मुक्तिनाथ शर्मामिश्रमामाको टेलिफोन
मामा त यति हिँड्नुभो कि कहिले बाम पार्टीकहाँ त कहिले दाम पार्टीकहाँ पुग्नु भो । एकपटक काम पार्टीकहाँ र एकपटक खाम पार्टीकहाँवाट पनि मलाई टेलिफोन गर्नुभएको थियो मामाले ।

मुक्तिनाथ शर्मा :
मिश्रमामा काठमाडौं आएदेखि मसँग पल्केका हुन् । मलाई पनि मामासँग भेट्दा रमाइलो लाग्ने गर्दछ । मामाका पुराना संस्मरण पनि मसँग ताजै छन् । अहिले यहाँ झन् के फाइदा भएको छ मलाई भने मामा भेट भएपछि यहाँको समसामयिक राजनीतिको अलिकति भेउ पाउन सकिन्छ । किनभने मामा कहिले कताका र कहिले कताका नेताकहाँ पुग्न सक्ने मान्छे । सबैले तिरस्कार नगरिने व्यक्तित्व । तसर्थ खबर साँचो सत्य होस् वा मनगढन्ते होस् मामा ल्याउने गर्नुहुन्छ । अस्ति एक दिन मसँग भन्नुभो मामाले – अव चाकडीमा लाग्नुपर्ने दिन आए बाबु ।
मैले कुरा कुरा बुझ्न नसकेर सक्केर ट्वाल्ल परेपछि मामाले यहाँको एउटा पार्टीमा पूर्वप्रधानमन्त्रीको सन्तानको विजय भएको प्रसङ्ग राजनीतिक ल्याउनुभो । अनि मामाले राणाकालमा चाकडी गर्नुपर्ने प्रथाको प्रसङ्ग ल्याउनुभो । मैले अलिअलि कुरा बुझे ।
अर्को दिन मिश्रमामाले मसँग भन्नुभयो- यहीँ महिनाको सत्र-अठार गतेतिर म विराटनगर जान्छु बाबै । मैले कुरा बुझ्न नसकेर पहिलेझैँ ट्वाल्ल परेपछि मामाले भन्नुभो – बाह/तेह्र वर्षपहिले पनि त म कहिले विराटनगर, कहिले पोखरा र कहिले सुर्खेत जाने गर्थे नि, बाबुले विर्सनु भो ?
मामाका कुराले कुराको बिट मरेकै हो तर पनि मामासँग अझै बोल्न मन लागेर मैले भनेँ- मोजा कत्तिको धुनु भा छ, फेरी त्यहाँ मोजा गन्हाएर सारा सहभागी भाग्लान् नि । अँ, बरू दुई जोर मोजा लानुपर्ला । हिँड्दा र सभा जुलुसमा जाँदा फेरि फेरि लगाउन ।
मेरो कुरा सुनेर मामा पहिले त तर मरिमरि हाँस्नुभो । अनि भन्नुभो बाबु पनि ठट्टा गर्नुहुन्छ ।
मिश्रमामाका मोजा गन्हाएर यस्तो हुने कि म जबर्जस्ती सहन्थेँ । मेरा घरका अरू सदस्यहरूलाई भने मामासँग घिन नै लाग्न थालेछ । उनीहरू भन्थे – मुलगेटमा मामा आइपुगेको घरका कोठाकोठामा गन्हाउन पुग्थ्यो रे । त्यसैले मैले मामालाई त्यो रोगबाट बचाउन बेलाबखत भन्ने गर्दा मामा मलाई फोन गर्ने हुनुभएको हो ।
मामा कुनै नेताजीकहाँ पुग्यो कि टेलिफोन गरेर भन्नुहुन्थ्यो- म अहिले फलाना ठाउँमा छु । यसरी आज मिश्रमामा कसकसकहाँ जानुभो, त्याँ जान्न सजिलो भएको थियो । मामा त यति हिँड्नुभो कि कहिले बाम पार्टीकहाँ त कहिले दाम पार्टीकहाँ पुग्नु भो । एकपटक काम पार्टीकहाँ र एकपटक खाम पार्टीकहाँवाट पनि मलाई टेलिफोन गर्नुभएको थियो मामाले । एक दिन मैले मामालाई भनिदिएको थिए- अब एक एकपटक गाम पार्टी र धाम पार्टीकहाँ पनि पुग्नै पर्ला मामा ।
हिजो मेरो टेलिफोनमा टिइँटिइँ घण्टी बज्यो । रिसिभर उठाएर कानमा पुर्याउँदैमा मामाको फोन भन्ने निधो भयो । अनि मैले नमस्ते मामा भनपछि मेरी श्रीमतीले पनि अड्कल काटिछन् । खुसुक्क भनिन्- मोजा गन्हाएका छन् कि छैनन् सोध्नोस् न ।
श्रीमतीजीका कुरा सुनेपछि मैले भाषा बनाइहालेँ र भनेँ- मामा, आज त मोजा कत्ति पनि गन्हाएका छैनन् नि त । मेरा कुरा सुनेपछि मामा खित्का छाडेर हाँस्न थाल्नुभो । यता हामी त्यसै गर्यौँ । हातको रिसिभरसमेत खत्रक्क भुईंमा खस्यो ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































