चिरञ्जीवी दाहालउदरभरण पुराण
पिताको मृत्युपछि कसरी घर चलाउने भन्ने चिन्तामा छन् । क्रिया खर्च कसरी जुटाउने र पछि कसरी ऋण तिर्ने चिन्तामा छन् । तपाईं उल्टै घ्यु र भातको चिन्ता थपिरहनु भएको छ ।

चिरञ्जीवी दाहाल :
“घ्यु कति रुचेको छ ? मजाले घ्यु भात खान नडराउनु होला, यो बेला खाएको घ्यूले न प्रेसर बढाउँछ न ग्यास्ट्रिक गराउँछ, बुझ्नु भो ? यतिबेला त मुटुको रोगीले पनि दुईचार डाडु घ्यु मजाले खान सकिन्छ !” भुँडे भलादमी निर्देशन दिएको शैलीमा उदरभरण पुराण सुनाइरहेका थिए ।
“यो तेह्र दिनसम्म जति धेरै खायो उति आँतमा लाग्छ । शरीरमा अप्रत्यासित रूपमा उर्जा प्राप्त हुन्छ । खानलाई पटक्कै डराउनु पर्दैन । यसबेला अघिपछि भन्दा झण्डै दोब्बर लुँड्याउन सक्नुपर्छ । बिहान उठ्नेबित्तिकै चियाको सट्टा एक मग मिश्रीको काँढा पानी पिउन सुरु गरेर मध्य बिहान स्याउ, केरा, नास्पाती, ओखर र सिजन अनुसार आँप लिची भुँइकटहर जस्ता फलफूलको सेवन गर्न बिर्सनु हुँदैन । यसपछि एक मग जति हट लेमन पिउनु पर्छ । जिउ हलुका र फुर्तिलो हुन्छ ।
जब एघार बाह्र बजेतिर पँधेरामा भात खाने समय हुन्छ त्यो बेला कम्तीमा पनि तीन चार डाडु तताएको घ्यु खानैपर्छ । कथंकदाचित तताएको घ्युको गन्ध मन नपरे घ्यु तताउँदा दुईचार वटा कागतीको पात घ्युमा मिसाएर तताउने हो भने घ्युको गन्ध स्वाट्टै हराउँछ । त्यसरी पनि घ्युमा रुचि भएन भने डल्लै घ्यु भातमा मोलेर खान सकिन्छ तर घ्यु खान छोड्नु हुँदैन । किनभने नुन नखाएको समयमा जति घ्यु खाए पनि शरीरले सहन्छ र प्रसस्त तागत दिन्छ ।”
वरपर बसेका दर्शक निकै ध्यानपूर्वक उनका कुरा सुनिरहेका थिए । उनले पुनः आफ्ना भनाइ राखे ।
“जब घ्युले वाक्क बनाउँछ, स्थानीय जातको सुन कागती निचोरेर घ्युमा मिसायो अनि खायो, बुझ्नु भो नि ! यसो गर्दा घ्युमा नयाँ प्रकारको स्वाद पाइन्छ । अनि मजाले डबल डोज घ्यु खान सकिन्छ ।”
एकजना आफन्त बितेपछि मानुचामल (घोत) पनि लिएर जानु पर्यो, एक अध्याय गरुड पुराण पनि श्रवण गर्नु पर्ला भन्दै क्रियापुत्रीका घर पुग्दा म केही ढिला पुगेछु । गरुड पुराण सकिइ सकेको रहेछ । तर गरुड पुराण सकिए पनि एकजना निकै ठूलो भुँडी भएका र आफूलाई औधि टाठोबाठो सम्झने एकजना भलादमी, वरिपरि बाक्लै मान्छेको घेरामा बसेर थपक्क पलेँटी कसेर गरुड पुराण कै शैलीमा उदरभरण पुराण सुनाइरहेका रहेछन् ।
उनको हाउभाउ देख्दा लाग्थ्यो, उदरभरण पुराण अझै सकिएको छैन त्यसको मध्यान्ह मात्र भएको छ । उनको उदरभरण पुराणको सिलसिला जोडदार ढङ्गले चलिरहेको थियो । एकैछिनको विश्रामपछि उनी झनै हौसिएर घ्यु भातको महिमा एवं, सहजै प्रसस्त मात्रामा घ्यु र भात कसरी खान सकिन्छ भनेर, उपस्थित मान्छेहरूलाई केही महत्त्वपूर्ण टिप्स सुनाइरहेका थिए ।
“कसै-कसैलाई घ्यु र भात नरुच्ने पनि हुन सक्छ, त्यसको पनि सजिलै समाधान गर्ने उपाय छ । यदि राम्रोसँग रुचि भएन भने रायोको साग, फर्सीको मुन्टा, बेथुवाको साग, लट्टेको साग, चम्सुर र पालुङ्गोको सागमा नुन नराखी मजाले घ्युमा पकाएर खान सकिन्छ । होइन विलिनो साग के खानु जस्तो लाग्छ भने सागमा सिधेनुुनको प्रयोग गर्न सकिन्छ ।”
तिनका कुरा सुन्दा लाग्थ्यो, कसरी सकिन्छ मर्नेगरी घ्यु र भात जसरी पनि खानैपर्छ । मान्छे मर्नुको उद्देश्य नै कसैलाई रुचुन्जेल घ्यु र भात खान दिने अवसर जुटाइदिनु हो । यस्तो अवसर सितिमिति आउँदैन । परिवारको कुनै सदस्य मरेको बेला सकेसम्म घरको घ्यु खानुपर्छ, छैन भने छरछिमेक र इष्टमित्रले ल्याइदिएको खानु, त्यो पनि नभए ऋण गरेर भएपनि खानु । तर घ्यु र भात जसरी पनि खानुपर्छ ।
लाग्थ्यो तिनले निकै समयदेखि त्यहाँ उपस्थित सबैलाई उदरभरण पुराण मार्फत लठ्ठ बनाइ रहेका थिए । उपस्थित श्रोताहरू निकै शान्त भएर उनको पुराण सुनिरहेका थिए ।
अब भने मलाई, चाहिने नचाहिने उडन्ते गफ दिने माहिर ती सज्जन देखेर हाँसो लागिरहेको थियो । मानौँ बाबु आमाको क्रिया गर्ने कार्य शोक र दुःखको कार्य हुँदै होइन, त्यस्तो कार्य त घ्यु र भात खाने महान पर्व हो । जुन पर्व सितिमिति आउँदैन । यस्तो समयमा जसले ठूलो परिमाणमा घ्यु र भात खान सक्छ, ऊ महान मानिन्छ र उसको पितृहरूले सजिलै स्वर्गको आसन प्राप्ति गर्नेछन् । त्यसैले उनले कसरी हुन्छ, घ्यु र भात मर्नेगरी खानुपर्छ भन्ने भावमा आफ्नो अमूल्य ज्ञान बाँडिरहेका थिए । श्रोताहरू चर्चित कथावाचकको भागवत कथा सुने झैँ निकै ध्यानपूर्वक तिनको उदरभरण पुराण सुनिरहेका थिए । मानौँ आज सबैलाई अभूतपूर्व ज्ञान प्राप्त हुँदैछ र कुनैदिन आफूलाई परेको समयमा त्यसको प्रत्यक्ष लाभ लिन सकिने छ ।
यतिन्जेल सहिरहेको मैले अब भने यिनको त्यो काइते उदरभरण पुराण सुन्न सकिन न सहन नै सकेँ । तिनलाई मैले प्रश्न गरेँ “सकियो तपाईंको उदरभरण पुराण ? कि अझै बाँकी छ ?”
उनले सकिएको इसारा गर्दै टाउको हल्लाए । “तपाईं यहाँ समवेदना प्रकट गर्न आउनु भएको कि, उदरभरण पुराण सुनाउन ?”
प्रेसरको रोगी र मुटुको रोगीले पनि मजाले घ्यु खान मिल्ने कुरा गर्नु भो तपाईं डाक्टर हो ? उनले “होइन” भने ।
“नयाँ कुरा पत्ता लगाउने तपाई वैज्ञानिक हो ?”
“होइन” ।
उसो भए यो कुरा हाम्रो शास्त्रमा उल्लेख होला, तपाईं नामी शास्त्र हो ?
उनले होइन भन्ने भावमा अझै पनि मुन्टो हल्लाइरहेका थिए ।
आखिर यस्ता हावादारी र उडन्ते कुरा गर्ने खासमा तपाईं को हो ?
उनले भने “म नेता” ।
अब भने मलाई मात्र होइन तिनका कुरा सुनेर कसैलाई पनि आश्चर्य लागेन । किनकि नेताहरूका यस्ता हावादारी कुरा सुन्न हामी अभ्यस्त भइसकेका छौँ ।
“नेताज्यू यो न सिंहदरबार हो, न बानेश्वरको सभाहल । न तपाईंको चुनावी सभा हो, न तपाईंको पार्टी कार्यालय ! अनि हामी तपाईंका कार्यकर्ता पनि होइनौँ ! तपाईंलाई यस्ता उडन्ते कुरा गर्न त्यतातिर छुट भएपनि यहाँ छुट छैन । किनभने यहाँ मान्छेको मृत्युमा सबै शोकमा छन् । पिताको मृत्युपछि कसरी घर चलाउने भन्ने चिन्तामा छन् । क्रिया खर्च कसरी जुटाउने र पछि कसरी ऋण तिर्ने चिन्तामा छन् । तपाईं उल्टै घ्यु र भातको चिन्ता थपिरहनु भएको छ ।”
अब आइन्दा आफू कुन ठाउँमा छु, कस्तो ठाउँमा आइपुगेको छु, बुझेर मात्र यसप्रकारका उदरभरण टिप्स बाँड्नुस् । उदरभरण पुराण नेताहरूको समुह मात्र भएको स्थानमा सुनाउनुस् । जहाँ केहीले उदरभरणको राम्रो ज्ञान नपाएका हुनसक्छन् ।
अझ अर्को महत्वपुर्ण कुरा सबै मान्छेको उदर यहाँहरूको जस्तो जुन वस्तु हालिदिए पनि सहजै पचाउन सक्ने खालको हुँदैन ।
नेताजी भिडको बीचबाट जुरुक्क उठेर हिँडे ।
०००
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































