साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्यानडामा राजेन्द्र कार्कीको कृति ‘खाइराइड’माथि परिचर्चा कार्यक्रम

राजेन्द्र कार्कीद्वारा लिखित तथा फित्कौली अनलाइन मिडियाद्वारा गत भदौमा प्रकाशित हास्यव्यङ्ग्य निबन्धसङग्रह ‘खाइराइड’को पठन तथा समीक्षा कार्यक्रम सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

भ्यान्कुभर, क्यानडा अप्रिल ६, २०२४ । राजेन्द्र कार्कीद्वारा लिखित तथा फित्कौली अनलाइन मिडियाद्वारा गत भदौमा प्रकाशित हास्यव्यङ्ग्य निबन्धसङग्रह ‘खाइराइड’को पठन तथा समीक्षा कार्यक्रम सम्पन्न भयो ।

क्रिस्चियन धर्मको उत्पतिको व्याख्या गर्दै तेह्र वर्षीया अश्विना पाण्डेको प्रस्तुतिबाट कार्यक्रम शुरु भएको थियो । त्यसपछि बुक क्लवको स्थापना र इतिहास बारे यसका संस्थापक वरिष्ठ इन्जिनियर नरेश कोइरालाले बताए ।

इन्जिनियर संजय रेग्मीले पुस्तक भित्रको ‘धारा तथा शौचालय महात्म्य’ निबन्ध बाचन गरे । चन्द्रिका पराजुली, कविता पाठक लगायतका अधिकांश सहभागीले हरेक व्यक्तिको पीडालाई प्रतिविम्बित गर्ने ‘धारा तथा शौचालय महात्म्य’ निबन्ध ज्यादै शक्तिशाली भएको प्रतिक्रिया दिए । संजय रेग्मीले शौचालयको अभावमा भोगेको पीडा समेत सुनाए । इन्जिनियर लक्ष्मी रेमीले ‘जनावरलाई गाली किन ?’ निबन्ध बाचन गर्दै मान्छेले सवै कुराको दोष अरुलाई थुपार्ने र उपमा दिने प्रवृति माथिको चिरफार बेजोड लागेको बताइन् ।

त्यसै गरी प्रा.डा. विष्णु.पाण्डेले ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमा अनुप्रास र उखान टुक्काको प्रयोग भैरव अर्यालको भन्दा पनि बेजोड रहेको बताए । उनले ‘भाग्दा भाग्दै’ निबन्ध बाचन गरे । “मास्टरले कुट्दा छडी भाँचिन्थ्यो, तर म भाँचिन्नथेँ । कन्सिरी तान्दा कपाल मास्टरको हात भरि हुन्थ्यो । कान तान्दा मास्टरलाई पोलि खान पुग्ने कानै मास्टरकै हातमा हुन्थ्यो ।” भन्ने बाक्यले निबन्धलाई अलि यथार्थ परक बनाएन कि भन्ने प्रश्न गरे ।

प्रा.आदित्य शर्माले कौवा प्रकाशनका संथापक हास्यव्यङ्ग्यकार बासुदेव लुइँटेलसँगको आपनो पुरानो सम्बन्धलाई जोड्दै हास्यव्यङ्ग्यको आफू पुरानो पाठक भएको बताए । ‘खाइराइड’का ३१ वटै निबन्ध पढेको बताउदै ‘कुरा गरेर खानु’ निबन्ध बाचन गरे । हरेक निबन्धले सामाजका विकृत पक्षलाई सूक्ष्म ढङ्गले उधिनेको बताए । प्रा.डा. रामजी पराजुलीले ‘धारा तथा शौचालय महात्म्य लगायतका सबै निबन्ध घत परेको बताए भने डा.यादव पाठकले ‘चुनाउ पुराण वाचन गरेका थिए । उक्त निबन्धको “नाउमा माझीले बटुवालाई तार्छन् । चुनाउमा जनताले ढटुवालाई तार्छन् । बटुवा जहिले पनि बटुवा नै हुन्छ । ढटुवा चाहिँ मेयर, सांसद र मंत्री हुन्छ” भन्ने पङ्क्तिले खुबै मन छोएको बताए ।

सङ्ग्रहको ‘बुहारी सासू’ निबन्ध पढ्दा मन परेपछि आफ्नी बुहारीलाई पनि बाचन गरेर सुनाएको सविता शर्माले बताइन् भने इन्जिनियर इन्दिरा पाण्डेले लेखक कार्कीको बोल्दा पनि स्वतस्फुर्त रुपमा हँसाउने कलाबाट आफू प्रभावित भएको अनुभव सुनाइन् ।

‘खाइराइड’का लेखक तथा हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीले ‘नामको चाम’ र ‘कहाँ छ स्वतन्त्रता ?’ नामक निबन्ध वाचन गरे र खाइराइड लेखनको विषय छनौट र पृष्ठभूमिको बारेमा बताए ।

नरेश कोइरालाले ‘खाइराइड’ का हरेक निबन्धले पढ्दा आनन्द दिएको बताए । उनले समाजमा दबिएका स्वरलाई बाहिर ल्याउन प्रयत्न गरेको बताउँदै यसतर्फ लेखक कार्कीको कलम अझ बुलन्द बन्दै जावोस् भन्ने शुभकामना दिए ।

कार्यक्रममा पुष्पा शर्मा, शान्ता राउत कार्की, एलेक्स अधिकारी, स्नेहा पाठक, सिर्सा पाठक, सार्थक पाण्डे, आकाश पराजुली, प्रतिष्ठा रेग्मी लगायतका बालबालिका र बौद्धिक व्यक्तित्वको सहभागिता थियो ।

पठन संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्यका साथ सन् २००१ मा इन्जिनियर नरेश कोइरालाको अग्रसरतामा स्थापित बुक क्लवले हरेक महिना कार्यक्रम संचालन गर्ने गरेको छ । बुक क्लवले एउटा महिना नयाँ र जल्दोबल्दो विषयमा बहस छलफल गर्दछ भने अर्को महिना प्रसिद्ध लेखकका पुस्तक पठन र समीक्षा गर्ने गर्दछ ।

पारिवारिक वातावरणमा संचालन हुने बुक क्लवको कार्यक्रममा बालबालिकाको सक्रिय सहभागिता सबैभन्दा सुन्दर पक्ष रहेको छ । ‘खाइराइड’ निबन्ध सङ्ग्रहको पठन र समीक्षामा पनि त्यस्तै सक्रियता र सहभागिता रह्यो ।

बुक क्लवको चौवीस बर्षको इतिहासमा यसरी पहिलो पटक लेखककै उपस्थितिमा कार्यक्रम सम्पन्न गर्न पाएकोमा खुसी लागेको कुरा कार्यक्रमका संयोजक संजय रेग्मीले बताए । शुरुदेखि अन्त्यसम्म हाँस्ने र हँसाउने क्रम चलिरहेको कार्यक्रमको समापन बुक क्लबका संस्थापक नरेश कोइरालाबाट भएको थियो ।

०००
– भ्यानकुभरबाट संजय रेग्मीद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x