दुश्मन कि भगवान् ?
हो, मेरो मन-मस्तिष्क तिमीविना प्रायः शून्य हुन्छन् त्यसैले आउनू हरेक पल स्वागत गर्छु दुश्मनलाई म भगवान् भन्ने गर्छु तिमीविना जिउनु साँच्चै अनर्थ देख्छु ।
प्रदीपरत्न शाक्य :
अचेल मलाई
तिमीले छेकेका चोक, बजार, गल्ली
तिमीले दिइरहेको बधाई लाग्छ
तिमीले रोक्न खोजेका बाटाहरू त
झन् मुटुको अँगालो लाग्छ
त्यसैले तिमीलाई शत्रु भन्न चाहिनँ ।
म जब
तिम्रा छायाँहरू टेक्छु
उमङ्गका खुट्किला ठान्दै चढ्दै जान्छु
कष्टका हरेक लहरलाई तिम्रो उपहार भन्छु
जितको आकार मान्दै साहसी हुन्छु
त्यसैले तिमीलाई शत्रु भन्न चाहिनँ ।
तिम्रो चुनौतीलाई म
रमणीय डाँडा भन्दै चढ्दै जान्छु
मलाई योद्धा बनाउनैका लागि रचेका
वर्णमाला ठान्दै पढ्दै जान्छु
कुनाकाप्चा, खाँच चिन्दै जानका लागि
पढाइरहेको पाठ लाग्छ
त्यसैले तिमीलाई शत्रु भन्न चाहिनँ ।
तिम्रो उपस्थितिलाई
मेरो उदयको घडी भन्छु
मलाई चेतना भनी जगाइरहने
हारेको निशाना नै पदक भनी चिनाइरहने
त्यसैले प्रिय शत्रु !
तिम्रो ललकारलाई शुभपल भन्दै
यात्राको परिणाम गन्दै जान्छु
त्यसैले तिमीलाई शत्रु भन्न चाहिनँ ।
प्रिय, आइरहनू तिमी !
षड्यन्त्रका नौला नौला अध्याय रच्दै
तिमीमा म चम्कँदै गरेको धार देख्छु
जिन्दगी भन्ने सञ्जालका संयन्त्र देख्छु
यसैले तिमीलाई दुश्मन भन्न चाहिनँ ।
हो, मेरो मन-मस्तिष्क
तिमीविना प्रायः शून्य हुन्छन्
त्यसैले आउनू
हरेक पल स्वागत गर्छु
दुश्मनलाई म भगवान् भन्ने गर्छु
तिमीविना जिउनु साँच्चै अनर्थ देख्छु ।
०००
बाैद्ध, काठमाडाैं
भरखरै विमाेचित ‘म सडकको प्रतिविम्ब’ (२०८०) बाट
Subscribe
Login
0 Comments
Oldest