स्वर्गमा दैत्य
खेलिरहिस् चैतन्य षड्यन्त्रका धारमा मिल्छ भनि अमरत्व फूटहरूका संघारमा मिल्छ भनि ! खेलिस् सपथ पचाएर खेलिस् बुलन्दहरू धपाएर खेलि नै रहिस् पतनका दरवार उघारेर !
प्रदीपरत्न शाक्य :
खेल्दै गरेका
खेलौँना हौ भन्दै खेलिस् !
घाम, पानी, हावाका
अहँकार भएर खेलिस्
मौसमका ललकार भएर खेलिस् !
खरायोका सार्वभौम हौ भन्दै
मृगका स्वछन्दता हौ भन्दै
सारा गौरवताका
अधिकारी हुँ भन्दै खेलिस् !
फूलका कोमल हौ भन्दै
बिहानीका निर्मल हौ भन्दै
मनोरम् प्राकृतिक बयानहरूका
संवेदनशीलता बनेर खेलिस् !
अभिशापित मस्तिष्कहरू भनेर खेलिस्
निरुत्साहित रगत, पसिनाहरू भनेर खेलिस्
खेलिरहिस् धामि भएर त, कहिले बोक्सी भएर !
परेवाका चेतना भनेर
माहुरीका कल्पना भनेर
देव आकृतिका
मनमोहक भनेर खेलिस् !
खेलि नै रहिस् प्रतिकार रहित
ढुङ्गा, डुङ्गा जस्तै भन्दै
बढी नै रहिस् अचानोका कोलाहल भन्दै ।
हो घोडा सम्झेर, गोरु सम्झेर
जनता भन्नु
जन्तुका एक स्वरुप भनेर खेलिस्
जङ्गबहादुरहरूका पुर्खा भएर खेलिस् !
सिंहासनका
सारगर्भित सार मिचेर खेलिस्
गौरवान्वित धरोहर कुल्चेर खेलिस् !
खेलिरहिस्
चैतन्य षड्यन्त्रका धारमा मिल्छ भनि
अमरत्व फूटहरूका संघारमा मिल्छ भनि !
खेलिस् सपथ पचाएर
खेलिस् बुलन्दहरू धपाएर
खेलि नै रहिस् पतनका दरवार उघारेर !
स्वर्गमा दैत्य भन्ने दृश्य
सायद यही हो कि ?
०००
काठमाडौं
व्यङ्ग्यात्मक कविता !