साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफको नम्वर बार भए, गफको शीर्षक तेर !

देशका आकाङ्क्षा पूरा गर्न परिश्रमी शिक्षक हेर, हातमा पुस्तक लिएका विद्यार्थी हेर, घोट्टिने बुद्धिजीवी हेर, सृजनशील साहित्यकार हेर, नयाँ जागरण हेर, राष्ट्रका आकाङ्क्षा पुरा गर्न व्यक्ति व्यक्तिका पोचा घिउ नलाग्ने झगडा बन्द गर ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

Chudamani Regmiपूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

लासा जाने कुत्तीको बाटो !
पाकिस्तानी भुट्टोलाई पाकिस्तानमा फाँसी, नेपालमा भने छात्रहरूका हडतालको आँधी । एउटा गफडी कुनै गाउँमा बन्दुक पड्किँदा अर्को कुनै गाउँमा कुरो अड्कियो भनी विहेको कुरामा तुक्का जोड्यो अरे ! फेरि हड्ताल नेपालमा छात्रहरू गर्ने, वक्तव्य आफ्नो देशमा एउटा विदेशी नेताले दिने ! हरे विचित्र । गफडी छक्क पर्छ ! गफडीले लासा जाने ! कुत्तीको बाटो । भनेको के भन्ने आजसम्म नबुझेकामा अब यही रहेछ यसको अर्थ भन्ने बुझ्यो । अनि गफडी के पनि बुझ्दै छ भने केही व्यक्तिहरू मुढेवलमा कुद्दै छन् । मुढेवलको परिणाम बुद्धिमान् पारा होला र ? गफडी यसबारे सोच्छ । तिन तेरका गफडीका सोचाइले यहाँ के भइहाल्छ र ! तैपनि खसखस हो ठाकुरे हो ! अनि यसैमा सौताका रिसले पोइको काखमा… फोहोर गर्ने जस्ता हाम्रा समाजसेवी भाजुहरूको बाटो त झन् कालीदासे पारा जस्तो भएको छ । बुज्रुकहरूलाई कसले सम्झाउने ! ओखति तीतो हुन्छ रे ! तर तीतो को मन पराउँछ र ?

कालीदासको कथा
कहिलेकाहीँ सुनको मात्र अभाव हुँदोरहेनछ, नुनको पनि अभाव हुँदोरहेछ ! कहिलेकाहीँ दुःख मात्र दु:ख हुँदोरहेनछ भने सुख पनि दुःख हुँदोरहेछ । एउटी ओकिल्नी सुखसयलमा पालिएकीले उनलाई भौतिक सुख धेर भयो, तर मानसिक सुख भएन रे ! र एउटा सङ्गीतकारसँग फसिन् रे ! कहिलेकाहीँ यस्तो पनि हुन्छ । गफडीको कुरा सुन्नोस्- अनेक राष्ट्रलाई अनेक सङ्कट परेझैँ गफडीलाई कुराको सङ्कट पर्‍यो । आफ्नो गफडीको पातामा के कुरा लेख्ने ? कस्ता कुरा लेख्ने ? कसरी लेख्ने ? शिशुपाल प्रकरण पनि खत्तम भइगयो ! जे… यहीँबाट गफडीलाई गफ फुरे । कुरा के भने उहिल्यै एउटा कालीदास भन्ने कवि थिए रे । ती पहिले कस्ता थिए रे भने जुन हाँगामा बस्थे त्यही हाँगो काट्थे रे । बस्, गफडी यसो हेर्छ, यहाँ यो प्रवृत्ति छ । किन यसो भएको ? भनेर गम्दा गफडीको बुद्ध दिमागका अड्कलमा सुख धेर भएर हो । यहाँ धेरैले कमाइ गर्न मौका पाए, कमाएपछि मात चढ्छ, ब्लडप्रेसर बढ्छ, रिस उठ्छ । नत्र आफू बसेको हाँगो कोही काट्छ । यहाँ एकलै अर्कालाई गाली गर्‍यो, छिद्र गर्‍यो, बिगार्न बल गर्‍यो, नाता गर्‍यो, पक्ष गर्‍यो । बस् ।

मुर्खताको ओखती छैन 
एउटा बलियो पद भेट्टाएपछि जे गरे पनि हुन्छ भन्ने कत्तिको धारणा देखिन्छ । गफडी यस विषयमा के भने मूर्खताको ओखति छैन । एकाध दादाका भरमा भन्छ भने एकाध पीतपत्रका भरमा आफू जनप्रिय भएको धाक लाउने र राष्ट्रका इच्छा नबुझेर राष्ट्र अघि बढ्ने चाहनामाथि लात लाउने प्रवृत्तिका उपर गफडी चुकचुक गर्छ । गरिब गफडीसँग अरु के छ र ?

सब ठिक
यहाँ सब ठिक छ । सब ठिक छ । गफडीले सुनेका कुरा यी हुन् । कसरी सब ठिक छ ? जङ्गल मङ्गल भए, नुन सुन भयो, धानपाटोको वेपार के भयो ? जिल्लामा कर्मचारीतन्त्र कहाँ पुगेको छ । हो, केही दादागिरीका भरमा मोटाएका छन् । केहीले जग्गाकर हडप्न पाएका छन् । सिँचाइ बढेको भए उब्जाउ किन घट्यो ? विद्यालय ठिकसँग चलेका भए पाखामा किन कक्षाहरू चल्छन् र एक शिक्षकले दिनभरिमा कति कक्षा ठगेर लिन्छ र उसका टाउकामा कतिवटा बालकको भविष्यको जिम्मा छ ? ढिलासुस्तीको नाम कार्यालयसँग किन गाँसिएको छ ? गफडी भन्छ- सबतिर ठिक छ भने सब ठिक गर ।

पातमा पात ! बातमा बात !
यो नवयुग हो । अब मुढेवलका जुग गए । गफडी यद्यपि लाटो मान्छे हो, सानो मान्छे हो, तर पनि मुढेवल गर्नेहरूलाई सित्यैँ सुझाउ दिन चाहन्छ यो जागेको जुग हो, यहाँ मुढेवल फाप्तैन । यहाँ पातमा पात भएझैँ बातमा बातका गफहरू नै फाप्छन् । गफ अर्थात् गफडीकै जस्ता गफ हुनुपर्छ भनी गफडी भन्दैन । गफ अर्थात विचार-विमर्श- अथवा छलफल गरेर गरेका कार्यक्रम । यहाँ कालीदासे बुद्धि लिनेहरू छन् । तिनलाई गफडी भन्छ- हे लाउरे हो । छोड कालीदासे बुद्धि । आफू बसेको हाँगो आफै नकाट । देशका आकाङ्क्षा पुरा गर्न लिँडेढिपी छाड । देशका आकाङ्क्षा पुरा गर्न ‘सब ठिक छ’ पारा छाड । देशका आकाङ्क्षा पुरा गर्न अल्मलिने र उड्ने पारा छाड । देशका आकाङ्क्षा पूरा गर्न परिश्रमी शिक्षक हेर, हातमा पुस्तक लिएका विद्यार्थी हेर, घोट्टिने बुद्धिजीवी हेर, सृजनशील साहित्यकार हेर, नयाँ जागरण हेर, राष्ट्रका आकाङ्क्षा पुरा गर्न व्यक्ति व्यक्तिका पोचा घिउ नलाग्ने झगडा बन्द गर । एक अर्कोलाई उचाल पछार गरेर र हिलो छ्यापेर न कालीदासे प्रवृत्ति मात्र पन्पिन्छ, तसर्थ- सुझबुझको र निःस्वार्थ बाटो लेऊ र भ्रष्टपथ छाड । जे, गफडीका कति दिनदेखि जमेका भाषण तीता लाग्लान्, लागे क्षमा प्रार्थनासहित आज यति । आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क २८, २०३५
गफडीका गफ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x