्छ ।
धनराज गिरी :
‘मेरो सन्तान अब्बल होस् !’ हरेक मातापिताको सपना हुन्छ । ‘आफ्नै गूटको सर्जक पदमपुरे दौड वा मदनपुरे दौडमा प्रथम होस् !’ हरेक समर्थकको सपना हुन्छ । यो मानवीय स्वभाव हो । ‘राम्रो म’ सबैको मनमा, स्वकेन्द्रित हरेक मान्छे हुन्छ । यस्तै यस्तै अनेक तानाहरू आए प्रोफेसर जगमोहन आजादको जुम्ल्याहा प्रोफेसर रामनारायण विवेकोपाध्यायको मनमा र उसको मनमा एउटा विशेष घटना सम्झनामा आयो, लगभग तीस वर्षअघिको, कथा यस्तो छ :
एक कक्षादेखि नौ कक्षासम्म प्रथम भएकी प्रोफेसरकी सुपुत्री ‘कुमारी अपराजिता’ नौ कक्षाको परीक्षामा द्वितीय हुन पुगिन् । ‘छोरी, यो प्रथम, द्वितीय, अरु र्याङ्क केही पनि होइन, यसलाई सामान्य रूपमा लिने, जीवनमा आफूलाई कसैसित पनि तुलना नगर्ने, आफ्नो प्रतिस्पर्धा आफैँसित । हिजोको तिमीभन्दा आजको तिमी अझ बढी अब्बल हुनुपर्छ । परीक्षाको अङ्क केही हो, सबै होइन । हाम्रो जीवनको लक्ष्य अर्कै छ- ‘सत्यम् शिवम् सुन्दरम् ! चिन्ता लिने होइन नि !’ सम्झायो छोरीलाई । ‘बा, हजुरको दीक्षाले मलाई स्थितप्रज्ञ बनाएको छ । म विचलित छैन ! पीर नमान्नुहोला । गीता पढेकी सीताकी अवतार हो, पहिलो ।’
तर, उतातिर, अर्को कथा, ‘सर, मेरो छोरो रवि र हजुरकी छोरीमाथि अन्याय भयो । आजसम्म प्रथम हो मेरो छोरो पनि, यो स्कूलमा धाँधली उहिलेदेखि हुन्थ्यो । बाहिरबाट आएको भनेर आठ कक्षामा एउटा अति मेधावी सन्झोटे केटोलाई दोस्रो बनाइयो, १४ वर्षअघि । अन्याय भो सर ! हजुरलाई रीस गर्नेहरूले हजुरको छोरीमाथि अन्याय गरे, मलाई पनि तीन चार सरहरूले मन नपराएको कुरा थाहा छ । कापी हेर्ने सर ! हजुरको साथ पाए हामीले पूणर् न्याय पाउने पक्का ! रविले भात नखाएको तीन दिन भयो ।’
श्याम पाण्डे, अलि अकडा दाजी । मुस्कुरायो प्रोफेसर, अवलोकन गर्यो अनुहार । सम्झायो, ‘दाजी, किन उल्टो सोच ? यसरी किन सोच्नुहुन्छ । हाम्रा छोराछोरीहरू मात्र प्रथम हुनुपर्छ भन्ने छ र ? जनताको छोराछोरीले पनि प्रगति गर्न हुन्न र ? हामीभन्दा अरु धनी हुन हुन्न र ? उल्टो नसोच्ने दाजी, जे हुन्छ राम्रो हुन्छ । रविलाई म सम्झाउने छु ।’ ‘सर, हजुर एक महान् आत्मा हाे। यस्तो गुरु यो स्कूलले अब अर्को पाउन्न । म कति मूर्ख रहेछु । धन्यवाद सर ! नमन !’
‘दाजी, सकारात्मक सोच, जीवनामृत ! नमस्कार !!’ प्रोफेसर कक्षातिर लाग्यो ।
०००
चितवन