सुरेशकुमार पाण्डेमूर्खको मेला !
के गरौँ भन्नु त सर ? न खेत बारी छ न रोजगार छ। न कतै विदेश जाने क्षमता छ । यस्तै गरेर गुजारा चलाएका छौँ सर। यिनै पार्टीहरूको पनि त के भर हुन्छ।

सुरेशकुमार पाण्डे :
“डाइमण्ड – सिंह जिन्दावाद !, डाइमण्ड बाबु अघि बढ- हामी तिम्रो साथ छौँ ।”- ठुलो जल्सा देखेर मङ्गल ठिङ्ग उभियो । जुलुस सडक पार गर्न करिब आधा घण्टा लाग्यो । बजार सडक ठप्प भयो।
“डाइमण्ड नेतालाई फूलमालाले र अविरले ढाकेका थिए ।
“उफ ! यो देशमा के-के हुँदै छ । भ्रष्टाचार, तस्कर अनि कालो बजारी गर्ने अपराधीको पक्षमा यत्रो जनमानस् ।”-सुइय सुस्केरा हाल्दै मङ्गलसिंहले भन्यो।
“भ्रष्टाचार गर्ने अपराध गर्ने लुटेराहरूसँग ठुलो धनरासी हुन्छ। त्यसैको बलमा उनीहरू यस्तो क्रार्यक्रम गर्न वा सफल पार्न सक्छन्। नपत्याए सोधौं त एकजनालाई कति धन दिएका छन् थाहा हुन्छ ।” – जागेश्वरले भन्यो।
हेर ऊ भुपाराम अस्तिको दिन अर्कै पार्टीको जुलुसमा थियो आज यसकोमा छ । किन यस्तो अराजक प्रकारको व्यवहार बन्यो यी जनताको ? यो जुलुस हो कि मुर्खको मेला ?”- मङ्गलसिंह फतफतायो ।
“ए भुपे ! यता आउ त”- मङ्गलले जुलुसमा लुरूलुरू हिंडिरहेको भुपारामलाई बोलायो।
“नमस्कार गुरू !” भुपाराम डराई डराई नजिक गयो।
“कस्को गुरू, को गुरू ? खालास्र अहिले; कहिले कस्को जुलुसमा पुग्छ -कहिले कस्कोमा।”- मङ्गल रिसाएको अभिनय गर्छ।”
“के गरौँ भन्नु त सर ? न खेत बारी छ न रोजगार छ। न कतै विदेश जाने क्षमता छ । यस्तै गरेर गुजारा चलाएका छौँ सर। यिनै पार्टीहरूको पनि त के भर हुन्छ। आज एउटालाई भोट माग्छन् भोलि आर्कालाई। होइन र सर ?”-
भुपारामले परिस्थिति सुनाउँदै जागेश्वरतिर आशाको दृष्टि घुमायो।
“देख्यौ ? मूर्खको मेला ?”- मङ्गलसिंहतिर हेर्दै जागेश्वरले भन्यो।
०००
घोराही- १८, दाङ
२३-१२-२०८०
Subscribe
Login
0 Comments
Oldest







































