साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उदरभरण पुराण

पिताको मृत्युपछि कसरी घर चलाउने भन्ने चिन्तामा छन् । क्रिया खर्च कसरी जुटाउने र पछि कसरी ऋण तिर्ने चिन्तामा छन् । तपाईं उल्टै घ्यु र भातको चिन्ता थपिरहनु भएको छ ।

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

“घ्यु कति रुचेको छ ? मजाले घ्यु भात खान नडराउनु होला, यो बेला खाएको घ्यूले न प्रेसर बढाउँछ न ग्यास्ट्रिक गराउँछ, बुझ्नु भो ? यतिबेला त मुटुको रोगीले पनि दुईचार डाडु घ्यु मजाले खान सकिन्छ !” भुँडे भलादमी निर्देशन दिएको शैलीमा उदरभरण पुराण सुनाइरहेका थिए ।

“यो तेह्र दिनसम्म जति धेरै खायो उति आँतमा लाग्छ । शरीरमा अप्रत्यासित रूपमा उर्जा प्राप्त हुन्छ । खानलाई पटक्कै डराउनु पर्दैन । यसबेला अघिपछि भन्दा झण्डै दोब्बर लुँड्याउन सक्नुपर्छ । बिहान उठ्नेबित्तिकै चियाको सट्टा एक मग मिश्रीको काँढा पानी पिउन सुरु गरेर मध्य बिहान स्याउ, केरा, नास्पाती, ओखर र सिजन अनुसार आँप लिची भुँइकटहर जस्ता फलफूलको सेवन गर्न बिर्सनु हुँदैन । यसपछि एक मग जति हट लेमन पिउनु पर्छ । जिउ हलुका र फुर्तिलो हुन्छ ।

जब एघार बाह्र बजेतिर पँधेरामा भात खाने समय हुन्छ त्यो बेला कम्तीमा पनि तीन चार डाडु तताएको घ्यु खानैपर्छ । कथंकदाचित तताएको घ्युको गन्ध मन नपरे घ्यु तताउँदा दुईचार वटा कागतीको पात घ्युमा मिसाएर तताउने हो भने घ्युको गन्ध स्वाट्टै हराउँछ । त्यसरी पनि घ्युमा रुचि भएन भने डल्लै घ्यु भातमा मोलेर खान सकिन्छ तर घ्यु खान छोड्नु हुँदैन । किनभने नुन नखाएको समयमा जति घ्यु खाए पनि शरीरले सहन्छ र प्रसस्त तागत दिन्छ ।”

वरपर बसेका दर्शक निकै ध्यानपूर्वक उनका कुरा सुनिरहेका थिए । उनले पुनः आफ्ना भनाइ राखे ।

“जब घ्युले वाक्क बनाउँछ, स्थानीय जातको सुन कागती निचोरेर घ्युमा मिसायो अनि खायो, बुझ्नु भो नि ! यसो गर्दा घ्युमा नयाँ प्रकारको स्वाद पाइन्छ । अनि मजाले डबल डोज घ्यु खान सकिन्छ ।”

एकजना आफन्त बितेपछि मानुचामल (घोत) पनि लिएर जानु पर्‍यो, एक अध्याय गरुड पुराण पनि श्रवण गर्नु पर्ला भन्दै क्रियापुत्रीका घर पुग्दा म केही ढिला पुगेछु । गरुड पुराण सकिइ सकेको रहेछ । तर गरुड पुराण सकिए पनि एकजना निकै ठूलो भुँडी भएका र आफूलाई औधि टाठोबाठो सम्झने एकजना भलादमी, वरिपरि बाक्लै मान्छेको घेरामा बसेर थपक्क पलेँटी कसेर गरुड पुराण कै शैलीमा उदरभरण पुराण सुनाइरहेका रहेछन् ।

उनको हाउभाउ देख्दा लाग्थ्यो, उदरभरण पुराण अझै सकिएको छैन त्यसको मध्यान्ह मात्र भएको छ । उनको उदरभरण पुराणको सिलसिला जोडदार ढङ्गले चलिरहेको थियो । एकैछिनको विश्रामपछि उनी झनै हौसिएर घ्यु भातको महिमा एवं, सहजै प्रसस्त मात्रामा घ्यु र भात कसरी खान सकिन्छ भनेर, उपस्थित मान्छेहरूलाई केही महत्त्वपूर्ण टिप्स सुनाइरहेका थिए ।

“कसै-कसैलाई घ्यु र भात नरुच्ने पनि हुन सक्छ, त्यसको पनि सजिलै समाधान गर्ने उपाय छ । यदि राम्रोसँग रुचि भएन भने रायोको साग, फर्सीको मुन्टा, बेथुवाको साग, लट्टेको साग, चम्सुर र पालुङ्गोको सागमा नुन नराखी मजाले घ्युमा पकाएर खान सकिन्छ । होइन विलिनो साग के खानु जस्तो लाग्छ भने सागमा सिधेनुुनको प्रयोग गर्न सकिन्छ ।”

तिनका कुरा सुन्दा लाग्थ्यो, कसरी सकिन्छ मर्नेगरी घ्यु र भात जसरी पनि खानैपर्छ । मान्छे मर्नुको उद्देश्य नै कसैलाई रुचुन्जेल घ्यु र भात खान दिने अवसर जुटाइदिनु हो । यस्तो अवसर सितिमिति आउँदैन । परिवारको कुनै सदस्य मरेको बेला सकेसम्म घरको घ्यु खानुपर्छ, छैन भने छरछिमेक र इष्टमित्रले ल्याइदिएको खानु, त्यो पनि नभए ऋण गरेर भएपनि खानु । तर घ्यु र भात जसरी पनि खानुपर्छ ।

लाग्थ्यो तिनले निकै समयदेखि त्यहाँ उपस्थित सबैलाई उदरभरण पुराण मार्फत लठ्ठ बनाइ रहेका थिए । उपस्थित श्रोताहरू निकै शान्त भएर उनको पुराण सुनिरहेका थिए ।

अब भने मलाई, चाहिने नचाहिने उडन्ते गफ दिने माहिर ती सज्जन देखेर हाँसो लागिरहेको थियो । मानौँ बाबु आमाको क्रिया गर्ने कार्य शोक र दुःखको कार्य हुँदै होइन, त्यस्तो कार्य त घ्यु र भात खाने महान पर्व हो । जुन पर्व सितिमिति आउँदैन । यस्तो समयमा जसले ठूलो परिमाणमा घ्यु र भात खान सक्छ, ऊ महान मानिन्छ र उसको पितृहरूले सजिलै स्वर्गको आसन प्राप्ति गर्नेछन् । त्यसैले उनले कसरी हुन्छ, घ्यु र भात मर्नेगरी खानुपर्छ भन्ने भावमा आफ्नो अमूल्य ज्ञान बाँडिरहेका थिए । श्रोताहरू चर्चित कथावाचकको भागवत कथा सुने झैँ निकै ध्यानपूर्वक तिनको उदरभरण पुराण सुनिरहेका थिए । मानौँ आज सबैलाई अभूतपूर्व ज्ञान प्राप्त हुँदैछ र कुनैदिन आफूलाई परेको समयमा त्यसको प्रत्यक्ष लाभ लिन सकिने छ ।

यतिन्जेल सहिरहेको मैले अब भने यिनको त्यो काइते उदरभरण पुराण सुन्न सकिन न सहन नै सकेँ । तिनलाई मैले प्रश्न गरेँ “सकियो तपाईंको उदरभरण पुराण ? कि अझै बाँकी छ ?”
उनले सकिएको इसारा गर्दै टाउको हल्लाए । “तपाईं यहाँ समवेदना प्रकट गर्न आउनु भएको कि, उदरभरण पुराण सुनाउन ?”
प्रेसरको रोगी र मुटुको रोगीले पनि मजाले घ्यु खान मिल्ने कुरा गर्नु भो तपाईं डाक्टर हो ? उनले “होइन” भने ।

“नयाँ कुरा पत्ता लगाउने तपाई वैज्ञानिक हो ?”
“होइन” ।
उसो भए यो कुरा हाम्रो शास्त्रमा उल्लेख होला, तपाईं नामी शास्त्र हो ?
उनले होइन भन्ने भावमा अझै पनि मुन्टो हल्लाइरहेका थिए ।
आखिर यस्ता हावादारी र उडन्ते कुरा गर्ने खासमा तपाईं को हो ?
उनले भने “म नेता” ।

अब भने मलाई मात्र होइन तिनका कुरा सुनेर कसैलाई पनि आश्चर्य लागेन । किनकि नेताहरूका यस्ता हावादारी कुरा सुन्न हामी अभ्यस्त भइसकेका छौँ ।

“नेताज्यू यो न सिंहदरबार हो, न बानेश्वरको सभाहल । न तपाईंको चुनावी सभा हो, न तपाईंको पार्टी कार्यालय ! अनि हामी तपाईंका कार्यकर्ता पनि होइनौँ ! तपाईंलाई यस्ता उडन्ते कुरा गर्न त्यतातिर छुट भएपनि यहाँ छुट छैन । किनभने यहाँ मान्छेको मृत्युमा सबै शोकमा छन् । पिताको मृत्युपछि कसरी घर चलाउने भन्ने चिन्तामा छन् । क्रिया खर्च कसरी जुटाउने र पछि कसरी ऋण तिर्ने चिन्तामा छन् । तपाईं उल्टै घ्यु र भातको चिन्ता थपिरहनु भएको छ ।”

अब आइन्दा आफू कुन ठाउँमा छु, कस्तो ठाउँमा आइपुगेको छु, बुझेर मात्र यसप्रकारका उदरभरण टिप्स बाँड्नुस् । उदरभरण पुराण नेताहरूको समुह मात्र भएको स्थानमा सुनाउनुस् । जहाँ केहीले उदरभरणको राम्रो ज्ञान नपाएका हुनसक्छन् ।

अझ अर्को महत्वपुर्ण कुरा सबै मान्छेको उदर यहाँहरूको जस्तो जुन वस्तु हालिदिए पनि सहजै पचाउन सक्ने खालको हुँदैन ।
नेताजी भिडको बीचबाट जुरुक्क उठेर हिँडे ।

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x